कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कीर्तिर्यस्य स जीवति

होमनाथ दाहाल

आत्मीय मित्र कवि दैवज्ञराज न्यौपानेको निधन भएको पनि वर्ष दिन भएछ । समय जान कति बेर लाग्दो रहेछ र ? आत्मीय मित्र शब्दले पनि हाम्रो सम्बन्धलाई व्यक्त गर्दछ, गर्दैन ? मसँग यो भन्दा उपयुक्त अर्को शब्द भएन, हाम्रो बीचको सम्बन्ध व्याख्या गर्ने । २०२०/२१ सालतिर उनी काठमाडौं आएका हुन् पढ्न । म २०१४ सालदेखि नै काठमाडौंमा पढिरहेको थिएँ । हाम्रो भेट छात्रावासमा भएको हो । चार दशकभन्दा लामो कालखण्डमा हाम्रो बीच कहिल्यै कुनै असमझदारी रहेन, सधँै र सबै विषयमा सुमधुर सम्बन्ध रह्यो । हाम्रो कार्यक्षेत्र अलग भएर पनि हुन सक्छ, हाम्रा बीच सुमधुर सम्बन्ध रहनुमा । उनी कवि थिए उनको क्षेत्र साहित्य थियो र उनी प्राध्यापक पनि थिए । वी.पी.ले भने जस्तै “साहित्यमा सम्राट् पनि नाङ्गो हुन्छ” । उनको क्षेत्र शाश्वत मूल्य र मान्यतासित रह्यो । उनीसँग भेट हुँदा नै म पत्रकारितामा लागिसकेको थिएँ । हाम्रो जस्तो मुलुकमा जनताको लागि पत्रकारिता गर्नु खतराजन्य हुन्छ । जतिबेला म पत्रकारितामा लागँे त्यतिखेर जनताका मौलिक अधिकार प्रतिबन्धित थिए । जनताका नेता कि जेलमा थिए कि विदेशमा राजनैतिक शरण लिन बाध्य थिए । राजाको हुकुम बेगर पात पनि हल्लँदैनथ्यो । त्यति बेलाको मूल धारको पत्रकारिता भनेको राजाको स्तुतिगान गाउनु र जनताका छोराहरू, जो जनताको हक अधिकारको लागि लडिरहेका छन्, आफ्नो स्वाभिमान त्याग्न तयार छैनन्, तिनको चरित्र हत्या गर्नु थियो । मैले त्यो भन्दा भिन्न धारको पत्रकारिता थालँे, स्वभावतः यसमा खतरा थियो ।

दैवज्ञको बाह्य आकृति जति भव्य, सौम्य र आकर्षक थियो उनको कवि व्यक्तित्व त्यतिकै उच्च र संमोहनकारी थियो । उनी मूलतः राष्ट्रकवि माधव घिमिरे प्रवृत्तिका कवि थिए । उनका कविता सुन्दर र सुललित छन् । कसैसँग पनि अप्रिय कुरा नगर्ने सधँै सकारात्मक सोच राख्ने सुसंस्कृत कवि । हाम्रो पढाइ सँगसँगै अघि बढ्नुका साथै संयोगवश हाम्रो विवाह पनि सँगै जस्तो भयो । उनका दुई छोरा र एक छोरी, मेरा दुई छोरा । पछि सुधा कोइरालासँग बिहे भएपछि उनको तेस्रो छोरो पनि जन्मियो । पत्रकारितामा म चुर्लुम्म डुबेँ र मैले अध्ययनलाई निरन्तरता दिन सकिन । एम.ए. पहिलो वर्षमा नै नियमित अध्ययनमा संलग्न हुन नसक्दा मेरो हाजिर नपुगेर मैले फाराम भर्न नपाउने स्थिति भएछ, मेरा आदरणीय गुरु प्राध्यापक वल्लभमणि दाहालले हाजिर पुर्‍याइदिनु भएछ र मलाई बोलाएर भन्नुभयो– मैले तिम्रो हाजिरको प्रतिशत मिलाइदिएको छु फाराम भर र परीक्षा देऊ । यो परीक्षा छुट्यो भने तिमीले एम.ए. गर्न सक्ने छैनौ । उहाँको सल्लाह अनुसार फाराम भरें र परीक्षा दिएँ । नभन्दै दोस्रो वर्ष मेरो अध्ययन नियमित भएन । परीक्षा छुट्यो । पहिलो वर्षको परीक्षा दिएको १० वर्षसम्म पनि दोस्रो वर्षको परीक्षा नदिए पहिलो वर्षको परीक्षा रद्द हुने र पुनः पहिलो वर्षको परीक्षा दिनु पर्ने विश्वविद्यालयको नियम अनुसार दोस्रो वर्षको फाराम भरें र परीक्षा दिएँ । दैवज्ञले नियमित पढेर उनी प्राध्यापनतिर लागे त्यसपछि हाम्रो भेटघाट पातलियो ।

२०२७ सालदेखि मैले आफ्नै पत्रिका राष्ट्रपुकार निकाल्न थालेँ । मेरो जीवनको संघर्ष पनि यहीँबाट सुरु भयो । पत्रिका नै बन्द गरिदिने, धरपक्राउ र सत्ताबाट संरक्षित मण्डलेहरूबाट भौतिक आक्रमणको प्रयास, पटक पटक अंचलाधीशकहाँ बयान दिनु पर्ने जस्ता मानसिक ताडना मैले खेप्नु पर्‍यो । बीच बीचमा भेट हुँदा दैवज्ञ मलाई पुफर्क्याइरहन्थ्यो– प्राध्यापन त धेरैले गरेका छन् तर तिमीले अनेक खतरा मोलेर पनि जुन काम गरिरहेछौं हामी सबैको निम्ति गौरव छ ।

जनताको लामो संघर्षपछि २०४७ सालमा निरंकुश पंचायत व्यवस्था खारेज भएर नेपाली कांग्रेसका सभापति आदरणीय किशुनजी प्रधानमन्त्री हुनुभयो । ठुलो संघर्षपछि भएको परिवर्तनको संक्रमण कालमा अस्थिरताले कति समस्या पैदा हुन्छ भन्ने कुरा अहिले पनि हामीले अप्ठ्यारो परिस्थिति व्यहोरिरहनु परेबाट स्पष्ट भइरहेछ । ०४७ सालको परिवर्तनपछि पनि प्रशासन र अन्य क्षेत्रमा नयाँ नयाँ समस्याहरू देखा पर्न थाले । यसै सिलसिलामा गोरखापत्र संस्थानमा गडबडी भएपछि किशुनजीले मलाई अध्यक्ष बनाएर पठाउनु भयो ।

३० वर्षको निरंकुश सत्ताबाट फाइदा लिनेहरू नै नयाँ परिवेशमा चर्को प्रजातन्त्रवादी र प्रगतिशील भएर अन्य क्षेत्रमा जस्तो गोरखापत्र संस्थानमा पनि प्रस्तुत भएका थिए । त्यस्तो बेला त्यहाँको परिस्थिति संहाल्नु निकै चुनौतीपूर्ण थियो । त्यही चुनौतीलाई मध्यनजर गरेर होला आदरणीय प्रधानमन्त्री किशुनजीले मेरो इच्छा नहुँदा नहुँदै गोरखापत्र संस्थानको अध्यक्षमा मलाई पठाउनु भयो । परिवर्तनपछि पनि गोरखापत्र संस्थानको भूमिका रहन्छ भन्ने अनुभूति गराउनु एक महत्त्वपूर्ण काम थियो । त्यस्तो प्रत्याभूति दिलाएपछि परिस्थिति सामान्य हुँदै गयो । गोरखापत्र संस्थानबाट सबै वर्गलाई प्रतिनिधित्व गर्ने पत्रपत्रिका प्रकाशित हुन्थे, अहिले पनि छन् तर बालबालिकाको लागि कुनै पत्रिका थिएन । कमिक्स पढ्दा कि इङ्लिस कि हिन्दीमा लेखिएका पढ्नु पर्दथ्यो । नेपालीमा नै बच्चाहरूले पढ्ने आधिकारिक पत्रिका किन ननिकाल्ने ? भनेर त्यस किसिमको पत्रिका निकाल्ने सम्बन्धमा बाल साहित्य लेख्ने कवि लेखकहरूसँग राय सल्लाह लिने भनेर त्यस क्षेत्रमा कलम चलाउने कविहरूको बैठक बोलाइयो, त्यसमा दैवज्ञराज पनि आमन्त्रित थिए – सामग्री कस्तो राख्ने र पत्रिकाको नाम के राख्ने भन्ने छलफल भयो । विभिन्न व्यक्तिले विभिन्न नाम सुझाउँदै आ–आफ्ना विचार राखे । दैवज्ञको पालो आएपछि उनले सुझाउ दिए– नाम यस्तो होस् सबैले सजिलै ग्रहण गर्न सकून् र प्यारो पनि होस्, मलाई लाग्छ मुना सबभन्दा प्यारो हुन्छ । त्यसलाई सबैले राम्रो माने । गोरखापत्र संस्थानको कान्छो सन्तानको रूपमा बालपत्रिका “मुना” प्रकाशित गर्ने निर्णय भयो । जो अहिले पनि छँदैछ । मुनामा दैवज्ञका कविताहरू पनि छापिएका छन् ।

दैवज्ञको राजनीति वा विद्यार्थी संगठनमा प्रत्यक्ष संलग्नता या रुचि थिएन । प्रजातन्त्रवादी भएकाले प्रजातान्त्रिक संघ संगठनलाई पछि बसेर समर्थन गर्दथे । लामो समय जेल बसेर छुटेपछि कमल चित्रकार त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा खडा भए र उनले जिते पनि । ०१७ साल पौष १ गतेपछि राजनीतिक दलहरूसंगै विद्यार्थी संगठन पनि प्रतिबन्धित थिए । विद्यार्थीको असन्तुष्टिको पारा नाप्न वा अन्तर्राष्ट्रिय जगतलाई देखाउन त्रि.वि.को यूनियनमाथि भने प्रतिबन्ध लगाइएको थिएन । सरकारबाट पैसा खानका लागि पंचायत समर्थकहरूले पनि उम्मेदवार खडा गर्दथे र उनीहरू पराजित हुन्थे । सधै कांग्रेस र कम्युनिष्ट समर्थक नै स्व.वि.यू. मा निर्वाचित हुने गर्दथे । स्व.वि.यु.को चुनावको परिणामलाई लिएर कांग्रेस र कम्युनिष्टहरू जनमत कता छ भन्ने आकलन गर्दथे । वास्तविकता भने अर्कै हुन्थ्यो । पंचायती सत्ताले डमी उम्मेदवार खडा गरेर साधारण विद्यार्थीहरूको ध्यान त्यतातिर मोडेर कांग्रेस र कम्युनिष्ट उम्मेदवारहरूमध्ये को आफ्नो अनुकूल छ त्यसलाई जिताउने गर्दथ्यो । २०२२ सालमा आएर मात्र प्रजातन्त्रवादी कमल चित्रकारले त्रि.वि.स्व.वि.यु.को चुनाव जिते । त्यो भन्दा पहिले सधैँ कम्युनिष्टहरूले चुनाव जित्ने गर्दथे ।

पंचायतले गुप्तचरहरू राखेर २०१८ सालमा विद्यार्थी मण्डल गठन गर्‍यो । त्यसको विरोधमा आम विद्यार्थीहरूले स्वतन्त्र राष्ट्रिय विद्यार्थी यूनियन गठन गर्न पाउनु पर्छ भन्दै पटकपटक आन्दोलन गरेका थिए । विश्वविद्यालय यूनियनमा प्रजातन्त्रवादीहरूका तर्पफबाट कमल चित्रकार विजयी भएपछि राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन खोल्न देशभरका विद्यार्थी प्रतिनिधि काठमाडौँमा जम्मा गरेर स्वतन्त्र यूनियन खोल्न कमल चित्रकारको अध्यक्षतामा तयारी समिति गठन भयो । हामी परीक्षा सकेर आफ्नो घर जाने क्रममा थियौं । कमल चित्रकारले जाने बेलामा मलाई ओखलढुंगा र दैवज्ञलाई भोजपुरको जिम्मा दिए । उनको पत्र लिएर हामी गयौं । जाने बेला दैवज्ञले भने– म पनि रोसी खोला हुँदै जान्छु सँगै जाऊँ । दैवज्ञ, म र अरू एकाध साथी बनेपा–धुलिखेल हुँदै रोसी खोलाको बाटो गयौं । पूर्व ३ नं, ४ नं का मानिसको काठमाडौं आउने बाटो त्यही नै थियो । त्यतिबेला यात्रुहरूले त्यो बाटो हिँड्दा भोग्नु परेका अनेक घटनाहरू कति त किंवदन्तीका रूपमा पनि थिए, त्यस्ता गफ गर्दै गयौँ । कलेजमा पढ्ने जवानीको अवस्था त्यतिबेलाको हाम्रो हिडाइँ बिन्दासको रूपमा हुन्थ्यो । ठाउँठाउँमा पसल हुन्थे बास त्यसैमा बस्नु पर्ने भए तापनि आपैँफले पकाएर खानु पर्दथ्यो । त्यतिबेलाको समाजले विद्यार्थी भनेपछि अति सम्मानका दृष्टिले हेर्दथ्यो । विद्यार्थी भएकाले भात आपैफँले पकाएर खाए पनि भाँडा पसलेले नै माझिदिन्थे । सिन्धुली जिल्लाको घुमाउने चैनपुरमा पुगेपछि हाम्रो छुट्टिने बेला आयो । मलाई सुनकोशी तरेर रामेछाप हुँदै जानु पन,े छुट्टिने बेलामा दैवज्ञलाई भनँे– यतैबाट जाऊँ मेरो घरमा एक दुइ दिन बसेर जालास् तर दैवज्ञले मानेन र भन्यो– यताबाट जाँदा धेरै उकालो ओरालो हिँड्नु पर्छ म कोशी किनारै किनार जान्छु, साथीहरू पनि हुनुहुन्छ । अनि हामी चाँडै काठमाडौंँमा भेट्ने बाचा गर्दै छुट्टियौँ ।

ओखलढुंगा पुगेपछि त्यतिबेला जिल्लामा एक मात्र हाइस्कूल सदरमुकाममा थियो । शिक्षकहरूको अनुमति लिएर कक्षामा गएर विद्यार्थीको हक हितका लागि स्वतन्त्र विद्यार्थी यूनियन गठन गर्ने काठमाडौँंमा निर्णय भएको छ, त्यसमा यस जिल्लाबाट पनि भाग लिनु पर्छ को को जाने म पेफरि आउँछु सल्लाह गरौंला भनेँ । विद्यार्थीहरूसँग भेटघाट गरेर बजारमा आइपुगेको थिएँ, एक जना परिचित मित्र ज्वालाप्रसाद कोइराला भेट भए । उनले एकान्तमा जाऊँ भने र एकान्तमा पुग्नासाथ उनले भने– तपाईंले पंचायती व्यवस्थाको विरुद्ध यहाँका विद्यार्थीहरू भड्काउनु भयो, यो को मान्छे हो यसलाई बोलाएर सोधपुछ गर्ने र गिरफ्तार पनि गर्नु पर्ने हुन्छ, काठमाडौंमा धेरै विद्यार्थी पक्राउ परिसकेका छन् । प्र.जि.अ. र अन्य अधिकृतहरूका बीच यस्ता कुरा हुँदा तपाईंको नाम आएकाले मैले उनीहरूको कुरामा चासो नलिए जस्तो गरी ध्यानले सुनँे, तपाईं यहाँ बस्नु भयो भने अवश्य पक्राउ पर्नुहुन्छ, यहाँ पक्राउ परेर केही फाइदा छैन, तुरुन्त नै घर जानुहोस् र त्यतैबाट काठमाडौं गइहाल्नुहोस् । काठमाडौंमा साथीहरू पक्राउ भइसकेपछि अब विद्यार्थी भेला हुन सरकारले दिँदैन । म यहाँ पक्राउ पर्नुको अर्थ छैन भनेर म घर आएँ र एक दुई दिन बसेर काठमाडौं फर्केँ । विद्यार्थी भेला नै हुन नदिन सरकारले धरपकड गरिसकेको थियो भने दैवज्ञले भोजपुरमा के गरे सोध्नुको कुनै औचित्य थिएन । तर पछि थाहा भो– उनी त संगठनको काम गर्दा ७५ दिन जेल बसेर पो काठमाडौँ फर्किएछन् ।

प्रजातन्त्रवादी विद्यार्थीहरूलाई पक्राउ गरी जेल हालेपछि कम्युनिष्टहरूले तत्कालीन मन्त्री खड्गबहादुर सिंहलाई प्रमुख अतिथि बनाएर एकलौटी रूपमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन गठन गरे । त्यसको केही समयपछि मात्र प्रजातन्त्रवादी विद्यार्थीहरूले नेपाल विद्यार्थी संघ खोलेका हुन् । ने.वि.संघलाई अवैध भनी प्रशासनले प्रतिबन्ध लगाएकाले सर्वोच्च अदालतमा सरकारको निर्णय विरुद्ध मुद्दा दिएर सर्वोच्चले विद्यार्थी संघ खोल्न पाउने पैफसला गरेपछि ने.वि.संघ वैध भएको हो । काठमाडौं आएपछि बुझदा करिब डेढ सयको हाराहारिमा विद्यार्थी साथीहरू पक्राउ परिसकेका रहेछन्, उनीहरूलाई सुवर्णजीको दरवार (हालको राष्ट्र बैंक) ललिता निवासको छिँडीमा अमानवीय तरिकाले राखिएको रहेछ । केही समय त्यहाँ राखेर केहीलाई छोडेर बाँकीलाई जेल चलान गरियो ।

उज्यालोपछि अँध्यारो आउँछ भने जस्तै दैवज्ञको जीवनको पछिल्लो काल सुखद रहेन । पहिले त श्रीमती बिमारी पर्नु भयो । लामो समयसम्म बिमार भएर श्रीमतीको निधन भयो । भेट हुँदा बडो दुखित हुन्थ्यो, एकातिर श्रीमती बिमार, अर्कोतर्पफ छोराछोरीको पढाइ, बाटोमा भेट्दा तनावमा हुन्थ्यो । श्रीमतीको बिरामी निको नहुने भएपछि उसले अर्को घरजम गर्ने विचारले सुधा कोइरालासँग विवाह गर्‍यो । उनी मैले सानैदेखि चिनेकी बहिनी दुःखसुख भोगेकी सरकारी जागिर खाएर आफ्नै खुट्टामा उभिएकी थिइन् । दैवज्ञको अवस्था बुझेरै उनी दैवज्ञको हात थाम्न तयार भइन् र विवाह भयो ।

विधिको विडम्बना कालान्तरमा ऊ आपैँफ पक्षाघातले लामो समय अस्वस्थ भएर यस संसारबाट बिदा भयो । मैले एक आत्मीय साथी जससँग म खुलेर दुःखसुखका कुरा गर्न सक्थें, त्यस्तो मित्रलाई गुमाउनु पर्‍यो । उसको नश्वर शरीर मात्र गएको हो । नेपाली साहित्यमा उसले दिएको देनले ऊ जीवित छ । दैवज्ञका धेरै कीर्तिरूपी कृतिहरू छन् जहाँ ऊ जीवित रहिरहने छ — कीर्तिर्यस्य स जीवति ।