मेरो सम्झनामा दैवज्ञ दाइ
दैवज्ञ दाइलाई मैले पहिलो पटक देख्दा म करिब दश बार्ह वर्षको हुँदो हुँ । त्यतिखेर उहाँ दिङ्ला पाठशालाको छात्रावासमा बस्नु हुन्थ्यो । त्यही ठाउँमा जन्मेहुर्केको हुँदा यस अर्थमा मलाई घरको मानो खाएर पाठशालामा पढ्न जाने सुविधा प्राप्त थियो । हामी दिउँसो पाठशाला पुगेका हुन्थ्यौँ । पढाइको नियमितता शिक्षकको नियमिततामा भर पर्थ्यो । हामी कहिले पढ्ने कहिले आप्फना अग्रजहरूसँग हिमचिम बढाउने वा उनीहरूका कुरा सुनेर समय बिताउँथ्यौँ । यसै क्रममा दैवज्ञ दाइ हाम्रा लागि त्यसै पनि आकर्षक व्यक्ति हुनु हुन्थ्यो । उहाँ एक त मृदुभाषी हुनु हुन्थ्यो । अझ सुकुमार, सुन्दर अग्लो गोरो वर्णको उहाँको व्यक्तित्वले हामी सहजै आकर्षित हुन्थ्यौँ । मलाई सम्झना भएसम्म छात्रावासमा उहाँको कोठा राम र शिवको युग्म मन्दिरको पश्चिमतिरको भवनमा थियो । मन्दिरमा पर्वहरूमा दर्शनार्थीहरूको भिडभाड नै हुन्थ्यो । किताब लिएर बसे पनि उहाँको दृष्टि त्यस भिडभाडतिर हुन्थ्यो । मेरो अनुभवमा उहाँ त्यति वेलादेखि नै रसिक प्रकृतिको हुनु हुन्थ्यो ।
दैवज्ञ दाइ र अन्य केही विद्यार्थीहरू पाठशालाको व्यवस्थापनसँग असन्तुष्टि देखाई एकैचोटि दिङ्ला पाठशाला छोडेर हिँडेको घटना पनि स्मरणीय छ । यद्यपि म त्यस घटनाको प्रत्यक्ष भुक्तभोगी नभएको र त्यो बुभ्फने क्षमता पनि सायद भइ नसकेको हुँदा त्यसको विस्तृत जानकारी मलाई भएन तर धेरै विद्यार्थीहरू एकैचोटि पाठशाला छोडी हिँड्नुको पछाडि नेतृत्व लिने व्यक्ति उहाँ नै भएको कुरा सुनिन्थ्यो । दिङ्लामा शनिवार हाट लाग्ने गर्थ्यो र हाटमा उहाँ सहित केही विद्यार्थीहरू व्यवस्थापन पक्षबाट अपमानित भएकाले त्यसको विद्रोहका रूपमा उहाँहरूले दिङ्ला छोडेको भन्ने चर्चा थियो । यसबाट उहाँमा त्यसै बेलादेखि नै अन्याय र अनीतिको विरोधमा उत्रने र विद्यार्थीहरूको नेतृत्व लिने क्षमता रहेको पुष्टि हुन्छ । यसमा गुटपरक राजनीति के कति थियो, सो चाहिँ स्पष्टतः भनिएको वा व्याख्या गरिएको पाइँदैन । तर दिङ्लामा त्यस घटनाको चर्चाको केन्द्रविन्दु उहाँ पछिसम्म भइ रहनु भएको थियो । यस घटनाबाट दिङ्ला पाठशालाको गतिविधिमा केही समय शून्यता छाएको थियो । पछि बिस्तारै सामान्य बन्दै गयो ।
त्यसपछि दैवज्ञ दाइसँग मेरो भेट काठमाडौँमा आएपछि भएको हो । त्यतिखेर उहाँ पुतली सडकमा रहेको राजकीय संस्कृत महाविद्यालयमा स्नातक तहमा अध्ययन गर्नु हुन्थ्यो । तिनधारा छात्रावासमा बस्नु हुन्थ्यो । म पनि त्यहाँ उत्तर मध्यमा (१२ कक्षा ) पढ्न थालेँ । दुई कक्षाको अन्तर भए पनि उहाँलाई म धेरै जान्नेसुन्ने र अनुभवी ठान्थेँ । उहाँको कवित्व प्रतिभा प्रस्पुफटित भइ सकेको कुरा अग्रजहरुले उहाँका रोमान्टिक कविता गाउँदै हिँडेकोबाट अनुभव गर्न सकिन्थ्यो । अझ पुतली सडकको त्यो भवनमा बिहानी समय कन्या महाविद्यालयको पढाइ हुन्थ्यो । त्यतिखेर पद्म कन्या क्याम्पसको आप्फनो भवन बनि सकेको थिएन । यसले पनि कन्याहरुलाई इङ्गित गरी कविता रचनाको उत्प्रेरक परिवेश उपलब्ध भएको देखिन्छ । त्यतिखेर उहाँ लोकप्रिय युवाकविमा गनिन थाल्नु भएको थियो ।
छात्रावासमा बस्दा उहाँको र मेरो कोठा एउटै भवनमा वरपर भएकाले वारंवार भेट हुन्थ्यो । जब उहाँ नेपाली एम.ए. पढ्न थाल्नु भयो, उहँाका निकट सहपाठीहरूसँग कक्षामा पढाइ भएका प्रसङ्गहरूको चर्चा बार्दलीमा उभिएर हुन थाल्थ्यो । हामी भुफम्मिएर सुन्थ्यौँ । अहिले मैले सम्झँदा उहाँहरूले ऐतिहासिक भाषा विज्ञानमा पढिने संसारका भाषा परिवारका लागि श्लोक बनाउनु भएको थियो । यस्ता श्लोक बनाउनमा उहाँ र उहाँका सहपाठी पीताम्बर दाहालको विशेष संलग्नता रहेको जस्तो थियो । उहाँहरू कक्षामा कसले कस्तो पढायो र कसरी पढायो दैनिक जस्तो कुरा गरि रहनु हुन्थ्यो । हामी चाख लिएर सुन्थ्यौँ ।
एम. ए. सकिएपछि उहाँ क्याम्पसमा पढाउनतिर लाग्नु भयो । जहाँसम्म मलाई सम्झना छ, उहाँले पहिले सानो ठिमी क्याम्पसमा पढाउन थाल्नु भएको हो । स्नातक तह सकिएपछि हाम्रो छिमलले पनि छात्रावास छोड्यो र बाहिर डेरा गरेर पढाइलाई अगाडि बढायो । संस्कृत साहित्यमा स्नातकोत्तर ( आचार्य) गरेपछि म एक बर्से बी.एड गर्नतिर लागेँ । मेरा साथीहरू नेपालीमा एम.ए. पढ्न थाले । एम.ए. पढ्नतिर लागेका मेरा निकटतम साथीहरुमा कविराज न्यौपाने र केदार न्यौपाने पनि थिए । उनीहरूसँगको साहचर्यले पनि दैवज्ञ दाइ बसेको डेरामा वेला वेलामा पुगेको हुन्थेँ । पछि मलाई पनि नेपालीमा एम.ए. गर्ने रहर जाग्यो । मैले प्राइभेट विद्यार्थीका रूपमा एम.ए. पुरा गरेँ । संस्कृत साहित्यमा स्नातकोत्तर गरेपछि मैले मेरा भानिज दाजु विष्णुराज कुसमको प्रेरणा र प्रोत्साहनमा पूर्वीय समालोचना सिद्धान्त नामक किताब लेखेँ । त्यस किताबमा ध्वनि, गुण, रीति, अलङ्कार, छन्द आदिको चर्चाका प्रसङ्गमा उदाहरणका रूपमा दैवज्ञ दाइका कविताहरू यत्रतत्र उद्धृत गरिएका छन् । उहाँ जस्तो देखिनु हुन्थ्यो, उहाँका कविता पनि त्यस्तै सुललित हुन्थे । फेरि उहाँको कविता वाचन शैली पनि उत्तिकै प्रभावपूर्ण हुन्थ्यो । त्यसैले होला उहाँका कविता मलाई मन पर्थे । त्यसमाथि मैले उक्त किताबको पाण्डुलिपि त्यस वेला नेपाली एम.ए. पढ्दै गरेका मेरा घनिष्ठ मित्र कविराज न्यौपाने र केदार न्यौपानेलाई पढ्न दिएको र त्यसमा आवश्यक भए केही थपथाप गरि दिन भनेको थिएँ । उहाँहरूले पनि दैवज्ञ दाइका केही कविताका उदाहरण थप्नमा मलाई सहयोग गर्नु भएको थियो । यसरी उहाँका कविता अन्य कविका तुलनामा केही बढी नै समावेश हुनुले मेरो उहाँप्रतिको भुफकाबलाई नै दर्साउँछ । यो किताब साझा प्रकाशनबाट २०३० सालतिर छापिएको थियो र त्यतिखेर नेपाली एम.ए. पढ्ने विद्यार्थीहरूमाझ निकै उपयोगी मानिएको थियो ।
२०३० साउनमा म विश्व विद्यालयको सेवामा प्रवेश गरेँ । नेपालगन्ज क्याम्पसबाट मैले अध्यापन सुरु गरेको हुँदा करिब दश महिना जति उतै रहेँ । त्यसपछि कीर्तिपुर क्याम्पस आउने अवसर मिल्यो । एक सिमेस्टर क्याम्पस सुपरिवेक्षकको रूपमा शिक्षाशास्त्रका १३ ओटा क्याम्पस घुमेर फर्केको वेला २०३२ वैशाखतिर दैवज्ञ दाइ म बसेको डेरामा आउनु भयो । आज कविजीकहाँ जाने, हिँड जाऊँ भन्नु भयो । हामी दुई जना सहिद गेटमा आराथुनको बस चढेर लैनचौरमा ओर्लियौँ । उहाँले सरासर मलाई माधव धिमिरेज्यूको घरमा लैजानु भयो । बाटामा अरू नै गफ भए । त्यहाँ जाने प्रयोजन मैले पनि सोधिनँ, उहाँले पनि भन्नु भएन । एउटा प्रिय कविकहाँ जान र उहाँलाई भेट्न पाउँदा त्यसै हर्षित थिएँ म । मैले उहाँको प्रस्तावबारे प्रति प्रश्न गर्ने सबाल नै थिएन । हामी गयौँ, गफ भए । कविज्यूले हिँड्ने वेलामा ल तपाईं त मेरा साथीको छोरा हुनु हुँदो रहेछ । भेट गर्दै गर्नु पर्छ, आउँदै गर्नु होला भनी पीठमा धाप मार्नु भयो । हामी त्यहाँबाट फर्कियौँ । फर्कंदा चाहिँ दाइले बाटामा कविज्यूकी विवाह योग्य कन्याको बारेमा र उहाँका अरू छोराछोरीका बारेमा पनि केही कुरा सुनाउनु भएको थियो । अनि मात्र मलाई भ्रमणको प्रयोजन ज्ञात भएको थियो ।
भोलिपल्ट आएर दैवज्ञ दाइले भन्नु भयो– कविज्यूले मन पराउनु भएको छ । तिमीले विचार गर । अब मलाई पर्यो फसाद ! केटी हेरेको छैन । कसरी हेर्ने ? केटी नहेरी कसरी हुन्छ भन्ने ? । म छटपटीमा परेँ । केटी पद्म कन्या क्याम्पसमा बी.ए. अन्तिम वर्षमा पढ्ने रे । नाम उषा रे । क्याम्पसमा साथीहरू त थिए । उनीहरूलाई सोधेँ । उनीहरुले पनि ठिक माने तर देखाउने कुरा आयो । क्याम्पसहरू त्यस वेला लामो हडतालको कारणले बन्द थिए । त्यसैले क्याम्पसमा हेर्ने मौका मिलेन । बरु दैवज्ञ दाइलाई नै भन्नु पर्ला । त्यसको प्रबन्ध गर्नु होस् भन्ने सोचेको त उहाँ काठमाडौँ बाहिर जानु भएको रहेछ । केटी हेर्छु भनेर हाक्काहाक्की भन्न सक्ने आँट ममा थिएन । त्यसपछि मैले केही उपाय नलागी मेरा मित्र र दाइकै भाइ केदार न्यौपानेलाई मनको कुरा भनेँ र उहँा मेरो तर्फबाट घरमै गएर हेरि दिने वचन दिनु भयो । एक दिन उहाँ र उहाँका भाइ गोविन्द नेपाल कविज्यूको घरमा गएर आउनु भयो । सबै वृत्तान्त सुनाउनु भयो । उहाँहरूको सिफारिस समेतलाई ध्यानमा राखी मैले कुरा अगि बढाउने निधो गरेँ । यसरी केटीलाई प्रत्यक्ष हेरेर अस्वीकार गर्ने स्थिति नआओस् भनी मैले अप्रत्यक्ष बाटो अपनाउन खोजेँ । म एकातिर असार महिनाभित्रकै लगनमा घरबार बसाउन चाहन्थेँ, अर्कातिर मेरो अभिभावक जस्तो व्यक्ति दैवज्ञ दाइको अनुपस्थितिमा यो कुरा अगि बढाउनु परेकोमा मलाई अप्ठेरो परेको थियो ।
त्यसपछि एक दिन बिहान मेरा भान्दाइ विष्णु राज कुसमकहाँ गएँ र सबै बेली विस्तार लगाएँ । केटी हेरेको छैन तर असारभित्र नै बिहा हुनु पर्छ भन्ने मेरो प्रस्ताव उहाँलाई सुनाएँ । दैवज्ञ दाइ नभई उहाँलाई मात्र यो कुरा अगाडि बढाउन सजिलो थिएन । उहाँहरू निकट मित्र भए पनि कविज्यूसँग दैवज्ञ दाइको जस्तो विशेष हिमचिम कुसम दाइको थिएन तर भाइको आग्रहमा उहाँले दैवज्ञ दाइको खोजी गर्नु भयो । उहाँ काठमाडौँ फर्कि सकेको जानकारी प्राप्त भयो । कुरो छिन्ने उद्देश्यले उहाँहरू कविज्यूकहाँ जानु भयो । सबै कुरा भएछ तर हिँड्ने वेलामा उहाँले केटीको एउटा फोटो दिन आग्रह गर्नु भएछ । फोटो खोजियो, भेटिएन । फेरि सबै कुरा तय भइ सक्यो । फोटोमा अल्झिनु पर्ने कुरा कसरी आयो ? केटी पक्षलाई अलि असमञ्जस भएछ । तर दाइको जिद्दी देखेर अन्त्यमा भरखरै बनाइएको नागरिकताको प्रमाण पत्रबाट फोटो उतारेर उहाँलाई दिइएछ ।
दुई दाइहरूको अभिभावकत्वमा बुढा नीलकण्ठको मन्दिर परिसरमा मेरो विवाह सम्पन्न भएको हो । दैवज्ञ दाइ पनि विश्व विद्यालयमा नेपाली विषयको शिक्षक र म पनि त्यसैको शिक्षक भएकाले हामीबिच वेला वेलामा विषयगत छलफल पनि हुने गर्थे । उहाँ मभन्दा वरिष्ठ हुनु भएकाले पनि आदरणीय हुनु हुन्थ्यो । त्यतिखेर समय समयमा नेपाली विषयका गोष्ठी हुने गर्थे । तिनमध्ये कतिपयमा हामी सँगै हुन्थ्यौँ । उहाँले निकै वर्ष पाटन क्याम्पसमा पढाउनु भयो । पछि कीर्तिपुर क्याम्पसमा आउनु भएको थियो । कीर्तिपुरमा हुँदा उहाँसँग भेट गर्न अझ सजिलो भएको थियो । उहाँका भाइहरू केदार न्यौपाने, महेश्वर न्यौपाने मेरा सहकर्मी साथी भएकाले हाम्रा बिचको सम्बन्ध पारिवारिक जस्तै थियो । उहाँकहँँा आवत जावत भइ रहन्थ्यो ।
पछि उहाँ पक्षाघातले थला पर्नु भयो । उहाँलाई कीर्तिपुर जान पनि कष्ट भएको थियो । उहाँ नेपाली पद्य साहित्यका फाँटका सशक्त हस्ताक्षर हुनु हुन्थ्यो । उहाँ सरल र सरस कविताका धनी हुनु हुन्थ्यो । अझ भनौँ उहाँ राष्ट्रकवि माधव घिमिरेज्यूको कवित्व धारामा उत्तरवर्ती पुस्ताको प्रखर प्रतिनिधि हुनु हुन्छ । उहाँले बाल साहित्यमा पनि प्रशस्त योगदान गर्नु भएको छ । कवित्व ऊर्जा अझ प्रस्पुफरण हुने वेला रहँदा रहँदै उहाँको मधुर वाणी र सुन्दर देहलाई पनि दैवले हामीबाट खोस्यो । हामी केही समय विचलित भयौँ । उहाँको आत्माले चिरशान्ति पाओस् । उहाँका कृतिले उहाँलाई नेपाली साहित्यमा चिरञ्जीवी बनाउने छन् । यिनै शब्दका साथ म श्रद्धेय दैवज्ञ दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।
लैनचौर, काठमाडौँ