कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कविगुरुसँगको सामीप्य

हेमराज पाण्डे

गुरुद्वारा रचित मीठा कविचा पढेर तथा कालजयी गीत सुनेर उहाँप्रतिको श्रद्वाभाव एकाएक जागेको थियो । तत्कालीन राजा वीरेन्द्रको ३८ औँ शुभ जन्मोत्सवमा राष्ट्रिय युवासंघ नेपालले क्याम्पस स्तरीय हाजिरी जवाफ, खेलकुद, नाचगान, कवितालगायतका प्रतियोगिता सम्पन्न गरेको थियो । अन्तर क्याम्पस हाजिरी जवाफको फाइनल प्रतियोगिता राष्ट्रिय सभागृहमा हुँदै थियो । क्याम्पसबाट प्रतियोगितामा सहभागिता जनाउने अवसरबाट छुटे पनि फाइनल प्रतियोगिताबाट नवीन कुरा जान्ने–सिक्ने उत्सुकता बोकेर दर्शकको रूपमा उपस्थित थिएँ । भव्य समारोहबीच कवि दैवज्ञराज न्यौपानेको संयोजकत्वमा बडो सन्तुलित रूपमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । प्रश्नहरू स्तरीय र जान्नैपर्ने खालका थिए । प्रतियोगिता सम्पन्न गर्ने समूह पनि दैवज्ञराज, हेमलाल न्यौपाने, घटराज भट्टराई, गणेश विषय जस्ता विषयगत विज्ञ र पेशागत नक्षत्रको चाँजोपाँजोमा सम्पन्न भयो । त्यतिबेला प्रत्यक्ष रूपमा उहाँलाई मैले देखेको थिएँ । दुःखको कुरा श्रद्धेय गुरुहरू दैवज्ञराज, हेमलाल र घटराज पनि आज हाम्रो लागि इतिहास बनिसक्नु भएको छ ।

दैवज्ञ गुरुसँग यदाकदा भेट हँुदा अभिवादन दर्साउँथँे । मुसुक्क हाँसेर अभिवादन स्विकार्नुहुन्थ्यो । भाइको नाम, थर र घर कहाँ हो ? भन्दै सोध्नु हुन्थ्यो र पटकैपिच्छे बताउँथे पनि । पुनः भेट हुँदा ठाउँ नाम– उही परिचय माग्दै कहाँ हो घर ? हार मिलेका ठाँटिला–दाँत, राष्ट्रिय, पोशाकमा चिरिच्याट्ट परेको खाइलाग्दो अनुहार भने सधैँ हँसिलो रूपरेखामा भुफल्किन्थ्यो । यत्रतत्र जम्काभेट हुदाँ उहाँको हँसिलो अनुहारको आकर्षणले म हिरिक्क हुन्थँे । त्यस्तै उहाँको शालीन स्वभावले मप्रति अजम्मरी छाप छोडेको थियो ।

२०४५ सालको पौषमा राजाको जन्मोत्सवको अवसरमा रेडियो नेपालले साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो । श्रद्धेय दाजु यज्ञनिधि दाहालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा मैले पनि भाग लिने अवसर पाएको थिएँ । प्रत्यक्ष सुनेका कविताहरूमा गुरु दैवज्ञराजद्वारा वाचित छन्द कविताले मलाई जसरी च्वास्स छोयो, त्यसभन्दा मीठो वाचनशैलीले अझ लालायित बनायो । त्यसो त प्रत्येक वर्षको असार ९ गते नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा सम्पन्न गरिने कविता प्रतियोगितामा उहाँद्वारा वाचित कविताले मलाई लट्ठ बनाइसकेको थियो । यस अर्थमा गुरुले मेरो हृदयमा दरो ठाउँ जमाइसक्नु भएको थियो ।

एक दिन कुण्डली देखाउन ज्योतिषविज्ञ श्रद्धेय मंगलराज जोशीकहाँ पुग्ने निधो गरें । उहाँका हितैषी एवं मेरा गुरु हेमलाल न्यौपानेले पाटन क्याम्पसमा आउन सल्लाह दिनुभयो । जन्म कुण्डलीसाथ पाटन क्याम्पस पुग्दा दैवज्ञराज र हेमलाल मेरै प्रतीक्षामा बस्नुभएको रहेछ । पुग्नेवित्तिकै दुवै अग्रजले मंगलराजकहाँ पुर्‍याउनुभयो । उहाँहरुरूको साथ मेरो लागि ठुलो बृक्षको ओत बन्यो । मेरो कुण्डली खुट्याउन दिगो मनले मंगलराज हर–हिसावमा केन्द्रित बन्नु भयो । मेरो दयनीय अवस्थालाई आत्मसात् गर्दै सबै ग्रहदशाको अवस्था आत्मीयतापूर्वक बताउनुभयो । यसको सबै श्रेय मेरो साथमा दुवै श्रद्धेय अग्रजको उपस्थितिलाई नै जान्छ ।

सँगसँगै कविता जाँचकीको भूमिका निर्वाह गर्ने दुर्लभ अवसर पाएको थिएँ — गुरु दैवज्ञराजसँग एकपटक । जाँचकीको भूमिका निर्वाह गर्दा अपनाउनुपर्ने सावधानीले म झसङ्ग बनेको थिएँ । मुना बाल पत्रिकाको सम्पादन गर्दा होस् अथवा अन्य अवसरमा दैबज्ञराज गुरु सधैँ मप्रति सकारात्मक सहानुभूति दर्साउनु हुन्थ्यो र उहाँकै आशीर्वादले मेरो लेखनीमा जगको काम गरेको थियो । हुन त म उहाँको औपचारिक विद्यार्थी थिइन, तथापि गुरु– चेलाको नाता प्रगाढ थियो । सुधा दिदीसँगको आत्मीयताले गुरुसँग अझ सामीप्य भयो । पछिल्ला बर्षहरूमा कार्यक्रम विशेषमा मौकामा एक्लै बसेर मेरो जीवन व्यवहारको इतिवृत्त सोध्नुहुन्थ्यो । गुरुको मप्रति उत्सुकताले आफू अझै सुरक्षित भएको महसुस गर्थेँ ।

कोखिलामा पुस्तक च्यापेर भोकै, तिर्खै कहिले मिर्मिर बिहानै त कहिले साँझमा कलेज आउनुहुन्थ्यो । शरीरप्रति अर्घेल्याइँ गर्दै हेक्काविहीन दौडधूपले उहाँलाई यसरी थला पार्‍यो । जुन धपेडीको आक्रमणबाट छलिन त परै जाओस्, उठ्नै नसक्ने बन्नुभयो र बन्दाबन्दै हामीलाई एक्लो, टुहुरो र बिरानो बनाएर परमधाम रोज्नुभयो । भाग्यवश गुरुको अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न चिताघाटमा पुग्दा बागमती नदी नै रोएको भान हुन्थ्यो । दागबत्ती चपाउँदा चपाउँदै बिरानो खरानीमा परिणत हुनुभयो । त्यो विस्मयकारी दृश्य मेरा लागि तत्काल सपना हो या बिपना । अझै म ढुक्क भइसकेको छैन कि दैवज्ञराज जीवन जगत्मा पुनः नफर्कने गरी अस्ताचल गर्भमा विलीन हुनुभयो ।

उहाँको मृत्युसँगै मीठामीठा बालगीत, राष्ट्रिय गीत सुन्ने बाँसुरीका प्वाल फुटी गए । छन्द कविताका लयात्मक रेसा टुटी गए । निबन्धको फर्कट्ट फाँटमा पढ्दापढ्दै डुब्ने पृष्ठभूमि पनि सुकी गए । आदरणीय दाजु प्रह्लाद पोख्रेलकी छोरीको शुभविवाहको क्षणमा चाबहिल मित्रपार्क मण्डपमा पछिल्लो पटक गुरुको दर्शन पाएको थिएँ । मलाई देख्ने वित्तिकै आफ्नो शारीरिक तकलिफको जाहेरी इसाराले मात्र गर्नु भएको थियो ।

गुरु दैवज्ञराज नेपाली गीत, कवितामा उज्ज्वल नक्षत्र हुनुहुन्थ्यो । सहयोग, सेवामा उदात्तमना हुनुहुन्थ्यो । त्यस्ता समदर्शी भावले युक्त गुरुको अवसानले हामीलाई टुहुरो बनाएको छ । गुरुको वैकुण्ठबास सुखमय रहोस्, यही कामनासहित गुरुसँगको संस्मरणलाई बिट मार्दछु ।

२०६९ असार

गठ्ठाघर, भक्तपुर

हाम्रो संस्कृतिका थिए प्रबल ती खम्बा समानै कवि

लेख्थे काव्यकला भरेर कविता छर्दै उज्यालो छवि

न्यौपाने कुलका त भूषण थिए भै धर्मका पालक

अन्यायीपन मास्न निम्ति कहिल्यै मान्दैनथे ती धक

हिरण्यकान्त उपाध्याय न्यौपाने