ठुलो बुबा !
म के कोरूँ ठुलो बुबा !
हजुरको सम्बन्धमा
मात्र सम्झना गाढा छ;
हजुरले दिनुभएको सृजना
मन-मस्तिष्कमा अझै गाढा छ;
किसानको महिमा अनि
गाउँखाने कविताका रमाइला पाठ
पढ्दै थिएँ हुर्केका बाल्यकालका हर ती साल;
आजैजस्तो लाग्छ आफैँले पनि सिकेको
हजुरकै भाकाबाट शब्दचयन गर्दै लिएको
तर आज केही कोर्न पनि म सक्तिन
हजुरको भौतिक उपस्थिति नै छैन भन्छन्
तर अहँ म त्यो पनि मान्दिन;
हजुर त आज पनि सृजनाका धरातलमा हुनुहुन्छ
मैले रचना गर्न खोज्ने हर रचनामा हुनुहुन्छ
खै ! कसरी बयान गरूँ ठुलो बुबा !
हजुर साहित्यिक आकाशमा सदा जीवित हुनुहुन्छ
हरेक शब्द र रचनाहरूमा मुस्कुराइरहनुहुन्छ।
हाल : टेक्सस, अमेरिका