मेरो स्मृतिमा : दैवज्ञराज न्यौपाने
खै म के लेखूँ ? कसरी लेखूँ ? कहाँबाट सुरु गरौं ? कहाँ अन्त गरौं ? दैवज्ञजीका सम्बन्धमा जोसँग पाँच दशकदेखि आत्मीय सम्बन्ध रह्यो । स्कूल कलेज पढ्दैदेखि म विद्यार्थी राजनीतिमा क्रियाशील थिएँ । भूमिगत बसेर पर्चा लेख्नु पर्दथ्यो । मुस्किलले कहीँं कतै साइक्लोस्टाईल पेफला पर्दथ्यो । अहिले जस्तो प्रेस सुविधा थिएन । थोरै प्रेस थिए जो पञ्चायती व्यवस्था विरुद्ध पर्चा छाप्न पनि डराउँथे । त्यस्तो कालरात्रिका अवस्थामा पनि हामीलाई यौटा स्वतन्त्र, स्वायत्त क्षेत्र उपलब्ध थियो – “तीनधारा संस्कृत छात्रावास”, काठमाडौँ । जहाँबाट २००४ सालमा शैक्षिक र राजनीतिक माग राखी नेपाली विद्यार्थीहरूले राणा शासनका विरुद्धमा “जयतु संस्कृतम्” आन्दोलनको उद्घोष गरेका थिए । हो, प्रजातन्त्रको त्यही अभेद्य किल्ला छात्रावासमा दैवज्ञजीसँग मेरो पहिलो भेट भएको थियो । २०२१–०२२ सालका विद्यार्थी आन्दोलनहरूमा होस् वा २०२७ सालमा म नेपाल विद्यार्थी सङ्घको संस्थापक सभापतिका हैसियतमा तीन महिनासम्म भूमिगत रहेर आन्दोलन सञ्चालन गर्दा होस् छात्रावासमा रहने दैवज्ञजीजस्तै सहृदयी साथीहरूको आतिथ्यभावले ठुलो टेवा पुर्याएको थियो ।
विद्यार्थी जीवन नै यौटा स्वर्णिम काल हो – मान्छेको जीवनमा । धेरै साथीभाइहरूसँग सम्पर्क, सम्बन्ध स्थापित हुन्छ । कोही बीचैमा टुङ्गिन्छ, साथ छुट्छ, वादविवाद हुन्छ । मत मतान्तर हुन्छ । कालचव्रफले कसैलाई कहाँ पुर्याउँछ, कसैलाई कहाँ । सबै आ–आफ्नो गन्तव्यतिर लागेका हुन्छन् । भेटघाट कम हुँदै जान्छ । तर दैवज्ञजीसँग मेरो कहिले पनि व्यक्तिगत सम्बन्धमा आँच आएन । मतभेद भएन । निरन्तर सम्पर्क भइरह्यो । जीवनको अन्तिम दिनसम्म पनि हामीहरू हमेसा साथसाथै रह्यौं ।
उहाँको सबैसँग सामाजिक, पारिवारिक एवं व्यक्तिगत सम्बन्ध सुमधुर नै रह्यो । मलाई लाग्छ, मसँग मात्र होइन, उहाँको जीवनमा कसैसँग वैरभाव भएन होला । अत्यन्त आकर्षक व्यक्तित्व, सुन्दर, हँसिलो चेहरा, संगीतमय बोली, मृदुभाषी– दैवज्ञजीसँग कसको, किन झगडा पर्न सक्थ्यो र ? नराम्रा कुरा उहाँको अगाडि आउन नै डराउँथे । सदैव सबैको भलो चिताउने, सकभर सहयोग गर्ने, कसैलाई निराश नतुल्याउने, सकारात्मक सोच राख्ने जस्ता उहाँका अतुलनीय गुणहरू थिए । स्वाभिमान, स्वावलम्बन, कर्मयोग, आत्मसम्मानका धनी व्यक्तित्व दैवज्ञजी प्रजातन्त्र प्राप्तिपछि पद, प्रतिष्ठा पाउन कसैको ढोका र कोठा चहार्नु भएन । ठुलो होइन, असल हुन मानिसले उहाँबाट प्रेरणा लिन सक्छ ।
राजनीतिक आस्थाको केन्द्र उहाँको बी.पी.कोइराला नै हुनुहुन्थ्यो । २०६८ साल आषाढ १० गते मेरा दुइटा किताबहरू “अन्तरवार्ता र लेख सङ्ग्रह” र बीना कोइरालाको “मौन आकाश” कविता सङ्ग्रह विमोचनका दिन शारीरिक अशक्तताले नदिए पनि उहाँको सगर्व उपस्थिति थियो । सत्ताको खेलमा तपाईं ठगिनु भयो होला, तर राष्ट्रियताको सवालमा, राजनीतिक मूल्य मान्यतामा तपाईंका अगाडि सबै समकालीन वामपुड्के देखिन्छन् भनेर मलाई हौसला दिनुहुन्थ्यो । म एक्लो छोरो– मर्दा, पर्दा दाजुभाइको सहयोग चाहिन्छ भन्छन्, उहाँले मलाई एक्लो महसुस हुन दिनु भएन । एउटा भाइ सरह टेवा दिइरहनु भयो । मेरी बहिनी सुधासित उहाँको बिहे भएपछि त हाम्रो झन् बढी आत्मीयता भयो ।
उहाँसँगका दुई रोचक प्रसङ्ग कोट्याउनु सान्दर्भिक हुन सक्छ । यौटा यो कि म र बीना उहाँलाई भेट्न कहिले काहीँ गैरीगाउँस्थित उहाँको निवास जान्थ्यौं । त्यत्रो साङ्घातिक पक्षाघातबाट थलिएर राम्ररी हात नचल्ने, बोली नपुफट्ने हुँदाखेरि पनि कहिले सुधालाई, कहिले भाइ महेश्वरलाई केही टिपाइरहनु हुन्थ्यो । म बुझिदन थिएँ । सुधा र महेश्वर उहाँको भाषा बुझन अभ्यस्त हुनाले पनि कहिल्यै हरेस खानु भएन । यो देखेर बीनाले मलाई तपाईं स्वस्थ पनि हुनुहुन्छ । लेख्न पनि सक्नुहुन्छ, तर किन लेख्नुहुन्न ? संसारलाई के दिएर जाने ? मलाई आत्मग्लानि त छँदै थियो । उनको यस प्रश्नले मलाई आज पर्यन्त झक्झकाइरहेछ ।
अर्को प्रसङ्ग के छ भने मेरा साना छोरा रोशन एघार वर्षपछि अमेरिकाबाट २०६६ सालको दशैंताका नेपाल फर्केका थिए । सुधा र दैवज्ञजी कहाँ टीका लगाउन जाँदा कोठाभरि सामाजिक र साहित्यिक योगदानका निम्ति पचासौं थान सम्मानपत्रहरू प्रेफममा सजाएर राखेको देखेछन् । उनी यति भावविह्वल भएछन् र शब्दमा यसरी पोखिएछन् –
बूढानीलकण्ठ स्कूलबाट “ए” लेभल सकेर उच्च शिक्षाका लागि म अमेरिका गएँ । बी.ए., एम.ए. सकेर यौटा नाम चलेकै कम्पनीमा कार्यरत छु । हावा, पानी शुद्ध छ । धुलो, धुवाँ छैन । यहाँजस्तो बिजुली जाँदैन, ग्याँस अभाव छैन । हडताल, चक्का जाम हुँदैन । सत्ताको लागि राजनीतिक कचिङ्गल छैन । राजनीतिक आस्थाका लागि यहाँ जस्तो कसैको ज्यान जाँदैन । सबथोक छ । तर एक थोक छैन – आफ्नो पहिचान, राष्ट्रिय स्वाभिमान । भिनाजुका यी सम्मानपत्रहरूले मृत्युपछि पनि उहाँको अस्तित्वबोध गराइरहन्छन् । भौतिक सुख समृद्धि बाहेक पनि संसार रहेछ । छोराको सरल यस प्रतिक्रियाले पनि मलाई केही गर्न घच्घच्याइरहेको हुन्छ । श्रद्धाका दुई शब्द...!
टेक्सास, अमेरिका २१ जुन, २०१२,