साहित्यका पुजारीको न्यानो स्नेह
दैवज्ञराज न्यौपाने (१९९९–२०६८) को व्यक्तित्वको बारेमा धेरै नै सुनेकी थिएँ । मैले उहाँलाई नजिकबाट पहिलो पल्ट हाम्रो घर चुच्चेपाटी, चावहिलमा भेटेकी थिएँ । त्यो पहिलो भेटमा नै उहाँको व्यक्तित्व, सरलता र आफ्नोपनले हामीबीच एउटा अटुट सम्बन्ध गाँसियो । हुन त, उहाँ नातामा मेरो देवर पर्नुहुन्छ । कवि उदयानन्द अर्ज्यालज्यूको पनाति कृष्णप्रसाद अर्ज्यालका छोरा रामेश्वरप्रसाद अर्ज्याल हुनुहुन्थ्यो (उदयानन्द–छविलाल–मनोरंजन–कृष्णप्रसाद– रामेश्वर–डा. प्रकाश अर्ज्याल) ।
मेरा ससुरा रामेश्वर अर्ज्यालज्यू उहाँको काका पर्नुहुन्थ्यो । दैवज्ञराज न्यौपानेज्यूसँग हाम्रो सम्बन्ध त्यस बेलादेखि क्रमशः अझ गाढा र अटुट हुन पुग्यो जतिबेला मेरा ससुराज्यूले (रामेश्वरप्रसाद अर्ज्याल) उदयानन्द स्मारक गुठीको स्थापनाबारे उहाँसँग राय सल्लाह गरी सो गुठीको २०४७ सालमा स्थापना भयो । उहाँ यस गुठीको सचिव हुनुहुन्थ्यो । गुठीको सञ्चालक समितिमा म पनि थिएँ । यसै गुठीको कार्यकालमा मैले उहाँबाट धेरै कुराहरू सिक्ने मौका पाएँ । मेरो पनि साहित्यपट्टि रुचि भएकाले यदाकदा आफ्ना मनका उद्गारहरू कोर्ने गर्थें । दैवज्ञजीले मेरो रुचिबारे अध्ययन गर्नु भएको रहेछ । एकदिन उहाँले भाउज्यू गुठीले उदयानन्द स्मारिका निकाल्दै छ भन्नुभयो । उदयानन्द स्मारिकामा नेपाली वीरधाराका अग्रगण्य कवि शीर्षकमा मैले कविता रचेँ । त्यो कविताको उहाँले प्रशंसा गर्नुभयो र मबाट केही त्रुटि भएकोमा औंल्याई दिनुभयो । उहाँको यो प्रेरणाले मनका उद्गारहरू कोर्न थालेँ ।
तर नियतिले हाम्रो पारिवारिक सम्बन्धमा बाधा पुर्याउने जमर्को गर्यो । उहाँ अस्वस्थ हुनुभयो । पक्षाघातले उहाँलाई बिस्तारै बिस्तारै मृत्युशैयामा पुर्यायो । आज उहाँ हाम्रो माझ हुनुहुन्न तर हाम्रो हृदयमा उहाँको स्नेह, प्रेरणा र आत्मीयता निरन्तर छ । उदयानन्द स्मारक गुठीको सफलताले शिखर चुमेको हेर्ने इच्छा विद्यमान छ । उदयानन्द गुठीको कार्य सञ्चालन भैरहेछ । तर गुठी र गुठीका हामी सदस्यहरू टुहुरा भयौं, बिना सेनापतिजस्तै । अहिले पनि उहाँका परिवारजनसँग त्यो आत्मीयता र न्यायो स्नेह अटुट छ । अन्तमा उहाँको प्रेरणादायी व्यक्तित्वप्रति श्रद्धाञ्जलिस्वरूप यो अभिव्यक्ति प्रकट गर्दछु ः–
नभमा उदायौ दैवज्ञ तिमी
सदा साहित्यका पुजारी तिमी
सरस्वतीका प्रिय पुत्र तिमी
शिक्षाको ज्योतिले प्रत्येक दैलो सिँगार्यौ
कवि उदयानन्दका कुलमणि
राष्ट्रियता र अखण्डताको
साहित्यरूपी ज्योति बाल्यौ
राष्ट्रलाई अमूल्य साहित्य भण्डारले भर्यौ
तर,
निष्ठुरी कालरूपी आँधीले उडाई लग्यो
आज हरेक नेपालीको घर अँध्यारो भया,े
तिम्रो प्रेरणा र कीर्तिलाई हामी सम्झिरहने छौँ।
२०६९ श्रावण ४
चुच्चेपाटी, चावहिल