भानिज दैवज्ञमा केही सम्झना र श्रद्धाञ्जलि
हाम्रा जिबा रामनाथ र ज्यामै इन्द्रछाया उपाध्याय भट्टराईका छ जना सन्तामध्ये दुई छोरामा जेठा डिल्लीकेशर, कान्छा मुक्तिनाथ र चार छोरीमध्ये हालको जिल्ला खोटाङ रावा खार्पाभित्र जेठापट्टिका पोखरेल छिँडीकोठे खरिदार बालकृष्ण पोखरेलकी धर्मपत्नी बन्न पुगेकी हाम्री पुफपू विष्णुमाया, यस्तै माहिली छोरी जिल्ला ओखलढुङ्गाको चारखु निवासी देवीप्रसाद पोखरेलकी सहधर्मिणी बन्न पुगेकी कृष्णमाया हुन् । यसै गरी साहिँली छोरी बछलादेवी रावा कुभिन्डे बगैँचाघर निवासी गणेशप्रसाद पोखरेलकी सहचरी बन्न पुगेकी, जो बालविधवाको पीडामा परिछिन् । पाको उमेर नहुँदै स्वर्गति भएर हो कि उनको बारे खासै सम्झना रहेन । यस्तै कान्छी छोरी अम्बिकादेवी पनि सोही कुभिन्डे गाउँको डिहीघर निवासी सुवेदार चूडामणि पोखरेलकी गृहलक्ष्मी बन्न पुगेकी रहिछिन् । जिबा रामनाथका जेठा छोरा डिल्लीकेशरकी छोरी दिव्यलोका सानै उमेरमा उदयपुर जिल्लाको थाक्ले गाउँ अन्तर्गत दमाईँ डाँडा निवासी कश्यपनाथ उपाध्याय पोखरेलकी जीवनसँगिनी बनेकी थिइन् ।
सगरमाथा अञ्चल अन्तर्गत सप्तरी जिल्लाको हाल हरिहरपुर गा.वि.स. मतिगढा भन्ने गाउँमा रहेको आफ्नो जग्गाको र खेतीको हेरविचार गर्न गएको बेला जिबा रामनाथका जेठा छोरा हाम्रा पिता डिल्लीकेशर औलाको जरोबाट सिकिस्त भएपछि त्यतिखेर जिल्ला सप्तरीकै कञ्चनपुरको कठमहल नजिक लतबेदी भन्ने ठाउँको घरमा बसेकी कुभिन्डे बगैँचाघरे गणेशप्रसादकी पत्नी बनेकी आफ्नै साहिँली दिदी बछलाले लतबेदीको घरमा हेरविचार गर्दागर्दै वि.सं.१९८१ को माघ कृष्ण तृतीयाका दिन परमधाम हुन पुगेपछि मेरा दाजु पं. देवीप्रसाद र मेरो भविष्य खास गरी जिबा–ज्यामै र आमा प्रेमकुमारीका हेरविचार तथा पालनपोषणमा केन्द्रित हुन पुग्यो । जेठीलाई खर्दार्नी दिदी र चार्खुकीलाई माइली दिदी भनिन्थ्यो भने हाम्री यिनै कान्छी पुफपू (जसलाई सबैले कान्छी दिदी भन्ने चलन थियो) यिनै अम्बिकादेवीका तीन छोरा र चार छोरीमध्ये जेठी उमादेवीको विवाह पूर्व भोजपुर गाउँ निवासी पं.गणेशप्रसाद न्यौपानेका साथ भएपछि यी भाञ्जी बहिनीका तीन छोरा र एक छोरीमध्ये जेठा दैवज्ञ, नातामा हाम्रा भानिज पर्ने अति मिलनसार, बुद्धिमान्, विद्वान्, फरासिलो र हँसिलो स्वभावका होनहार व्यक्ति थिए । हामी यिनका बूढो मावली भए तापनि आफ्नै मावली मानेर आमा उमाका साथ हाम्रो घर लामिडाँडा आउन र बस्न ज्यादै रुचाउँथे । दाजु देवीप्रसाद र म उनलाई धेरै माया र प्यार गर्थ्यौँ । उमेर छिप्पिँदै गएपछि पढ्ने र केही इलम गर्ने सिलसिलामा बढी काठमाडौंतिरै बस्न थालेपछि हामीसितको सम्पर्क र भेटघाट पातलिँदै गए तापनि पक्षाघातको रोगले पीडित भएका छन् भन्ने सुनिँदै थियो ।
यस्तैमा भानिज दैवज्ञराज न्यौपानेले ता परमधाम भएको भन्ने सोच्दै नसोचेको खबर सुन्नु पर्दा झसङ्ग भयौँ । उनी के यो संसारमा अब छैनन् त भन्नेतर्पफ दिमाग घुम्दै जाँदा उमेर कमै भए तापनि दैवीलीला हो, यस्तै रहेछ यो संसार भनी चित्त बुझाउन करै लाग्यो । यसमा हाम्रो उपाय पो के थियो र ? अन्त्यमा, उनका अमर आत्माको चिरशान्तिका लागि राष्ट्रदेव श्रीपशुपतिनाथसित प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
२०६९ भाद्र ११
इनरुवा–९, बलाहा, सुनसरी