सम्झनाका तरेलीमा दैवज्ञ दाइ
२०६९ को दसैँमा टीका लगाउन कहाँ गइनँ ? कहाँ गइनँ ? कहाँ छुट्यो ? कहाँ छुट्यो ? जस्तो भइ रह्यो । दैवज्ञ दाइ स्वर्गे भएर जान नपाएको सम्भिँफदा मन अमिलो भयो । दसैँ खल्लो लाग्यो । गत वर्षको दसैँमा केदार दाइ सहयोगी बनेर दैवज्ञ दाइले टीका लगाएको सम्झिएँ । पोहोरको दसैँपछि मङ्सिर २०–२२ तिर भेट गरेको थिएँ । उपचारका क्रममा दिल्ली गएर फर्किएपछि उहाँको सिर्जनाको क्रम पुनः सुरु भएको थियो । हात कामेर अक्षर किरिङमिरिङ हुन्थे । अभ्यस्त व्यक्तिले साफी गरि दिनु पर्थ्यो । पुनः लेख्न थालेपछि उहाँमा पनि उत्साह थपिएको अनुभव गरेको थिएँ । उहाँका सिर्जनाहरू बढ्ने भए, दुईचार वर्ष बढी बाँच्ने हुनु भयो जस्तो लागेको थियो । पछिल्लो भेटमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द स्मारिका प्रकाशित गर्दै छ, दाजुले दिङ्लाको संस्मरण लेख्नु पर्यो” भनेँ । प्रत्युत्तरमा “एउटा थालेको छु, त्यो सकेपछि तिम्रो पालो” भन्नु भएको थियो । मेरो पालो आएन । २०६८ पुस २ गते बिहान दाजु स्वर्गे भएको खबर सुनेँ । बन्दका दिन बडो कष्टले पशुपति आर्यघाट पुगेर दाह संस्कारमा सहभागी भएको पनि करिब ११ महिना भएछ । यस बिचमा स्मृतिग्रन्थ प्रकाशन उपसमितिका संयोजक श्री कोषराज न्यौपानेले छिटो लेखेर बुझाउन पटक पटक म्याद दिनु भयो । सबै पटकको म्याद गुजारेँ । २०६९ सालको दसैँले लेख्न ढिलो गरेकोमा गाली गर्यो । म झसङ्ङ भएँ र श्रद्धेय दैवज्ञ दाइप्रति कृतज्ञता जनाउन संस्मरणका केही शब्दपुष्प अर्पण गर्ने प्रयास गर्दै छु ।
संस्मरण कहाँबाट सुरु गर्ने ? ठुलो दुबिधामा छु । मैले दैवज्ञ दाइलाई २०१६ सालदेखि चिनेको रहेछु । २०१६–२०२७ सम्मको समय सामान्य चिनारी र सम्बन्धको रहेछ र २०२८–२०६८ विशेष चिनारी र निकट एवं आत्मीय सम्बन्धको ।
मैले २०१६ सालमा साङराङ सिरानबाट प्रतिदिन ओराला झरेर दिङ्ला भन्ज्याङको तात्कालिक षडानन्द संस्कृत प्रधान पाठशालामा चार कक्षामा पढ्न थालेँ । दैवज्ञ दाइ त्यति वेला उक्त पाठशालाकै विद्यार्थी हुनु हुन्थ्यो माथिल्लो कक्षाको । मैले सर्वप्रथम उहाँलाई त्यहीँ चिनेको हुँ । मैले देखेका दैवज्ञ दाइ गोरो, अग्लो, राम्रो तर सिकुटे हुनु हुन्थ्यो । उहाँ पाठशालाको छात्रावासमा बस्नु हुन्थ्यो, सम्भवतः मन्दिरदेखि पूर्वतिरको तात्कालिक बुर्जाकोठामा । उहाँ बसेको वेलामा म त्यस कोठामा एक पटक पसेको सम्झना छ । मेरा बडाबाका छोरा दाजु झलक रमण सुवेदी र उहाँले मित लगाउनु भएको रहेछ । झलक दाजु पनि त्यति वेला धेरै जसो छात्रावासमै बस्नु हुन्थ्यो, सम्भवतः सँगै । दिङ्ला, साङराङको तत्कालको झलक दाइको र हाम्रो घरको आँगन एउटै थियो । त्यस वेला दैवज्ञ दाइलाई झलक दाइको घरमा देखेको पनि धमिलो सम्झना छ । उहाँसँग बात मारेको, बोलेको कुनै सम्झना छैन ।
२०१८ साल पुसमा शनिवारका दिन हाटडाँडामा अति सामान्य विषयमा दिङ्लाका कुनै एक ठुलाबडा भनाउँदा व्यक्तिले दैवज्ञ दाइमाथि सानोतिनो आक्रमण गरेछन् । उहाँका मित झलक रमण सुवेदीले छुट्याउनु भएछ । त्यस घटनाले उहाँ र टाढाबाट पढ्न आएका पाठशालाको छात्रावासमा बसेका विद्यार्थीहरूको स्वाभिमानमाथि ठुलो चोट पुगेछ । त्यस घटनाको लगत्तै पूर्वाञ्चलको विभिन्न जिल्लाका छात्रावासमा बस्ने ७८ जना साथीहरू सहित दैवज्ञ दाइले दिङ्ला छोड्नु भएछ । म केटाकेटी नै थिएँ । उहाँहरूले दिङ्ला छोडि सकेपछि मात्र मैले यो घटना थाहा पाएँ ।
त्यस वेला मेरा मानसपटलमा गोगनेबाट पढ्न आएको गोरो, अग्लो, राम्रो र स्वाभिमानी, दाजुको मित, मेरा मितदाजु दैवज्ञ न्यौपान;े बस, त्यति मात्र थियो ।
म दिङ्लाबाट २०२५ सालमा शास्त्री तहको अध्ययनका लागि पिण्डेश्वर महाविद्यालय विजयपुर, धरान आएँ । २०२५ सालको श्रावणदेखि फागुनसम्म र २०२६ सालको श्रावणदेखि फागुनसम्म धरान बसेको हुँ । विजयपुरको तात्कालिक ठुलो आँगन (गोरे साहुको घर) मा डेरा थियो । केदार न्यौपाने, कविराज न्यौपाने, लोमश न्यौपाने, टीका न्यौपाने, वासुदेव भट्टराई, मोहिनी अधिकारी, टेकनाथ लम्साल, हरि प्रसाद तिम्सिना आदि मित्रहरू एउटै घरका विभिन्न कोठामा बस्थ्यौँ । न्यौपाने बन्धुहरू दैवज्ञ दाइका भाइ भतिजा हुनु हुन्थ्यो । उहाँहरूले विभिन्न सन्दर्भमा दैवज्ञ दाइको एम.ए. पढ्दै गरेको, प्रतिभाशाली कवि व्यक्तित्वको चर्चा गर्नु हुन्थ्यो । मेरो मन मस्तिष्कमा सातआठ वर्ष अधिको अग्लो गोरो सिकुटे व्यक्तित्वको छाप थियो । २०२५ सालतिरै जब उहाँ काठमाडौँबाट धरान जानु भयो तब उहाँका बारेको मेरा मन मस्तिष्कमा अङ्कित व्यक्तित्व परिवर्तन भयो । वर्ण, उचाइ, शारीरिक बनोट, अनुहार आदि सबै पक्षमा अत्यन्त सुन्दर सृष्टिकर्ताले कुँदी कुँदी बनाए जस्तो सुन्दर व्यक्तित्व प्रतिस्थापित भयो । सात वर्षपछिको एक पटकको धरानको भेटघाटले ममाथि त्यस्तो छाप छोड्यो । एम.ए. पढ्दै गरेका, मिठा मिठा कविता लेख्ने मोहक एवं प्रेरक व्यक्तित्वका धनी दैवज्ञ दाइ हामी सबका आदर्श हुनु हुन्थ्यो र आदर्श रहि रहनु भयो ।
२०२६ सालमा शास्त्री तहको परीक्षा दिएपछि म करिब डेढ वर्ष झापाको सुरुङ्गामा खेती गरेर बसेँ । मेरा सहपाठी केदार न्यौपाने र कविराज न्यौपाने २०२७ सालमै काठमाडौँ आइ सक्नु भएको थियो । म २८ साल भदौमा काठमाडौँ आएँ र खोटाङका दीपमणि पोखरेलजीसँग डेरा लिएर डिल्ली बजारमा बसेँ । काठमाडौँ आएको दुईतिन दिनपछि साथीभाइले पद्मोदय स्कुलको उत्तरतिरको मूल सडकदेखि थोरै भित्रको सानु काजी श्रेष्ठको घरको दैवज्ञ दाइको डेरा देखाइ दिए र करिब तिन वर्षपछि उहाँसँग पुनः भेट भयो । पुतली सडकको उहाँको डेराबाट टङ्कमणि नेपाल र तीर्थराज भट्टराई भर्खरै निस्कनु भएको रहेछ । तत्काल दैवज्ञ दाइका अभिभावकत्वमा केदार–महेश्वर–कविराज न्यौपाने, अच्युत रमण अधिकारी, बाबुराम दाहालजीहरू बस्नु भएको रहेछ । दरबार स्कुलमा पढ्ने अच्युत न्यौपाने भान्सा सहयोगी रहेछन् । डेरा नजिक भएकाले सधैँजसो आउजाउ गर्थें । आएको एक महिनापछि नै दसैँ आयो । अहिले जस्तो यातायातको सुविधा थिएन । मित्रराष्ट्र भारत भएर विराटनगरतिर आउजाउ गर्नु पर्थ्यो । त्यसैले दसैँमा घर गइनँ । गोविन्द विनोद चापागाईं, तीर्थ चापागाईं, दीपमणि पोखरेल र म भएर धरहराको फेदबाट रु. ९३।– मा पाँच धार्नीको खसी किनेर दसैँ मनाएका थियौं । दसैँमा पहिलो पटक घर छोडेकाले अलिक नरमाइलो लागेको थियो । दैवज्ञ दाजुहरू पनि घर नजानु भएकाले उहाँसँगै दसैँको टीका लगाएँ । २०२८ सालदेखि सुरु भएको टीकाले दसैँमा काठमाडौँमा बस्दा २०६८ सालसम्म नै निरन्तरता पायो । २०२८ मङ्सिरतिर दीपमणि पोखरेलजीको काठमाडौँबाट सरुवा भएपछि डेरामा म एक्लै भएँ । त्यसको लगत्तै मैले पनि दैवज्ञ दाइकै डेराको सदस्यता प्राप्त गरेँ ।
प्रेरणा स्रोत हौ हाम्रा, हौ तिमी कवि राष्ट्रका
सौहार्द्र मित्रका लागि ज्ञानी गुरु त शिष्यका
भाइ भतिज छोराको अभिभावक नै भई
कुद्यौ कुदायौ संसारै जिम्मेवारी सधैँ लिई ।
कविराज न्यौपानेः दैवज्ञ : पद्यध्वनि
दैवज्ञ दाइका बारेको कविराज न्यौपानेको माथिको अभिव्यक्ति अत्यन्त सटीक लाग्छ । काठमाडौँमा आफ्ना भाइ भतिज (दाइ भनेर नजिक हुनेहरु सबै उहाँका आफ्नै भाइ थिए) हरुको अभिभावकीय भूमिका कसरी निर्वाह गर्नु भएको थियो, त्यसबारे अलिकति चर्चा गरौँ ।
पुतली सडकको डेरामा सातआठ जनाको परिवार थियो । प्रायः एकदुई जना पाहुना टुट्दैनथे । परिवारिक वातावरण थियो । त्यस परिवारको अभिभावक जेष्ठ श्रेष्ठ, उदार, भद्र, क्षमाशील आदि गुणका धनी दैवज्ञ दाइ हुनु हुन्थ्यो । सबैलाई समान र एकनासको व्यवहार गर्नु हुन्थ्यो । मिष्ठभाषी हुनु हुन्थ्यो । खर्चको हिसाब किताब राख्ने जिम्मेवारी उहाँकै थियो । खाद्य सामग्री ल्याउने रकमको प्रबन्ध उहाँले नै गर्नु हुन्थ्यो । दाल चामल ल्याउने निर्देशन गर्नु हुन्थ्यो । स्मरण रहोस्, त्यस भान्सामा एक मुरी चामलले एक महिना पुग नपुग हुन्थ्यो । कतिपय अवस्थामा तरकारी पनि आफैँ किनेर ल्याउनु हुन्थ्यो । उहाँको अभिभावकत्वमा समयमा घरबाट पैसा आइ नपुग्दा पनि कोही भोको बस्नु पर्दैनथ्यो । त्यति वेला बाहिरी जिल्लाका मानिसहरू काठमाडौँमा कम आउँथे, कम थिए । केही जागिरे र थोरै विद्यार्थीहरू मात्र काठमाडौँ आउँथे । सामान्यतः विद्यार्थीहरूका आफन्त हुँदैनथे । अहिले जस्तो यातायात, सञ्चार, बैङ्किङ आदि सुविधा थिएन । घरबाट चाहेर पनि समयमा रकम पठाउन सकिँदैनथ्यो । गाउँबाट काठमाडौँ आउने मानिस अत्यन्त कम हुन्थे । संयोगले कोही काठमाडौँ आउने मानिस भेटिएमा मात्र खर्च पठाउन सकिन्थ्यो । त्यस्तै परिस्थितिका कारण म डिल्ली बजार बस्दा एकदुई छाक भोको बसेको छु । त्यसैले खर्च सिद्धिएर पनि आनन्दले दालभात खान पाउने सुविधा पनि ठुलो मानिन्थ्यो ।
कविराज, अच्युत रमण र बाबुराम एम.ए. (नेपाली) का रेगुलर (नियमित) विद्यार्थी थिए भने केदार दाइ र म प्राइभेट विद्यार्थी थियौँ अनि महेश्वर दाइ बी.एड. को विद्यार्थी हुनु हुन्थ्यो । परीक्षाको तयारीका लागि सहपठन एवं छलफल गर्न राम प्रसाद खतिवडा, नारायण प्रसाद खतिवडा, पुरुषोत्तम पोखरेल, नीलमणि ढुङ्गाना आदि धेरै जना साथीहरु पनि आउनु हुन्थ्यो दैवज्ञ दाइ सबलाई उत्साह र प्रेरणा दिनु हुन्थ्यो । परीक्षाको तयारीका सन्दर्भमा विविध विषयको सामूहिक र व्यक्तिगत शिक्षण पनि गर्नु हुन्थ्यो । यसरी दाइ अभिभावक र शिक्षक दुबै हुनु हुन्थ्यो । यस डेराघरमा झन्डै झन्डै गुरुकुलको झझल्को आउँथ्यो ।
२०२८ साल माघको तेस्रो हप्तादेखि एम.ए. को परीक्षा थियो । परीक्षाको तयारी राम्रो थिएन । म भदौमा आएर माघमा परीक्षा दिन खोज्नेको तयारी राम्रो हुने कुरै भएन । म जस्ता अरू पनि थिए । रेगुलर पढेर राम्रो तयारी गरेका साथीहरूलाई पनि अझ तयारी नपुगेको जस्तो लाग्नु स्वाभाविक थियो । अरू कुनै घटनाले विश्व विद्यालयको परीक्षा रोकिँंदैनथ्यो, राजै मरे मात्र रोकिन्थ्यो । तयारी राम्रो नभएको सन्दर्भमा राजै मरे त परीक्षा रोकिन्थ्यो भनेर कुरा गरेको एकदुई दिनमै माघ १७ गते राजा महेन्द्र स्वर्गे भएर परीक्षा रोकिएको घटना पनि अविस्मरणीय रहेको छ ।
पुतली सडकको डेराकै एउटा अर्को छोटो सन्दर्भ कोट्याउन मन लाग्यो । कविराज न्यौपाने र म कहिले काहीँ जिस्किन्थ्यौँ, चल्थ्यौँ । चल्दा चल्दै एक दिन सम्भवतः दैवज्ञ दाइकै कोठाको एउटा टेबुल भाँच्यौँ । मैले बेलुका डराई डराई साँचो कुरा बताएँ । दाइले “ए ! त्यस्तो बहादुरी पो देखायौ ?” भन्दै हाँसेर पचाइ दिनु भयो ।
दैवज्ञ दाइ त्यतिखेर बिहान भक्तपुर कलेज र दिउँसो सानो ठिमी कलेजमा प्राध्यापन गर्नु हुन्थ्यो । दाजु कलेजबाट फर्किएपछि र छुट्टीका दिन समेत प्रायः हामी सबै दाजुसँगै नयाँ सडक जान्थ्यौँ । पञ्चायत कालमा राजनीतिक पाटीहरु प्रतिबन्धित थिए । त्यस वेला कार्यालय समयपछि नयाँ सडक पिपल बोटमा शिक्षक, प्राध्यापक, पत्रकार राजनीतिज्ञ, बुद्धिजीवी आदि विभिन्न पेसा व्यवसायका व्यक्तिहरू जम्मा हुन्थे, राजनीति र अन्य समसामयिक विषयमा कुराकानी गर्थे । नयाँ मानिसहरूसँग चिनारी हुन्थ्यो, साथी बन्थे, साथी बनाउँथे । नयाँ सडक जाँदा प्रत्येक दिन शुक्रपथको मखन गल्लीमा रहेको होटेलमा दाइले हाम्रो जत्थालाई चियाखाजा ख्वाउनु हुन्थ्यो । पनिर र समोसा बढी खाइने खाद्य परिकार थिए । दाइले तत्काल सिर्जना गरेका गीत/कविताका पहिलो श्रोता हामी हुन्थ्यौँ । दाजुलाई कलेज पढ्ने केही छात्राहरूले प्रेमपत्र पठाउँथे । उहाँले आदर्श गुरु बनेर तिनको जबाफ फर्काउनु हुन्थ्यो । प्रेमपत्रको जबाफको पहिलो स्रोता पनि हामी नै हुन्थ्यौँ ।
दैवज्ञ दाइको भाइहरूसँग र उहाँका भाइहरूको दाइसँग आदर्श सम्बन्ध थियो । भाइहरू दाजुसँग धकाएर बिस्तारै कुरा गर्नु हुन्थ्यो । दाजु पनि मिठो एवं स्नेहार्द्र बोलीमा जबाफ गर्नु हुन्थ्यो/अराउनु हुन्थ्यो/निर्देशन गर्नु हुन्थ्यो । दाजुका राजनीतिक, साहित्यिक, अध्ययन अध्यापन र अन्य क्षेत्रका समवयी धेरै साथीभाइ र इष्टमित्रहरू थिए तर डेराघरमा अन्तरङ्ग साथी कोही थिएन । छुट्टीका वा अन्य कुनै दिन कहिले काहीँ मलाई लिएर सिनेमा हेर्न जानु हुन्थ्यो । म त्यति सिनेमा नहेरेको र सिनेमाले नतानेको मानिस थिएँ । २०२५ सालतिर कुनै एक दिन धरानको शिव टाकिजमा मित्र मोहिनी अधिकारी र हरि प्रसाद तिम्सिनासँग सिनेमा हेर्न गएको थिएँ । फाइट धेरै भएको सिनेमा रहेछ । मध्यान्तरसम्म बडो कष्टले बसेँ । त्यसपछि सिनेमा र साथी छोडेर हलबाट निस्किएर एक्लै डेरातिर लागेँ । आधा बाटो नपुग्दै सिनेमाको नाम पनि बिर्सिएँ । यस्तो मानिसलाई साथी बनाएर पाँचसात ओटा सिनेमा हेर्नु भयो होला दाजुले । उहाँले देखाएका मध्ये “ए ! लाल रङ कब मुझे छोडेगा !” भन्ने गीत भएको फिल्म नयाँ सडकको रञ्जना हलमा हेरेको मधुरो सम्झना चाहिँ अहिले पनि छ ।
दैवज्ञ दाजुले २०२९ सालमा धनकुटा, कचिँडेका डा. शिव प्रसाद पोखरेलकी साहिँली छोरी रीताको तस्विर हेरेर बिहा गर्ने निर्णय गर्नु भयो । त्यस वेला “तस्विर हेर्दा” कविता लेख्नु भएको थियो । उक्त कविता विवाहका समयमा यज्ञ मण्डपमा आफैंले वाचन गरेर सबैलाई सुनाउनु भएको थियो । त्यस कविताका सुरुका दुई श्लोक यस्ता छन् :
काला केश शरीर हेर्न गठिलो आँखा भने खुल्दछ
राम्रो भन्नु नभन्नु चित्र मुखको के रूप यो खुल्दछ
बोकी अन्तरद्वन्द्व लाग्छ मनमा तस्वीर यो बस्छ झैँ
भित्री छन् न त देखिने सब कुरा के भन्नु के भन्नु खै ?
के हेर्ने सबथोक ठिक्क छ भनूँ धोका हुने हुन्छ कि ?
भैगो हुन्न भनूँ अकार्थ अरुको या मर्म पो छुन्छ कि ?
यस्तै प्रश्न थपेर उत्सुक सयौँ छन् जान्न खोज्ने मन
लाखौँ छन् न त जानिने सब कुरा तस्वीर हेरी कन ।
नौ श्लोकको त्यो कविता पछि “जोर मुरली” कविता सङ्ग्रहमा प्रकाशित भएको छ । बिहा असारको अन्त्यतिर जनकपुरमा भएको थियो । बिहापछि पनि एम.ए. दोस्रो वर्षको परीक्षा (२०२९ माघ) सम्म सबै सँगै बसेका थियौँ । परीक्षापछि अच्युत रमणजी सपरिवार अलग्गै डेरा लिएर बस्नु भयो । बाबुरामजी घर तिर जानु भयो । कविराजजी २०३० श्रावणमा ठाकुरराम क्याम्पस वीरगन्जमा सहायक प्राध्यापक पदको नियुक्ति लिएर जानु भयो । त्यसपछि परिवार बाहिरको सदस्य म मात्र साथमा थिएँ । २०३० भाद्र आश्विनतिर पुतली सडकबाट नयाँ वानेश्वरको एभरेस्ट सेराटन होटेलको दक्षिण पूर्वमा रहेको भूपेन्द्र बस्नेतका घरमा डेरा सर्यौँ । त्यति वेला रीता भाउजू गान्धी आदर्श हाइस्कुलमा पढाउनु हुन्थ्यो । २०३० साल फागुनमा मेरो काहिँलो भाइ फणीन्द्र काठमाडौँ आएपछि नयाँ वानेश्वरको थापागाउँमा डेरा लिएर बसेँ । डेरा सर्दा भान्साका लागि आवश्यक साना तिना सामाग्री भाइ अंश लगाए जस्तै गरी सम्झी सम्झी रीता भाउजूले दिनु भएको सम्झना झलझली आउँछ । यसरी २०२८ मङ्सिरदेखि २०३० फागुनसम्म म दैवज्ञ दाइको सान्निध्यमा पारिवारिक सदस्य भएर बसेको थिएँ ।
माथि भर्खरै रीता भाउजूको नाम लिएँ । दाइको संस्मरणमा भाउजूको अलिकति पनि चर्चा गरिएन भने अन्याय हुन जान्छ । रीता भाउजू बिहा भएर आएपछि संयुक्त परिवारमा विद्यार्थी जस्तै बनेर बस्नु भयो । भिडभाडमा बस्नु पर्यो भन्ने आशयको उद्गार, हाउभाउ वा व्यवहार देखाउनु भएन । सरल, सुसंस्कृत र सुशीला हुनु हुन्थ्यो । मेरा लागि दाजु जस्तै सधैँ प्रेरक र सहयोगी रहनु भयो, आजीवन स्नेह गरि रहनु भयो ।
दैवज्ञ दाइसँगको बसोबासका चार घटनाहरू अविस्मरणीय रहेका छन् :
घटना एक : जनकपुरको गर्मी
दैवज्ञ दाइको बिहा असार महिनामा भएको थियो । त्यसका लागि दुलही पक्ष धनकुटाबाट र दुलाहा पक्ष काठमाडौँबाट जनकपुरमा जुटेका थियौँ । दुलाहा पक्षमा मामा खिलनाथ पोखरेल र माइजू सावित्रा विराटनगरबाट आउनु भएको थियो । काठमाडौँबाट जानेमा दुलाहा दैवज्ञ दाइ, जन्तीमा कविराज न्यौपाने, कृष्ण न्यौपाने (विराटनगर), महेश्वर न्यौपाने र म सहित जम्मा पाँच जना थियौँ । दाइका मित्र राम प्रसाद भट्टराई (रा.रा. क्याम्पस जनकपुरका तात्कालिक क्याम्पस प्रमुख) ले एउटा घर बन्दोबस्त गरि दिनु भएको थियो र त्यही घरबाट बिहा सम्पन्न भएको थियो ।
जनकपुरको यात्रा असारको अन्त्य अन्त्य तिरको थियो । हामी गएको १५–२० दिन अघिदेखि पानी परेको रहेनछ र हामी बसुन्जेल पनि परेन । हामीले जनकपुर टेकेदेखि नै गर्मीको कडा प्रहार अनुभव गर्यौँ । जनकपुरको पहिलो र करिब एक हप्ता लामो बसाइको जीवनमा पहिलो पटक अनुभव गरेको कडा गर्मी थियो । आँपको मौसम थियो । जनकपुरका आँप बेसरी खायौँ । आँपले पनि भित्री गर्मी बढाउँदो रहेछ ! आँप खान पनि छोडेनौँ र गर्मीले अत्तालिन पनि छोडेनौँ । महेश्वर दाइ हामीभन्दा दुई दिनपछि जानु भएको थियो । पहिलो भेटमा हामीलाई त औधी गर्मीको अनुभव भएको छ भनेँ, प्रत्युत्तरमा “मलाई त त्यस्तो लागेन” भन्नु भएको थियो तर भोलिपल्टदेखि गर्मीले उहाँ पनि साह्रै अत्तालिनु भएको थियो । यसरी त्यति वेलाको जनक पुरको गर्मी अविस्मरणीय बनेको थियो ।
बिहापछि मामा माइजू विराटनगर फर्किनु भयो । महेश्वर, कविराज, कृष्ण र म दिवा सेवाबाट काठमाडौँ फर्कियौँ । हामी डेरा प्रवेश गर्दा करिब नौ बजेको थियो । डेरामा त पाहुना खचाखच थिए । सुत्ने ओछ्यानहरू भरिभराउ देख्दा कृष्ण न्यौपानेले “यो डेरा हो कि धर्मशाला हो” भनेर कडा प्रतिक्रिया जनाउनु भएको थियो । दुलाहा दुलही भोलिपल्ट हवाई जहाजबाट आउनु भयो । उडान छिटैको रहेछ, कोठा सफा गरि नसक्दै, कोठामा बुङबुङ्ती धुलो उडेकै वेला टुप्लुक्क आइ पुग्नु भयो । असहज अनुभव गर्दै हामीले लाज पचायौँ ।
घटना दुई : नव दम्पतीसँगको धुलिखेल यात्रा
बिहाको केही दिनपछि सम्भवतः शनिवार थियो होला । खाना खाएपछि “ए लाला ! लू हिँड” भन्नु भयो । कता जाने ? केही थाहा थिएन । यात्रा धुलिखेलको रहेछ । मैले पहिलो पटक साँगा भन्ज्याङ काट्दै थिएँ । दाइ, भाउजू र म बस चढेर धुलिखेल पुग्यौँ । टुँडिखेलमा मञ्जुलजीसँग भेट भयो । हामी टुँडिखेलबाट माथि थुम्कीतिर जाने कि नजाने ? दोधारमा थियौँ । मञ्जुलजी उकालो चढेर गीत गाउन थाल्नु भयो । त्यसपछि हामी पनि रौसियौँ । उकालो चढ्न थाल्यौँ र केही माथि गएर बायाँ साइडतिर लाग्यौँ । पखेरामा सानो चौर थियो । त्यहाँबाट पाँच खालको दृश्य अलि अलि देखिन्थ्यो । घाम अलि अलि लाग्दै थियो । दाजुले खल्तीबाट क्यामरा झिकेर भाउजूको एउटा फोटो खिच्नु भयो । त्यत्तिकैमा बादलले घाम छेक्यो । घाम लागेपछि अरू फोटो खिच्ने भनेर एक छिन कुर्यौँ । घाम लाग्नु त कहाँ कहाँ ? एक छिनमा आकाश कालोनिलो भयो र मुसलधारे वर्षा सुरु भयो । छाता, ओडा केही थिएन; कतै ओत लाग्ने ठाउँ पनि थिएन । रुझदै ओरालो झर्नु बाहेक अर्को विकल्प थिएन । ठुलो पानी बाटाभरि भल । भल र चिप्लोले ओरालो झर्न अत्यन्त कठिनाइ भएको थियो । भलको पानीमा जुत्ता चोबल्दै, वेला बखत चिप्लिएर हात टेक्दै एकले अर्काप्रति मनमनै सहानुभूति जनाउँदै झर्यौँ । ओरालो बाटोको कान्लामा ठाउँ ठाउँमा माटाका स–साना ओडार थिए । सहारा मिल्यो भनेर त्यस्ता ओडारमा ओत लाग्दा एक छिनमा टाउका माथि भल पानीको धारो खनिन्थ्यो र टाउकादेखि नै जिउ हिलाम्मे हुन्थ्यो । यसो गर्दै बडो कष्टले टुँडिखेल झर्यौँ र त्यहाँबाट बस चढेर बनेपा चोकमा उत्रियौँ । चोकमा सिङ्गै खसी काटेर मासुका अनेक परिकार बनाउने होटल रहेछ । अगेनाको ठुलो आगाका वरिपरि बसेर मासुका अनेक परिकार खाँदै जिउमै लुगा सुकायौँ र काठमाडौँ फर्कियौँ । यो नयाँ दुलहा दुलहीसँगको यात्रा हिले जात्रा पनि अविस्मरणीय रहेको छ ।
घटना तिन : टाईफाइडको बिरामी कुरुवा
२०३० साल कार्तिकमा दैवज्ञ दाइलाई ज्वरो आयो । टाईफाइड भएको रहेछ । उपचारका लागि वीर अस्पताल भर्ना हुनु भयो । टाईफाइडको ज्वरो धेरै दिनसम्म आएको थियो । निकै दिन अचेत जस्तै हुनु भएको थियो । केदार दाइ, महेश्वर दाइ र म भएर आलोपालो गरी बिरामी कुर्थ्यौं । दुई जना नभई बिरामीको रेखदेख गर्न सकिँदैनथ्यो । दाजु अलिक ठुलो दारको हुनु हुन्थ्यो । बेहोसीमा हात खुट्टा फालेर बेडबाटै खसौँला जस्तो गर्नु हुन्थ्यो । दुई जनाले दुईतिरबाट अचेटेर राख्नु पर्थ्यो । त्यसैले बिरामी कुरुवाले निकै कडा पहरा दिनु पर्थ्यो । अस्पतालले बिरामीका लागि निकै दुध दिन्थ्यो । बिरामीले केही खानु हुन्नथ्यो । त्यस दुधले बिरामी कुरुवालाई भने ऊर्जा प्रदान गरेको थियो । टाईफाइडको ज्वराले हप्तौँ दिन अचेत भएको मैले देखेको थिइनँ र देखेको पनि छैन । अनि बिरामी कुरुवा भएर यस्तो कडा पहरा पहिलो पटक दिनु परेको यो घटना पनि मेरा लागि बिर्सन नसकिने प्रकृतिको रह्यो ।
घटना चार : बिरामीद्वारा बाबुको काजक्रिया
२०३० साल कार्तिकमा हरिबोधिनी एकादशीका दिन भोजपुर, गोगनेमा दैवज्ञ दाइका पिताजी पं. गणेश प्रसाद न्यौपाने स्वर्गे हुनु भएछ । भोजपुरबाट भक्तपुर कलेजको ठेगानामा पठाएको आ.वा. हराएछ । उता पिताजी स्वर्गे भएको र यता दाइलाई टाईफाइड भई हस्पिटल भर्ना भएको समय नजिक नजिक परेछ । अहिले जस्तो टेलिफोन र यातायातको सुविधा थिएन । आकाश वाणी नै छिटो सूचना दिने माध्यम थियो । त्यो नै हराएपछि थाहा हुने कुरो भएन । अस्पताल भर्ना भएको करिब दुई हप्तापछि दाजु डिस्चार्ज हुनु भएको थियो । उहाँ अन्यन्तै कमजोर हुनु हुन्थ्यो । डिस्चार्ज भएको एकदुई दिन र पिताजी स्वर्गे भएको करिब २२ दिनपछि दाजुको बिदा मिलाउन केदार दाइ भक्तपुर कलेज जाँदा कलेजको ठेगानामा आएको मामा खिलनाथ पोखरेलको समवेदनात्मक पत्रबाट पिताजी स्वर्गे भएको जानकारी प्राप्त भयो । केदार दाइ भक्तपुरबाट श्री राधेश्याम भट्टराईजीको तात्कालिक कार्यालय राष्ट्रिय अभिलेखालय आउनु भयो । म त्यति वेला वनस्थली बोर्डिङ स्कुल बालाजु (हालको सिद्धार्थ वनस्थली) मा शिक्षण गर्थें । केदार दाइले राष्ट्रिय अभिलेखालयबाट मलाई फोन गर्नु भयो र म पनि त्यहीँ गएँ र घटनाको जानकारी पाएँ । अब समस्या पर्यो, बिरामी दाजुलाई त्यस्तो दुखद घटना कसरी सुनाउने ? हामीले सल्लाह गर्यौँ : केदार दाइ आज राधेश्याम दाइको डेरामा बस्ने र भोलि बिहान मात्र आफ्नो डेरामा आउने । मैले धरानबाट तत्काल काठमाडौँ आउनु भएका गुरु छविलाल पोखरेललाई बोलाउने र उहाँलाई नै त्यो घटना सुनाउन लगाउने ।
सल्लाह अनुसार भोलिपल्ट बिहान मैले छविलाल गुरुलाई बोलाएँ । गुरुले नै दुखद समाचार सुनाउनु भयो र सम्झाएर जानु भयो । मामा खिलनाथको पत्रबाट पनि यही दिन स्वर्गे भएको भन्ने उल्लेख नभएकाले काज क्रिया थाल्न अलिक असहज भएको थियो । दैवज्ञ दाइ अत्यन्त कमजोर हुनु हुन्थ्यो । निर्णय गर्न अप्ठ्यारो भएको थियो । दिउँसो १२–१ बजेसम्म के गर्ने ? के गर्ने जस्तो भइ रह्यो । यस्तै अलमलका बिचमा दाइले “लाला ! बुबा स्वर्गे हुनु भएकै होला, कपाल काटि देऊ” भन्नु भयो । मैले पालैपाले तिन जनाको कपाल काटेँ । गोगनेमा घरका दाजुहरुले समयभित्रै काजक्रिया गरि सक्नु भएकाले उहाँहरुले झोक्राएर १३ दिनको काम सम्पन्न गर्नु भयो । मेरा जीवनमा आइ परेका अप्ठ्याराहरुमध्ये यो पनि एक थियो । दैवज्ञ दाइसँग सम्बन्धित यो घटना त्यसैले अविस्मरणीय रह्यो ।
यसरी मैले दैवज्ञ दाइको सान्निध्य पाएँ र उहाँको सङ्गतबाट नेपाली भाषा व्याकरणको आधारभूत ज्ञान सिकेँ, एम.ए. पास भएँ । उहाँकै सहयोग र प्रेरणाबाट शिक्षण पेसामा लागेँ, पढ्ने पढाउने तौरतरिका सिकेँ । म अहिले जे छु, त्यसको जग बसाउन उहाँको उल्लेखनीय योगदान रहेको छ । दैवज्ञ दाइ सम्पर्कमा आउने जो कोहीलाई सहयोग गर्ने उदार एवं सहयोगी प्रकृतिको व्यक्ति हुनु हुन्थ्यो । मैले पनि शैक्षिक प्राज्ञिक र व्यावहारिक जीवनका विविध पक्षमा सहयोग पाइ रहेँ । सम्बन्ध मितभाइ तर भाइकै स्नेह पाइ रहेँ । आजीवन निरन्तर सम्पर्कमा रहेँ । उहाँको जीवनका दुःखसुख र उतारचढाउको निकट दर्शक र सहयोगी हुने प्रयास गरेँ । दाजुले पनि मलाई जीवनको अन्तिम घडीसम्म पनि हौसला, प्रेरणा र परामर्श प्रदान गरि रहनु भयो । उहाँको सान्निध्य पाएकोमा गौरव गर्दै यिनै शब्दपुष्पद्वारा श्रद्धाञ्जली स्वरूपको यो संस्मरण अन्त्य गर्दछु ।
२०६९ मङ्सिर ४ माछा गेट, कलङ्की, काठमाडौँ
समस्त पाठकका लागि दैवज्ञराज न्यौपाने साँचो अर्थमा नेपाली हृदयका कवि हुन्, मनका कवि हुन् र अन्तश्चेतनाका कवि हुन् अनि जीवन र जगत्लाई सधैँ उज्यालो देख्ने कवि हुन् ।
डा. लक्ष्मणप्रसाद गौतम