नेपाली हृदयका कवि र मेरा गुरु : दैवज्ञ
जीवनको अनन्त यात्रा भनाँै वा क्षणिक यात्रा, आ–आफ्ना दर्शन अनुसार जेजस्तो र जतिसुकै लामो छोटो जीवनयात्रा भए पनि असङ्ख्य यात्रीहरू छिनछिनमा भेटिन्छन् र मेटिन्छन् पनि । कुनै यस्ता यात्रीहरू पनि हुन्छन्, जसले अन्तर्हृदयमा/अन्तश्चेतनामा गहिरो प्रभाव पार्छन्, स्मृतिविम्बमा रहिरहन्छन्, त्यस्तै स्मृतिविम्बमा हुनुहुन्छ मेरा गुरु– दैवज्ञ । मैले पहिला चिनेका दैवज्ञ हृदयका कवि हुन्, मनका कवि हुन् । उनका कविता मस्तिष्कले पढिँदैनन् । हँसिलो तर गम्भीर अनुहार, शालीन व्यक्तित्व यस्तै विम्ब राखेको थिएँ कवि दैवज्ञराज न्यौपानेलाई मैले । एउटा नदेखेको व्यक्तिमाथिको अस्पष्ट धूमिल विम्ब । तर प्रत्यक्ष रूपमा मैले साक्षात्कार गरेको कक्षाकोठामा हो, कविता पढाउने गुरुका रूपमा । मैले एउटा पृथक् मानसविम्ब बनाएको व्यक्तित्वलाई गुरुका रूपमा कक्षामा पाउँदा मलाई गौरवको अनुभूति भएको ताजै छ तर गुरुका रूपमा साक्षात् गरेको त्यस दिनले पनि दुई दशक नाघिसकेछ । आज त्यही पहिलो दिन मेरो मस्तिष्कको विम्ब बनेको छ ।
एउटा अनौठो संयोग । २०४९ सालको कुनै महिना । सर्वप्रथम गुरुका रूपमा दैवज्ञ सर हाम्रो कक्षाकोठामा प्रवेश गरेपछि उहाँले देवकोटाका कविता पढाएको स्मृतिविम्ब ताजै छ । जागिरे जीवनका कारण पुफर्सद मिलाएर कक्षा लिन आउने मेरा निम्ति दैवज्ञ सरको पहिलो कक्षा महाकवि देवकोटामा केन्द्रित थियो । उहाँका व्याख्यानहरूलाई त्यतिबेला म आफ्ना कापीमा कैद गरिरहेको थिएँ । यो सन्दर्भ मैले किन जोडेँ भने त्यसको ठिक उन्नाईस वर्षपछि त्रिभुवन विश्वविद्यालयको त्यही नेपाली केन्द्रीय विभागमा दैवज्ञ सरले मलाई पढाउनु भएका देवकोटाका तिनै कविता म एम.ए.का विद्यार्थीहरूलाई पढाउँदै थिएँ । एकदिन पहिलो घन्टीमै कक्षामा जान तयार हुन थालेका बेला विभागका कर्मचारी मित्र महेश तिवारीले– दैवज्ञ सर बित्नु भयो, पढाउने र सर ? भनेपछि म अवाक् भएँ, हतप्रभ भएँ । किनकि अन्तिम अवस्थामा पक्षाघातका कारण दुई तीन जनाले बोकेर विभागमा हाजिर गराउन ल्याएको दृश्य पनि मेरा आँखाले देखेका थिए ।
विश्वविद्यालयको घण्टाघरले साढे दशको घन्टी हानेपछि मार्कर र पढाउने पुस्तक केही नलिईकन गम्भीर मुद्रामा कक्षाकोठामा पस्दा दुई सय जनाभन्दा बढी विद्यार्थी कक्षामा खचाखच थिए । सधैँ हँसिलो मुद्रामा कक्षामा देखेका मेरा विद्यार्थीले मेरो मुखमुद्रा पढेछन् क्यारे, अनौठो मानिरहेका थिए । मैले सुरुमै भनेँ– भाइ बहिनीहरू, आज म तपाईंहरूलाई पढाउन सक्दिनँ, यसै विभागका प्राध्यापक, मेरा आदरणीय गुरु र वरिष्ठ कवि दैवज्ञराज न्यौपाने सर स्वर्गीय हुनुभयो । उहाँलाई सर्वप्रथम मैले देवकोटाका कविता पढाउँदै गर्दा गुरुका रूपमा प्रत्यक्ष चिनेको हुँ । आज त्यही कविता तपाईँहरूलाई पढाउन आउँदा यो दुःखद समाचार सुन्नुपर्यो । कविका रूपमा दैवज्ञ सरलाई चिनेका विद्यार्थीहरूले पनि उहाँप्रति श्रद्धाले शिर निहुराए । म आधा घण्टा जति दैवज्ञ सरको कविव्यक्तित्वका बारेमा विद्यार्थीलाई बताएर उहाँप्रति श्रद्धा व्यक्त गर्दै कक्षाकोठाबाट बाहिर निस्केँ । दैवज्ञ सरलाई मैले पहिलो दिन गुरुका रूपमा साक्षात्कार गर्दा उहाँले नेपाली केन्द्रीय विभागमा पढाएको कविता महाकवि देवकोटाको शाहजहाँको इच्छा थियो र उन्नाईस वर्षपछि त्यही नेपाली केन्द्रीय विभागमा मैले विद्यार्थीहरूलाई त्यही शाहजहाँको इच्छा पढाउँदै गर्दा दैवज्ञ सरको पार्थिव शरीर नरहेको दुःखद समाचार सुनेँ । आज दैवज्ञ सरसँगको त्यो अतीतको स्मृतिविम्ब ममा अझै ताजै छ । म उहाँसँग व्यक्तिगत रूपमा त्यति निकट पनि थिइनँ र टाढा वा अपरिचित पनि थिइनँ तर एम.ए.दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएपछि म जम्मा एक प्रतिशत अङ्कले सर्वप्रथम हुन नसकेपछि अथवा भनौं सर्वद्वितीय भएपछि भने मलाई उहाँले चिन्नुभयो र पछि मैले समालोचनाहरू लेख्न थालेपछि मलाई उहाँले– तपाईं विश्वासलाग्दो समालोचक बन्नुभएको छ भनेर आजभन्दा आठ वर्ष अगाडि भनेका कुरा म अहिले सम्झिरहेको छु ।
कवि, बालकाव्यकार, गीतकार, समालोचक, सम्पादक – मैले सुरुमा चिनेका दैवज्ञविम्बहरू यिनै हुन् ।
आँसुभरि पोखरीका बगाएर पानी
बाटो हेरी पर्खिँदैछु आँखा तानीतानी ।
यी गीतका पङ्क्तिहरूमा कति रुमानी लाग्छन् कवि/गीतकार दैवज्ञ । उनी सिर्जनाको लहरमा धेरै गुनगुनाए, धेरै लहरिए, लहर सँगसँगै आपूफ पनि तरङ्गिए तर उनको त्यो अविराम लहर अब शान्त स्निग्ध भएर पाठकहरूका मानसविम्बमा मात्र छ । उनका जोर मुरलीहरू धेरै सुसेलिए । जोर मुरलीका कर्णप्रिय र मृदुमधुर काव्यनिनाद कहीँ लयसौन्दर्यका सरिता बहाउँदै, कहीँ निर्झरका छँङछँङीसँगै र कहीँ शान्त नदीजस्तै भएर अनि सान्ध्यसौन्दर्यले घनीभूत तरङ्गहरूसँगै निरन्तर प्रवाहित छन् । त्यसैले त उनी गीतझैँ पग्लिन, जूनझैँ छाउन र अज्ञात आलम्बन सत्तालाई खोजिरहन चाहन्छन् :
गीतजस्तै पग्लिद्यूँ कि जूनजस्तै छाई
मेरो मान्छे तिमीलाई भेटूँ कहाँ गई ?
तोतेबोलीसँगै बालबालिकासँग मितेरी लाउन आउने दैवज्ञको बालप्रियता पनि कम्ती रोचक छैन । तोतेबोलीमा उनी आदर्शका कुरा गर्छन्, कर्तव्यका कुरा गर्छन्, प्रकृति र पशु पङ्क्षीका कुरा गर्छन् अनि जीवन र जगत्का कुरा पनि गर्छन् । गाउँखाने कवितामा बालबालिकालाई बुद्धिविलास गर्ने मीठो अड्को थाप्छन् र गाउँ बाँड्दै हिँडेर तिनलाई मख्ख पार्छन् । उनको बालसंसारभित्र के के अटाउँछन् ? भन्नु भन्दा पनि के के अटाउँदैनन् ? भनेर प्रश्न गर्नुपर्छ । बालसंसारभित्र पसेर, बालबालिकाहरूका अन्तर्हृदय छोएर अनि तिनको कलिलो मस्तिष्क र मुटु छामेर त्यहाँ कोमलता भरिदिने उनको कलाबाट को नलोभिएला ?
प्रकृतिका सुन्दर पक्ष हुन् कि जीवनका सुन्दर पक्ष हुन् अथवा जगत्का सकारात्मक पक्ष हुन्– उनका गीत/कवितामा मैले साँच्चै जीवनको जीवन्त विम्ब देखेको छु । मायालुका अन्तर्तलभित्र पसेर तिनको एकमुठी “माया/प्रेम” खोतल्न होस् वा राष्ट्रको मुटुभित्र पसेर एक मुठी राष्ट्रियताको माटो उठाउने अभीप्सा होस् उनका गीत/कवितामा यस्ता भावहरू प्रवाहित हुन्छन्, तरङ्गित हुन्छन् । हाम्रो एकान्त धर्तीभित्रको शान्त सुन्दर बस्ती कुन होला ? उनले त्यो शान्त सुन्दर बस्ती छ त भनिदिए तर हामी त्यो रमणीय बस्ती नभेटाएर दुःखी छौँ । उनको सुन्दर बस्तीको विम्ब यस्तो छ ः–
हाम्रो एकान्त धर्तीभित्र
एउटा शान्त र सुन्दर बस्ती छ ।
प्रेम/प्रणयभावहरूमा, शृङ्गारिक भावुकतामा, कल्पना र भावनाको प्रवाहमा, राष्ट्रबोधका सन्दर्भमा, जीवनबोधका अनुभूतिहरूमा, स्वतन्त्रताको उद्घोषमा, युगचेतना र युवाचेतनाका आह्वानमा, सरल तर कलात्मक भावविम्बहरूका सुललित मृदु सौन्दर्यको उद्घाटनमा दैवज्ञभित्रको कवि आज पनि मलाई कुत्कुत्याउन र रसिक बनाउन आउँछ । उनका शब्दकला र भावसौन्दर्यका घनीभूत विम्बहरूमा पौडिँदै गरेका हाम्रा लागि अनि समस्त पाठकका लागि दैवज्ञराज न्यौपाने साँचो अर्थमा नेपाली हृदयका कवि हुन्, मनका कवि हुन् र अन्तश्चेतनाका कवि हुन् अनि जीवन र जगत्लाई सधैँ उज्यालो देख्ने कवि हुन् । तसर्थ मेरा गुरु र सबै नेपालीका प्रिय कवि दैवज्ञका कविता पढ्दा एकपटक नमन गर्न मन लाग्छ ।
अब कवि दैवज्ञराज न्यौपानेको भौतिक देह जोरमुरली लिएर बजाउन आउँदैन, उनको प्रत्यक्ष सुरिलो स्वर हृदयलाई झङ्कृत पार्दै जोरमुरलीहरूमा सुसेलिँदैन । त्यसैले त होला उनको भाषामा, उनका शब्दमा जिन्दगी मात्र बाँसुरी हो, केही दिन बज्ने बाँसुरी । कुनै दिन बाँसुरी पुफट्यो भने ? थोत्रियो भने ? कतै भाँचियो भने ? कसरी बज्ला त्यो बाँसुरी ? कति गहिरो छ, जिन्दगीसँग बाँसुरीको र बाँसुरीसँग जिन्दगीको तुलना झ् कति गहिरो दर्शन छ यहाँ । बाँसुरी सुरिलो र मधुर ध्वनिविम्बको प्रतीक, मधुर निनादको प्रतीक । जीवन बाचुन्जेल बाँसुरी हो । बाँसुरीको मीठो धूनजस्तै मधुमय पार्नुपर्छ जिन्दगीलाई । सायद बाँसुरीले जीवनलाई मीठो गरी बाँच्न सिकाउँछ । बाँच्ने कला सिकाउँछ । जिन्दगीरूपी बाँसुरी बज्न छाडे पनि र बाँसुरीको मधुर निनाद सुनिन छाडे पनि “तिमी” आलम्बन सत्ताप्रतिको प्रियता कति अमर छ । कवि दैवज्ञले त्यसै भनेका होइन रहेछन् ः–
जिन्दगी त बाँसुरी हो बज्छ केही दिन
मेरो प्रिय तिमीसँगै रहोस् मेरो मन ।
भाद्र शुक्ल नवमी, २०६९
नेपाली केन्द्रीय विभाग,कीर्तिपुर, काठमाडौं