प्राज्ञिक क्षेत्रका चम्किला तारा
विख्यात प्राज्ञ भाउपन्थी लेख्छन् – कवि दैवज्ञराज न्यौपानेमा कवितालाई गीतमा र गीतलाई कवितात्मक संरचनामा ढाल्न सक्ने कौशल छ । (कविकोश, २०६०)। आधुनिक नेपाली साहित्यमा थुप्रैबाट दैवज्ञज्यू, दैवज्ञ सर र दैवज्ञ दाइ मानिएका प्रसिद्ध कवि दैवज्ञराज न्यौपाने (१९९९–२०६८) अब हुनुहुन्न भन्दा अग्रगण्य सुधीजनले असीम पीडानुभूति गरेको पाइन्छ ।
संवत् २०३४ मा काठमाडौँमा आयोजित प्रज्ञा प्रतिष्ठानको बृहत् साहित्य भेलामा मेरो उहाँसित प्रथम चिनारी भएको हो । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको एक समयको नेपाली विषयका अत्यधिक विद्यार्थीप्रिय मेरा गुरु कविराज न्यौपानेका काका हुनाले उहाँप्रति मैले त्यस बेला ध्यान दिएको थिएँ । कविराज सरझैँ उहाँ पनि बौद्धिक वृत्तसमक्ष सदैव निश्छल, मिलनसार र निरभिमानी देखिनुहुन्थ्यो ।
युवतीहरू राम्री र सुन्दरी हुँदा चर्चित र आँखी हुने यौटा परम्परा वा नियमझैँ छ सामाजिक परिवेशमा । मेरो विचारमा कुनै व्यक्ति वा पुरुष जाति राम्रो र आकर्षक हुदाँ त्यो समेत मानवीय जीवनमा गणना गरिँदो रहेछ भन्ने दृढटान्तमा दैवज्ञ सर पर्नुहुन्थ्यो । दक्षिण एसियाका महान् चलचित्र अभिनेता देव आनन्दझँै दैवज्ञ जस्ता केही सर्जक आफ्नो यौवनकालमा सुदर्शन व्यक्तित्वका धनी नेपाली तरुण मानिनु हुन्थ्यो र उहाँलाई परिचितले सुन्दर (ह्यान्डसम) ठान्ने गरेको मेरो अनुभूति छ ।
परिचय क्रमको तीनदशक भन्दा लामो समयमा आफू प्राध्यापक (प्रोफेसर) बनेको र पाटन संयुक्त क्याम्पसमा प्रमुख रहेको प्रसंग उहाँबाट मैले कहिल्यै सुन्न पाइनँ । वस्तुतः आफ्नोभन्दा अरूका सान्दर्भिक कुरा र बौद्धिक सूचना उहाँबाट सन्तुलित रूपमा पटक पटक हुने गर्दथे । बहुविधाका साहित्यकार भए पनि सिर्जनाको लहर, जोर मुरली, सम्झनाको धरातलबाट आदि धेरै कविताकृतिले यिनको सिर्जनात्मक कवित्वको उल्लेखनीय जानकारी मिल्ने गर्दछ ।
चालीसको दशकको वरिपरि वीरगंजबाट काठमाडौँ आउँदा नेपाली केन्द्रीय विभागमा म प्रायः एक पटक पुग्ने गर्दथँे । कारण त्यहाँ श्रद्धेय वासुदेव त्रिपाठी, मोहन हिमांशु थापा, ठाकुर पराजुली, कुमारबहादुर जोशी, मोहनराज शर्मा, दैवज्ञराज न्यौपाने, दयाराम श्रेष्ठ, घनश्याम कडेँल र भिक्टर प्रधानजस्ता आ–आफ्ना विषयका सुविज्ञ प्राध्यापक, गुरु व्यक्तित्वसित साक्षात्कार हुने गर्थ्यो । यस्ता व्यक्तित्वसितको अन्तरक्रियाले मलाई हृदयमा अपार सन्तुष्टि मिल्दथ्यो ।
प्रत्येक व्यक्तिको जीवनमा आआफ्नो किसिमको दुःख, सुख र संघर्ष हुने गर्दछ । उद्यमी र समृद्ध संयुक्त परिवारमा जन्मे पनि कालक्रमिक रूपमा मेरा जीवनमा पनि विविध उतार चढाव आएका हुन् । संवत् २०५० देखि २०५८ सम्म हेटौँडा नगरको मकवानपुर बहुमुखी क्याम्पसमा म राजनीतिशास्त्र विषयको उपप्राध्यापक रहेँ । त्यसै अवधिमा चितवनका कतिपय साहित्यिक कार्यक्रममा म सहभागी बन्थेँ । दैवज्ञ सरसित राजधानी काठमाडौँ बाहिरको मोफसलको भरतपुर र नारायणगढका एक दुईवटा साहित्यसबन्धी भेलामा भेट हुँदा कतिपय कुरा सोध्दै मलाई बारम्बार सिर्जना क्षेत्रमा सक्रिय रहन उहाँ प्रोत्साहित गर्नुहुन्थ्यो ।
स्वच्छन्दतावादी प्रगतिवादी धाराका सशक्त प्रतिभा दैवज्ञलाई कतिपय पारम्परिक स्रष्टाभन्दा धेरै आधुनिक चेत रहेको र नवस्वच्छन्दतावादी धाराका बेजोड पद्यकविका रूपमा उहाँलाई आलोचक र विश्लेषकले आफ्ना रचनामा उल्लेख गरेको पाइन्छ । यो एक प्रकारले उहाँप्रतिको निष्पक्ष सम्मान र समाकलन लाग्दछ ।
विद्वान् डा.नरेन्द्र चापागाईँको कथन छ — दैवज्ञराज न्यौपाने, कवि माधव घिमिरेका इमानदार उत्तराधिकारी हुन् । (केही सिद्धान्त : केही विश्लेषण, पृ. – १७१, २०५१) जीवित विभूतितुल्य राष्ट्रकवि माधव घिमिरे जस्तासित तुलनीय ठान्नु र तिनका काव्यिक उत्तराधिकारी (सक्सेसर) मानिनु कवि दैवज्ञराज न्यौपानेको एक प्रकारले अपूर्व र विशिष्ट उपलब्धि हो । यसबाट यिनको कवितात्मक, सिर्जनाको साधना र उच्चताको बोध हुने गर्दछ । नेपाल र नेपालीको दुर्भाग्यले निकै समयसम्म रुग्ण रहेर अप्रत्याशित रूपमा उहाँ संवत् २ पुस २०६८ मा वैकुण्ठवासी हुनुभयो । तर उहाँको सिर्जनात्मक सुवासले लामो कालखण्डसम्म नेपाली प्राज्ञिक र बौद्धिक जगत् अभिभूत भइरहने निश्चित छ । गद्य र पद्य दुबैमा निपुण रहे पनि छन्दका ज्ञाता पद्यकविका रूपमा उहाँले आधुनिक नेपाली कविता विधामा इतिहास बनाएको भेटिन्छ ।
नेपाली भाषा र साहित्यमा ख्याति पाएका कोइरालाबन्धु, मल्लबन्धु, प्रधानबन्धुझैँ यिनका भाइहरू केदार तथा महेश्वर न्यौपाने जस्ताले न्यौपानेबन्धुका रूपमा बाङ्मयिक फाँटमा आफ्नो भूमिका बढाउँदै जानु मलाई अत्यावश्यक लाग्यो । ऐतिहासिक संविधान सभा २०६८ को अवसान पश्चात् नेपालको लोकतान्त्रिक गणतन्त्र र राजनौतिक प्रणालीमा एकप्रकारको अकथनीय नैराश्य, संक्रमण, अविश्वास र शून्यता व्याप्त रहेको देखिन्छ । त्यसलाई प्रेरक राष्ट्रिय प्रतिभा दैवज्ञराज न्यौपानेजस्ता उच्च, विशिष्ट एवं राष्ट्रवादी कविको सिर्जनाको मानवतावादी सोच, समन्वयवादी संस्कृति, सामाजिक न्याय र शान्तिवादी चिन्तनको भावनाले समुचित दिशाबोध गराउन सकोस् ।
वीरगंज
हाल : पाटन संयुक्त क्याम्पस, ललितपुर (नेपाल)
जतिसुकै जोड घटाउ गरे तापनि हात लाग्ने त केवल नौ नै हो – ग, त, म, लं, क, र, णं, भु, वः (पृथ्वीकै गहना गए) अर्थात् पृथ्वीका अलङ्काररूपी दैवज्ञ हामीबाट बिदा भएर गए ।
अजरामरवत् स्थायी तिम्रो मधुर संस्मृति
तीतो दुःखप्रदा तिम्रो दर्शनालापको च्युति ।
तीतो लाग्थ्यौ हिजो, आज मीठो लाग्ने भयौ स्वतः
आगाको हो कि पानीको यो विचित्र करामत ।
दिएथ्यौ भूत भै पैले, दिन्छौ आज अभूत भै
छोटो थ्यो अघिको दान आज लामो भयो निकै ।
पं. पुरुषोत्तम भट्टराई