कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दाजु दैवज्ञको स्मृतिमा

रमेशकुमार न्यौपाने

दैवज्ञराज न्यौपाने भोजपुर जिल्ला गोगने गाउँ विकास समिति वडा नं. १ धाइपा निवासी पिता पं.श्री गणेशप्रसाद (गुणाकेश) न्यौपाने र माता श्रीमती उमादेवी न्यौपानेबाट पहिलो सन्तानको रूपमा १९९९ साल मंसिर ३० गते मंसिर शुक्ल नवमीमा जन्मनु भएको थियो । दैवज्ञराज (न्वारानको नाम थानेश्वर) न्यौपाने बाल्यकालमा हाम्रा बाजे बज्यै पं. श्री छविलाल न्यौपाने र श्रीमती मन्दोदरा न्यौपानेका काखमा खेल्दै तोते बोलीले क ख पढ्दै घरमै अक्षर चिनी चण्डी, रुद्री, अमरकोष जस्ता संस्कृतका पुस्तक पढेर घर नजिकको श्री विद्येश्वर संस्कृत पाठशालामा गुरु पं.जयदेव अधिकारीसँग बाल्यकालको अध्ययन गरी श्री षडानन्द संस्कृत पाठशाला भोजपुर दिङलाबाट प्रथमा परीक्षा उत्तीर्ण गर्नु भएको थियो । तत्पश्चात् श्री जनता संस्कृत महाविद्यालय दाङबाट पूर्वमध्यमा परीक्षा उत्तीर्ण गरेर काठमाडौँको तीनधारा छात्रावासमा बसी वर्तमान वाल्मीकि विद्यापीठमा मध्यमा, शास्त्री र केही वर्ष आचार्य अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा २०२५ सालमा एम.ए गर्नु भई २०२७ मा भक्तपुर क्याम्पसबाट प्रध्यापन कार्य थाल्नुभयो । केही समय राष्ट्रिय व्यावसायिक केन्द्र, सानोठिमीमा शिक्षा सेवाको राजपत्रांकित तृतीय श्रेणीको अधिकृतमा काम गरी त्यहाँ सन्तुष्ट हुन नसकी पुनः २०३० साल साउनदेखि त्रि.वि. को भक्तपुर क्याम्पसबाटै आजीवन प्राध्यापन पेसालाई निरन्तरता दिनु भयो ।

केही समयपछि पाटन संयुक्त क्याम्पसमा सरुवा भई सहायक क्याम्पस प्रमुख र क्याम्पस प्रमुखको समेत भूमिका निर्वाह गर्नु भएको थियो । त्यसपछि त्रि.वि. कीर्तिपुर नेपाली विभागमा कार्यरत रहनु भयो । उहाँका माहिला बुबा कृष्णप्रसाद र माहिली आमा धनमाया न्यौपानेको सन्तान म सबैभन्दा कान्छो भाइ हुँ । दाजु पढाइका क्रममा घर बाहिरै रहनाले दाजुसँग धेरै सम्पर्कमा नभए तापनि २०३७ सालको बडादसैँमा घर आएका वेला भेट हुँदा हाम्रा घरायसी कुराकानीमा मलाई काठमाडौं आउने सल्लाह दिनु भएकाले म केही समयपछि काठमाडौं गएँ । त्यसपछि मात्र मैले धेरै कुरा जान्न पाएँ । दाजुको सहयोगबाट हालसम्म जीवन यात्रामा दौडिरहन सकेको छु ।

दाजु दैवज्ञराजको प्रथम विवाह भोजपुर हर्राबोटे निवासी पद्यलाल नेपालकी छोरीसँग २०१२ सालमा भएको थियो । प्रथम श्रीमतीबाट उहाँको जीवनचर्या सहज हुन सकेन र सन्तान पनि भएनन् । दोस्रो विवाह धनकुटा (हाल धरान) निवासी डा.शिवप्रसाद पोखरेलकी छोरी रीता पोखरेलसँग जनकपुरधामस्थित रामजानकी विवाह मण्डपबाट २०२९ सालमा भएको थियो । रीता भाउजूबाट भूषणराज र उज्ज्वल दुई भाइ छोरा र अर्चना एक छोरी भई उहाँलाई क्यान्सर जस्तो प्राणघातक रोग लागेको र सोहीे कारण असमयमै उहाँको अवसान भएको थियो । दाजु दैवज्ञराजको तेस्रो विवाह दुम्जा (हाल विराटनगर) निवासी श्री दयानिधि कोइरालाकी छोरी सुधा कोइरालासँग २०४६ साल जेष्ठ २ गते काठमाडौको पशुपति क्षेत्र गुह्येश्वरीमा भएको थियो । उहाँतर्फ एक मात्र छोरा सौरभ न्यौपाने छन् ।

दाजु दैवज्ञराजले बाल्यकालदेखि नै लेख रचनामा पनि रुचि राख्दै आउनु भएको थियो । फुटकर कविता र गीतहरू पत्रपत्रिकाबाट र रेडियो नेपालबाट निकै प्रसारण हँुदै आएका थिए भने उहाँका दर्जनौ कृतिहरू प्रकाशनमा आएका छन् । पहिलो रचना उनीमा निम्तो प्रकाशन भएको थियो भने सिर्जनाका लहर, तोतेबोली, गाउँखाने कविता, जोर मुरली, वाल संसार, सबै हाम्रा साथी आदि प्रकाशनमा आएका छन् भने दर्जनौ कृतिहरू प्रकाशनको पर्खाइमा छन् । दाजु दैवज्ञराज साहित्यकार, कवि, गीतकार, नाट्य अभिनेता, कथाकार, निबन्धकार, समालोचक आदि बहुआयामिक व्याक्तित्वका धनी हुनुहुन्थ्यो । उहाँमा स्पष्टवादिता र मिलनसारिताजस्ता गुणको खानी नै थियो । उहाँ गोगनेका न्यौपाने परिवारमै पहिलो स्नाकोत्तरको उपाधि प्राप्त गर्ने र पहिलो प्राध्यापक व्यक्तित्व हुनुहुन्थ्यो ।

उहाँलाई केही समय अघिदेखि पक्षाघात रोगले ग्रसित गरेको थियो । उपचार गर्दै रोगसँग लड्दै लठ्ठी र सहयोगीको सहयोगबाट हिँडडुल गदै गर्दा मसँग भेट हुदाँ भाइ झ् म हिँड्डुल गर्न नसक्ने भएँ । झापा आउन सक्तिनँ, त्यहाँ बस्नु भएका बुबा, आमा, दाजु, भाइहरूमा मैले गर्नुपर्ने अन्त्यका संस्कारहरू तैँले गर्नू भनेर मलाई भन्दा भाउजू सुधाले त्यस्तो के भन्नु भएको ? भनी सतर्क गराउनु भएको थियो । दाजु दैवज्ञराज हाम्रो परिवारको एउटा ज्योति हँुदाहँुदै पनि दैवको गतिसँग हिँड्दा २०६८ साल पौष २ गते काठमाडौं निजामती अस्पतालबाट सदाका लागि बिदा हुनु भएकोमा विवश हुँदै शब्द श्रद्धान्जलीका साथ यो कलम बन्द गर्दछु

२०६९ असार ११ चन्द्रगढी १, लेखनाथ माग, झापा