कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि दैवज्ञराजजीको सम्झनामा

रमा शर्मा

“सुदर्शन, सुशिक्षित, सुसंस्कृत र सुभाषी अनि सुललित काव्यकार कवि दैवज्ञराज न्यौपाने...”– यी मेरा होइनन्, श्री कमल दीक्षितका शब्द हुन् । कवि दैवज्ञराजजीका बारेमा यति शब्द भनिसकेपछि अब अन्य थप विशेषणवाचक शब्द केही छन् जस्तो लाग्दैन । खोजी पस्ने नै हो भने “सुविख्यात, सुवासित, सुकवि” पनि भन्न सकिन्छ उहाँलाई । यसरी धेरै “सु” बाट सुशोभित हुने अवसर थोरैलाई मात्र प्राप्त हुन्छ । तिनैमध्येमा एक भाग्यशाली व्यक्ति हुनुहुन्छ– दैवज्ञराज न्यौपाने । हुन त भाग्यशाली भन्दा कतै व्यङ्य त भएन भन्ने पनि सोचिन सक्छ । किनभने पक्षाघातका कारण साह्रै नराम्रोसँग थलिनुभयो उहाँ छ सात वर्ष । सुकोमल स्वरमा कविता वाचन गर्न नपाउनुको पीडा उहाँले भोग्नुपर्‍यो । राम्ररी बोल्न नसक्ने, राम्ररी हिँड्न नसक्ने र पराश्रयी भएर जीवन बिताउनुपर्ने विधिको खेल उहाँको जीवनमा पनि पर्न आयो । यो जो कोहीका लागि पनि अत्यन्त कष्टकर कुरा हो । तर बलियो नियतिका अगाडि कसैको केही लाग्दैन नै । दैवज्ञराजजी पनि “नियति” को फन्दामा पर्नुभयो र आखिर यस संसारबाट सदाका लागि विलीन हुनुभयो । यो साहित्य जगत्का लागि अपूरणीय क्षति हो ।

रोग लाग्नु, जीवनको अन्त्य हुनु बेग्लै कुरा हो । तर एउटा व्यक्तिले जुन छवि समाजमा पैफलाउँछ त्यो उसको अमरत्व हो । त्यो छविले उसलाई सदा जीवन्त तुल्याउँछ । दैवज्ञराजजीमा धेरै “सु” को छवि थियो । त्यो उहाँको जन्मजात विशेषता हो भन्ठान्छु म । यसैले नै उहाँ “भाग्यमानी” व्यक्ति हो भन्ने लाग्छ मलाई । मैले पहिलो पटक उहाँलाई नेपाली शिक्षा परिषद्को कार्यक्रममा देखेकी हुँ । दरवार हाइस्कूलमा आयोजित मोती जयन्तीको कार्यक्रम हुनुपर्छ त्यो । २०२२ सालमा राममणि आ.दी. बाट प्राप्त “विश्वमा मातृभाषा” विषयक समस्यापूर्ति कविगोष्ठीमा उहाँले धेरै वर्ण भएको स्रग्धरा छन्दको निम्न श्लोक सुनाउनु भएको थियो ः–

बढ्दै जा उन्नतैमा पथिक ! पथ चुनी सभ्य संसार भर्न
नौला आलोक साथै अभिनव सुखको सत्य सन्देश छर्न
पाए उत्साह सङ्लो कुसुमित वयमा पूर्ण फक्रन्छ आशा
अल्छी मानेर बढ्ला अब पनि कसरी “विश्वमा मातृभाषा”

मलाई लाग्छ, नेपाली शिक्षा परिषद्मा उहाँको प्रवेश यही कविताका साथसाथै भएको हो र मैले उहाँबाट सुनेको पहिलो कविता पनि यही हो । नौलो राम्रो व्यक्ति (कमल दीक्षितको भाषामा “सुदर्शन”) ले मधुर स्वरमा वाचन गरेको सो कविताको प्रभाव उपस्थित अरूमा पनि परेको थियो र ममा पनि । को होलान् यी व्यक्ति भन्ने कौतूहलको भाव ममा जाग्रत भएको थियो त्यसबेला । उहाँका धेरै रचनाहरू प्रकाशित भएका छन्, परिषद्बाट प्रकाशित कृतिहरूमा । पछि त परिषद्का कार्यक्रममा उहाँको उपस्थिति नियमित नै रह्यो । धरानमा पहिलो पटक मोती जयन्ती मनाउन जाने समूहमा परिषद्का संस्थापक गोपाल पाँडे असीमज्यूले उहाँलाई पनि सम्मिलित गराउनु भएको थियो । पछि मेरा काँधमा संस्थाको जिम्मेवारी आएपछि पनि उहाँको नियमितता कायमै रह्यो । भानुजयन्तीले उहाँसँगको सामीप्य अझ बढ्न गयो । उहाँको योगदानको सम्मानस्वरूप २०६६ सालको मोती जयन्तीमा “समस्या” का लागि उहाँसँग अनुरोध गरी उहाँबाट प्राप्त “नेपाल हाम्रो घर” मा समस्यापूर्ति कविगोष्ठी गरिएको थियो । उहाँ स्वयंले चाहिँ पूर्ति गर्न सक्नुभएन रुग्णावस्थाका कारण । सो गोष्ठीमा सिद्धहस्त कविहरूको सहभागिता थियो । उहाँको “समस्या” मा रोचक पूर्तिहरू भएका थिए । तर दुःखको कुरा, त्यो उहाँलाई सुनाउन पाइएन । अस्वस्थताका कारण उहाँ समारोहमा अनुपस्थित रहनुभएकाले उहाँको निवासस्थानमा केही भए पनि कविता लिएर पुग्नुपर्ने थियो तर सोको तारतम्य मिलाउन सकिएन ।

माथि भानुजयन्तीको कुरा उठाइयो । त्यो हो प्रत्येक वर्ष असार २९ गते भानुजयन्तीका दिन भानु प्रतिमामा माल्यार्पण समारोहको विषय । २०१६ सालमा रानीपोखरी (भोटाहिटी) अगाडि आदिकवि भानुभक्तको प्रतिमा स्थापना गरेपछि परिषद्ले हरेक साल भानु प्रतिमामा माल्यार्पण कार्यक्रम राख्दै आएको क्रममा भानु सेवा समितिले पनि सो कार्यक्रमलाई अगाडि बढाएपछि माल्यार्पण कार्यक्रम संयुक्तरूपमा गर्ने भनिए पनि परिषद्को उपस्थितिलाई गौण ठान्ने वातावरणको सिर्जना मात्र होइन सो प्रतिमा स्थापना गर्ने कार्य नै अर्को संस्थाबाट भएको जस्ता अनर्गल कुराबाट वातावरण केही चिसिएजस्तो भएका बखत दैवज्ञराजजीले भानु सेवा समितिको अध्यक्षता ग्रहण गर्नुभएपछि “सुसंस्कृत” र “सुभाषी” उहाँ त्यसलाई सुधार्नपट्टि लाग्नुभयो । उहाँसँग टेलिफोनमा कार्यक्रमबारे निकै छलफल हुन्थ्यो । नेपालमा भानुजयन्ती मनाउने र पहिलो भानु प्रतिमा स्थापना गर्ने कार्यमा परिषद्को योगदान उहाँले राम्ररी बुझनुभएको थियो । त्यस्तै भानुसम्बन्धी परिषद्का अन्य गतिविधिबारेमा पनि उहाँ मर्मज्ञ हुनुहुन्थ्यो । त्यसैले सद्भावपूर्वक उहाँ कार्यक्रम अगाडि बढाउन चाहनुहुन्थ्यो । तर पनि बेलाबखत अपेक्षा अनुसार नभइदिँदा उहाँ दुःखी बन्नुहुन्थ्यो । यस्ता भद्र व्यक्ति हुनुहुन्थ्यो दैवज्ञराजजी । मलाई लाग्छ, उहाँ अजातशत्रु हुनुहुन्थ्यो ।

उहाँका यिनै विशेषताले गर्दा उहाँले राष्ट्रिय सम्मान पाउनुभयो, मुलुकका राष्ट्राध्यक्षसम्मको उपस्थितिमा उहाँको सार्वजनिक अभिनन्दन भयो । राष्ट्रपति डा.रामवरण यादवले उहाँको अभिनन्दन गर्नुभयो । सो अवसरमा नेपाली शिक्षा परिषद्ले पनि आफ्नो सहभागिता जनाउने अवसर पायो । सोही सन्दर्भमा नभए पनि “कोकगोष्ठी” ले पनि उहाँको अभिनन्दन गर्‍यो “दैवज्ञःपद्यध्वनि” शीर्षक कृति नै उहाँका लागि तयार पारी समर्पण गरेर । यो उहाँको योगदानको मूल्याङ्कन त हुँदै हो अझ सोभन्दा बढी उहाँको सुभाषितता, सुकोमलता आदि छविको प्रभाव हो भन्ने ठान्दछु ।

यस्ता स्रष्टालाई हामीले असमयमै गुमायौँ । नेपाली शिक्षा परिषद्ले गत भदौ १ गते मोती जयन्तीका दिन स्वर्गीय साहित्य साधकमा सामूहिक श्रद्धाञ्जलि अर्पण गर्ने सन्दर्भमा मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्‍यो दिवङ्गत दैवज्ञराजजीमा । परिचायक कोषराज न्यौपानेले पनि शोक व्यक्त गर्नुभयो । संसारमा आउने र जाने क्रम, हाँसो र आँसुका साथ अगाडि बढ्दो रहेछ । यसलाई स्विकार्नुको विकल्प अरू के हुन सक्छ र । अस्तु ।

१५९, डल्लुटोल, काडमाडौं

कविता भन्नु नै मानव जीवनको सबभन्दा मार्मिक अभिव्यक्ति हो । यो भाषिक कलाको सर्वप्रथम अभिव्यक्ति भएकाले यसभित्र जीवनका सबभन्दा बढी शाश्वत जीवन मूल्यहरू रहेका हुन्छन् ।

दैवज्ञराज न्यौपाने