दैवज्ञराजको सम्झनामा
कवि दैवज्ञराज न्यौपानेज्यूको सम्झनामा दुई चार लाइन लेख्ने जमर्को गर्दैछु । सयौं विद्यार्थीलाई शिक्षा प्रदान गरी उद्धार गर्ने र इमानदारीसाथ साहित्य सिर्जना गरी देश विदेशमा नाम राखेर जाने कवि दैवज्ञराज न्यौपानेका बारेमा लेख्ने कुरा नै मसँग के हुन सक्छ र ?
त्यो भौतिक शरीर पञ्चतत्त्वमा मिले पनि आत्मा सधैँ अमर र अजर रहनेछ भन्ने हाम्रो हिन्दू मान्यता अनुसार त्यो अमर आत्माले सधैँ शान्ति पाओस् भनी ईश्वरसँग कामना गर्दछु । दैख्तैमा उज्यालो, हँसिलो मुहार र मृदु भाषी बोलीमा सबैलाई लठ्याउन सक्ने जादु नै थियो कि भन्ने लाग्छ उहाँमा ।
हाल यो देशका नेताहरू मेलमा होइन, झेलमा रहेका, इमानदार होइन बेइमान भएका र सत्ताको लागि हानथाप, होडबाजी गर्ने, जनताको समस्या वेवास्ता गरी जनतालाई साँढेको जुधाइ, बाच्छाको मिचाइको अवस्थामा पुर्याइरहेका छन् भन्ने खबर सुनाउन चाहन्छु । तसर्थ यो भूमिमा अहिले तपाइँजस्ता इमानदार साहित्यकारको खाँचो भएकोले पुनर्जन्म लिएर आउनुहोस् भन्ने प्रार्थना गर्दछु ।
बोल्छ तारुण्यको भाका वृद्धको छैन यो कुरा,
तैपनि कसले भन्छ सृष्टिको हुन्न आँकुरा
छ आनन्द सबैलाई उस्तै उत्साह छाउँछ
स्वस्थाङ्ग बैँस देखेर, जो पनि मुस्कुराउँछ ।
दैवज्ञराज न्यौपाने