कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मेरा मित्र दैवज्ञ

मोहन सिटौला

मैले मेरा जीवनका विभिन्न समयमा धेरै धेरै किसिमका मित्रहरू प्राप्त गरेको छु । गाउँले बालसखा, युवावस्थाका अल्लारे साथीहरू, विभिन्न स्तरमा पढ्दाका सहपाठीहरू, शिक्षक साथीहरू, किसान साथीहरू, पछि साहित्यिक, सम्पादक, पत्रकार, राजनैतिक एवं प्रध्यापक र प्राज्ञिक मित्रहरूबाट यथायथा समयमा आआफ्नै परिवेश र परिस्थिति अनुसार मलाई साथसहयोग भएको छ र सबैसित दोहोरो प्रगाढ ममतापूर्ण प्रेम पनि ।

यस्तै क्रममा त्रि.वि.मा सेवा गर्दाका मेरा धेरै प्राज्ञिक र साहित्यिक साथीहरूमध्ये प्रा. दैवज्ञराज न्यौपाने पनि एक हुन् । अग्लो खाइलाग्दो व्यक्तित्व, गहुँ गोरो सुन्दर अनुहार, मृदुभाषी, जहिले पनि सफा चिटिक्क पहिरन, दौरासुरवाल कोट टोपीमा त अझ होनहार देखिने– यस्तै थिए दैवज्ञ । म त्रि.वि.को पाठ्यक्रम विकास केन्द्रमा छँदा विभिन्न विषयका पाठ्यक्रममूलक कार्यशाला गोष्ठी एवं बैठकका सिलसिलामा नेपाली सन्दर्भमा अनि अन्य साहित्यिक सभा, समारोह, प्रवचन, विमोचन जस्ता कार्यक्रमहरूमा एवं पाठ्यक्रम विकास पत्रिका सम्बन्धी कार्यमा र कहिले केन्द्रीय नेपाली विभागमा उनी लगायत अन्य मित्रहरूसित भेट भइरहन्थ्यो ।

उनी सफल कवि र गीतकार हुन् । उनका ती सिर्जनाहरू सदा ताजा रहिरहन्छन् भन्ने मलाई लाग्छ । कार्यक्रममुखी लामालामा बसका यात्राहरूमा आफ्ना कविता र गीत सुनाएर अनि हामीलाई पनि सुनाउन लगाएर साथै दिनभरिको काम सकेपछि बेलुका कोठामा पनि रमाइलो गर्दै हास्य तुक्का र गीतका भाकाहरू सुनाएर सबैसित रमाइलो गर्थे उनी ।

सेवामूलक आफ्नो जिम्मेबारीका कार्यहरूमा उनी बहुतै गम्भीर रहन्थे । नेपालमा नेपाली भाषा र साहित्यको आधुनिक, उच्चतम र व्यापक पाठ्यक्रम निर्माण गर्ने तिनताकाको सशक्त र प्रतिबद्ध टोलीमा उनी पनि सक्रिय थिए र त्यसैको साझा सपना बुनेर कार्यमा तल्लीन रहन्थे । नभन्दै छिटै नै त्यस कार्यमा त्यो टोली नेपालमा अभूतपूर्व रूपमा सफल पनि भयो । त्यसको परिणाम देशभरिका क्याम्पसहरूमा नेपाली भाषा र साहित्यको आफ्नै माटो, मुटु र मेहनतबाट नयाँ विकसित पाठ्यक्रममा नयाँ आयाम र दिग्दर्शन, शिक्षण, प्राध्यापन, शोध, सिर्जना तथा लेखनका क्षेत्रमा होनहार नयाँ जनशक्तिको अभूतपूर्व निर्माण भयो । यसरी अहिले नेपाली साहित्य धेरै धनी, विश्वव्यापी र उच्चस्तरीय भई गौरवशाली भएको छ ।

विद्वान् दैवज्ञराज सरल प्रकृतिका मिलनसार मित्रका साथै प्रत्युत्पन्नमति प्रतिभाशाली स्रष्टा थिए । विश्व र आफ्नो देश प्रजातान्त्रिक बनोस्, जनता सम्पन्न, सुखी, स्वतन्त्र, स्वाभिमानी र दायित्ववोधमा सचेत होऊन् र सोही अनुरूपको मानव समाजको निर्माण उनका सपना थिए । द्रष्टा न्यौपानेका ती सपनाहरू असम्भव पनि होइनन् ।

म अमेरिकाबाट बिचमा नेपाल आएको बेलामा उनीसित मेरो अन्तिम पटक भेट भएको थियो । सन् २००७ को जेठ–असारतिर मेरा मित्रहरू प्रा. घनश्याम कँडेल, प्रा. राजेन्द्र सुवेदी आदिले विभागमा भेटघाट गरौं भनी बोलाएका बेलामा त्यहाँ अन्य मित्रहरूसित पनि भेटघाट कुराकानी हुँदै गर्दा प्रा. दैवज्ञजी टुप्लुक्क आइपुग्नु भयो । झिनो जिउको रूप, निकै मलीन अनुहार अनि भक्भकाएर बोलेको सुन्दा र देख्दा म त तीन छक परेँ । होनहार पहिलेको बान्की केही पनि छैन । मनमा गहन विषादको तुफान आयो । उहाँलाइृ पक्षाघात भइसककेको रहेछ । केही छिन विविध वार्तालाप गरी बिदाबारी भयौंँ । म अमेरिका फिरेँ । समयक्रममा विद्वान् मित्र दैवज्ञजीको देहावसान भएको अति अप्रिय खबर व्यापक गरिएको इमेलबाट पढेँ र त्यसैमा केही अभिव्यक्ति लेखेर सबैमा पठाएको पनि थिएँ ।

जसरी मैले धेरै साथीहरू बनाएँ त्यसरी नै कालक्रमले धेरै गुमाइरहेको छु । विभिन्न साथीहरूसित खाँदा, खेल्दा, हिँड्दा, डुल्दामा म यसरी सचेत थिइन । अनायासमै ती दिनहरू – ते हि नो दिवसाः गता भएछन् अनि भइरहने छन् । अनि अहिले म झसङ्ग झस्किन्छु, जब म मेरा हराएका मित्रहरू सझिन्छु, गणना गर्छु र यो अमेरिकी जीवन प्रणालीमा ती रहँदा बस्दाका पूर्वस्मृतिहरू घटाउँछु, भाग र गुणा गर्छु हिसाब कतै पनि मिल्दैन अनि सम्झिन मन लाग्छ –“आँसू सिवाय रसिलो अरु आउँदैन”।

अहिले म गम्भीर छु, व्यथित छु र मलाई कताकता अकेलो र एकाकीपनको आभास भइरहेको छ । मेरो मानसपटल द्रवीभूत भएको छ । यसै प्रश्न गर्छु– किन हो सुखका दिनभन्दा दुखका दिनहरू तीव्र र गाढा हुन्छन् ? हे हराएका मित्र हो ! तिमीहरू सदा शान्तिमा रहिरहू । तिमीहरूका लागि म यही शुभेच्छा मात्र दिन सक्ने रहेछु ! हो त नि– “....मर्नेको निम्ति मर्नेले अरू के दिन सक्दछ ?”

फेरि पनि अलबिदा दैवज्ञजी !

सेप्टेम्बर ३०, २०१२ (१४ असोज, २०६९), राउन्ड रक (गोल ढुङ्गा), टेक्सस, अमेरिका