कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

काव्यिकरत्न दैवज्ञराज न्यौपाने

मिश्र डिल्लीराम

पूर्वी नेपालको भोजपुरमा विक्रम संबत् १९९९ साल मंसिरमा जन्मेका कवि एवं गीतकार दैवज्ञराज न्यौपाने उनीमा निम्तो कविताबाट साहित्य क्षेत्रमा देखापरेका हुन् । साहित्यप्रति कवि न्यौपानेको निजात्मक दृष्टिकोण छ – “साहित्य शाश्वत सत्यका लागि लेखिनुपर्छ र यसको निरन्तर उन्नति हुँदै जानुपर्छ । साहित्यकारले आफ्नो साधना हेरी मूल्य खोज्नुपर्छ । आफ्नो मूल्याङ्कन अरूले गर्नुभन्दा पहिले आपूफले के कति गर्न सकेको छु र समय सन्दर्भमा मेरो के कति महत्त्व छ भन्ने बुझेर मात्र आपूफले आफ्नो मूल्य खोज्नुपर्छ । त्यसमा पनि हामी साहित्यकारले आफ्नो मूल्य खोज्नुभन्दा बढी काम गर्नुपर्छ । हाम्रो कामले समाज, राष्ट्र र विश्वलाई केही दिन सकेछ भने त्यसको मूल्य समाज, राष्ट्र र विश्वले अवश्य दिनेछ, यो सत्य हो । काम गर्नुभन्दा पहिले नै भाग खोज्नुचाहिँ राम्रो होइन । पहिलेका र अहिलेका साहित्यकारमा खास त्यस्तो फरक नपाइए तापनि आजका केही साहित्यकारमा बढी लोभ उत्पन्न भएको मैले अनुभव गरेको छु । साधना र परिश्रमविना बढी मूल्य खोज्ने लोभमा लाग्नुचाहिँ आजका साहित्यकारले खोजेको राम्रो कुरा होइन । यस्तो प्रवृत्तिलाई म राम्रो भन्दिन । आफ्नो प्रशंसाका लागि गुट खडा गरेर होहल्ला गर्दै हिँड्नु पनि राम्रो होइन । यस्ता प्रवृत्तिहरूसँग मेरो विश्वास छैन र म उनीहरूलाई राम्रो पनि मान्दिनँ ।” साहित्यका बारेमा आजभन्दा बीस वर्षअघि व्यक्त गरिएका कविरत्न दैवज्ञराज न्यौपानेका यी अभिव्यक्तिहरू कति शाश्वत छन् ? साहित्यमा मौलिक, सम्पादित, अनूदित र पुफटकर सिर्जना अन्तर्गत नेपाली साहित्यमा मननीय उनका गीत, कविता, लेख, निबन्ध र समालोचना समेटिएका छन् । नेपाली बालगीति साहित्यका त उनी शिखर प्रतिभा नै हुन् ।

नेपाली पद्यसाहित्य अन्तर्गत नेपाली गीति र वर्णमात्रिक छन्दका सफल कवि एवं गीतकार दैवज्ञराज साह्रै मीठा कवि हुन् । परस्परागत शास्त्रीय संस्कृत छन्दहरूकै शैलीमा सुन्दर र कवितात्मक अभिव्यक्ति प्रस्तुत गर्न सक्षम यस युगका थोरै विशिष्ट पद्यकारहरूमा दैवज्ञराज पनि पर्छन् । उनका वार्णिक छन्दका कविता र गीतले पाठक र श्रोताहरूको मनलाई सहजै छुन पुग्छन् । विधागत शृङ्खलामा विकसित कविता होस् वा गीति बालरचना होस् वा समालोचना यी सबैमा उनको गुणात्मक स्थान छ । त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम.ए.उपाधि आर्जनपश्चात् विगत लामो समयदेखि प्राध्यापन सेवामा रहेका कवि न्यौपानेका जति पनि गीत र काव्य सिर्जनाहरू छन्, ती सबै सिर्जनामा नेपाली लोकशैली र लोकभाकाको प्रयोग सरल, सरस र सुललित रूपमा भएको छ । प्रकृतिवादी र राष्ट्रवादी धारका कविता सिर्जना गर्ने कवि दैवज्ञराजको जनाधारभूमि राष्ट्रप्रेम र प्रकृतिप्रेम नै काव्यको जीवन्त र कालजयी पक्ष हो । मानवतावादी प्रवृत्ति र चरित्रजन्य संस्कारमा उनका गीत र कविताको सिर्जना भएको छ । त्यसैले उनका गीत गेयात्मक र कविता प्रवाहयुक्त शृङ्खलामा बाँधिएका छन् । गीतिसिर्जनालाई कवितात्मक र कवितालाई गीतिशैलीमा हस्तान्तरण गर्न सक्ने प्रचुर प्रतिभाकौशल उनीमा छ । यस्तो प्रतिभाकौशल कुनै कृत्रिम नभएर सहज र शाश्वत संरचनाभित्रको मौलिक धरातलीय स्वरूप हो । उनका गीतमा देशप्रेम र राष्ट्रियताका स्वरहरू ध्वनित छन् । प्रेम, समर्पण, करुणा र वेदना उनका गीतमा पाइने मानवहृदयका शाश्वत पक्ष हुन् ।

देशकै पुरानो त्रिभुवन विश्वविद्यालयबाट नेपाली एम.ए. र संस्कृत मीमांसा दर्शनमा आचार्यसम्मको अध्ययन उनले गरेका छन् । नेपाल राष्ट्रिय विद्यालयबाट नेपाली साहित्यरत्न उपाधि प्राप्त कवि दैवज्ञराजको पहिलो रचना २०२० सालमा उनीमा निम्तो कविता अरुणोदयमा प्रकाशित भएको हो । उनीमा निम्तो कविता महाकवि देवकोटालाई सम्बोधन गरेर लेखिएको हो । नेपाली काव्यात्मक शैलीमा सहज अभिव्यक्ति दिन सफल कवि दैवज्ञराजको पुस्तक प्रकाशनयात्रा भने २०३५ सालदेखि प्रारम्भ भएको हो । साझा प्रकाशनबाट पहिलोपटक २०३५ सालमा सिर्जनाका लहर गीतिकवितासङ्ग्रह प्रकाशित भएको हो । यो बालसाहित्यसम्बन्धी कृति हो । लेखनसिर्जनामा उनका दर्जन पुस्तकहरू सार्वजनिक भएका छन् । पहिलो गीति कवितासङ्ग्रहबाट गीतकार दैवज्ञराज गीतिविधाका एक चर्चित र सम्मानित प्रतिभाका रूपमा स्थापित भए । बालोपयोगी गीत र कविता सिर्जनामा सक्षम दैवज्ञराजको साझा प्रकाशनबाटै २०३८ सालमा तोतेबोली बालकवितासङ्ग्रह प्रकाशित भएको छ । बालकवितासङ्ग्रह र बालजीवनीसङ्ग्रह क्रमशः गाउँखाने कविता र हुने बिरुवाका चिल्लापात २०४३ र २०४५ मा पाठ्यक्रम विकास केन्द्र र नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएका हुन् । राष्ट्रियस्तरमा पहिलो पुरस्कृत कविता प्रवासीको सम्झना २०२१ हो भने २०४२ सम्मका केही कविताहरूलाई लिएर नेपाल राजकीय प्रज्ञा–पतिष्ठानबाट २०४६ सालमा जोर मुरली कवितासङ्ग्रह आएको छ । यस सङ्ग्रहमा उनका कविताका मूल प्रवृत्तिहरू वर्णमात्रिक छन्दमा २५ र गीतिछन्दमा २० गरी ४५ वटा कविता समावेश गरिएका छन् । पहिलोमा वर्णमात्रिक छन्द र दोस्रोमा गीतिछन्द परिवेशभित्र कवितासङ्ग्रहको नाम जोर मुरली रहेको छ ।

नेपाली साहित्यमा समालोचना शैली र बालकवितासङ्ग्रहका रूपमा २०४९ र २०५३ मा क्रमशः गुणराज उपाध्यायका खण्डकाव्यहरूको विश्लेषण र मूल्यांङ्कन र बालसंसार पनि महत्त्वपूर्ण पुस्तक हुन् । त्यसै गरी अनुसन्धनात्मक कृति नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरूका साथै सबै हाम्रा साथी वालकवितासङ्ग्रह २०५४ र २०५६ मा प्रकाशित छन् । उनले २०६३ सालमा खण्डकाव्यसङ्ग्रहका रूपमा सम्झनाको धरातलबाट तथा २०६५ सालमा घामले ढोका खोल्यो र २०६६ मा पोल्टाका गीतहरू प्रकाशित गरेका हुन् । उनका पछिल्ला दुई कृति बालकवितासङ्ग्रह र शिशुगीतसङ्ग्रह हुन् । उनले नेपाली कविता भाग एकदेखि चारसम्म सहलेखन र सम्पादन गरेका छन् । पाठ्यक्रम विकास केन्द्रमा संलग्न रहेर उनले २०४६–४८ सम्म सहलेखन र सम्पादनमा विभिन्न बालकवितासङ्ग्रहको सम्पादन गरेका हुन् । सम्पादक न्यौपानेले विभिन्न समयमा अभिनन्दन ग्रन्थ र स्मृतिग्रन्थ आदिको पनि सम्पादन गरेका छन् । द्यौराली, इलम, ललिता, बालक र मुना आदि विभिन्न पत्रिकाहरूको सम्पादन कार्य उनले गरेका छन् । उनका कविता, कथा, गीत, लेख, निबन्ध, अनुसन्धान र समालोचनामूलक प्रशस्त्रै पुफटकर रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा निरन्तर प्रकाशित भएका छन् । मानवीय मनका शाश्वत पक्ष प्रेम र समर्पण तथा करुणा र वेदनालाई गीतमा छताछुल्ल भएर पोख्ने कवि दैवज्ञराजका धेरै पुफटकर कविताहरूमध्ये २०६१ साउनमा गरिमा मासिकमा प्रकाशित नारीको सौन्दर्य वर्णन कविता ज्यादै मार्मिक छ । नारी सृष्टिको अनुपम उपमा हो र यसको वर्णन गर्न अति कठिन छ । नारी एउटा सिङ्गो शरीर हो र त्यो सिङ्गो रूप स्वरूपलाई नारी सौन्दर्य प्रदान गरेर कवि दैवज्ञराजले देख्तै लोभ सताउँछ लामो कविताभित्रबाट नारी सौन्दर्य वर्णनका यी आठ पंक्ति ः–

छातीभित्र सजाएका उच्चशृङ्ग उठाउँदा

परेली धनुले तिम्रा दृष्टिवाण चलाउँदा

म घायल भएको छु चेतना ढल्पलाउँछ

हे तन्वङ्गि ! तिमीलाई देख्तै लोभ सताउँछ ।

दन्त दाडिमका जस्ता देखिने अनुहारमा

मुखचन्द्र खुलेको छ कमलाक्षी मुहारमा

बारुले कटिमा राम्रो निम्ननाभि सुहाउँछ

हे नितम्बि ! तिमीलाई देख्तै लोभ सताउँछ ।

विशेषतः कवितालाई गीतमा र गीतलाई कवितात्मक ऊर्जामा रूपान्तरण गर्न सक्ने कुशल प्रतिभासम्पन्न कवि दैवज्ञराजले नेपाली बालसाहित्यको उत्थान र विकासमा गरेको अभिरुचिपूर्ण योगदान प्रशंसनीय छ । गुणात्मक योगदानको कदरस्वरूप उनले विगत चार दशकको अवधिमा तीन दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन् सर्वप्रथम २०२१ सालमा उपत्यकाव्यापी अन्तरमहाविद्यालय साहित्य सम्मेलनमा स्वर्णपदक प्राप्त गरेका दैवज्ञराज २०६५ सालसम्म आइपुग्दा बालपत्रकारिता तथा बालसाहित्य अभिनन्दन ग्रहण गर्न पुग्छन् । उनले राष्ट्रव्यापी साहित्य सम्मेलन, त्रिभुवन विश्वविद्यालय साँस्कृतिक समारोह, युवा महोत्सव र ललितपुर युवा महोत्सवमा क्रमशः २०२२ देखि २०२५ सालसम्म लगातार स्वर्णपदक प्राप्तगरेका थिए । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता उत्सव २०२८ र २०३२ मा क्रमशः शिक्षा, संस्कृति र उद्योग एवं रच्छौँ हामी सबै जुटेर बिपना नेपालको सुन्दर कवितामा उनले काँस्यपदक र नगद पुरस्कार प्राप्त गरेका थिए । उनी २०३० सालको युवा महोत्सवमा नगद पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

युवककवि मोतीराम भट्टको पुण्यस्मृतिमा सुदूर भविष्यको दीर्घजीवी सोच राखेर स्थापना गरिएको युवावर्ष मोती पुरस्कारद्वारा सम्मानित हुने पहिलो सौभाग्य कवि दैवज्ञराजले प्राप्त गरेका थिए । उनले पहिलोपटक २०४२ सालको युवावर्ष मोती पुरस्कार एकल रूपमा प्राप्त गरेका हुन् । मोतीराम प्रवृत्तिलाई समर्पण गरिने युवावर्ष मोती पुरस्कार नेपाली साहित्यको सिर्जनाको साथै भाषा र साहित्यिक गतिविधिमा कवि दैवज्ञराज न्यौपानेले पुर्‍याएको प्रशंसनीय योगदानको कदरस्वरूप प्रदान गरिएको हो । युवावर्ष मोती पुरस्कार प्राप्त गर्दा दैवज्ञराज त्रिविमा सहप्राध्यापक रहेका थिए भने सत्र वर्षपछि २०५९ मा उनी प्राध्यापक भए । युवावर्ष मोती पुरस्कार प्राप्त गरेपछि पुस्तक लेखन र पुरस्कारको संख्यामा पनि अत्यधिक वृद्धि भएको छ । उनले २०४४ सालमा नेपाल बैंक लिमिटेडको तर्फबाट स्वर्णजयन्ती सम्मान र २०४७ मा नेपाल राष्ट्र बैंकको तर्फबाट पनि सम्मान प्राप्त गरेका छन् । समालोचना शैली ग्रन्थका लागि गुणराज उपाध्यायका खण्डकाव्यहरूको विश्लेषण र मूल्यांकन अन्तर्गत उनलाई २०४९ सालमा गुणराज व्याख्यान पुरस्कार प्राप्त भएको छ । त्यही वर्ष बालसाहित्यको क्षेत्रमा प्रशंसनीय योगदान गरेबापत साल्ट ट्रेडिङ कर्पोरेशनले बालहितकारी पुरस्कार प्रदान गर्‍यो । नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू पुस्तकका लागि २०५४ मा भारती खरेल व्याख्यान पुरस्कारका साथै सोही वर्ष बालसाहित्य पुरस्कार पनि न्यौपानेलाई प्राप्त भएको छ । यसरी नै २०५६ मा छिन्नलता पुरस्कार गुठीद्वारा छिन्नलता सम्मान, त्रिविबाट दीर्घसेवा पदक र दीपरत्न साहित्य सम्मान, २०५७ मा सयपत्री राष्ट्रिय सम्मान र देउराली क्लबद्वारा अभिनन्दन तथा २०५९ मा सुभाष स्मृति सम्मान पनि उनले प्राप्त गरेका छन् । धेरै नै साहित्यिक संस्था र पुरस्कार गुठीहरूले सम्मान र अभिनन्दन समेत गरेका दैवज्ञराजलाई २०५३ र २०५९ मा गद्दी आरोहण रजत महोत्सव पदक र सुप्रबल गोरखा दक्षिणबाहु पदक पनि प्राप्त भएका छन् ।

साहित्य सिर्जना, पठनपाठन र सामाजिक सेवामा विशेष सुरुचिपूर्ण अनुराग राख्ने दैवज्ञराजको त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा सेवारत रहँदारहँदै बानेश्वर क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि आंशिक रूपमा संलग्नता थियो । उनी लेखन र प्राध्यापनका साथै विभिन्न साहित्यिक र सामाजिक संघसंस्थाहरूमा पनि संलग्न रहेका थिए । भानु जन्मस्थल विकास समिति, दीपस्मृति पुरस्कार गुठी, जयतु संस्कृतम् कार्यसमिति, कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठान र भारती खरेल प्रतिष्ठानमा सदस्य रहेका थिए भने वानेश्वरमा रहेको सगुन सेवा समाजको अध्यक्ष एवं उदयानन्द स्मारक गुठी र छिन्नलता पुरस्कार गुठीको क्रमशः सचिव र सहसचिव रहेर उनले सेवा प्रदान गरेका थिए । पञ्चकुमारी सामाजिक गुठी, सामुदायिक विकास तथा सेवा समिति र भानु प्रतिष्ठानमा पनि उनको सहभागिता थियो । प्रायजसो यी सबै संस्थाहरू काठमाडौंभित्रै रहेका छन् । भानु सेवा समिति र भोजपुरे सेवा समाजका अध्यक्ष दैवज्ञराज केही समय पाटन संयुक्त क्यापसको क्याम्पस प्रमुखका साथै अन्य विविध साहित्यक, सामाजिक र शैक्षिक संस्थाहरूसँग निरन्तर संलग्न हुँदै र रहँदै आएका थिए । उनी केही वर्षदेखि पक्षाघात रोगबाट ज्यादै पीडित थिए् जसका कारण साहित्यिक लेखन र गतिविधिमा प्रतिकूल असर पर्न गयो र पनि उनका मीठा सिर्जना यस्ता छन् ः–

यी घामछायाँहरु भोगिभोगी

हामी यहाँका सब कर्मयोगी

थाक्दै नथाकीकन काम गर्ने

यै देशका खातिर लागिपर्ने.....

सधैँभरि सिर्जनाको सुन्दर क्षितिजमा रम्ने एउटा जल्दोबल्दो सर्जक बन्धक बन्नुपर्‍यो भने त्यहाँ कस्तो पीडाबोध होला ? सहजै अनुभव गर्न सकिन्छ । सबैका लागि असल नियतका कवि दैवज्ञराजले पीडाजन्य रोगको सिकार भई मनभरि वेदना र आँखाभरि आँसु बोकेर आफ्नै निवासमा कष्टकर जीवन बिताउन बाध्य हुनुपर्‍यो । छन्दोबद्ध कविता लेखन र वाचनमा पोख्त दैवज्ञराज २०६२ सालदेखि पक्षाघात रोगसँग लडिरहेका थिए । उच्च रक्तचाप र मधुमेह रोगबाट त उनी पीडित नै थिए । उनका लागि मनभरि उर्लिएका बेदना व्यक्त गर्ने सबै बाटाहरू बन्द भए । तत्काल उनी न त स्पष्टसँग बोल्न नै सक्थे न त लेख्न । एउटा सिद्धहस्त सर्जकका लागि योभन्दा पीडादायी कुरा अर्को के हुन सक्छ ? लेख्न हात नचल्ने र भावना व्यक्त गर्न जिब्रो नसर्ने प्राध्यापक दैवज्ञराज न्यौपानेलाई २०६६ साल असार २६ गते राजधानीमा नेपालका प्रथम महामहिम राष्ट्रपति डा. रामवरण यादवद्वारा सार्वजनिक रूपमा अभिनन्दन गरिएको थियो । त्यसका लागि साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति गठन गरिएको थियो । त्यस अवसरमा प्रा.डा.वासुदेव त्रिपाठी, प्रा.केशव सुवेदी र रमेश शुभेच्छुको लेखन तथा सम्पादनमा दैवज्ञराज न्यौपानेः जीवनी, कृतित्व तथा अभिनन्दन ग्रन्थ सार्वजनिक भएको छ । राष्ट्रिय युवासेवा कोषले पहिलो पटक नै युवावर्ष मोती पुरस्कार दैवज्ञराज न्यौपानेलाई प्रदान गरेर योग्य प्रतिभाको सम्मान गरेको छ ।

यसरी राष्ट्रको साहित्यिक, शैक्षिक र समाजसेवाको क्षेत्रमा उत्कृष्ट योगदान समर्पण गर्ने आफ्ना युगका दबदबाकवि दैवज्ञराज न्यौपानेको २०६८ पुस २ गते ६९ वर्षको उमेरमा असामयिक निधन भयो । नेपाली साहित्यको श्रीवृद्धि तथा नेपाली भाषासाहित्यको प्राध्यापन एवं समाजसेवाका क्षेत्रमा प्रेरणादायी कर्म गर्ने एउटा विशिष्ट व्यक्तित्व कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेको दुःखद निधनबाट देशले अपूरणीय ऊर्जा गुमाएको छ । त्यसैले नेपाली वाङ्मयको कोणप्रतिकोणमा दैवज्ञराज बहुआयामिक व्यक्तित्वका विविध आयामका पाटापुञ्ज हुन् ।

नमामि विश्ववन्दिताम्

धरा–धरेन्द्र–शोभिातां हिमाल–देश–भाषिताम्

सुशीतलां मनोहरां नमामि विश्ववन्दिताम् ।

अखण्डकीर्तिमण्डितामनन्तधामसम्मिताम्

समुन्नतां परिष्कृतंा नमामि विश्वसेविताम् ।

सुदीर्घविस्तृतां धरां मधेशमण्डलायिताम्

सुंस्कृतां समुज्वलां नमामि विश्व–वैभवाम् ।

प्रदीप्तशैलसुन्दरां प्रचण्डवीरगर्विताम्

सुरक्षितां सुपूजितां नमामि विश्ववन्दिताम् ।

दैवज्ञराज न्यौपाने