लिटिल एन्जल्स, भानुजयन्ती र दैवज्ञराज
मैले शीर्षकमा उल्लेख गरेका पदावलीहरू वास्तवमा एक–अर्काका पर्यायवाची शब्दजत्तिकै हुन् । अग्रज कवि तथा प्राध्यापक दैवज्ञराज न्यौपानेलाई म यही पाटोबाट अथवा यही त्रिकोणीय शब्दशीर्षबिन्दुहरूबाट बढी नजिकिएको महसुस गर्दछु ।
झन्डै तेइस–चौबीस वर्षअघि जतिबेला म लिटिल एन्जल्स स्कुलमा लक्का जवान शिक्षकका रूपमा कार्यरत थिएँ, दैवज्ञ दाइसँगको मेरो चिनाजानी र सामीप्यको शृङ्खला त्यहीँबाट प्रारम्भ हुन्छ । हाम्रो विद्यालय यद्यपि आफ्ना सङ्घर्षका दिनहरूमै थियो, नाम र गुणस्तरीयताको उचाइ छुन हावाको बेगसरि अघि बढिरहेको थियो, र म पनि एउटा परिपक्व र स्थापित अध्यापक बन्ने सङ्घर्षमा थिएँ । मेरो अध्ययनको अधिकांश समय देशबाहिर बितेकाले म नेपालका धेरै कम मूर्धन्य कवि साहित्यकारहरूलाई चिन्दथेँ । जे–जतिलाई नामसम्मले चिन्दथेँ त्यो पनि रामलाल अधिकारीको दार्जिलिङस्थित निवासमा विद्यार्थी कालमा सँगै बस्दाको उपलब्धि थियो । सायद उहाँकै सङ्गतले होला, विज्ञानको विद्यार्थी भए पनि मेरो साहित्यप्रतिको अनुराग बिछट्टै बढेको थियो । दार्जिलिङ बसाइका क्रममा मैले आपूफलाई साहित्य र विशेषतः गीत रचनामा चुर्लुम्म डुबाउन भ्याएँ । यति मात्रै हो मेरो साहित्यानुरागी बन्नुको आधारशिला ।
नेपाल फिर्तीपछिका दुई–तीन वर्ष आलोकाँचो मास्टरी गर्दै र डेरा सर्दासर्दै बिते । एकदिनको कुरो हो– हाम्रा संस्थापक प्रिन्सिपल उमेश श्रेष्ठले हाम्रो भेटघाटमा भन्नुभयो– अब हामीले विद्यालयमा साहित्यिक गतिविधि पनि बढाउनु पर्यो । विद्यार्थीहरूमा सृजनात्मक क्रियाकलाप बढीभन्दा बढी गराउनु पर्यो । मैले भानु सेवा समिति (हालको भानु प्रतिष्ठान) मा दैवज्ञ दाइसँग कुरा गरेको छु । उहाँहरू आउँदै हुनुहुन्छ ।
विद्यालयका शिक्षक–शिक्षिकाहरूमध्ये म उमेर र अनुभव दुवैले कनिष्ठ थिएँ तर रहर र आँटले सम्भवतः आफैँलाई वरिष्ठ लाग्ने खालको । म जुर्मुराइहालेँ र आँटियो एउटा भव्य भानुजयन्ती समारोह सम्पन्न भयो – लिटिल एन्जल्स स्कुल र भानु सेवा समितिको संयुक्त तत्त्वावधानमा । हाम्रो लावालस्करको अग्रभागमा हुनुहुन्थ्यो दैवज्ञ दाइ । त्यही दिन हो, जहिलेदेखि आजसम्म यो यात्रामा हामी निष्कण्टक अगाडि बढिरहेका छौँ । श्रीभद्र शर्मा, दैवज्ञराज न्यौपाने र प्रा.डा. व्रतराज आचार्य भानु सेवा समितिका तर्पफबाट हाम्रो संयुक्त यात्राका दर्बिला पाइलाहरू हुन् । हामीले हाम्रो विद्यालयमा बर्सेनि भव्य गोष्ठीका साथ भानुजयन्ती मनाउने परम्परा बसाल्यौँ । दैवज्ञ दाइको ऊर्जा थपिँदा हाम्रो कार्यक्रमको ओज झन् झन् बढिरहेको थियो । उमेश श्रेष्ठ धेरै परसम्म र फराकिलो दृष्टि राख्छन् भन्ने कुरामा मसँग कसैको विमति नहोला । भानुजयन्ती र त्यसको निहुँमा गरिने भव्य कविगोष्ठीले त अब रजत जयन्ती मनाउने उमेर छुन लागेको छ ।
म दैवज्ञ दाइको संस्मरण लेख्दै छु । लेख्दालेख्दै जुन घटना मेरो स्मृतिपटमा आउँछ, त्यसैलाई उल्लेख गरेको छु । स्मृतिमा घटनाहरू तिथिमिति सहित सिलसिला मिलाएर नआउँदा रहेछन् । जतिबेला हामीले विद्यालयमा यस्तो कार्यक्रमको थालनी गर्यौँ, त्यसबेला सम्भवतः कुनै पनि निजी विद्यालयहरूमा भानुजयन्ती मनाउने परम्परा थिएन । यदि कतै थियो भने पनि त्यो लोकमा त्यति जाहेर थिएन । निजी विद्यालयहरू त्यसबेला बग्रेल्ती उम्रिएका भर्खरका सिमीका बोटभैँफ माथि चढ्न थाङ्ग्रा खोज्दै थिए । उमेश श्रेष्ठको सोच नितान्त मौलिक रहेछ र दैवज्ञ दाइ मार्पफत् भानु सेवा समितिसँगको हातेमालो हाम्रा लागि अतुलनीय सहकार्य रहेछ । त्यसको हेक्का हिजो सायद थिएन, अहिले बल्ल चेतना भयो ।
दैवज्ञ दाइलाई नमस्कार गर्दा वहाँले मेरो नमस्कार फर्काउनुको साटो दुवै हात च्याप्प समातेर अत्यन्त स्नेहपूर्वक हालखबर सोध्नुहुन्थ्यो । ती प्रत्येक पलहरू बिहानीपखका सपना जस्तै स्पष्टसँग आँखामा उत्रिन्छन् । माथि भनेकै वाक्य दोहोर्याउँदा दैवज्ञ दाइको ऊर्जाले हाम्रो कार्यक्रमको ओज यति बढ्दै गयो कि यस कार्यक्रममा नेपालका मूर्धन्य साहित्यकारहरू सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, माधव घिमिरे, लैनसिंह वाङ्देल, कमलमणि दीक्षित, वैरागी काइँला, भविलाल लामिछाने (आसाम) देखि क्रमशः आउँदा अहिलेका चर्चित युवा कवि–साहित्यकारहरूसम्मको पदचाप यस विद्यालयको प्राङ्गणले महसुस गरेको छ ।
उमेश श्रेष्ठ भव्य कार्यक्रमका आयोजक, दैवज्ञ दाइ कार्यक्रमका सभापति, माथि नाउँ उल्लेख गरिएभैँफ पालैपालो एक–एकजना मूर्धन्य साहित्यकार प्रमुख अतिथि, सभाकक्ष कवि–साहित्यकार र श्रोताहरूले खचाखच– यो सधैँको विधि, रीतिथिति हुन्थ्यो । हुन त अहिले पनि यस्तै हुने गर्छ तर दैवज्ञ दाइको कमी सबैलाई अलिनो महसुस हुन्छ ।
म कार्यक्रम सञ्चालन गर्थेँ, अहिले पनि गर्छु, अग्र पङ्क्तिमा बस्नु हुने नियमित अतिथि श्रोता डा. तुलसी भट्टराई अत्यन्तै रस मानेर कार्यक्रमलाई साथ दिनुहुन्थ्यो, अभैफ त्यो क्रम जारी छ, मञ्जुल दाइ अति हाँस्ने अनि ताली बजाउनका धनी, प्रशंसा गर्न कन्जुस्याइँ नगर्ने, औँला ठड्याएर हकार्दै अभैफ राम्रो गर्न हौस्याउने, अशेष मल्ल दाइ, “होइन, यो मान्छे पूर्वको हो कि पश्चिमको, ठम्याउनै सकिनँ” भन्दै संयोगले मेरै आदरणीय दाजु हरिहर शर्मालाई सोध्नु हुन,े कमलमणि दीक्षित, कसकसका कुरा गरौँ ? म प्रत्येक वर्ष उत्साहित हुँदै कार्यक्रम सञ्चालन गर्दै यहाँसम्म आइपुगेँ । तर जे जे भयो, जति जति भयो र जस्तो जस्तो भयो, कार्यक्रमको सिरानमा सभापति भई बस्ने दैवज्ञ दाइ यसको मियो हुनुहुन्थ्यो । उहाँ सधैँ मुस्कुराइरहनु भएको मुद्रामा मैले देखेँ तर खै किन हो खित्का छाडेर हाँसेको चाहिँ कहिल्यै देखिनँ । सायद मलाई मौका नजुरेको होला । कार्यक्रम सकिएपछि उहाँ खासै केही नबोली मलाई अँगालो हाल्नुहुन्थ्यो र बर्सेनि पहिरिने उहाँको दौरासुरुवाल माथिको कोटका दुई कप्टेराका माझमा म लपक्क अँगालिन्थेँ । सानोलाई ठुला र गुणी मान्छेहरूको स्पर्श मात्रै पनि जीवनपर्यन्तको खुराक बन्दोरहेछ ।
हरेक वर्ष भानु जयन्तीको याममा म दैवज्ञ दाइलाई पलपल सम्झन्छु । सम्झनाहरू लेखेर सकिन्नन्, समुद्री तटमा लयात्मक तरिकाले घरिघरि आएर किनारालाई छुने लहरभैँफ सम्झनाहरू आइरहन्छन् । अक्षरमा वर्णन गरेर ती पलहरूको अनुभूति अरूलाई गराउन सकिनँ मैले । सायद पेफरिपेफरि पनि कविता महोत्सव होला, राम्राराम्रा कविता वाचन गरिएलान् । सायद मैले नै कार्यक्रम सञ्चालन गरुँला, मञ्जुल दाइको हाँसो घन्किएला, तुलसी दिवसको “बाघ र बाख्रा” दोहोरिएलान्, श्रवण मुकारुङको मलेसिया जाने भानुभक्त बिहानै ब्युँभेफलान्, विप्लव ढकालको प्रोपेफसर शर्माको हराएको डायरी सायद कतै भेटिएला, तर दैवज्ञ दाइको आलिङ्गन अब कहाँ ? मैले पेफरि कहिल्यै उहाँको कोटको टाँकमा अल्झिने मौका पाउने छैन । अस्तु !
पहिले – कपिलवस्तु अहिले – धोबीघाट, ललितपुर