दैवज्ञ दाइसँगको आधा शताब्दी पुरानो सम्बन्ध
२०१७/०१८ सालतिर भोजपुरको दिङ्लामा पढ्दा दैवज्ञ दाइसँग चिनाजानी भयो । त्यो चिनाजानीको सम्बन्ध कति सहज रूपमा कसिलो हुँदै गयो भने ज्येष्ठताका आधारमा उहाँले मेरो घरबाहिरको पहिलो अभिभावकत्व नै लिनु भयो । उहाँ भोजपुरको गोगने निवासी न्यौपाने परिवारको, म ओखलढुङ्गा (हाल खोटाङ) को लामीडाँडा बस्ने भट्टराई–परिवारको । जान–आउन ३/४ दिन लाग्ने, पूर्व परिचय थिएन । यद्यपि भट्टराई–परिवार र न्यौपाने–परिवारका बिचमा नाता–सम्बन्ध नभएको होइन तर त्यसबारेमा कुनै जानकारी थिएन ।
आबाल ब्रह्मचारी षडानन्द अधिकारीले १९३२ सालमा स्थापना गर्नुभएको दिङ्लाको संस्कृत पाठशाला नेपालमै संस्कृतको पहिलो औपचारिक व्यवस्थित विद्यालय हो भने पूर्वाञ्चलको पहिलो शिक्षाकेन्द्र । शिक्षक– विद्यार्थीका लागि बस्ने आवास र भोजनका लागि प्रशस्त गुठीको व्यवस्था गर्नुका साथै रुद्राक्ष लगायतका वृक्षको वन–जङ्गल, खेलकुदका लागि टुँडिखेल, राम र शिवको मन्दिर, पेय जल समेत आवश्यक सबै पक्षको व्यवस्थापन गुरु षडानन्दले गर्नुभएको थियो । अन्न–बाली, फल–पूफल आदिले सुसज्जित दिङ्लामा स्थापना गरिएको यो पाठशाला त्यस बेलाको नमुना थियो र पश्चिमका गुल्मी, दाङ र प्युठानतिरका विद्यार्थी पनि त्यहाँ पढ्न पुगेका थिए । शिक्षक र विद्यार्थीमा सुमधुर सम्बन्ध थियो भने विद्यार्थीमध्ये पनि माथिल्लो कक्षाकाले तल्लो कक्षाकालाई सिकाउने र सहयोग गर्ने परिपाटी थियो ।
उमेरमा पनि केही जेठो र पढाइमा पनि उच्च कक्षाको भएका नाताले दैवज्ञ दाइले हामी खास गरी लामीडाँडाबाट जानेहरूको संरक्षकत्व र अभिभावकत्व लिनुभयो । कतिसम्म भने छुट्टीमा घर जाने बेला खर्च नहुनेलाई खर्च जुटाईदिने र बढी खर्च भएकाको रकम जिम्मा लिइदिने पनि उहाँले गर्नुभयो । एकपटक घर जाँदा मसँग फाजिल रहेको रु ९ मसँग सोधेर नै लिनुभएको सम्झना मलाई ताजै छ । उता घरमा भने रुपियाँ पनि बोकेर ल्याउन नसकेको भनेर पिताजीले असन्तुष्टि व्यक्त गर्नुभएको थियो । घरबाट फर्केर आएपछि मैले माग्नै नपरी उक्त रकम मलाई फर्काउनु भयो । पैसा सुरक्षित रहोस् भन्ने दृष्टि यसमा एकातिर रहेको छ भने अर्कातिर अध्ययनमा निरन्तरता रहिरहोस् भन्ने भावना पनि सन्निहित छ । कक्षा ८ अर्थात् प्रथमा परीक्षा उत्तीर्ण भएपछि हामीले आ–आफ्नो बाटो समायौँ । ५/६ वर्षपछि तीनधारा संस्कृत छात्रावासमा दैवज्ञ दाइको सामीप्य पेफरि प्राप्त भयो । काठमाडौंमा कसरी व्यवहार चलाउनुपर्छ भन्ने सल्लाह त्यस बेला उहाँ हामीलाई दिने गर्नुहुन्थ्यो । तर त्यो सम्पर्क र सामीप्य उति घनीभूत र दिगो हुन सकेन ।
सानैदेखि उहाँ मिलनसार र सहयोगी भावना भएका सहृदयी व्यक्ति हुनुहुन्थ्यो । दिङ्लामा रहँदा उहाँ अग्लो, गोरो र पातलो शरीरको हुनुहुन्थ्यो । त्यहाँका अग्ला अग्ला पर्खालमा चढेर पूफर्तीसाथ उहाँ कुद्नुहुन्थ्यो । खेलकुदमा उहाँलाई भेट्न जो–कोहीलाई गाह्रो पर्थ्यो । काठमाडौंमा भेट्दा उहाँ निकै मोटोघाटो र परिपक्व भइसक्नुभएको रहेछ । पछिसम्म पनि सहयोगी प्रवृत्ति उहाँमा एउटा विशिष्ट गुण रहेको अनुभव हुन्छ ।
वास्तवमा दैवज्ञराज न्यौपानेको व्यक्तित्व उहाँका रचनामा पूर्णतः प्रतिविम्बित भएको पाइन्छ । चाहे शास्त्रीय वार्णिक छन्दका कविता हुन् या गीतहरू । दुवै शैलीका गीत र कवितामा उहाँको सरल–सहज, सुललित र मधुर प्रवृत्ति राम्ररी खुलेको छ । प्रेम, वियोग, प्रकृति, राष्ट्रियता र सामाजिक जिम्मेवारीका कोमल अभिव्यक्ति हँसमुख, मिलनसार र सहज स्वभावका प्रतीक बनेका छन् । क्लिष्टता छैन, टेढोमेढोपन छैन, अस्वाभाविकता र कठोरता छैन, चाहे दैवज्ञ दाइको व्यक्तित्वको स्पर्श गर्नुहोस् अथवा कवि दैवज्ञ न्यौपानेका कविता मनन गर्नुहोस् । यस्ता होनहार कवि व्यक्तित्वले जीवनको पछिल्लो समयमा शारीरिक पीडा सहनुपर्यो । यसमा केवल प्रारब्धकै तारतम्य मान्नुपर्ने हुन्छ ।
प्राध्यापन, समाजसेवा, साहित्यिक उन्नयन आदि अनेक फाँटमा उहाँको अविस्मरणीय योगदान रहेको छ । त्यतातिर मैले हात हाल्न सकेको छैन । घर–परिवार छाडेर पढ्ने क्रममा बाहिर गएपछि पूर्वपरिचित बन्धु, अन्यभन्दा पृथक्, पाठशालाका अग्रज ती मेरा पहिला विश्वसनीय अभिभावकको संस्मरणमा श्रद्धाका केही शब्द टिप्ने धृष्टता मात्र गरेको छु । मेरा लागि उहाँ सधैँसधैँ प्रेरणाको स्रोत बनिरहनु हुनेछ ।