दैवज्ञ दाइ अर्थात् दैवज्ञ सर
अब स्मृतिहरूका रेखाचित्रमा जे कुँदिनुपर्थ्यो, त्यो कुँदिएको छ । कुँदिएको छ केही कुरा, कुँदिनुभएको छ उहाँ । भूतद्रव्यमा रूपान्तरित भएको छ, उहाँको चित्रविम्ब, बीजविम्ब ।
त्यही चित्रविम्बले छाडेका अक्षर र शब्दहरू मात्र छन् हामीसित । ती त्यहाँसम्म, वार्ता जारी गर्न सकिन्छ, अक्षरलाई परीक्षण गर्न, शब्दलाई परीक्षण गर्न । उत्पत्ति र लयलाई संश्लेषण गर्न । ती त्यहाँसम्म फ्ल्यासब्याकहरूमा राख्न सकिन्छ, कुनै सुन्दर आकृतिलाई । अपौरुषेय स्वरूप स्पर्श गर्न । अक्षरातीत ऊर्जा महसुस गर्न । साङ्केतिक रूपमा, चित्रविम्बलाई चिनाउने संज्ञासूचक अक्षरहरू छन् । विशेषणयुक्त शब्दहरू छन्, ड्यासमा ।
ड्यासमा छन्द, अलङ्कार, अनुप्रास र गणहरूले निर्मित एउटा पूर्णकदको तस्विर छ, जसलाई सम्मानसूचक सम्बोधन गरिँदा एउटा अक्षरनाद बन्छ, एउटा शब्द सङ्गीत बन्छ— अक्षरातीत दैवज्ञराज न्यौपाने । म उहाँलाई चिन्दछु र चिन्दिन पनि । मैले जति चिनँे, एउटा कवितालाई चिनेँ । कविलाई चिनेँ र मैले जति चिनिन, अकवितालाई चिनिन । अविचारलाई चिनिन । ती त्यहाँसम्म, शब्दातीत दैवज्ञराज न्यौपाने ।
म पहिलो पटक काठमाडौं छिरेको हुँ, वि.सं. २०२९ जेठमा अच्युतरमण अधिकारीका साथ लागेर । त्यसबेला काठमाडौं आउन अहिले जस्तो सजिलो थिएन । ठाउँठाउँ बाटो बिग्रिएको र कमलाको पुल बनिनसकेकाले एकरात जनकपुरमा बसेर भोलिपल्ट मात्र बाटो लाग्नु परेको थियो । जनकपुर हुँदै काठमाडौं प्रवेश गर्दा तीन तीन ठाउँ गाडी बदल्नु परेको थियो । त्यो पनि खुला ट्रकमा चढेर । नारायणगढ–मुगलिनमार्ग बनेको थिएन । त्रिभुवन राजपथकै बाटो आउनुपर्थ्यो । सवारी साधनहरू त्यति सहज थिएनन् त्यसबेला ।
काठमाडौं छिरेपछि दैवज्ञ दाइका निवासमा पुगेंछु, पुतलीसडकस्थित भाइ टेलरिङ हाउसमा । उहाँ आफ्ना बन्धु बान्धवहरूको मण्डली बनाएर बस्नुभएको थियो, त्यहाँ । मण्डलीका अभिभावक र नाइके– दैवज्ञ दाइ । त्यस मण्डलीका सदस्यहरू कविराज न्यौपाने, केदार न्यौपाने, महेश्वर न्यौपाने, अच्युतरमण अधिकारी र मित्र अच्युत न्यौपाने आदि प्रमुख हुनुहुन्थ्यो ।
म त्यसबेला धरानको महेन्द्र कलेजमा आई.कम. को विद्यार्थी थिएँ । गर्मीको छुट्टीमा पहिलो पटक काठमाडौं आएको थिएँ घुम्न । तिनताका अच्युतरमण अधिकारी मेरा मामा जगदीश नेपालीको घरमा डेरा गरेर बस्नु भएको थियो, शास्त्री पढ्न, निकटस्थित पिण्डेश्वर संस्कृत महाविद्यालयमा ।
म प्रारम्भदेखि नै मामाघरमा थिएँ । मेरी मावली हजुरआमाको वात्सल्यपूर्ण लालनपालनमा हुर्किंदै थिएँ म । अच्युतजीहरू पिण्डेश्वरमा शास्त्री पढ्दै गर्दा म पब्लिक हाइस्कूलमा स्कुले विद्यार्थी थिएँ । जगदीश नेपालीको भानिज भएको कारण म सबैको “साझा भानिज” थिएँ । परिचय त्यही थियो मेरो त्यसबेला । यसो हुँदा अच्युतरमणजीलाई पनि म “अच्युत मामा” भनेर सम्बोधन गर्थें । त्यो क्रम अद्यावधि जारी छ ।
अच्युतरमण अधिकारी शास्त्री सकेर कीर्तिपुरमा एम.ए. “ज्वाइन” गर्न पुग्नु भएको थियो । यदाकदा उहाँको धरानसित पनि सम्पर्क छुटिसकेको थिएन । सोही क्रममा अच्युतजी धरान आएका बेला मैले उहाँसित काठमाडौं घुम्न जाने कार्यव्रफम बनाएँ । त्यसपछि, म उहाँसित साथ लागेर काठमाडौं आएपछि भाइ टेलरिङ हाउसमा अवस्थित दैवज्ञ दाइको मण्डलीमा मिसिन पुगें । दैवज्ञ दाइको व्यवहार–शिष्टाचार असल थियो, जसले गर्दा मलाई त्यहाँ पाहुना लागेर बस्न असहज भएन । करिब २० दिन काठमाडौंमा बिताइसकेपछि म पुनः धरान नै फर्किएँ । अच्युतरमणजी आफ्नो शैक्षिक सत्र पूरा गर्न काठमाडौंमै रहनु भयो, त्यही मण्डलीमा ।
म आफ्नो पढाइका क्रममा धरानमै अलमलिएँ । मेरो अध्ययन र साहित्यकर्म सँगसँगै चल्दै थियो । मामाघर विजयपुरमा भएकाले पिण्डेश्वर संस्कृत महाविद्यालय हाम्रो गाउँको सिमानामै जोडिएको थियो । मेरो पढ्ने, लेख्ने र खेल्ने क्षेत्र पिण्डेश्वर नै हुन्थ्यो । त्यहाँ पढ्ने संस्कृतका अधिकांश सिनियर छात्रहरू प्रजातन्त्रवादी विचारका थिए र साहित्यकर्मको ठुलै गतिविधि चल्थ्यो त्यहाँ । यिनै दुई कारणहरूले म विशेष पिण्डेश्वरसित निकटस्थ थिएँ ।
वि.सं.२०२५–२०२६ तिर धरानको सिरानमा रहेको विजयपुर बजारमा दैवज्ञ दाइ आउनु भएको सम्झना छ, मलाई । त्यहाँ उहाँसित भएको भेट धुमिल स्मृतिमा छ । तथापि बिर्सन सकेको छैन मैले । सुनसरी जिल्लाका तत्कालीन जिल्ला पञ्चायत सभापति अम्बिकाप्रसाद श्रेष्ठका घरमा केदार र कविराज न्यौपानेको डेरा थियो । दैवज्ञ दाइ आफ्ना भाइ–भतिजहरूसित भेटघाट गर्न आएका बेला, मेरो पनि भेट हुन्थ्यो ।
म साहित्यानुरागी भएको जिज्ञासु पुफच्चे केटो, त्यसबेला । तथापि पिण्डेश्वर संस्कृत महाविद्यालयमा उत्तरमध्यमा र शास्त्री पढ्ने केदार, कविराज, कोषराज न्यौपाने लगायतका “सिनियर” हरूसित मेरो सम्पर्क हुन्थ्यो । त्यहाँ पढ्नेहरू प्रायः सबै साहित्यिक पनि र वैचारिक रूपले प्रजातन्त्रवादी पनि । तीसँग सम्पर्कमा थिएँ म । अहिले उहाँहरू सबै राष्ट्रिय जीवनमा ख्यातिप्राप्त हुनुहुन्छ ।
म वि.सं.२०५१ फागुनमा स्थायी रूपले वसोवास गर्नेगरी काठमाडौं आएँ । वि.सं.२०२९ मा अल्लारे उमेरमा सर्वप्रथम काठमाडौं हेर्न छिरेको ठिटो अब म वि.सं.२०५१ मा वयस्क उमेरमा आइपुगेको थिएँ । ती दिन र यी दिनहरूमा कति भिन्नता रहे, ती सबै पछि ।
अन्ततः म बसाइ सराइका क्रममा काठमाडौँ आइसकेपछि दैवज्ञ दाइ, केदार सर, कोषराजजी, महेश्वरजी, अच्युतजी र प्रह्लादजीहरू सबैको सत्सङ्गमा रहें । यो सत्सङ्ग रगतको साइनोमा गाँसिएको अनुभव छ मलाई । विगतको त्यो पुफच्चे नाता अब झन् परिवक्वतामा बदलिएको थियो । पछिल्ला दिनहरूमा उहाँको बानेश्वरस्थित निवासमा म कहिले कुनै कार्यक्रमको निम्तो बोकेर पुगेको हुन्थेंँ त कहिले कुनै साहित्यिक मित्रलाई लिएर उहाँसित साहित्यिक वार्ता गर्न पुगेको हुन्थँें । उहाँ जहिले पनि सुसंस्कृत मिजासमा पेस गर्नुहुन्थ्यो, आपूफलाई । काठमाडौंँका दिनहरूमा उहाँसित जुन सम्पर्कमा रहेँ म, त्यो पनि अविस्मरणीय छ । म किशोर हुँदा उहाँ भर्भराउँदो युवा हुनुहुन्थ्यो र स्थापित कवि पनि । उहाँले त्यसबेला मसित (किशोर केटोसित) प्रदर्शन गर्नुभएको शालीनता पछि आएर मेरो परिपक्व उमेरसित पनि सोही क्रमबाट निर्वाह भएको थियो । उहाँले हाम्रो “जेनेरेशन” लाई उत्तिकै आदर, सम्मान र प्रेम दर्साएको अनुभव छ मलाई । उहाँमा दम्भ र अहं थिएन ।
वि.सं.२०५५ को शैक्षिक सत्रको प्रारम्भमै म बानेश्वर क्याम्पसको प्राध्यापन सेवामा प्रवेश गर्न पुगेँ । मलाई त्यहाँ मेरा आदरणीय सर श्री देवबहादुर श्रेष्ठ (जसले मलाई वि.सं. २०३१ मा महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरको स्नातक तह व्यवस्थापन सङ्कायमा पठाउनु भएको थियो) ले प्रवेश गराउनु भएको थियो । राजधानीको मुटुमा रहेको यो त्यो क्याम्पस रहेछ, जसको स्थापनामा दैवज्ञ दाइको प्रमुख भूमिका रहेको थियो । अब म नित्य उहाँको सम्पर्कमा आउन थालेँ । म व्यवस्थापन सङ्कायको शिक्षक । उहाँ मानविकी सङ्कायको विभागीय प्रमुख । फ्याकल्टी फरक भए पनि बानेश्वर क्याम्पसका साहित्यिक सांस्कृतिक गतिविधिहरूमा उहाँको प्रमुख नेतृत्वदायी भूमिकासित प्रत्यक्ष अप्रत्यक्ष गाँसिन पुगेको थिएँ ।
बानेश्वर क्याम्पसमा उहाँसित जोडिएपछि अप्रत्याशित एउटा रमाइलो कुरा के भयो भने मैले उहाँलाई गर्ने सम्बोधनमा परिवर्तन आयो । अर्थात् अब उहाँ दैवज्ञ दाइबाट दैवज्ञ सर हुन पुग्नुभएको थियो । यो सम्बोधनले मलाई उहाँबाट टाढा वा नजिक के बनायो थाहा छैन । तथापि “दैवज्ञ सर” भन्न थालेपछि उहाँ एउटा व्यक्ति मात्र नभएर संस्थामा रूपान्तरण भइसकेको चाहिं बोध हुन थालेको थियो मलाई । यसरी हाम्रा आदरणीय दैवज्ञ दाइ केवल केदार, महेश्वर, कोषराज, प्रह्लाद वा मजस्ताहरूको पारिवारिक दाइमा मात्र सीमित हुनुपर्ने व्यक्तित्व होइन । उहाँ राष्ट्रकै एउटा “निधि” भइसक्नु भएको हुँदा “दैवज्ञ सर” हुनु अस्वाभाविक अनुभव हुँदैन ।
पश्चिमा जगत्मा टेनिसन र बाइरनका समकक्षी वा तीभन्दा ठुला कवि कति छन्, तथापि यी दुईका ख्याति र प्रतिष्ठालाई कदर गर्ने क्रममा राष्ट्र–अन्तर्राष्ट्रले ती दुवैलाई “लर्ड टेनिसन” र “लर्ड बाइरन” भनेर सम्बोधन गरेका उदाहरण पनि छन् हामीसित ।
अन्ततः शैक्षिक क्षेत्रका अतिरिक्त नेपाली गीत र कविताका फाँटमा दैवज्ञ सरको विशेष योगदान रहेको छ । एक प्रखर चेतनायुक्त “कवि निधि” दैवज्ञ सरले तयार गर्नुभएको त्यो विशिष्ट पहिचानलाई भावी सन्ततिले पनि सदैव स्मरण गर्नेछन् । मानिसको प्रारम्भिक जग बालचेतनाको विकासबाट मात्र बलियो र समृद्ध हुन्छ भन्ने धारणा थियो उहाँको । त्यसैले बालबालिकाहरूको कोमल चेतनामा उर्वर–ऊर्जाशील तत्त्वहरू प्रवाह गर्न बालसाहित्यको विधालाई पनि समृद्ध तुल्याउनु पर्छ भन्ने आग्रह नै रह्यो उहाँको । प्रकारान्तरले वालिग नागरिकहरूको मात्र प्रेरणास्रोत नभई बालबालिकाहरूका लागि पनि एउटा पृथक् ऊर्जा बन्नु हुने दैवज्ञ सरलाइ, उहाँको चित्रविम्बलाई पवित्र गंगा–वागमतीका किनारमा उभ्याउन सकिन्छ कि ! किनभनेः—
दैवज्ञ सरका अनुजहरू धेरै छन्
काव्यानुरागीहरू उत्तिकै छन्
अनुयायीहरूको सङ्ख्या कम छैन ।
यति हुँदाहुँदै पनि भावी साहित्यिक सन्ततिले उहाँको भूतद्रव्यीय स्थिति प्रज्ञतामाथि स्पर्श गर्न पाएनन् भने हामी सबै धिक्कारित हुनेछौं कि !
नियतिको त्रूफर चक्रले दैवज्ञ सरलाई आफ्नो आयु पूरा गर्न दिएन । त्यो चोट छँदैछ, हामीसित । यिनै प्रसङ्गहरूले पनि उहाँलाई सार्वजनीन रूपमा चित्रविम्बीकरण गराउन उपयुक्त ठानेको हुँ मैले । व्यष्टिमा, दैवज्ञ सर त एउटा पात्र । एउटा विषयीचेत मात्र, समष्टिमा साहित्यको अर्चना र अभिनन्दन, हामीले प्रारम्भ गर्ने यो संस्कृति । आफ्नै राष्ट्रिय गौरव र पहिचानको गाथा वर्णन हुनेछ, यो अभिलेखीय पद्धति ।
बानेश्वर क्याम्पस, काठमाडौँ
सादा जीवनशैली, सहयोगात्मक भावना र व्यवहार, निश्छल विचार हामी दैवज्ञबाट पाउन सक्छौँ । कुशल प्राध्यापक, असल अभिभावक र राष्ट्रवादी काव्यशिल्पीको अनुप्रेरणा दैवज्ञको व्यक्तित्व र कृतित्वबाट प्राप्त गर्न सकिन्छ। यदि हामी दैवज्ञप्रति श्रद्धासुमन अर्पण गर्न इमानदार छौं भने उनीबाट सादा जीवन र परोपकारको पाठ सिकौँ ।