बिर्सिएर नबिर्सने
आज म यो लेख लेख्न बस्दा कवि दैवज्ञराज न्यौपानेको निधन भएको तिथिले आठ महिना भइसकेछ । उहाँकै सेरोपेफरोमा रहेर विगतका केही सम्झनाहरू लेख्न खोज्दै छु । उहाँसँग मेरो पहिलो भेट २०५३ साल आषाढमा उहाँ जुम्ला क्याम्पसमा जाँदा भएको हो । जुम्ला गैरागाउँका पञ्चायतकालीन माननीय रमाकान्त न्यौपानेमार्पफत । कवि न्यौपानेलाई प्रत्यक्ष नदेखे पनि उहाँका कविता र गीतमार्पफत म परिचित नै थिएँ । किसान कविताले उहाँलाई अझ चर्चित बनाएको थियो जुन कविता मैले कक्षा आठमा पढिसकेको थिएँ ।
मलाई काठमाडौंसम्म ल्याइपुर्याउन उहाँको ठुलो योगदान रहेको छ । म २०५५ सालमा काठमाडौं आएको थिएँ । उहाँसँग मेरो करिब ७ वर्ष उठबस भयो । २०६२ साल भाद्रमा उहाँलाई पक्षाघात भएपछि म उहाँसँग टाढिएको थिएँ । त्यसपछि उहाँ गैरीगाउँको घरमा बस्न थाल्नुभयो । म बानेश्वरको उहाँकै घरमा बस्थेँ । म प्रायः गैरीगाउँमा गएर उहाँका कविता र गीतलाई उतार्ने काम गर्दथेँ । कति कविता र गीतहरू त बुझिँदैनथे । लेख्न खोज्नुहुन्थ्यो, सक्नुहुन्नथ्यो । पक्षाघातले थलिएपछि आँखा, हात र खुट्टाले काम गर्न छोडिसकेका थिए । जिउडाल ठुलो भएकाले कहिले काहीँ घुमाउन पनि गाह्रो पर्दथ्यो । करिव ७ वर्ष पक्षाघातले थलिनुभएका कवि न्यौपाने अन्त्यसम्म पनि सुधार हुने आशमा हुनुहुन्थ्यो ।
प्रायः म बिदाको दिन जाँदा खुसी हुँदै रफ कविता र गीतलाई कपीमा उतार्न दिनुहुन्थ्यो । धेरै कविता र गीत मैले उतारेको छु । घामले ढोका खोल्यो बालकवितामा मेरो नाम पनि उल्लेख गर्नुभएको छ । म जाँदा उहाँ निक्कै खुसी हुनुहुन्थ्यो । खाजा खाए नखाएको सोधेपछि उहाँ कविता र गीत सार्न लगाइहाल्नुहुन्थ्यो । निधन हुनुभन्दा ४–५ दिन अघि म उहाँकहाँ गएको थिएँ । ५–६ वटा कविता सारेर म हतार भएकाले निस्किएको थिएँ । छिट्टै एउटा बालकविता सङ्ग्रह निकाल्नु छ भनेर भन्नुहुन्थ्यो । मैले पनि शनिवार बिहान गएर कविता र गीत सार्ने र उहाँको छिट्टै कविता सङ्ग्रह निकाल्ने धोको पूरा हुन सकेन । २०६८ साल पौष २ गते शनिवार बिहान निजामती अस्पतालमा उहाँको निधन भयो । उहाँका बाँकी रहेका कृतिहरू निकाल्ने र उहाँको नामलाई पछिसम्म चिरस्थायी बनाइराख्ने काम उहाँका सन्तति, परिवारजन र शुभचिन्तकबाट सुरुवात भइसकेको छ जुन दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको नामले क्रियाशील छ ।
अन्त्यमा कवि न्यौपानेको आत्माको चिरशान्तिको कामना गर्दै उहाँको नामलाई कसरी चिरस्थायी बनाउने त्यो बाटामा हामी सबै लागौँ ।
बिर्सिएर नबिर्सने पेफरि फर्की नआउने
कस्तो ठाउँ गयौ तिमी केही सोध्न नपाउने ।