दैवज्ञराज न्यौपाने : एक शब्दचित्र
असल व्यवहार, राम्रो पोसाक र आकर्षक व्यक्तित्वका धनी भएकाले अलग्गै पहिचान बनाउन समर्थ व्यक्तित्व दैवज्ञराज न्यौपाने अग्ला, गोरा, खाइलाग्दा र राम्रा थिए । उनलाई कतिले अग्रज व्यक्तित्वका रूपमा, कतिले अभिभावकका रूपमा, कतिले शिक्षकका रूपमा र कतिले चाहिँ साहित्यकारका रूपमा चिन्दछन् । कविवर माधव घिमिरे भन्नुहुन्छ– दैवज्ञराज राम्रा कविता लेख्ने कवि हुन् । साहित्यकार हिरण्य भोजपुरे भन्छन्– साहित्यका विद्यार्थी न्यौपानेका विविध व्यक्तित्व छन् । तीमध्ये बाह्य व्यक्तित्वलाई ठम्याउने धेरै होलान् तर आन्तरिक व्यक्तित्व चिन्ने कमै छन् । एउटै जिल्लावासी साहित्यका विद्यार्थी र सरस्वतीका उपासक भएकोले उनले यसो भन्नु स्वाभाविकै हो । कवि न्यौपाने कवि मात्र होइनन्, साहित्यका अन्य विधामा पनि उनी सक्रिय छन् । उनी घुमी फिरी मूलतः कविताकै परिवृत्तमा घेरिन्छन् । उनको साहित्य काव्यिक पाराको छ अथवा यसो भनौँ उनले साहित्यका जुन विधामा हात हाले पनि कवितात्मकता उनको विशिष्ट पक्ष हो । साहित्यकार दिक्षित भन्छन् – सृजनशीलता न्यौपानेको अब्बल पक्ष हो । न्यौपानेका सृजनात्मक कयौँ कृति अप्रकाशित छन् । प्रकाशित कृतिहरू पनि असरल्ल छन् । कविता विधाका कृतिहरू धेरै नै छन् । त्यसैमा उनको वैशिष्टय छ । गीत, बालरचना उनका विशिष्ट पक्ष हुन् भने उनले समालोचना विधामा पनि विशिष्ट स्थान प्राप्त गरेका छन् । उनको विशिष्टता सम्पादनमा पनि त्यतिकै देखिन्छ । पाठ्यपुस्तक र बाल पत्रिकाका सम्पादन पर्याप्त मात्रामा पाइन्छन् ।
एक विशिष्ट प्राध्यापकका रूपमा उनको कर्तव्य निर्वाह अत्यन्त उल्लेख्य छ । यसमा उनले उचाइ प्राप्त गरेका छन् । उनी अब्बल प्राध्यापक थिए । राम्रो, असल, सहृदयी शिक्षक आजको जमानामा कहाँ पाउनु ? उनले पुरस्कारको लागि कहिल्यै मरिमेटेनन् तैपनि उनका हातमा युवावर्ष मोती पुरस्कार लगायत पुरस्कारहरूले उनको गरिमालाई उजागर गरेका छन् । सधैँ हँसमुख लाग्ने न्यौपाने जीवनका विभिन्न मोडहरूमा शालीन, सौम्य र गम्भीर देखिन्छन् । वास्तवमा न्यौपाने नेपाली समाजमा एक यस्ता विशिष्ट व्यक्तित्व थिए जो यस लोकमा सूर्यका किरणहरू छर्दै थिए । उतातर्फ भावीलाई उनको जरुरी पर्यो र उनलाई बोलाइयो कतै किरण छर्नको लागि किनकि त्यहाँ भद्रता, नम्रता, सहृदयता र शालीनताको आवश्यकता थियो ।
एक स्वतःस्पूफर्त प्रतिभाशाली लेखक, विशिष्ट प्राध्यापक, चिन्तक र समाजसेवकको अस्त भएको छ । प्राध्यापन र लेखन उनका विशिष्ट पक्ष हुन् । मीठो मुस्कान एवं सरल र सहज अभिव्यक्ति उनको वैशिष्ट्य हो । कवि भएर न्यौपाने पहाडको झरना जस्तै अगाडि बढेका पाइन्छन् । समयको प्रवाहसँग ठोकिँदै न्यौपानेले नेपाल र नेपाली, नेपाली भाषा, साहित्य र संस्कृति, नेपालका हिमाल, पहाड, तराइ र उपत्यकाका लागि जुन काम गरे त्यो आफँैँमा विशिष्ट छ । राजनीतिक चिन्तनशीलता, साहित्यिक शिक्षण र कलाकारितालाई सोच्ने र समाजसेवालाई प्रश्रय दिने न्यौपाने सदैव साहित्य र कलालाई सर्वोपरि महत्त्व दिन्थे । उनी प्रकृतिको सुरम्य ग्रामीण सुवाससँगै आपूफलाई जीवन्त राख्दै कला र साहित्यको उत्थानमा केन्द्रित थिए । आफ्नो जीवनलाई पूर्णतः उदार, सहनशील र परोपकारी बनाएर विनापूर्वाग्रह अगाडि बढाउने कार्यमा उनी जीवनभर क्रियाशील रहे । छङछङ बग्ने खोलाजस्तै एक सग्लो मानिसका रूपमा उनको पूरा जीवन खुला किताब सरह छ ।
अन्त्यमा सादा जीवन र उच्च विचारका स्वाभिमानी, इमान्दार एवं कर्तव्यनिष्ठ विशिष्ट व्यक्तित्व बोकेका कवि, प्राध्यापक एवं समाजसेवी न्यौपानेको अमर आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु ।