कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

भानिजको सम्झनामा

खिलनाथ पोखरेल

भानिज दैवज्ञराज न्यौपाने मेरी जेठी दिदी उमादेवीका जेठा छोरा हुनुहुन्थ्यो । भिनाजु पं. गणेशप्रसाद भोजपुरको गोगनेमा घर भए पनि भोजपुरकै दावाँमा बस्नुहुन्थ्यो । दावाँ वजारमा चौमासा पुराण र ठाउँठाउँमा सप्ताह पुराण भन्ने उहाँको पेसा थियो । भानिज दैवज्ञराज जन्मिएकै बेला (वि.सं. १९९९ मंसिर) हाम्रो घर खोटाङको कुभिन्डेबाट दिदीलाई माइत लिएर जान एक जना सहयोगीलाई साथमा लिएर म दावाँ गएको थिएँ । दुईवटा बच्चा खेर गएपछि भानिज दैवज्ञराज जन्मिनुभएको हुँदा बहुत होसियारीसाथ रहनुभएका दिदी–भिनाजुले राम्रो साइत हेर्दा १५ दिनपछि मात्र जुरेको र मेरा सहयोगी पनि घरकै मान्छे हुनाले १२, १४ दिन बसेर लिएर जानू भनी भिनाजुले भन्नुभयो । त्यसबेला अहिलेको जस्तो टेलिफोन, मोबायलजस्ता सञ्चार साधन नभएकोले हामी दावाँमा आनन्दसाथ बसेको खबर घरमा जान सकेन । धेरै दिनसम्म केही खबर हुन नसकेकाले घरबाट बुबा र काका आत्तिदैँ हामीलाई खोज्न आउनुभएछ । भोलिपल्ट हामी हिँड्ने तयारीमा थियौँ । अघिल्लो दिन बुबाहरू आइपुग्नु भयो । हिँड्न निश्चय गरेकै दिनमा बुबा, काका, दिदी र साना शिशु दैवज्ञ भानिजसहित हामी कुभिन्डेको घरमा आयौँ । केही दिन बसेर दिदी र भानिज फर्किनु भयो ।

केही वर्षपछि जागिरको खोजीमा म काठमाडौंतर्पफ गएँ । काठमाडौंबाटै धनकुटा गएर हुलाकमा जाँचकी जम्दारमा जागिरे भएँ । धनकुटाबाट कुनैकुनै साल तिहारमा दिदीसँग टीका लगाउन जान्थेँ । तिहारको समयमा भानिजलाई लिएर बजारतिर जुवा खेलेको हेर्न जान्थेँ । दैवज्ञ भानिज सानैदेखि तिखो स्वर, पातलो शरीर, राम्रो चेहरा र बाठो खालको हुनुहुन्थ्यो । घरमा आएर भन्नुहुन्थ्यो- जुवा खेल्दा त सानासाना शंख पो लडाउँदा रहेछन् । उहाँले बालककालमा बोलेका यी शब्दहरू अहिले पनि मेरा कानमा गुन्जिरहेजस्तो लाग्छ । धनकुटा बसेर ६ वर्षजति जागिर खाएपछि पेफरि काठमाडौंमा नै गएर अर्को जागिर खान थालेकाले म घर नआएको ७, ८ वर्ष भइसकेको थियो । दिदी भिनाजुकै आग्रहमा २०१६ साल माघमा विवाह गर्न भनी गोगने आएँ । त्यतिखेर उहाँहरू गोगने, धाइपामा बस्नुहुन्थ्यो । विवाहको कुरा छिन्दा फागुनको ४ गते विवाह गर्ने टुङ्गो भयो । घर नगएको धेरै वर्ष भइसकेकाले पहिले घर पुगेर आउनुपर्‍यो भनी माहिला भानिज केदारलाई लिएर घरतर्पफ गएँ । मेरी भाइबुहारी शेषकुमारी (कान्छो भाइ नवराजकी पत्नी) को माइत पनि गोगने नै भएको हुँदा आमा र भाइबुहारी समेत भई गोगने आयौं । त्यहाँ न्यौपानेहरूलाई सूतक परी विवाह थुनिएको हुँदा ४ गतेको सट्टा ९ गते विवाह गर्ने निश्चय गरियो । त्यसबेला भानिज दैवज्ञ दिङ्लामा पढ्नुहुन्थ्यो । विवाहमा भानिज पनि आउनुभयो ।

मेरो बिदा सकिन लागेको हुनाले घर जान नभ्याइने हुँदा २०१६ साल फागुन ९ गते विवाह र १० गते जन्तेबाख्रो गरी ११ गते नै काठमाडौंतर्पफ फर्किनुपर्ने भएकाले आमालाई घर लिएर जान कुभिन्डे घरबाट बुबालाई गोगने बोलाइयो । नवविवाहिता दुलहीलाई लिएर म विराटनगरतर्पफ र भानिज दिङ्लातर्पफ पढ्न जाने हुँदा दिदी भिनाजु र आमासँग बिदा भई घरबाट सँगै प्रस्थान गर्‍यौं । पिखुवा खोलासम्म सँगै आई भानिज दिङ्लातर्पफ लाग्नु भयो । म र श्रीमती विराटनगरबाट काठमाडौंको हवाइजहाजको टिकट १०, १५ दिनपछि मात्र पाइने थाहा पाइएको हुँदा रेलको बाटो गरी वीरगन्ज आएर सिमराबाट हवाइजहाजको टिकट पाई काठमाडौं आइयो । २०२० सालमा केन्द्रीय तथ्याङ्क विभागबाट धनकुटा, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा जिल्लाको जनगणना सर्भेक्षण गर्ने काममा खटिएको हुँदा श्रीमतीलाई लगेर माइतमा छाडी म धनकुटातर्पफ लागेँ । सबै जिल्लाको काम सकी गोगने पुग्दा भानिज दैवज्ञ पनि दिङ्लाबाट दाङ पुगेर त्यहीँबाट प्रवेशिका परीक्षा दिई घरमा आउनुभएको रहेछ । माहिला भान्जा केदार र कान्छा भान्जा महेश्वरले दुईचार वर्ष मावली कुभिन्डेमा नै बस्ने मौका पाउनुभएको थियो । तर, ठुला भान्जा दैवज्ञले त्यो सौभाग्य पाउनुभएको थिएन । माहिला र कान्छा भान्जाहरू मावलबाटै काठमाडौं पुगिसक्नुभएकाले दिदीले मलाई भन्नु भो— यसका भाइहरू पनि मावलैबाट काठमाडौं गएका थिए, हामी पनि बुबा आमासँगै गएका हौं, अब यसलाई पनि तैंले नै लैजा । दिदीको यस्तो भनाइ र भान्जाको पनि अध्ययनका लागि काठमाडौं जाने प्रबल इच्छा देखिएकाले २०२० साल आषाढमा ठुला भान्जा दैवज्ञलाई साथै लिएर काठमाडौं गएँ ।

काठमाडौं पुगेपछि भानिज त्यहीँ पढ्न थाल्नुभयो । मामा भानिज सँगै थियौं । त्यही सालको अन्ततिर केही दिनका लागि म काजमा झापामा खटिएँ । भान्जालाई डेरामा व्यवस्था मिलाई म झापा गएँ । मेरो जागिर अस्थायी थियो । म्याद पुगेको हुँदा पछि भूमिसुधार लागु हुँदा भूमिसुधारमा दरबन्दी कायम हुने गरी तत्काल आर्थिक योजनाको दरबन्दीमा झापामै बसेर काम गर्नुपर्ने भयो र म झापामै बसेर काम गर्न थालेँ । २०२१ साल मार्गमा भूमिसुधार लागु भयो । भूमिसुधारकै दरबन्दीमा खरिदार पद कायम भै झापामा काम गर्दै रहँदा २०२१ साल फागुन २५ गते भूमिसुधार विभागको दरबन्दीमा नायव सुब्बामा प्रमोसन भयो र २०२२ साल वैशाखमा विभागमा हाजिर हुन काठमाडौं पुग्दा त्यहाँ भानिज हुनुहुन्नथ्यो । खोजखबर सोधखोज गर्दा पनि कसैले यकिन खबर नदिएपछि चिठी लेखेर पठाएको त माहिला भानिज केदार न्यौपानेबाट यस्तो उत्तर पो आयो — दाजु भोजपुर जेलमा हुनुहुन्छ, सामानहरू जम्मै घरपट्टीकहाँ छन्, घरपट्टीलाई रु. २५ दिन बाँकी छ रे झ्

म साथीसँग मैतीदेवीमा बसेको थिएँ । घरपट्टीकहाँ गएर पैसा दिएर सामानहरू लिएर आएँ । म काठमाडौं आउँदा केटाकेटीहरूलाई विराटनगरमै छोडेर आएको थिएँ । भोजपुर जेलबाट छुट्नासाथ भान्जाले विराटनगरबाट माइजूलाई समेत लिएर आउनु भएपछि बानेश्वरमा डेरा बन्दोबस्त गरी सँगै बसियो । २०२३ सालदेखि भान्जा दैबज्ञ छात्रावासमा बसी उच्चशिक्षा अध्ययन गर्न थाल्नुभयो । राम्राराम्रा कविता लेख्दै र प्रजातान्त्रिक आन्दोलनहरूमा पनि सहभागी हुँदै अध्ययनको क्रमलाई अगाडि बढाउँदै गएर संस्कृत र नेपाली दुबैतर्पफ सँगसँगै पढेर संस्कृतमा आचार्यसम्म अध्ययन गरी नेपालीमा एम.ए. गर्नुभयो ।

२०२७ सालतिर नै क्याम्पसमा पढाउन थाली विभिन्न क्याम्पसहरूमा पढाउने काम गर्दै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा धेरै समय पढाएर विशिष्ट श्रेणीको प्राध्यापक हुनुभयो । साहित्यमा उहाँका दर्जनौं कृतिहरू प्रकाशित भएका छन् । पदक, पुरस्कार, विभूषणहरू प्रसस्त पाउनुभएको छ । अचानक रोगले आक्रमण गरी पक्षाघात भयो । उपचारको कमी नभए तापनि हिँडडुल गर्न असमर्थ भई ओछ्यान पर्नुभयो । बिरामीकै अवस्थामा पनि पुरस्कार, सम्मान पाउनुभयो । राष्ट्रपति डा. रामवरण यादवबाट राष्ट्रिय सम्मान प्राप्त गर्नुहुँदा म पनि काठमाडौंमै भएकाले प्रत्यक्ष्य रूपमा सम्मान समारोह हेर्ने मौका मिलेको थियो । आफ्ना प्यारा भान्जाले राष्ट्रपतिबाट यस्तो राष्ट्रिय सम्मान पाउँदा हर्षले मन कति गद्गद् भयो, भनिसाध्य छैन । समारोहस्थलमा वरिष्ठ साहित्यकारका रूपमा राष्ट्रिय व्यक्तित्व बनेर सोफामा बसिरहनुभएका भान्जाको धपक्क बलेको उज्यालो अनुहार हेर्दा कस्तो गौरवको अनुभूति भयो ।

काठमाडौंमा गरिएका अनेकौं उपचारपछि भारतको दिल्लीमा लगेर पनि उपचार गरियो । तर, स्वास्थ्यमा धेरै सुधार हुन सकेन । ओछ्यानमै परेर पनि सकीनसकी केही न केही लेखिरहनुहुन्थ्यो । दैवको इच्छा २०६८ साल पुस २ गते बिहान इहलोक छाडी परलोक जानुभयो । ज्यादै हिमखिम र मायाप्रेमले सँगै बसेको भएर पनि होला, रातोदिन दैवज्ञ भान्जाको सम्झना भइरहन्छ । उहाँको अमर आत्माले चिरशान्ति पाओस् भनी ईश्वरसँग प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु ।

२०६८ फागुन ११

विराटनगर—४, मानगढमार्ग, राजवंशी चोक

द्रष्टव्यः

खिलनाथ पोख्रेल (जन्म १९८७ वैशाख ९) कवि दैवज्ञराज न्यौपानेका माहिला मामा हुनुहुन्छ जसको अत्यन्त नजिक रहेर जीवनभर कविले आत्मीय माया पाउनुभयो ।