कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

केही भन्न तयार पङ्क्ति तल छन् बोलाइद्यूँ पाठक !

खेमरञ्जन भट्टराई 'लामिडाँडे'

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।

अर्थात्,
शस्त्र काट्दैन यल्लाई न आगाले डढाउँछ
गलाउँदैन पानीले न हावाले सुकाउँछ ।

श्रीमद्भगवद्गीतामा रहेका श्रीकृष्ण भगवान्का यिनै वचनामृतलाई आत्मसात् गर्दै भाइ दैवज्ञराजको सम्बन्धमा यसरी स्मृति सन्दर्भको सिलसिला पारेर कलम चलाउनु पर्ने नियतिको बाध्यताले केही लेख्नै पर्दा खै कसरी के पो लेखौँ त ?

प्राध्यापको विज्ञ उदारमूर्तिः श्री नेउपाने ह्युपनामयुक्तः
दैवज्ञराजश्च यथार्थनामा गोलोकवासं हि करोतु नित्यम् ।

दैवज्ञविद्वानति शान्तसुन्दरः धुरन्धराः सन्ति च यस्य शिष्याः
सञ्चारयन् दैवसुकीर्तिगाथाः जीवन्तु ते वर्षशतं शतञ्च ।

धन्याऽतिधन्या किल राष्ट्रभाषा सा जन्मभूमिः खलु गोगने च
उमागणेशौ पितरौ च धन्यौ यं प्राप्य प्राज्ञं हि सुयोग्यपुत्रम् ।

साहित्यक्षेत्रे शिशुगीतक्षेत्रे स्वल्पेऽपि काले बहुकीर्तिशाली
स्वनामधन्यः किल दैवुरासीद् हा दैव ! हा ! कुत्र जगाम किन्तु ।

दैवज्ञराजस्य सुनिर्मलानि शेषाणि कार्याणि सुमङ्गलानि
सुधार्चने भूषण उज्ज्वलश्च कुर्वन्तु पूर्णानि हि सौरभोऽपि ।

सम्बन्ध र

मूल पुर्खासमेत गन्दा चारौँ पुस्ताको नाताका भाइ हुन्– दैवज्ञ । आफ्नो कालखण्ड र सेरोपेफरोमा ख्यातिप्राप्त निष्कपट, समदर्शी खोटाङको रावा लामिडाँडा–५, राताचउर निवासी आदर्शपुरुष रामनाथ तथा इन्द्रछाया भट्टराईका दुई छोरामध्ये गोपाल नामले चिनिने पं.डिल्लीकेशर तथा प्रेमकुमारीका तीन छोरी (सानैमा दिवङ्गत दुई समेत) र दुई छोरामध्ये आध्यात्मिक, धार्मिक, पौराणिक, सामाजिक तथा राजनैतिक जस्ता क्षेत्रले आत्मसात् गरेका मूर्धन्य समाजसेवी ज्योतिषी विद्वान् पण्डित देवीप्रसाद तथा वृन्दावनलक्ष्मीका छ छोरा र पाँच छोरीमध्येको जेठो छोरा यिनै पङ्क्तिकार हुँ म ।

यसै क्रममा रावा कुभिन्डे गाउँ निवासी कुल घरानियाँ पोखरेल रामप्रसाद तथा कौशल्यादेवीका ज्येष्ठ सुपुत्र, जो पछि गएर कोते सुवेदार बन्न पुगेका, अति भद्र, कर्मनिष्ठ समाजसेवी डिहीघर निवासी चूडामणि पोखरेलसित उनै ज्योतिषी रामनाथ तथा इन्द्रछाया भट्टराईकै चार छोरीमध्ये कान्छी छोरी अम्बिकादेवीको बिहे भयो । उनका तीन छोरा र चार छोरीमध्ये जेठी सुपुत्री उमादेवीको कलिलै उमेरमा भोजपुरको गोगने–१ निवासी विद्वत् कुलको न्यौपाने वंशमा उत्पन्न वयस्क उमेरका गणेशप्रसादज्यूको असजिलो अवस्थामा बिहे भयो । उमादेवीकै तीन छोरा र एक छोरीमध्ये जेष्ठपुत्ररत्नको रूपमा उदाएर दैवज्ञले वि.सं.१९९९ साल मंसिर तीस गते मङ्गलबार यस धराधामको प्रथम दर्शन गरेका थिए ।

उपर्युक्त रक्तसम्बन्धकै कारण लामिडाँडा र कुभिन्डेको सामीप्य तथा भेराइँचो मौलाएर बढी झाँँङ्गिदै गएकाले हामीहरूका घर व्यवहारमा हुन,े गरिने विवाह, व्रतबन्ध, देवाली, दसैँं, तिहार, पुराण आदि जस्ता अन्य समसामयिक चाडपर्व विशेष उत्सवहरूको सिलसिलामा आमा उमादेवी माइती मावली आउँदा जाँदा आमासितै लामिडाँडा आउने जाने क्रम दैवज्ञको बाल्यावस्थादेखि नै थियो । त्यसपछि उनी अध्ययन अध्यापनका लागि काठमाडौं रहँदा बस्दा एवं राष्ट्रिय, क्षेत्रीय या कुनै जिल्लास्तरीय साहित्यिक सम्मेलन तथा कविगोष्ठी आदिका सन्दर्भको भेटघाटले पनि हाम्रो सम्बन्ध जस्तै सम्पर्कले पनि निरन्तरता पाइरहेकै थियो ।

रूप, स्वभाव र कृति :

उनको रूप लावण्य अति सुन्दर, विशाल उच्च भाल, अति सुहाउँदो कपाल, हँसिलो मुखाकृति, सबै बान्की मिलेको सुसङ्गठित शरीर जति हेरिरहँू देखिन्थ्यो, त्यति नै सौम्य, शान्त, मृदुभाषी, धाकिलो आकर्षक व्यक्तित्व र समदर्शी जस्ता उदात्त गुण र स्वभावले परिपूर्ण थियो । उनमा रहेका गुणहरूमध्ये उनका कतिपय चेला तथा अनुयायी महानुभाव, व्यक्तिहरूले आपूफमा सार्न सक्नुभयो नै होला, ती गुणहरू हाम्रो समाजको मात्र हैन राष्ट्रकै अमूल्य सम्पत्ति हुँदा समयसमयमा उजागर भइरहनेछन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेका साहित्यिक शिष्य दैवज्ञको दिनचर्या सदैव लेख्दा, पढ्दा, पढाउँदा या कुनै साहित्यिक रचना तयार पार्दा वा सामाजिक कार्य गर्नु पर्दा समेत नरो यावज्जीवेत् शुक्लेन कर्मणा भन्ने सैद्धान्तिक मूल्यका मर्मले सिँगारिएको पाइन्छ । उनका साहित्यिक कृति सिर्जनाको लहर, तोतेबोली, गाउँ खाने कविता, जोर मुरली, बालसंसार, सबै हाम्रा साथी जस्ता कविता सङ्ग्रह र हुने बिरुवाका चिल्ला पात जस्ता ऐतिहासिक जीवनी सङ्ग्रह तथा सम्झनाको धरातलबाट काव्य सङ्ग्रह जस्ता कृतिहरू नेपाली वाङ्मयको साहित्यिक भण्डारका अमूल्य निधिको रूपमा रहेका छन् ।

आफ्ना र अरूका लागि पनि सदैव जीवित रहने खालका केही काम गरौँ भन्ने जाँगरिलो उत्साह र उमङ्गको सुनौलो अवस्थामा आफ्नी सहचरी रीता न्यौपानेले आफ्ना मुटुका टुक्रा भूषण, अर्चना, उज्ज्वल सहितको नासो दैवज्ञजीको काखमा सुम्पिदिएर परमधामको असामयिक यात्रा गर्नु पर्‍यो । ती लालाबालाहरूप्रति रहेको पिताको नैसर्गिक कर्तव्यमाथि ममतामयी माता रीतामा रहेको वात्सल्य आदिको भारलाई समेत दैवज्ञले शिरोधार्य गर्नु पर्‍यो । रीता न्यौपाने धेरै बिमारी परेर अस्पतालमा राखेको बेला मेरी श्रीमती विमला भट्टराई र म हेर्न गएका थियौँ । श्रीमती रीताको अभावले प्रायः लथालिङ्ग हुन लागेको दैवज्ञको घरायसी व्यवहारका साथै अनेकौं कठिनाइ र मानसिक तनावरूपी चहराइरहेको घाउमा शान्तिको शीतल मलहम लगाउने काम गर्न श्रीमती सुधा न्यौपानेको उपस्थितिले एक आदर्श गृहिणीको भूमिका निर्वाह गरेको छ ।

वि.सं.२०२८ सालमा हो क्यार, प्रवेशिका परीक्षाका लागि सर्वप्रथम स्वीकृति प्राप्त केन्द्र खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा प्रथम केन्द्राध्यक्ष भएर जाँदा अनुशासित, मर्यादित र शान्तिमय वातावरण सिर्जना गराएर परीक्षा सञ्चालनदेखि समाप्तिसम्मको कार्यभार कुशलतापूर्वक सम्पन्न गरी उदाहरणीय रूपमा प्रस्तुत गर्न सफल केन्द्राध्यक्ष भनेर जिल्लाकै प्रशासनिक तथा बौद्धिक जमातद्वारा आयोजित सार्वजनिक समारोहमा भव्यताका साथ बिदाइ पाउनुलाई पनि दैवज्ञमा अन्तर्निहित विशिष्ट बौद्धिक क्षमताको परिचायक मान्नुपर्छ ।

वर्तमान आँधीका रूप लिएर चलिरहेको पश्चिमी हावाको परिवेशमा विदेश र विदेशी संस्कृतितर्पफ रमाउन लागेका आफ्ना सन्तति लगायत सबै नेपालीलाई जीविकोपार्जनका निम्ति जहाँ पुगे तापनि आफ्नै धर्म, संस्कृति, सभ्यतालाई पालना गर्दै अन्त्यमै भए पनि दिनभरि चारोको खोजीमा जहीँतहीँ भौँतारिएको पञ्छी वास बस्ने बेला भएपछि आफ्नै गुँड सम्झेर फर्किने गरे जस्तै आफ्नै घर गाउँ (देश) मा फर्केर जीवन यापन गर्नुपर्छ भन्ने उनको जीवनसन्देश थियो ।

कलिलो उमेरदेखि नै एकाङ्की, लघुनाटक, गीत, कविता आदिमा विलक्षण प्रतिभाका धनी मानिन्छन् दैवज्ञ । फलस्वरूप विभिन्न सङ्घसंस्थाद्वारा अनगिन्ती मानसम्मान, कदरपत्र, पदक र पुरस्कारहरूले विभूषित भए उनी । उनले अँगालेका भाषा, साहित्य, संस्कृति, सभ्यता, राष्ट्रप्रेम जस्ता महत्त्वपूर्ण सम्पदामा विशेष योगदान पुर्‍याउने प्रतिभा या विशिष्ट व्यक्तित्वलाई कदर, मान–सम्मान, विविध पुरस्कार आदिद्वारा यो प्रक्रिया निरन्तर नियमित रूपमा कार्यान्वयन भइरहे मात्र, राष्ट्रप्रेमी नेपाली वाङ्मयको साहित्य भण्डारका अमूल्य निधि कवि दैवज्ञजीप्रति सच्चा सम्मान भएको मान्न सकिन्छ ।

अब उनका बालचरित्रतर्पफ केही सोचौँ कि ? यस्तै यस्तै थिए कि उनका बाललीला ः–

आमा भन्दा दाजु, जीबा भन्दा बाबु
जेठो हुने चलन, मासौँ भन्थे दैबु
जुनेलो लट्टे भुटेको, महमा कैले मोलेर
खाजा खान्थे कागुनु, गाईको दूधमा घोलेर ।

घँघरु दाना उनेर, मुगाभैँफ माला लाउँदै
मुर्चुङ्गाको धुनमा, मारुनी गीत गाउँदै
द्यौरालीको हाटमा, दौँतरीको साथमा
कैले खान्थे ऐँसेलु, निवाराको पातमा ।

हातेमालो गरेर, बालकका साथमा
लट्ठी बोकी दौडिन्थे, स्यौली लिँदै हातमा
घुर्पिसो गोगन् चुस्दै ती, बालकका रवि
कैले बन्थे गिदाङ्गे, कैले बन्थे कवि ।

मकै भट्मास् काफल, गीट्ठा भ्याकुर सुठनी
फलैँचामा बसेर, खान्थे ओखर पुरुनी
कैले बन्थे दँयेँर, कैले बन्थे बाउसे
हरेगुडु खेल्थे ती, धेरै बनी रउसे ।

उमेर मिल्दा, विचार मिल्दा, साथीका साथमा
चाहन्थे खेल्न, पढ्न र लेख्न दिन या रातमा
कहिलेकहीँ, खेल्थे कि गट्टी, चौतारी–ठाँटीमा
यी कति कुरा, सम्झना होला, पुराना साथीमा ।

अँ ! अब अर्कै एउटा कुरा दैवज्ञजीबाट मेरो सानो कृति शहीदको सपना, २०५६ कविता सङ्ग्रहमा गरिएको समीक्षात्मक विवेचनाको लामो अंश वैशाखको शविनासरीय अङ्कमा गोरखापत्रमा प्रकाशित भएको थियो । त्यस पछिको अर्को कृति दूधकोशी इलाम २०६६ (वृत्तात्मक खण्डकाव्य) भने उनका हातमा परेको थियो थिएन । संयोगको कुरा हो उपचारका निम्ति २०६८ साल मंसिरमा म काठमाडौं गएर काँडाघारीमा छोरा विष्णुको घरमा बसेको बेला चिकित्सकतर्पफको काम कुरा एकोहोर्‍याएर बिरामी अवस्थाका भाइ दैवज्ञजीलाई हेर्न बोलाउन जानु पर्ला भनी सोचिरहेकै बेला पौष २ गते शनिवार बेलुकातिर अनामनगरबाट भाइ राधेश्यामले फोन गरेर भने– दाजुलाई थाहा भयो ? दैवज्ञ दाइ आज जानुभएछ र म मलामी गएको थिएँ । सवारी साधन नचलेको हुँदा मुस्किलले भर्खरै घर आइपुगेँ भन्दा म एकाएक रामराम झ् भन्दै स्तब्ध भएँ । अनि धेरै बेरसम्म के के कुरा सम्झिएपछि मात्र मनस्थिति केही फरक हुँदै आयो । त्यसपछि काममा बसेका उनका सन्ततिहरूलाई बोलाउने र बिचार लिई जाने सिलसिलामा छोरा शिवकुमार भट्टराई सहित तीनकुने गैरीगाउँ गयौँ । अनि केही दिनपछि चिकित्सकको परामर्श अनुसार म पूर्वी तराईमा रहेको आफ्नो रामकुटी सुनसरी जिल्लाको इनरुवातर्पफ लाग्नै पर्‍यो ।

अब अन्त्यमा थोरै खिचडी :

ट्याम्के गैकन जोर मादल भिरी घन्काउथे क्वै छिन
दावाँ ग्राम पसेर जोर मुरली रन्काउथे क्वै दिन
कैले हाट–बजारमा त कविता कि गीत घन्काउथे
यस्ता पुत्र दिने किशोर प्रतिभा, त्यो गोगने धन्य छे ।

झन्नैझन्नै आमा जस्तै पक्षाघाती रोगी बन्दै
खेप्नै पर्दा धेरै कष्ट चिन्ताले नै हान्यो क्यार झ्

नौला मीठा काव्य धेरै रचेर बाँड्दै होला यत्रतत्रै घुमेर
अर्को जन्मै हुन्छ साँच्चै भने त नेपालैमा पेफरि आऊ सुटुक्क ।

अहो ! हाम्रा राम्रा मधुर वचनै बोल्न चतुरा
निधारैले शोभा अझ थपिदिँदा दिव्य हँसिला
कता ऐले लाग्यौ कुन इलम पायौ रहरिलो
कि ता गोलोकैको रमझम मिल्यो वास गतिलो ।

उमाको मावली भट्टराई यो खेमरञ्जन
दैबु–रीता दुवैलाई गर्छ श्रद्धा समर्पण ।

निष्कर्ष :

२०६८ पौष २ गते शनिवारका दिन बिहान ७ः३० बजेतिर काठमाडौंस्थित निजामती अस्पतालबाट यस धराधामलाई जीवनको अन्तिम दर्शन गरी शाश्वत सन्देश दिने दैवज्ञलाई जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी भनेजस्तै नेपाली भाषा–संस्कृति र सभ्यताका सच्चा पुजारी भन्नुपर्छ ।

दैवज्ञजीकी श्रीमती सुधा, छोरा भूषण, उज्ज्वल, सौरभ, छोरी अर्चना एवं दाजु केशवानन्द, भाइ केदार, महेश्वर, बहिनी इन्द्रछाया तथा मावली भाइ प्रह्लाद पोख्रेल एवं उहाँहरूका सम्पूर्ण परिवारजन लगायत समस्त शुभचिन्तकहरूलाई कवि दैवज्ञजीका कीर्तिको अमरताका लागि नाम पाइला चालिरहन पूर्ण इच्छाशक्ति सहितको प्रेरणा मिलिरहोस् भनी श्रीपरमेश्वरसित हार्दिक प्रार्थना गर्दछु ।

शुभमस्तु ।।

इनरुवा–९, सुनसरी

मन त बग्ने पानी न हो बग्छ जहाँ पनि

पङ्ख खोली उडेपछि पुग्छ जहाँ पनि

जहाँ गए पनि आफू आफ्नै बनी जाऊँ

मेरै देशको मायाजस्तो म बनेर जाऊँ।

दैवज्ञराज न्यौपाने