'जोर मुरली' कविता सङ्ग्रहमा सांस्कृतिक पक्ष
विषय परिचय
संस्कृत सुललित वार्णिक छन्द तथा नेपाली झयाउरे लोक छन्दमा कविता रचना गर्न कुशल कवि दैवज्ञराज न्यौपानेका सिर्जनाको लहर (२०३५) र जोर मुरली (२०४६) कविता सङ्ग्रह प्रकाशित छन् । उनको कलम नेपाली बालसाहित्यमा पनि चलेको छ । उनले विभिन्न विषयवस्तुलाई आधार बनाई कविता सिर्जना गरेका छन् । उनको कवितामा नेपाली प्रकृतिप्रेम एकातिर पाइन्छ भने अर्कातिर राष्ट्रप्रेम, जातीय प्रेम तथा मातृभूमिप्रति अगाध आस्था प्रकट गरिएको पाइन्छ । उनका कवितामा मानवतावादी स्वरका अतिरिक्त नेपाली संस्कृतिप्रति पनि मोह व्यक्त भएको छ । यसका साथै मानव मनका शाश्वत पक्ष प्रेम र समर्पण, करुणा र वेदनालाई पनि सघन रूपमा अभिव्यक्त गरिएका हुन्छन् । लोकभाषा तथा लोकशैलीको प्रयोग गरी कविता लेखन गर्नेंंंंंंंंंंंंंंंंंंंं न्यौपानेका कवितामा सरल र सुरम्य भाषाको प्रयोग भएको छ । प्रस्तुत लेखमा दैवज्ञराज न्यौपानेको जोर मुरली कविता सङ्ग्रहमा निहित संास्कृतिक चेतनालाई अध्ययन गर्ने प्रयास गरिएको छ ।
सांस्कृतिक चेतनाको सैद्धान्तिक चर्चा
संस्कृति शब्दको व्युत्पत्ति “कृ” धातुमा सम् उपसर्ग र “ति” प्रत्यय लागेर बनेको हो । कुनै वस्तुलाई परिमार्जनसाथ संस्कार वा परिष्कार गर्ने काम संस्कृति हो । समय परिवर्तन, आधुनिकता, मानवीय सभ्यताको विकासक्रमसँगै संस्कृति शब्दको अर्थ परिवर्तन हुँदै व्यापक बन्दै गएको छ । अर्थ परिवर्तन हुने क्रममा कुनै राष्ट्र वा जातिको सामाजिक, राजनीतिक, अर्थ व्यवस्था आदिमा प्रतिविम्बित हुने कलाकौशल पनि संस्कृतिभित्र पर्दछ । धेरै समयदेखि देशकाल सापेक्ष भई परम्परागत तथा वैचारिक धारणाका रूपमा विकसित आचार संहिता र व्यवहारबाट राष्ट्र, समाज वा जातिको विशेषता प्रकट हुने मान्यता वा भावना पनि संस्कृति हो । यस प्रकार कला, साहित्य, इतिहास, धर्म, भाषा, दर्शन आदि विविध विषयमा रहेका मूल्य र परम्पराको नाम नै संस्कृति हो । संस्कृति शब्दले दिने विविध अर्थमध्ये पछिल्लो दुई बढी सान्दर्भिक रहेको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक राष्ट्र हो । त्यसैले भाषा, जाति, संस्कृति जनाउने हरेक विषय सांस्कृतिक चेतना अन्तर्गत पर्दछ । यस धारणा अनुसार मानिसले आफ्नो कुल, धर्म, जातीय मान्यता, संस्कार र संस्कृति छाड्न नहुने कुरा पनि बोध गर्न आवश्यक छ । नेपालको संविधानले नेपाललाई बहुभाषिक र बहुजातीय संस्कृति भएको देश स्वीकार गरेकाले पनि यो कुरा संस्कृति सापेक्ष छ भन्ने पुष्टि हुन्छ ।
नेपाल बहुजातीय र बहुधर्म भएको देश भएको हुनाले यहाँ अन्तर सांस्कृतिक प्रभाव परेको छ । नेपालको सन्दर्भमा नेपाली संस्कृति, विभिन्न जातजातिको जातीय संस्कृति, लोक संस्कृति, नेपाली संस्कृतिमाथि विदेशी संस्कृतिको अतिक्रमण, स्थानीय संस्कृतिको चित्रण, संस्कृति संरक्षण अभिव्यञ्जित भएका कविता छन् । यिनै कुरालाई पनि आधार मानी संस्कृतिको अध्ययन गर्न सकिन्छ । संस्कृतिको सम्बन्ध मानवशास्त्र एवं समाजशास्त्रसँग छ । त्यसैले मानव शास्त्रले ओगट्ने व्यापक अर्थ संस्कृतिभित्र पर्दछ । खास गरी सामाजिक परम्पराबाट मानवले आर्जन गरेका कुरा संस्कृति हो । यही कुराको अनुकरणले मानिस सुसंस्कृत बन्दछ । यसको अध्ययन पनि संस्कृतिभित्र नै पर्दछ । नेपाली कविता संस्कृति चेतना, संस्कृति संरक्षण एवं संस्कृति लोपसँग सम्बन्धित देखिन्छ । अझ नेपालको संस्कृति नेपालको प्रकृति, भूबनोट, धर्तीलाई मातृशक्तिका रूपमा स्वीकार गर्ने परम्परासँग पनि जोडिएकाले संास्कृतिक अध्ययनभित्र यी कुरालाई पनि समेट्न जरुरी छ ।
नेपाली कविता लेखन परम्परामा कविता लेखनको सुरुवातसँगै सांस्कृतिक चेतनाको प्रभाव परेको देखिन्छ । सांस्कृतिक चेतनाको विस्तार र विकास हुँदै जाँदा विश्वव्यापी संस्कृतिको प्रभाव पनि नेपाली समाज र जनजीवनमा परेको छ । सांस्कृतिक चेतनाभित्र बहुलवादी संस्कृति, प्रविधि संस्कृति वा साइवर संस्कृति समेत अन्तर्मिश्रित छ । अहिलेको स्थितिमा नेपालको संस्कृति वर्णशङ्कर छ । यिनै विविध संस्कृतिको परिप्रेक्ष्यमा दैवज्ञराज न्यौपानेको जोर मुरली कविता सङ्ग्रहभित्र सन्निहित सांस्कृतिक चेतनालाई यस अध्ययनमा सामग्री बनाइएको हो ।
सांस्कृतिक चेतनाका आधारमा कविताको विश्लेषण
दैवज्ञराज न्यौपानेद्वारा लिखित जोर मुरली कविता सङ्ग्रहमा मुरली एक र मुरली दुई गरी दुई खण्ड छन् । पहिलो खण्डमा वर्णमात्रिक छन्दका २५ कविता छन् भने दोस्रो खण्ड गीति खण्डका रूपमा रहेको छ । यसमा २० कविता रहेका छन् । यस कविता सङ्ग्रहको पहिलो खण्डको पहिलो कविता समर्पण शीर्षकमा रहेको छ । यो कविता ईश्वरको अनुष्ठान गर्दै भक्ति भाव समर्पण गरिएको कविता हो । यस कवितामा हिन्दु धार्मिक संस्कृतिको प्रभाव छ । हिन्दु संस्कृतिमा देवी देवताको पूजा गर्न मन्त्र उच्चारण सहित अविर, केसरी, नैवेद्य, भेटी, पुष्प आदि चढाइन्छ । सोही प्रचलनलाई स्वीकार गरी यस कवितामा ईश्वरीय भक्तिमा लीन हुन आँखाबाट बग्ने आँसु मात्र लिई खाली हात मन्दिर धाइरहेको छु भन्दै ईश्वरीय शक्तिको उपासना गरिएको छ ः–
माला भो न त फूल भो न त कुनै बत्ती भयो धूप भो
पूजानिम्ति सुगन्ध चन्दन कुनै नैवेद्य वा मन्त्र भो
आँखाका दुइ कोषबाट बहने ली अर्घ आँसू जल
खाली हात म आउँदैछु भगवन् झ् तिम्रै महान् मन्दिर ।
(पृष्ठ १)
प्रस्तुत कवितांशले हिन्दु संस्कृतिमा मन्दिरमा गई देवी देवताको पूजा आराधना गर्दा पूजाका सामग्री र मन्त्रको प्रयोग हुने कुरा प्रस्तुत गरेको छ । तर साधकसँग यी सामग्री नहुँदा दुई आँखाबाट झर्ने अश्रु लिई आएको र यिनै कुरा सामग्रीका रूपमा ग्रहण गरी ईशलाई खुसी हुन आग्रह गरिएको छ । यसले एकातिर नेपाली हिन्दु संस्कृतिमा पूजाका लागि प्रयोग हुने सामग्रीको बोध गराएको छ भने अर्कातिर खाली हात लिई ईश्वरलाई श्रद्धाभावका साथ दुःख समर्पण गरिरहेको कुरा पनि व्यक्त छ । यी दुवै कुरा नेपाली संस्कृति सापेक्ष भएकाले यस अंशमा हिन्दु धर्मको सांस्कृतिक चेतना प्रस्तुत छ ।
ज्योतिष्मती छौ कता ? शीर्षकको कवितामा अभेद्य निलो गगनमा कालो घना बादललाई जितेर पृथ्वीमा उज्यालो दिने किरणको खोजी छ ः–
कालो भीषण अन्धकार जगको पर्दा हटाऊ तिमी
मेरो हंस चढी नवीन युगका वीणा बजाऊ तिमी
(पृष्ठ ३)
प्रस्तुत कवितांशमा ज्योतिष्मतीलाई प्रकृतिमा रहेको कालो अन्धकार र युगीन अज्ञानरूपी अन्धकार हटाउन आह्वान गरिएको छ । यसरी आग्रह गर्दा ज्योतिष्मतीलाई हंश चढी वीणा बजाउन भनिएको छ । कवितामा प्रयोग भएको हंश र वीणा सरस्वतीको वाहन तथा हातमा बोक्ने साधन भएकाले सरस्वतीको आह्वान भएको छ । सरस्वती हिन्दु धर्मावलम्बीकी ज्ञानदात्री देवी हुन् । अतः यहाँ प्राचीन धर्मप्रति आस्था र विश्वास प्रकटीकरण भएको छ । त्यसैले यहाँ संस्कृति सम्बन्धी चेतना प्रस्तुत भएको छ ।
म र मेरो देश कवितामा देशप्रेमको भावना अभिव्यक्त छ । यस कवितामा राष्ट्रका नागरिक भएर जन्मिएका नाताले देशप्रति निर्वाह गर्नुपर्ने आफ्नो कर्तव्य प्रस्तुत भएको छ ः–
संझी पूर्वजका राम्रा सत्य–आशिष–गौरव
नित्य आरम्भ गर्दैछु राष्ट्र–यज्ञ महोत्सव
म सन्तानहरूलाई मार्ग यस्तो बताउँछु
नभुल्ने कहिल्यै हाम्रो राष्ट्र–गीत रचाउँछु ।
(पृष्ठ ६)
प्रस्तुत कवितांशमा पुर्खाहरूको आशिष र गौरवका कारणले देश निर्माण भएको स्मरण गर्दै आफू पनि राष्ट्रनिर्माणका काममा समर्पित भई राष्ट्रोन्नतिमा लाग्ने कुरा कविले बताएका छन् । यस क्रममा यहाँ जातीय तथा राष्ट्रिय गौरवबोध गराउने सांस्कृतिक चेतना परेको छ ः–
मलाई सपना देओ सृष्टि साट्न सकूँ सधैँ
मलाई बिपना देओ राष्ट्र रच्न सकूँ सधैँ
म मन्त्र–गीत गाएर सामसंगीत गाउँछु
कर्मको महिमा गाई कर्म–गीत बनाउँछु (पृष्ठ ६)
यस कवितांशमा हिन्दु धर्मको महान् र पवित्र ग्रन्थ चतुर्वेदमध्येको एक सामवेदको प्रसङ्ग छ । सामवेद सङ्गीतसँग सम्बन्धित छ । त्यसैले कवि यस कवितामा कर्मलाई मूल आधार बनाउन चाहन्छन् र देश निर्माणमा सबैलाई अग्रसर बनाउन संगीतको सहारा लिन चाहन्छन् । यहाँ पनि राष्ट्रिय गौरव बढाउन पूर्वीय संस्कृति वेदको प्रयोग भएको छ ।
संकल्प आफ्नै उत्साहको कविता देशप्रेमको भावनाले भरिएको छ । यस कवितामा नेपाली संस्कृतिको चित्रण यस प्रकार गरिएको छ ः–
अग्लो बन्छ हिमाल गर्वगरिमा बोकी जहाँ आदिम
मेरो सुन्दर देश खुल्दछ त्यहीं. त्यै राष्ट्रको अङ्ग म
फुक्तै शङ्ख हिमाद्रिबाट युगका सन्देश फैलाउँछु
मेरै देश म लाख रच्तछु नयाँ संगीत गुञ्जाउँछु (पृष्ठ ८)
यस कवितांशमा नेपालको पहिचानको रूपमा रहेको हिमालको चर्चा छ । नेपालमा रहेको हिमालले आदिम कालदेखि आफ्नो काँधमा गर्व र गरिमा बोकेको छ । त्यसैले नेपाली संस्कृतिलाई हिमाली संस्कृति पनि भनिन्छ । नेपालको हिमाल अग्लो भएर मात्र सुन्दर बनेको छैन । यसले नेपाली शान र मान पनि बढाएको चर्चा गर्दै हिमालमा रहेको देश नेपालको एक सन्तानका रूपमा कविले आफूलाई चिनाई देशको अङ्ग ठानेका छन् । कवि हिमालको सन्तान हुनुका नाताले युगदेखि नेपाल र हिमालले बोक्दै आएको सन्देश विश्वमा प्रचार गरी आफ्नो देश आफै बनाउने चाहना प्रकट गर्दछन् । यस कवितामा एकातिर नेपाली जातिको गौरव गानलाई हिमालसँग जोडेर प्रस्तुत गरिएको छ भने अर्कातिर हिन्दु धर्मावलम्बी नेपालीको घरघरमा प्रयोग हुने शंखको प्रयोग गरी हिमाली संस्कृतिको प्रचार गर्न कवि चाहन्छन् । यस प्रकार प्रस्तुत कवितांशमा राष्ट्रिय गौरव बढाउने हिमाल र पूजाआजामा प्रयोग गरिने शंख दुवैले नेपाली संस्कृतिको प्रतिनिधित्व गरेको छ ।
प्रवासीको सम्झना नेपालको प्राकृतिक सौन्दर्य, नेपाली जाति, नेपाली संस्कृति सम्झना वर्णन गर्दै लेखिएको कविता हो । यस कवितामा देशप्रेमको भावना छ । कवितामा नेपाली संस्कृतिलाई यसरी प्रस्तुत गरिएको छ ः–
राम्रो लाल गुराँस शैलवनको हाँगा जहाँ हाँस्तछ
साना पंख उठाइ नर्तन गरी डाँफे जहाँ बास्तछ
आफ्नै शाश्वत गीतको लय जहाँ घन्काउँछन् निर्झर
नेपाली हिमशैल शान्त सुखको स्वर्गीय मेरो घर । (पृष्ठ ९)
प्रस्तुत कवितांशमा नेपालको राष्ट्रिय फूल लाली गुराँस, नेपालको राष्ट्रिय पक्षी डाँफे, नेपालको सुन्दरता बढाउने निर्झर र हिमालको उल्लेख गरिएको छ । यी उल्लेख गरिएका वस्तुहरूले नेपालको राष्ट्रिय गौरव बढाएका छन् ।
त्यस्तै,
निस्की काम निमित्त भाइबहिनी मध्याह्नका घाममा
बस्ता हुन् पसिना सुकाउन भनी आएर चौतारिमा
त्यो बेला लयदार शान्त दिलको भाका सुसेली कन
खोल्दा हुन् सुख दुःख गाउँ घरका कस्तो सफा जीवन । (पृष्ठ १०)
नेपालको अधिकांश जनशक्ति कृषि पेसामा आश्रित छ । नेपालीहरू बिहानदेखि बेलुकासम्म कृषिकार्यमा व्यस्त रहन्छन् । अनि कामबाट पुफर्सद लिएर मध्याह्न घाम तथा साँझको समयमा विश्राम लिन चौतारीमा बस्छन् । उनीहरू चैतारीमा बसी दिनभरको कामको थकान भुल्न आफ्ना सुख र दुःखलाई गीतका लयमा सुसेली हाली गाउँछन् । यसरी श्रममा रमाउने नेपाली जीवन, थकान भुल्नका लागि प्रयोग गरिने चौतारी र चौतारीमा बसेर गाइने गीतको प्रसङ्ग कवितामा आएको छ । यी तिनै कुरा नेपाली ग्रामीण समाजका पहिचान हुन् । त्यसैले यहाँ पनि नेपाली संस्कृतिको प्रयोग भएको छ ।
कविताको खोजीमा कवितामा न्यौपानेले बाल्यकालदेखि किशोर तथा वयस्क अवस्थासम्म जीवनमा आउने बालखेल, माया प्रेमका सन्दर्भ प्रस्तुत गरेका छन् । यही प्रसङ्गभित्र पनि नेपाली संस्कृति प्रस्तुत भएको छ ः–
सिन्केधूलो बसिडुम कतै गट्टिका खेल खेली
धोको मेट्ने कि त रहरका सत्य संगीत खोली
अल्छी छोडी पलपल नयाँ भाव सञ्चार गर्दै
आऊ मेरी मधुर कविता मन्दमुस्कान छर्दै (पृष्ठ १२)
प्रस्तुत कवितांशमा कविले नेपाली ग्रामीण जनजीवनमा बालबालिकाले खेल्ने बसी डुम र गट्टा खेलको सन्दर्भ प्रस्तुत गरी नेपाली बाल खेलप्रति मोह देखाएका छन् । त्यस्तै,
आऊ जाऊँ सँगसँग हिँडी दृश्य देखाउँला म
चौतारीमा प्रणय मुरली गीत गुञ्जाउँला म
रोपाईंको दबदब हिलो साथ खेलाउँला म
छाया खोजी गहनतरुका पेफदमा ल्याउँला म । (पृष्ठ १२)
नेपाली जनजीवनमा चौतारी भेला हुने स्थल हो । यस स्थलमा गाउँमा हुने विकास निर्माणका कामको छलफल एकातिर हुन्छ भने अर्कातिर चौतारीमा बसेको बेला बैँसालु तन्नेरीहरू मायाप्रीति साट्ने गर्दछन् । यसका साथै नेपाली कृषि जीवनमा आउने रोपाइँको चर्चा गर्दै कृषि कार्यसँग नेपालीहरूको सामीप्य रहेको उल्लेख कवितामा छ । यसरी माथिको कवितांशमा चौतारी र असारको हिलोको उल्लेख गरी ग्रामीण संस्कृतिको चर्चा कविले गरेका छन् ।
कल्पिएको लाहुरे शीर्षकको कवितामा एकातिर देशप्रेमको भावना प्रस्तुत भएको छ भने अर्कातिर मानवतावाद । यस कवितामा नेपालबाट विदेशी भूमिका लागि लड्ने लाहुरेले नेपालका दाजुभाइ आफन्त एकातिर सम्झेका छन् भने अर्कातिर विश्वमा बढिरहेको शस्त्रास्त्रको होडबाजी र त्यसले मानव जीवनमा पारेको प्रभाव उल्लेख छ । युद्धले मानिसको गौरव बढ्ने नभई मानवताको अन्त र पृथ्वीको विनाश हुने कुरा गर्दै युद्धहीन शान्त विश्वको चाहना कवि गर्दछन् । यस कवितामा मानिसले मानिसको अपकार नगरी उपकार गर्नुपर्ने भाव व्यक्त भएको छ । यसरी प्रस्तुत गर्ने क्रममा “परोपकार नै मानव धर्म हो” भन्ने आर्य ऋचा तथा गौतम बुद्धको सन्देशलाई प्रस्तुत गरेका छन् । यसमा पनि प्रकारान्तरले शान्ति चाहने नेपाली संस्कृतिको मूल्यबोध भएको छ ।
आषाढ कविता कृषि महिना असारसँग जोडिएको छ । यस कवितामा कविले असारलाई मानो रोपेर मुरी फलाउने, सुख, दुःख र थकाइ भुलेर खेतीपातीमा लाग्ने महिनाको रूपमा चित्रण गरेका छन् ः–
गोठालाका मधुरलयमा गीत गुञ्जन्छ मेरो
बेसी झर्दा युवकयुवती बैँस झल्कन्छ मेरो
रोपाईंको दबदब हिलो सृष्टिलाई छ केलि
यात्रा सम्झी पथिक अब हे ! खोल आफ्ना परेली ।(पृष्ठ २७)
यसरी यस कवितामा पाखा र सैलुङ्मा गोठाला जाने नेपाली परम्परा प्रस्तुत गर्दै पशुपालन गर्ने नेपाली संस्कृतिका साथ नेपालको कृषि समय असारको दबदबे हिलोको सन्दर्भ प्रस्तुत छ । यसमा पनि नेपालीको कृषि लाउने कार्य रोपाइँ र गोठालो जाने परम्परा प्रस्तुत भएको छ ।
आजको धर्तीलाई शान्तिको कामना कवितामा वर्तमान शताब्दीमा ह्रास हुँदै गएको मानवतावादको उल्लेख छ । अहिले धनी तथा सम्पन्न राष्ट्र शस्त्रास्त्रको होडबाजीमा लोगेका छन् । आणविक भट्टी सञ्चालन गरी विभिन्न शस्त्र निर्माण गर्दै त्यसको परीक्षण शक्तिसम्पन्न राष्ट्रमा भएको छ । मानिसले आफ्नो सहजताका लागि बनाएको विष्फोटक पदार्थको दुरुपयोग हँुदा मानिसको ज्यान गएको छ । त्यसैले कवि विश्वबाट युद्धको त्रास अन्त हुनुपर्ने चाहना व्यक्त गर्छन् । यस क्रममा वर्तमान विश्वमा बढेको यन्त्रमानवले पारेको प्रभावप्रति पनि कवितामा आलोचना भएको छ ः–
मान्छे आज चुनी चुनी ग्रह नयाँ आवास खोज्दैछ रे !
मान्छेकै पनि नाश निम्ति अणुको विस्तार गर्दैछ रे !
पायो के ? जब यन्त्र मानव बन्यो ? यद्वा गुमायो कति ?
साँच्चै उन्नति पो बढ्यो कि अथवा झन् झन् बढ्यो दुर्गति ? (पृष्ठ ४०)
पृथ्वी, तेजस, वायुमा र जलमा आकाशमा शान्ति होस्
मान्छेका मन, कर्ममा र दिलका आवाजमा शान्ति होस्
सिङ्गै विश्व सताउने त्रिविधका सन्तापमा शान्ति होस्
सारा अन्न, वनस्पति र फलका सत्पाकमा शान्ति होस् (पृष्ठ ४४)
नेपालमा आर्य संस्कृति छ । यो संस्कृति वैदिक नीति नियम अनुसार चलेको छ । वेदका ऋचामा जल, पृथ्वी, वायु, अग्नि, वनस्पति आदि सबैमा शान्तिको कामना गरिएको छ । मान्छेलाई बाँच्नका लागि चाहिने यी सबै कुरामा शान्ति स्थापना भए मानिसले सुखद जीवन यापन गर्न सक्दछ । यही कारणले मानवले गर्ने पाठ, पूजा, जप, तप आदि पुनित कार्यमा प्रयोग गरिने मन्त्रहरूमा शान्तिको कामना गरिएको छ । त्यसैको प्रभावमा माथिको श्लोक रचना हुन पुगेकाले यसमा आर्य संास्कृतिक चेतना देखिन्छ ।
कवि र कवितामा कवितालाई कविको मनमा उदाई बाली, उद्योग, उत्पादन, आँसु, हाँसो आदि मानवीय कामसँग आउन आह्वान गरिएको छ ः–
बाली लहलहाएर बारीमाथि रमाउँदै
सयौँ उद्योगधन्दाका स्वर सिट्ठी बजाउँदै
कला–संस्कृतिका लाखौँ फाँटबाट तिमी उठ !
म स्वप्नबीजकी मेरी मन्त्रबीज बनी उठ ! (पृष्ठ ४९)
नेपाल कृषि प्रधान देश हो । यस देशका अधिकांश मानिस कृषि पेसामा निर्भर छन् । त्यसैले यस कवितामा बारीमा बाली भई, उद्योग, कलकारखानामा उत्पादन भई, कलासंस्कृतिको हरेक क्षेत्रमा स्वप्नबीज भई नवसिर्जनाका साथ कवितालाई आउन आग्रह गरिएको छ । यस कवितांशमा पनि नेपाली कृषि तथा उद्योग धन्दामा कलाका नवसिर्जनका साथ लहराउन कवितालाई आग्रह गर्दा नेपालको कृषि तथा औद्योगिक क्षेत्रमा संास्कृतिक चेतना जागृत हुनुपर्ने भाव कविको छ । अतः यो कवितामा पनि साँस्कृतिक चेतनाको छाप परेको छ ।
यसरी जोर मुरली कविताको पहिलो खण्डमा रहेका २५ कवितामध्ये समर्पण, ज्योतिष्मती छौ कता ?, म र मेरो देश, संकल्प आफ्नै उत्साहको, प्रवासीको सम्झना, कविताको खोजीमा, कल्पिएको लाहुरे, आषाढ, आजको धर्तीलाई शान्तिको कामना, कवि र कविता जस्ता कवितामा नेपाली सांस्कृतिक चेतना प्रस्तुत भएको छ ।
प्रस्तुत जोर मुरली कवितासङ्ग्रहको दोस्रो खण्डमा गीति–कविता छन् । यस खण्डका सम्पूर्ण कविताहरू गीति लोकलयमा निबद्ध छन् । त्यसैले यस खण्डमा परेका कविताका बाह्य बनोटमा नै नेपाली ग्रामीण संस्कृतिको प्रभाव छ । यस खण्डमा रहेको हेरूँ कहाँ बसी कवितामा नेपालको, हिमाल, पहाड र तराईको चर्चा छ । नेपाली जनजीवनमा बाँसुरीको धुनलाई मिलन र न्याउलीको धुनलाई बिछोडको पीडासँग जोडेर हेरिन्छ । त्यस्तै माया र प्रेममा मादल बजाउने नेपाली संस्कृति रहेको छ । यसरी नेपालको संस्कृतिमा चाहे सुख होस् या दुःख, चाहे मिलन होस् या बिछोड हरेक मानवीय क्रियाकलापमा बजाइने संगीतका बाजाहरू छन् । तिनको प्रयोग यस कवितामा आएको छ । यसले नेपाली लोक संस्कृतिलाई जीवन्त राखेको छ ।
बाँसुरीमा बैँस बोल्छन् न्याउली पीर बोल्छन्
घिन्ताङ गर्ने मादलले मनका भाका खोल्छन् (पृष्ठ ६१)
माटो कति राम्रो ? देशप्रेमको भावले भरिएको गीति–कविता हो । यस कवितामा नेपालको धरातलमा फल्ने धान, मकै र कपासको चर्चा छ । धानलाई यस कवितामा सुनसँग र मकैलाई हिरासँग तुलना गरिएको छ । त्यसै गरी नेपाली धर्तीमा कपास पनि उब्जनी हुन्छ । यसलाई कवितामा चाँदीसँग तुलना गरिएको छ । यी सबैको सम्बन्ध नेपालको कृषि कार्यसँग रहेको छ । त्यसैले यी कुराको उत्पादन नेपालमा भए नेपालमा अन्न र लता कपडाको अभाव हुन सक्दैन भन्ने पक्षतिर पनि कविताले जोड दिएको छ । मूलतः यो कविता कृषि संस्कृतिसँग जोडिएको छ ।
धान फल्दा सुन फल्छ मकै फली मोती
कपासमा चाँदी फल्ने कति राम्रो खेती ? (पृष्ठ ६२)
उठ हे ! उठ तन्नेरी !! कवितामा नेपालको विकासका लागि जोस, जाँगर सहित युवावर्गलाई उठ्न आह्वान गरिएको छ । यस कवितामा नेपाललाई सबैको साझा फूलबारी मान्दै चार वर्ण छत्तीस जातको साझा फूलबारी भनिएको छ । साथै कवितामा कविले राष्ट्रिय एकतामा पनि जोड दिएका छन् । अतः यस कवितामा पनि नेपाली संस्कृति जोगाउनु पर्छ भन्ने आग्रह छ । । यसरी यस सङ्ग्रहको दोस्रो खण्डमा रहेका २० कविताहरूमध्ये हेरूँ कहाँ बसी, माटो कति राम्रो ?, उठ हे ! उठ तन्नेरी !! कवितामा नेपाली संास्कृतिक चेतनाको प्रभाव परेको छ ।
तिमी हौ सिङ्गै नेपाल तिम्रै हो देश नेपाल
सबैको साझा फूलबारी मिलेर माथि उचाल (पृष्ठ ६४)
निष्कर्ष
दैवज्ञराज न्यौपानेको जोर मुरली कवितासङ्ग्रह उनकै भनाइमा दोस्रो कृतिका रूपमा प्रकाशित सङ्ग्रह हो । यस सङ्ग्रहमा परेका कविताहरूमा सांस्कृतिक चेतनाको प्रभाव छ । यस क्रममा उनका यस सङ्ग्रहका कवितामा ग्रामीण संस्कृतिको प्रस्तुति छ । सांस्कृतिक चेतनाका दृष्टिले अध्ययन गर्दा उनका कवितामा प्राचीन मान्यता, धर्म, रीतिस्थिति, आचार विचार, जातीय तथा राष्ट्रिय गौरव, मानवीय न्याय, सामाजिक मूल्य मान्यता संरक्षण गर्ने सम्बन्धी सांस्कृतिक चेतनाका अतिरिक्त नेपाली लोक चालचलन, गीत, खेल, बाद्यवादन जस्ता संस्कृतिका पदछाप छाड्ने वस्तुको चर्चा र उल्लेख छ । यसका साथै कुलधर्म, संस्कार मानवतावाद जस्ता पूर्वीय संस्कृतिमा पर्ने मूल्य मान्यता पनि प्रस्तुत छ । उनका कवितामा व्यक्त हुने देशप्रेम, राष्ट्र निर्माणको चाहना, मानवतावाद जस्ता कुराहरू समेत यिनै नेपाली संस्कृतिबाट प्रभावित भई प्रस्तुत भएका छन् । त्यसैले कवि दैवज्ञराज न्यौपानेको कविता लेखनको प्रवृत्तिमध्ये सांस्कृतिक चेतना पनि एक हो ।