कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

घामले ढोका खोल्यो : संक्षिप्त हेराइ

शोभा चापागाईँ (बराल)

कवि दैवज्ञराज न्यौपानेको निधनको खबर फोनमार्फत थाहा पाउँदा म एक्कासि झस्किएँ । कवि एवं गुरु न्यौपानेको जीवनको उत्तरार्ध एवं विरामी अवस्थामा दर्शन गर्ने अवसर प्राप्त नभए पनि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि पिताजी रामेश्वरसँगै आर्यघाटमा गएर हार्दिक श्रद्धासुमन चढाएँ । गुरुको मृत्युपश्चात् वहाँद्वारा लेखिएको बालकविता संग्रह “घामले ढोका खोल्यो” मेरो हातमा पर्‍यो । मैले आदर्श गुरु एवं कविप्रति हार्दिक श्रद्धाञ्जलीको अनुपम अवसर यसैलाई मानेर कविको उक्त बालकविता संग्रहका बारेमा दुई चार शब्द कोर्ने जमर्को गरेकी हँु ।

कवि दैवज्ञराज न्यौपानेद्वारा लिखित “घामले ढोका खोल्यो” २०६५ सालमा प्रकाशित एक उत्कृष्ट बालकविता संग्रह हो । यस संग्रहको प्रकाशकीय शीर्षकमा कविकी धर्मपत्नी श्रीमती सुधा न्यौपानेद्वारा बालबालिकालाई नैतिक शिक्षा प्रदान गर्ने खालका कविता प्रकाशन गरिएको कुरा व्यक्त भएको छ । कविता संग्रहलाई कम्प्युटर गर्ने काम देवु लुइँटेल (संसार सुसांख्य सेवा नयाँबानेश्वर ) र कम्प्युटर सज्जा डिनी डिजाइन माइतीघरले गरेको छ । यस संंग्रहमा जम्मा ६३ पृष्ठ रहेका छन् भने यस संग्रहमा जम्मा ५३ वटा कविता समाविष्ट छन् ।

यस संग्रहको भूमिका भागमा रमेश शुभेच्छुद्वारा प्रस्तुत कविता संग्रहका बारेमा सारगर्भित भनाइ घामलाई ढोका खोल्न लगाउने कवि दैवज्ञराज न्यौपाने शीर्षक दिएर यस संग्रहमा बालबालिकाहरुलाई अन्यायी अत्याचारी र बदमास मान्छेहरूबाट बचाउनु पर्ने, मान्छे पौरखी बन्नु पर्ने र देशप्रेमी बन्नु पर्ने असल शिक्षा दिइएको चर्चा गरिएको छ । कवितामा बालबालिकाहरुलाई अनुशासित र नैतिक बन्न प्रेरित गरिएको कुरा व्यक्त भएको छ भने लेखकका केही अभिव्यक्तिहरू शीर्षक दिएर कवि न्यौपानेले केटाकेटीहरूलाई राम्रो बिहान दिनसके भविष्य राम्रो हुन्छ भन्ने धारणा प्रस्तुत गर्ने उद्देश्यले यी कविता रचना गरिएका र यी कविताहरू मूलतः ६ वर्षदेखि १० वर्षसम्मका बालबालिकाहरूका लागि लेखिएको भनिएको छ । यो कविता संग्रहको शीर्षक “घामले ढोका खोल्यो” कविता संग्रहभित्रको पन्ध्र्रौं कविताको नामबाट राखिएको छ ।

रचना समयका आधारमा हेर्दा प्रस्तुत संग्रहभित्रका ५३ वटा कविताहरू २०२३ सालदेखि २०६२ सालसम्मका रहेका छन् । यीमध्ये तीनवटा कविता २०४६ को जनआन्दोलनपूर्व र ५० वटा कविता जनआन्दोलनपश्चात् अर्थात् २०५० देखि २०६२ सम्मका रहेका छन् । यस संग्रहभित्रको पहिलो कविता (बत्ती बाली, २०२३), दोस्रो कविता (रानी पुतली, २०३९) र तेस्रो कविता (मिलेर देश बनाउनु पर्दछ, २०४४) रचना भएका देखिन्छन् भने बाँकी कविताहरू २०५० पश्चात् रचना भएका हुन् । २०४४ सम्म रचना भएका कविताहरूमध्ये तेस्रो कविताले समयको महत्त्व बुझी, अल्छी नगरी सबै मिलेर देश बनाउनु पर्दछ भन्ने सन्देश दिँदै सबै मिलेर प्रजातन्त्र प्राप्तिका लागि अघि बढ्नुपर्ने संकेत गरेका छन् । २०५० पश्चात् लेखिएका कविताहरूले निम्नानुसारको शिक्षा दिन खोजेका छन् ः—

१. जुनकिरीबाट शिक्षा लिई जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि अघि बढेर उज्यालो छर्नुपर्दछ,

२. प्रकृतिको संरक्षण गर्ने दायित्व मान्छेको हो,

३. शिक्षारूपी ज्योति छरेर अज्ञान नाश गराउनु पर्दछ,

४. बालबालिकालाई अन्याय र अत्याचारबाट मुक्त राख्नु पर्दछ,

५. बालबालिकालाई स्वच्छ धर्ती, शुद्ध हावा पानी, घाम, माटो र न्यानो माया चाहिन्छ,

६. बालबालिकालाई राम्रो शिक्षा दिएर राम्रो बानी बसाउन सकिन्छ,

७. मानिस शिक्षाले असल बन्दछ र असल मान्छेले मात्र राम्रो काम गर्न सक्दछ,

८. सबैलाई बराबर ठान्नु पर्दछ र दुःखमा परेकालाई सहयोग गर्नु पर्दछ,

९. गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट कसैलाई वञ्चित गर्न हुँदैन,

१०. बालबालिकामा “म” को भावनाको सट्टा “हामी” को भावना जागृत गराई परोपकारी बन्न प्रेरित गर्नुपर्दछ,

११. छोराछोरी दुवैलाई बराबरी ठान्नु पर्दछ, दुवैलाई शिक्षा दिनुपर्दछ, ।

१२. समयको महत्त्व बुझेर समयमा उठ्ने, समयमा खेल्ने, समयमा पढ्ने गर्नुपर्दछ,

१३. अर्काको चियो चर्चो र कुरा काट्ने काम गर्न हुँदैन,

१४. समाजमा रहेका असमानता र विभेद हटाउनु पर्दछ,

१५. सरस्वती खुसी पार्न पूजा र वन्दना मात्र होइन पढ्नु लेख्नु पर्दछ,

१६. देशलाई साझा चौतारी ठानेर हिमाल, पहाड, तराई मेची महाकाली सबैलाई आफ्नो घर सम्झनु पर्दछ,

१७. पौरखी बनेर देश विकास गर्नुपर्दछ ।

कविले बालबालिका भोलिको समाज निर्माणका आधार भएकाले उनीहरूलाई असल बाटातर्फ लाग्न र आदर्श नागरिक बन्न प्रेरित गरेका छन् । समाज निर्माणका लागि हामी सबै एकजुट भई अगाडि बढ्नु पर्दछ र समाजमा बालक—बालिका र ठूलो—सानो बीचको भेदभाव अन्त्य गरिनु पर्दछ भन्ने सन्देश दिएका छन् ।

यसरी कविले यस कृतिमार्फत देशप्रेम, आदर्श, अनुशासन र नैतिकताको सन्देश दिएका छन् । कतिपय कविता गीतका रूपमा प्रस्तुत गर्न सकिने खालका छन् । हाम्रो समाजका घर, विद्यालय, चौतारी, गोठ, खेलमैदान, खोलानाला, हिमाल, सहर, गाउँको चित्रण भएका कवितादेखि लिएर पुतली, काग, परेवा, हाँस, गाई गोरु, कुकुर, खसी, बाख्रो र मुसो जस्ता जीवजन्तुसँग सम्बद्ध कविता पनि रहेका छन् । केरा, पीपल, बगैचा, बाढी पहिरो, शीत, तुषारो, इन्द्रेनी जस्ता विषय पनि कवितामा आएका छन् । समग्र कवितामा सुकोमल शब्दावलीहरूको संयोजन गरिएको छ । कविता संग्रहको नामकरणले नै उज्यालो आएको संकेत गरेको छ । २०४६ मा भएको जन आन्दोलनलाई कविले घामको रूपमा हेरेका छन् । त्यसैले घामले ढोका खोल्योले प्रजातन्तको अभ्युदय भएको संकेत गरेको छ ।

प्रस्तुत पुस्तकमा कवि न्यौपानेले दिन खोजेका सन्देशहरू वर्तमान अवस्थामा हामी सबैले मनन गर्नुपर्दछ । देश विकासमा सबै मिलेर अघि बढ्ने हो भने, देशलाई आफ्नो घर सम्झने हो भने, देशवासी सबैलाई समान पहुँच र अवसर मिल्ने हो भने, समाजमा रहेका असमानता हट्ने हो भने र प्राकृतिक वातावरणको संरक्षण गर्ने हो भने मात्र कविको भावनाको सम्मान हुने र कविप्रति साँचो श्रद्धान्जली हुने विश्वास लिन सकिन्छ ।

२०६९ साउन

उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका