कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

घामले ढोका खोल्यो : एक नजर

डा. विश्वनाथ भण्डारी

बाल साहित्यका वरिष्ठ सर्जक मात्र नभएर नेपाली कविता–काव्यका एक हस्तीको नाम हो – दैवज्ञराज न्यौपाने । भोजपुरको दावाँमा १९९९ मा आँखा खोली न्यौपानेहरूको पैतृक थलो भोजपुरकै गोगनेमा हुर्किएर २०६८ मा काठमाडौँमा हामी सबैका आँखा अगाडिबाट सदाका लागि “अलबिदा” हुनु भएका न्यौपानेले “उनीमा निम्तो” कविताबाट नेपाली साहित्यमा प्रवेश गर्नुभएको थियो भने “तोतेबोली (२०३८)” बालकवितासंग्रह मार्फत बाल साहित्यकारका रूपमा आफ्नो दरो उपस्थिति जनाउनु भएको थियो । हुने बिरुवाका चिल्ला पात (२०४५)” नामक जीवनीसंग्रह तयार पार्ने न्यौपाने स्वयं नेपाली साहित्यको चिल्लो पात हुनुहुन्थ्यो र नै उहाँबाट सिर्जनाको लहर (२०३५), “गाउँखाने कविता (२०४३)”, “जोर मुरली (२०४६”, “बाल संसार (२०५३)” “सबै हाम्रा साथी (२०५६)” आदि कविता संग्रह प्रकाशन भए । नेपाली पाठक र भावकले ती कृतिहरूको आस्वादन गरेर कवि न्यौपानेप्रति आ–आफ्नो धारणा बनाए । उहाँको तोते बोली (२०३८) जस्तै यो पंक्तिकारले पनि “तोतेनानी” (२०६१) बाल कवितासंग्रह तयार पारेको थियो । तर आज ती दुवै कविता संग्रह यो पंक्तिकारसँग नभएकाले ती दुईको समता र विषमताका बारेमा छलफल नगरी घामले ढोका खोल्यो मा एकनजर लगाउँदै छु ।

“घामले ढोका खोल्यो” त्रिपन्न ओटा बाल कविताको विटो हो । यो कृतिको प्रकाशन बालदिवसका अवसरमा २०६५ भाद्रमा सुधा न्यौपानेबाट भएको हो । यसमा कलिला बालबालिकाहरूलाई प्रेरणा र नैतिक शिक्षा प्रदान गर्ने खालका रोचक कविताहरू संकलित छन् भनी प्रकाशकीयमा नै सूचना दिइएको छ । यो संग्रह छ वर्षदेखि दशवर्षसम्मका बालबालिकाहरूका लागि प्रस्तुत गरिएको हो । यसमा उनीहरूले देखेका र भोगेका यथार्थ वस्तुहरूका जिज्ञासाको परिचय दिन खोजिएको छ भन्ने स्रष्टाको अभिव्यक्ति रहेको छ । बत्ती बाली प्रकृतिपरक कविता हो । यसमा पिलपिल गर्दै बत्ती बल्दै निभ्दै गरेको जुन्किरी उड्दै गएको औँसीको कालो रातमा पनि हल्का हल्का उज्यालो जुन्किरीले देखाउने गरेको हँुदा रातमा हिँड्ने र काम गर्नेलाई निस्पट्ट अँध्यारो पीडा कम गर्न मद्दत गर्ने कुरा यसरी उल्लेख छ ः—

व्यर्थ कसैको चिज ऊ लिन्न बन्धन बाधा पीर सहन्न

शुद्धपनाको नमुना सँगाली अगि हिँड भन्छे बत्ती बाली (पृ ११)

हो, जुनकिरी कसैको बन्धन, बाधा र पीर नसहने र आफ्नै इच्छामा रम्ने एक स्वाभिमानी किराका रूपमा देखा परेको छ । प्रकाशपुञ्जको संकेत पनि हो जुन्किरी । बालकहरू पनि जुन्किरी जस्तै चम्किला, अँध्यारोमा उज्यालो पार्ने हुनुपर्छ भन्ने सन्देश नै यस बत्ती बाली कविताको सार हो ।

मिलेर देश बनाउनु पर्छ आजको यथार्थता हो । जालझेल तिगडमले देशको दुर्गति हुन्छ । सबै नमिलेसम्म केही हुँदैन, समयको बर्बादी मात्र हुन्छ । सम्पति र धन जनको क्षति मात्र हुन्छ । जस्तै ः—

नगरी जाल नगरी झेल जसले गर्छ सबैमा मेल उसैले सधैं जित्तछ बाजी ।

समय छँदै राखेर होस जसले गर्छ जाँगर जोस नहार्ने हुन्छ उसकै बाजी (पृ.१३)

रानी पुतली ४/५ बर्से बालबालिकालाई मनोरञ्जन दिने कविता हो भने माता चाहिँ सरस्वतीको प्रार्थना हो । जस्तै ः–

हामी छौं साना आँखाका नानी जानेर हाम्रो चुल्बुले बानी ।

हामीलाई आमा आशिष देऊ अज्ञान हाम्रो हटाई देऊ (पृ.१४)

अनि, नदी नाला पहाड, हिउँ, फलफूल सबैले स्वच्छ, सुन्दर र सहजताका साथ रहन उत्प्रेरित गर्ने कुरा हामी साना नानीमा प्रस्तुत गरिएको छ यसरी ः—

नदी भन्छ अघि बढ पहाड भन्छ अग्लो बन

ह्यँुचुलीले पारौँ भन्छ सधैं भरि सङ्लो मन

फूल सधैँ हाँसौँ भन्छ चरी सधैं नाचौं भन्छ

सबैलाई मायागरी धर्ती यहीँ बाँचौँ भन्छ

हावा सफा नभैदिए पानी सङ्लो नभैदिए

कहाँबाट बढौँ हामी माया गर्ने नभैदिए (पृ.१५)

वातावरण संरक्षण गर्नाले नै हामी स्वस्थ, सबल र सुरक्षित हुन्छौँ । हरियाली भएमा नै सबैलाई राम्रो हुन्छ— “हुन्छ सधैं राम्रो” मा भनिएको छ ः—

रुख सुके सुक्छौं हामी रुख ढले ढल्छौं

पानी बिना जिन्दगीमा हामी आगो बल्छौँ

अन्न पानी वातावरण पार्ने सधैँ राम्रो ।

रुख रोपौँ सबैलाई हुन्छ सधैं राम्रो (पृ.१६)

वास्तवमा हामीलाई माया देऊ मा अझ घतलाग्दो अनुभूति यसरी मुखरित भएको छ ।

तिनै कुरा माग्छौं हामी स्वच्छ धर्ती राम्रो शिक्षा प्युन सधैँ स्वच्छ पानी

सडकमा टायर नबलून् ; विद्यालयमा हडताल जुलुस नहोस्; स्वच्छ र कञ्चन पानीको हाहाकार नहोस् । त्यसो भएमा साना लालाबाला मात्र होइन, ठुलैलाई पनि माया र सम्मान गरेको अनुभूति हुन्थ्यो । हामीलाई, रुख रोपौं, जून टिप्न जान्छु मा समेत बालसुलभ अनुभूति साँच्चै सलल बगेको छ । पढ्दै गर्दा त आरिसै लाग्छ, उस्तैलाई ।

आजका साना कोपिला बन्नेछौं फूल भोलिका

रहर लाग्छ हामीलाई हामी छौं बालबालिका

हामीलाई बाटो देखाऊ शिक्षाको ज्योति छरेर

अज्ञात कुइरो विस्तारै जानेछ तल झरेर

त्यसै गरी माली हाम्रा बाबा आमामा कवि मन कति आनन्दले खुलेको छ ः—

हामीलाई जोगाउनू अज्ञानका भुलबाट

अत्याचारी अन्यायीका निर्दलीय हूलबाट (पृ.२२) ।

सचेत बाबा आमाले आफ्ना लालाबालालाई माली हाम्रा बाबा आमा जसरी नै पाइला पाइलामा ध्यान दिएको नै देखिन्छ र त तिनका सन्तानले स्वदेशमा मात्र नभएर विदेशमा पनि नाम र दाम दुवै कमाएर पुर्खाको पनि शिर उच्च बनाएको पाइन्छ ।

अनि, बिदा भयो रे मा–

ठूलामान्छे स्वर्गे हुँदा पनि बिदा हुन्छ

त्यस्तै नौलो काम गर्दा पनि बिदा हुन्छ

के गरेर बिदा मनाऊँ ? के गरेर बसौँ

मिलीजुली पाठ पढौँ मिलीजुली बसौं (पृ.२३)

भनेर भाइबैनीलाई सुझाब दिएको पाइन्छ । पढ्दै–पढ्दै मेलमिलाप गर्दै बस्न भनिएकोमा कति स्नेहसिक्त विचार प्रकट छ ।

अल्छी गर्ने पछि पर्छन् जो उठ्दैनन् चाँडो

ढिलो गर्दा समयले काटी सक्छ डाँडो (पृ.२४)

जाँगरिलो बन्छु मा स्पुफर्तिलो हुन भनिएको छ भने घामले ढोका खोल्यो मा बिहानीको दृश्य खिचिएको छ । राक्षस र द्यौता मा असल इमानदार सच्चरित्रलाई द्यौतापन र बेइमानी बदमासी एवं झुट–फरेबलाई राक्षसीपन भनी आँैल्याइएको ठिकै हो ।

घुर्की धम्की देखाई अल्छी बनी बसेर

कोही माथि उठ्तैन विवादैमा फसेर (पृ.२६) ।

आऊ मेरा साथी हो मा प्रकट भएका यी अनुभूति बालबालिकाका लागि त अब्बल दर्जाको उत्प्रेरणा हुन् भने आजका नेपाली राजनीतिज्ञ भनाउँदाहरूका लागि यी पुस्तकमा दृष्टि पुगे उनीहरूको ढिलै भए पनि चेत खुल्थ्यो कि ?

राम्रो बानी ब्यहोरा सिक्नुपर्छ सबैले

माथि पुग्न मिलेर उठ्नुपर्छ सबैले (पृ.२९)/

साझा हाम्रो चौतारीमा प्रकट भएका यी भावनाहरू उठ भाइबहिनीका लागि त हो नै ठूलो जन्तुका लागि पनि “आज पनि ढिला भयो” “असल र ज्ञानी” बन्न र “तोतेबोलीका कविता” पढ्न भन्नु पर्ने हुन्छ । मने मेरो साथी, हरि गुड्डु गुड्डु, गोठ हेर्न जाने को ?” हामी वीर जाति, अब जाडो भएछ, सरस्वती पूजा, सधैँ पाठ घोकी, हात समाइ उठाऔं, जस्ता कविताले बाल मस्तिष्कमा साँच्चै प्रभावपरक छाप छोड्छ भने युवा मस्तिष्कले पनि यसलाई एक नजर लगायो भने उसमा पनि सकारात्मकताको छनक पाइन्छ ।

मनभरि वेदना छन् आँखाभरि आँसु

खाली पेट तर्साउँछ के गरेर हाँसू ? (पृ.४८)/

गाउँले नेपालीहरूको हालत अहिले पनि उही छ उस्तै छ । काग दाजै काग काग भने जस्तै छ । अनि आछुछुछु जाडो भयो, मेरो सानु तिमीलाई, समयको साँचा, हात्ती, अब ठूलो भएँ, अर्को पनि जामा, मेरो सानी रानी, कस्तो हुन्छ गाउँ, आज मैले जून छोएँ, देवी सरस्वती, जून छैन आकाशमा, किताब र झोला, हुन्न अब खेल्न जानु, बादल हाम्रो साथी यी सबै कवितामा ऊर्जा छ, हृदयको झङ्कार छ र नै त दैवज्ञ छ ।

जस्तो सुकै परेनि साँचो कुरा गरेर

पछि कहिल्यै पर्दिनन् हिड्छिन अघि सरेर

सानालाई देख्तैमा औधी माया गर्छिन् यी

सधैँजसो रमाई हाँसी खुसी भर्छिन् यी (पृ.६२)

हो, साँच्चै हो – यो दैवज्ञराजको बानी हो, हाम्रो आँखाको नानी हो, नेपाली भाषा सरल, नेपाली जाति सबल, उन्नति गर्ने सम्मल, दियौ नि दाजै अम्बल, न्यौपाने दाजै सधैँ नै, रहन्छौ हाम्रो मुटुमा, ढुकढुकी सधैँ रहन्छ – नेपाली भाषा रहुञ्जेल,नेपाली जाति छउन्जेल ।

समग्रमा नियल्दा घामले ढोका खोल्यो मा बाल साहित्यकार न्यौपानेको हृदय रसाएको छ – बालबालिकालाई उद्बोधन गर्न, बाल मस्तिष्कमा तरङ्ग भर्न र बाल जिज्ञासालाई समन गर्न । “सत्यमेव जयते” को भाव उजागर गर्न र “सत्यं शिवं सुन्दरम्” लाई साकार गर्ने नै सच्चा कवि दैवज्ञको घामले ढोका खेल्यो । यसले त बाल चेतना खुल्यो मात्र होइन कि बालसंसारमा नै नवीन तस्विर खिचेको र वस्तुगत यथार्थलाई नकार्नेहरूलाई मुखभरिको जवाफ दिएर आफ्नो यात्रा अझ सुगम र सुस्पष्ट पारेको कुरा उल्लेख छ ।

प्रमुख सन्दर्भ कृति

न्यौपाने, दैवज्ञराज, (२०६५) घामले ढोका खोल्यो, (बाल कविता संग्रह काठमाडौँ : सुधा न्यौपाने ।

पाटन संयुक्त क्याम्पस