कवि दैवज्ञराजको 'तोते बोली'
१. विषय परिचय
नेपाली साहित्यका ख्यातनामा कवि दैवज्ञराज न्यौपानेद्वारा रचित बालकविताहरूको सँगालो तोते बोली साझा प्रकाशनबाट वि.सं.२०३८ मा पहिलोपटक प्रकाशित भएको हो । यसभित्र उन्नाइसवटा बालकविता समाविष्ट छन् । उनले प्रस्तुत कविता सङ्ग्रहमा बालबालिकाहरूले देखेका, जानेका र सुनेका विषयलाई नै कविताको बान्की दिएर प्रस्तुत गरेका छन् । उनीहरूको ज्ञान–सामर्थ्यभित्रका पशुपन्छी, खेल, प्रकृति, भाषा, साहित्य, इतिहास, राष्ट्रिय झन्डा जस्ता विषयहरू यहाँ कविताको भावभूमि बनेका छन् । बालबोली र ठेट नेपाली शब्दहरूको प्रयोग गरेर वार्णिक, मात्रिक एवं लोक छन्दको प्रयोगले छन्द र लयको सुन्दर समायोजन गरी सुललित, सुकोमल एवं बालबालिकाले सजिलै बुझन सक्ने पदावलीमा संरचित बालकविताहरूको सङ्ग्रह तोते बोली यहाँ अध्ययनको विषय रहेको छ ।
२. विषय र प्रयोजन
विषय, प्रयोजन, सम्बन्ध र अधिकारीलाई अनुबन्ध चतुष्टय भन्दछन् । यी चार कुराको ज्ञान नभई काव्यादिमा पाठकको प्रवृत्ति हुदैन । यी चारमध्ये पनि विषय र प्रयोजन विशेष महत्त्वपूर्ण मानिएका छन् । विषयका दृष्टिले प्रस्तुत कविता सङ्ग्रहलाई हेर्ने हो भने यसभित्रका सबै कविताहरू बालबालिकाकै ज्ञानको सेरोफेरोभित्रका विषयसँग सम्बन्धित देखिन्छन् । यी कविता उनीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि लेखिएका हुन् र उनीहरूकै लागि हुन् । नाची–नाची, गाई–गाई खेली–खेली बालबालिकालाई लयबद्ध रूपमा भाखा मिलाएर कविता पढ्दै आफ्नो इतिहास, संस्कृति, भाषा, साहित्य र जातित्वको महिमाबोध गराउनु, आन्तरिक रूपमै उद्बुद्ध गराउनु र आफूभित्रको स्वशक्तिको बोध गराउनु नै यहाँ कविताको प्रयोजन बनेको देखिन्छ । कविले यहाँ बालबालिकालाई सदाचार, सद्व्यवहार र सद्विचारको शिक्षा पनि दिएका छन् । यसरी प्रस्तुत सङ्ग्रहभित्रका कविताहरू विषय र प्रयोजनका दृष्टिले सफल देखिन्छन् । सबै कविता बालकको ज्ञान क्षेत्रभित्र छन्, सबैले बालकलाई शिक्षा दिन्छन् र यी सबै बालककै लागि लेखिएका हुनाले यिनका अधिकारी पनि बालक नै हुन् ।
३. राष्ट्रिय चिन्तन
प्रस्तुत कविता सङ्ग्रहभित्रका कवितामा कवि न्यौपाने राष्ट्रिय चेतनाले ओतप्रोत देखिन्छन् । उनले यो चिन्तन बालबालिकाको कलिलो मस्तिष्कमा राष्ट्रप्रेमको भाव सञ्चार गर्न समक्ष छ । कविले यहाँ नेपाल राष्ट्र, नेपाली जाति, भाषा, इतिहास, संस्कृति र साहित्य तथा नेपाली राष्ट्रिय भावधारालाई बालोपयोगी सरल एवं सुकोमल रूपमा प्रवाहित गरेर राष्ट्रप्रेमको भाव अभिव्यक्त गरेका छन् । प्रस्तुत सङ्ग्रहभित्रका “हाम्रो नेपाल” “हामी नेपाली” “भाषा हो हाम्रो नेपाली” “हाम्रो झन्डा” “नालापनीमाथि” “आफ्नै बोली” “राष्ट्र रच्ने बालो” “दिदी हाम्री सती” “जन्मभूमि आमा” “महाकवि” “रामहशाहको नियाँ” “शहीदको कथा” जस्ता कविताहरू राष्ट्रिय चिन्तनले आप्लावित छन् । शान्ति, सद्भाव र वीरताको समन्वयनबाट चम्किएको नेपाली गौरवगाथालाई कवि न्यौपानेले “हाम्रो झन्डा” मा यसरी प्रस्तुत गरेका छन् ः—
शान्ति दिन्छन् सूर्य हाम्रा कान्ति दिन्छन् जून
हामी आयौं संसारलाई राम्रा कुरा दिन
मित्रसँग माया गरी शत्रुसँग सेखी
हाम्रो झन्डा हाँसिरैछ युगौँ–युगदेखि ।
यसै गरी कवि न्यौपानेले अखण्ड नेपाल राष्ट्रको निर्माणसँगै हिमाल, पहाड र तराई सबै भूभागमा गौरव र स्वअस्तित्वको विषय बनेको नेपाली जाति, नेपाली बोली र नेपाली वीरतासँगै जातीय सद्भावलाई अत्यन्त सरल ढङ्गले “हामी नेपाली” शीर्षक कवितामा यसरी व्यक्त गरेका छन् ः–
शक्ति हाम्रो नेपाल हो, हामी नेपाली
नाम पनि नेपाली, जात पनि नेपाली
मिलीजुली काम गर्ने
हामी नेपाली ।
४. उपदेश र प्रेरणा
साहित्यमा पाठकलाई उपदेश दिने, प्रेरणा दिने शैली तीन प्रकारको मानिएको छ ः– प्रभुसम्मित, सुहृत्सम्मित र कान्तासम्मित । प्रभुसम्मित शैली आदेशात्मक हुन्छ । साहित्यमा त्यस्तो शैली रुचाइन्न । त्यसमा पनि बालबालिकालाई आदेशात्मक रूपमा भन्दा पनि उनीहरूकै साथी, उनीहरूकै ममतामय अभिवादन भएर अर्ती उपदेश दिनु, शिक्षा दिनु, प्रेरणा दिनु राम्रो हुन्छ । यसै कुरालाई ध्यानमा राखेर कविले यहाँ आदेशात्मक रूपमा कुनै उपदेश दिएका छैनन् । साहित्यको उपदेश शैलीमा शब्द र अर्थ गुणीभूत भएर र समताको स्थिति सिर्जना हुनुपर्छ । यसो भएमा पाठकले कविता–काव्यको रसपानसँगै उपदेशलाई पनि थाहै नपाई ग्रहण गर्दछ । “नानीहरूसित” कविताबाट यहाँ कविले नानीहरूलाई दिएको एउटा उपदेशको उदाहरण प्रस्तुत छ ः—
तिमीसाथ छर्दैछ स्वप्ना बिहान
नयाँ विश्व हाँक्ने तिमी नौजवान
नपारी कसैमा कहीँ दर्द फाटो
हिँडे भेट्न पाइन्छ रे सत्य बाटो ।
५. उक्तियोजना
वामन आदि पूर्वीय काव्यशास्त्रीहरूले काव्य–साहित्यमा मूलतः दुई प्रकारका उक्तिको चर्चा गरेका छन् । कविले मौलिक रूपमा कल्पना गरी प्रस्तुत गरेको उक्ति अयोनिउक्ति हो भने अरूले भनिसकेको कुरालाई नै कविले पुनरुक्ति नहुने गरी आफ्ना ढङ्गमा आफ्नै शैलीमा भनेको उक्ति अन्यच्छायायोनि उक्ति हो । कवि न्यौपानेले प्रस्तुत सङ्ग्रहभित्रका कवितामा दुवै किसिमका उक्तिको प्रयोग गरेका छन् । अन्यच्छायायोनि उक्ति पनि धेरै किसिमको मानिएको छ । प्रस्तुत कविता सङ्ग्रहभित्र लोकोक्ति, इतिहासोक्ति, पुराणोक्ति, अर्भकोक्ति, उपदेशोक्ति र शैल्पिक उक्ति (अलङ्कारोक्ति)को संयोजन भएको पाइन्छ । “काना काना कुर्र”, “माछो माछो भ्यागुतो”, “स्यालको बिहे”, जस्ता कवितामा लोकोक्तिको प्रयोग भएको छ भने “हाम्रा सबै साथी” र “दसैं” जस्ता कवितामा अर्भकोक्तिको प्रयोग भएको छ । “नालापानीमाथि” “राष्ट्र रच्ने बालो” “रामशाहको नियाँ” जस्ता कवितामा इतिहासोक्ति पाइन्छ । त्यसै गरी “दिदी हाम्री सती ” शीर्षक कवितामा पुराणोक्ति पाइन्छ । “हाम्रा नानी” “हिँड्नु छ तिमीले बत्ती बाली” जस्ता कविता उपदेशोक्तिका उदाहरण बनेका छन् । “नानीहरूसित” शीर्षकको कवितामा चाहिँ स्वाभाविक उक्ति, इतिहासोक्ति, शैल्पिक उक्ति र उपदेशोक्तिका नमुनाहरू पाइन्छन् । शिल्प र उपदेशको सुन्दर सम्मिश्रित प्रयोगको एक उदाहरण “नानीहरूसित” शीर्षककविताबाट यहाँ प्रस्तुत छ ः–
यहाँ खेल खेल्नेहरू छन् हजार
यहाँ खेल भाँड्नेहरू छन् हजार
नजान्ने सबैलाई जान्ने बनाऊ
बिगार्ने नहून् खेल राम्रो बनाऊ ।
शैल्पिक चमत्कारका लागि शब्दालङ्कार र अर्थालङ्कारको प्रयोगको आफ्नै भूमिका हुन्छ । कवि न्यौपानेले प्रस्तुत कविता सङ्ग्रहभित्रका कवितामा शब्दालङ्कारमा अनुप्रासले प्रायः सबै कविता सिँगारएका छन् । अर्थालङ्कारमा कवि न्यौपानेले स्वभावोक्ति, उपमा, रूपक र उत्प्रेक्षा अलङ्कारलाई सुन्दर ढङ्गले प्रयोग गरेका छन् । यी अलङ्कारले कविताको शैलीलाई कलात्मक, रोचक र आकर्षक बनाएका छन् । बालबालिकाका लागि आकर्षक र सुरुचिपूर्ण बनाउन धेरैजसो कवितामा स्वभावोक्तिको प्रयोग सरल एवं सुन्दर रूपमा भएको देखिन्छ ।
६. छन्द र लय
कवि न्यौपानेले प्रस्तुत कविता सङ्ग्रहभित्रका सबै कवितामा छन्द र लयको सुन्दर संयोजन गरेका छन् । यसै तथ्यलाई ध्यानमा राखेर साझा प्रकाशनले प्रकाशकीयमा प्रस्तुत कविता सङ्ग्रहलाई “नानीहरूले लय–भाखा हालेर गाउने र गाई–गाई खेल्न सकिने किसिमका बालकविताहरूको सङ्ग्रह ” भनेको छ । शास्त्रीय वार्णिक छन्दमा यहाँ उपेन्द्रबज्रा, शंखनारी (सोमराजी), पञ्चचामर र अनुष्टुप् छन्द प्रयोग गरिएका छन् । लोक छन्दमा दोहा र सवाइ छन्दको प्रयोग पाइन्छ भने लल्लोरी अथवा लोरी लयको पनि सुन्दर प्रयोग भएको छ । यस अतिरिक्त कविले यहाँ विभिन्न सङ्ख्याका वर्ण र मात्राहरूको संयोजन गरेर कवितालाई सुमधुर, लययुक्त एवं गेयात्मक बनाएका छन् । सबै कविता लय हालेर, भाखा हालेर गाउन सकिन्छन्, श्रुतिमधुर छन् । बालबालिकाले सजिलै लय टिप्न सक्छन् र भाखा हाल्न सक्छन् । यो कविका काव्यकलाको कुशलताको द्योतक हो ।
७. प्रकृति चित्रण
बालबालिकाकै लागि लेखिएका कविता हुनाले प्रस्तुत कविता सङ्ग्रहमा घामपानी, इन्द्रेणी, वर्षा, पुतली, जुनकिरी, हिमचुली नौलाख ताराजस्ता प्रकृतिका विभिन्न स्वरूपलाई कविले कविताको रूप दिएर उनीहरूले जान्न सक्ने र बुझन सक्ने शैलीमा वर्णन गरेका छन् । बालकविता हुनाले कविले यहाँ धेरै जसो प्रकृतिको बाह्य रूपकै वर्णन गरेका छन् । गाई, मने, सुरी, कुती, निनी जस्ता पशु पनि यहाँ प्रकृति चित्रणको आधार बन्न पुगेका छन् । यस अतिरिक्त कवि न्यौपानेले यहाँका कतिपय कवितामा प्रकृतिलाई मानवीय रूप दिएर पनि प्रस्तुत गरेका छन् । “इन्द्रेणी” कवितालाई उदाहरणका रूपमा लिन सकिन्छ । कविले इन्द्रेणीलाई बालबालिकाकी दिदीका रूपमा प्रस्तुत गरेका छन् । यसका साथै उनले प्रकृतिको वर्णन गर्दा प्रकृतिलाई नै उपमान बनाएर पनि प्रयोग गरेका छन् । उनी वर्षाको वर्णन गर्दा बादललाई “सिमल रुखको भुवा” र “फुसफुस उड्ने रुवा” को उपमान दिन्छन् अनि हिमचुलीको वर्णन गर्दा हिमचुलीलाई “रुवै रुवा राखे जस्तो” “पीठैपीठो पोखे जस्तो” भन्ने कल्पना गर्दछन् ।
८. बालशब्द र अनुकरणात्मक शब्दको प्रयोग
कवि न्यौपानेले प्रस्तुत कविता सङ्ग्रहमा बाल भाषाका शब्दहरू प्रयोग गरेर कवितालाई सुन्दर एवं बालसंवेद्य बनाएका छन् । यहाँप्रयोग भएका बालभाषाका शब्दहरू हुन् ः– पापा, चाचा, चरी, च्यूँच्यूँ, लैलै, सुरी, बजी, कुती, हाउ, बबो बाँ, बुबु, निनी, मने आदि । यस्ता बालशब्दका प्रयोगले गर्दा नै कवितामा अर्भकोक्तिको प्रयोग सुन्दर र स्वाभाविक भएको हो ।
यस अतिरिक्त कविले यहाँ अनुकरणात्मक शब्दलाई पनि सरल र सुन्दर ढङ्गले प्रयोग गरेका छन् । वास्तवमा केटाकेटीले भाषा सिक्ने पनि अनुकरणबाटै हो । यस अर्थमा पनि अनुकरणात्मक शब्दको प्रयोगलाई अर्थपूर्ण मान्नु पर्दछ । यहाँ प्रयोग गरिएका अनुकरणत्मक शब्दहरू हुन् ः– कुर्र, खुर्र, भुर्र, फुर्र, हुर्र, म्याउँ, कुक्कु, फिर्फिर्, चुलबुल, छिरबिर्, ढल्पल्, चल्मल्, सिम्सिम्, मिर्मिर्, झिल्मिल्, फुस्फुस् झर्झर्, टप्टप्, झम्झम्, पिल्पिल्, म्याँम्याँ, फट्टफट्ट, टप्पटप्प, ढररढम्म, र्याइँ–र्याइँ, लुटपुट आदि ।
९. उपसंहार
प्रस्तुत “तोते बोली” कविता सङ्ग्रहले कवि दैवज्ञराज न्यौपानेलाई सफल बालसाहित्यकारका रूपमा स्थापित गरेको छ । बालबालिकाकै सेरोफेरोभित्रका विषयलाई कविताका रूपमा प्रस्तुत गरेर विषय, प्रयोजन, राष्ट्रिय चिन्तन, उपदेश, प्रेरणा, उक्तियोजना, छन्द, लय, प्रकृतिचित्रण जस्ता सबै दृष्टिकोणबाट कवितालाई बालबालिकाका लागि पठनीय एवं प्रेरणादायी बनाउनु कविको वैशिष्ट्य हो ।
बालबालिकालाई सदाचार एवं सद्व्यवहार गर्न, देश र देशवासीको सम्मान गर्न, आफ्नो गौरवमय इतिहासबाट शिक्षा लिन, आफ्नो भाषा, साहित्य र संस्कृतिको मान गर्न तथा आफूभित्र रहेको शक्ति अथवा क्षमताको बोध गर्न प्रस्तुत कविता सङ्ग्रहभित्रका कविताले प्रेरणा दिएका छन् । कविले सरस एवं सरल शब्दावलीमा उपदेश दिएका छन् । कविताका माध्यमबाट कतै अत्यन्त हितैषी मित्र र कतै ममतामय अभिभावक भएर प्रदान गरेको प्रेरणा र दिएका उपदेशबाट बालकमा अन्तर्निहित स्वको बोध भएको छ । त्यसैले बालक उद्घोष गर्दछ ः—
नयाँ नयाँ कुरा स्वयं म सृष्टिभित्र भर्दछु
हटाइ अन्धकार यो नवीन ज्योति छर्दछु
सधैं सधैं रमाइलो म विश्व सृष्टि गर्दछु
बनेर वीर पौरखी सुधार नित्य गर्दछु ।
नेपाली बालकविताका क्षेत्रमा “तोते बोली” को आफ्नै विशिष्ट स्थान छ र यसका स्रष्टा कवि दैवज्ञराज न्यौपाने नेपाली बालकविता साहित्यमा सदा स्मरणीय एवं महिमामय बनेका छन् । सबै कविता बालकको ज्ञान क्षेत्रभित्र छन् । सबै कविताले बालकलाई शिक्षा दिन्छन् र यी सबै बालककै लागि लेखिएका हुनाले यिनका अधिकारी पनि बालक नै हुन् ।