आज किन ढाँट्नु भो ?
२०६८ साल पुष २ गते बिहान आत्तिएको र हड्बडाएको स्वरमा छोरा सुमनराजको फोन आयो “बाबा तुरुन्त निजामती अस्पताल आइस्योस्, तुरुन्तै .......” हडबडाएको स्वरसँगै हिजो बेलुकी नै सौरभ दाजुकोमा जान्छु भनेर गएको छोराको एक्कासि निजामती अस्पताल त्यो पनि तुरुन्तको आदेशले केही सोच्नै सकिन के ....... किन.......दाजुभाइ कतै घुम्न गएर मोटरसाइकल पो ठोक्काएछन् कि ? यस्तै यस्तै कुराहरू मनमा खेलाउँदै लुगा लगाउन थालँे । अनि सँगसँगै फोनमा पनि बोल्न थालँे । किन ..... कसलाई...... के भयो ...... आदि इत्यादि ।..... उ अझ हडबडमा नै छ । यहाँ ठुलो बालाई साह्रै अप्ठ्यारो भइरहेको छ ....... अझ हडबडमा डाक्टरले के के गर्दैछन् करेन्ट पनि लगाउँदै छन् के के हो चाँडै आइस्योस् न बाबा ।
हिजो बेलुका नै केही शङ्काचाहिँ थियो मलाई । अफिसबाट फर्कँदा दाजु प्रह्लाद पोख्रेलको गाडी मीनभवनतर्फ आउँदै गरेको थियो । मसँग मेरै अफिसका लेखा अधिकृत उदयराज भट्टराई हुनुहुन्थ्यो । उहाँले पनि मार्क गर्नुभएको थियो र भन्नुभएको थियो प्रह्लाद सरको गाडी यो रुटमा ? मैले जवाफ दिएँ बानेश्वर क्याम्पस हो कि दैवज्ञ दाजुको घर हुनुपर्छ । यस्तै कुरा गर्दा गर्दै सो गाडी निजामती अस्पतालतर्फ मोडियो अनि मैले अड्कल काटेँ दैवज्ञ दाजुलाई अस्पताल ल्याएको रहेछ क्यार झ्
छ वर्षदेखि प्रायः ओछ्यान पर्नुभएको दाजु दैवज्ञराज न्यौपानेलाई नियमित स्वास्थ्य परीक्षणकै क्रममा लगेको होला भन्ने अड्कल लाएको थिएँ मैले । हुन पनि मेरो अड्कल केही हदसम्म मिल्न पनि पुगेको रहेछ केही निमोनियाको लक्षण देखा परेपछि अस्पतालमा भर्ना गर्नु परेको रहेछ भाउजू सुधा न्यौपानेले । अघिल्लो बेलुकी भाउजू सुधाको सेवानिवृत्त बिदाइ कार्यक्रम रहेको थियो स्थानीय विकास मन्त्रालयमा । उहाँ लामो समयसम्म नेपाल सरकारको विभिन्न निकायमा विभिन्न पदमा कार्यरत रही स्थानीय विकास मन्त्रालयको उपसचिव पदवाट सेवानिवृत्त हुनु भएको हो । कार्यक्रम सकेर दाजुलाई केही चिसो, ज्वरोको महसुस गरी अस्पताल लैजाँदा अस्पतालले भर्ना गरिदिएछ । कसैलाई पत्तो पनि थिएन भाउजूले सामान्य चिसोको कारणले अस्पताल लैजाँदा पनि के खवर गर्नु भन्ने सोचले छोरी कविताको सहयोगमा अस्पताल पुर्याउनु भएको रहेछ । राती राम्रै गरी खाना पनि खानु भएको थियो रे खाना खाँदा खाना सर्किएर फोक्सोमा टाँसिन पुगेछ – चिकित्सा विज्ञानको भाषामा एस्पिरेसन । आखिर त्यसैले उहाँलाई हामीहरूबाट खोस्यो ।
दाजु दैवज्ञ र म मावलपट्टि एकै बाजेका नाति । बाजे चूडामणि पोख्रेलका तीन छोरा र चार छोरीमा छोरा हरू (मामा) क्रमशः मनोहर, खिलनाथ र नवराज जसमध्ये हाल माइला मामा खिलनाथ विराटनगरमा हुनुहुन्छ । जेठा मामा र कान्छा मामा परमधाम गै सक्नु भएको छ । साथमा जेठी माइजू र कान्छी ठुली माइजू पनि परमधाम गै सक्नु भएको छ भने माइला मामा माइजु र कान्छी सानी माइजु हाम्रा साथ रहनु भएको छ । त्यस्तै छोरीहरूपट्टि जेठी ठुली आमा उमादेवी न्यौपानेका तीन भाइ छोरा दैवज्ञराज, केदार र महेश्वर, माइली ठुली आमाका एक छोरा एकनाथ तिम्सिना, साइली ठुली आमाका एक छोरा विश्वनाथ निरौला र कान्छी आमा बृन्दादेवी (बदनकुमारी) न्यौपानेका तीन भाइ हामी – दाजु प्रद्युम्न, म सुदर्शन र भाइ शिवकुमार हौँ ।
बाल्यकालमा दैवज्ञ दाजुको अलिअलि संझना गर्दा पहाडमा म ५,६ वर्षको थिएँ होला । हाम्रो घरमा एउटा ठुलो बाक्सा थियो जसमा आमाले लुगाफाटा लगायत खानेकुरा पनि राख्ने गर्नु हुन्थ्यो । सो बाक्सामाथि बसेर दैवज्ञ दाजुले अनर्सा खाएजस्तो लाग्छ । पहाडमा रहँदा म सानै भएको कारणबाट त्यति गहिरो सम्झना छैन । हामी झापा झरेपछि भने दाजुहरू बेलाबेलामा हाम्रो घर आइरहनुहुन्थ्यो । हामी त्यसै मख्ख पर्दर्थ्यौँ । अग्ला,े गोरो, शान्त, शालीन स्वभावको मृदुभाषी । घरै उज्यालो हुन्थ्यो उहाँ आउँदा । अर्कोतर्फ मेरा बाबा पं. वासुदेवले बाल्यकालमा उहाँलाई पढाउनु भएको रे झ् पछि हाम्रो परिवारमा सबैभन्दा विद्वान् र प्रतिष्ठित राष्ट्रिय व्यक्तित्व नै उहाँ हुनुभयो । उहाँले बोलेको बोली नै लालमोहर हुन्थ्यो हाम्रो परिवारमा ।
२०४३ सालतिरको संझना अझ ताजा रहेको छ । मैले प्रवेशिका परीक्षा उत्तीर्ण गरेको वर्ष थियो त्यो । एस.एल.सी.को परीक्षाफल प्रकाशित भै सकेपछि नतिजा थाहा पाउन गोरखापत्र नै चाहिन्थ्यो त्यो आइपुग्न २, ३ दिन लाग्थ्यो । त्यसताका एस.एल.सी. उत्तीर्ण नै ठुलो मानिन्थ्यो । पास भइएछ अब उच्च शिक्षाको लागि कहाँ जाने भन्ने द्विविधा भइरहेको थियो । यद्यपि उच्च शिक्षा अध्ययन मेची क्याम्पसमा गर्न पाइन्थ्यो । मलाई कानुन विषय अध्ययन गर्ने तीव्र इच्छा थियो तर मेची क्याम्पसमा कानुन सङ्कायमा त्यसबखत पठनपाठन हुँदैनथ्यो । मैले मेरो परिवारमा काठमाडौं वा विराटनगर गएर पढ्ने प्रस्ताव राखेँ । त्यसबेला दाजु दैवज्ञ हाम्रो घरमा आउनु भएको थियो । उहाँले तत्काल जवाफ दिनुभयो– मेची क्याम्पसमा नै पढ्नुपर्छ, आमाले पकाएको भात खाएर आँगनको क्याम्पसमा पढ्न छाडेर कहाँ बाहिर जाने कुरा गर्छस् नाथेझ् हाम्रा पालामा विकल्प केही थिएन काठमाडौं गयौंँ दुःख पायौंँ तर अहिले त्यो अवस्था छैन, मेची क्याम्पसमा नै पढ्नुपर्छ ।
बस् लालमोहर लागिहाल्यो मेरा बाले तत्काल मलाई मेची क्याम्पसमा नै पढ्ने आदेश दिनुभयो । किं कर्तव्य विमूढको अवस्थामा थिएँ म त्यसबेला मेची क्याम्पसमा आर्टस् र कमर्श मात्र थियो । उक्त दुवै सङ्कायमा पढ्ने पटक्कै मन थिएन । तै बरु राजनीतिशास्त्र अध्ययन गर्ने विचार गर्दै थिएँ, मेरो भजित पेशल न्यौपाने धरानमा आई.एस्सी. अध्ययनरत थियो । म एस.एल.सी. पास भएपछि ऊ धरानमा साइन्स पढ्न छाडेर झापा आयो र कमर्श पढ्नुपर्छ भन्न लाग्यो । म पुनः द्विविधामा परें अब राजनीतिशास्त्र पढ्ने इच्छा त्यागिदिनु पर्ने भयो । मैले कमर्श नपढ्ने प्रस्ताव राखे पनि पेशलले कमर्श नै पढ्नुपर्छ भनी जिद्दी गर्न लाग्यो । म हिसाबमा केही कमजोर भएकाले कमर्श पढ्न नचाहेको थिएँ तर फेरि पेशलको जिद्दीसँग मेरो केही लागेन र कमर्श पढ्न तयार भएँ । एडमिसन गरेर पढ्न थालेँ । त्यसबेला फेरि दाजु दैवज्ञ झापा आउनुभएको थियो । उहाँको प्रायः जिस्किने बानी थियो । सोध्नुभयो– के पढ्न थालिस् ? मैले जवाफ दिएँ– कमर्श, उहाँले पुनः थप्नुभयो– छोरी बिग्रिई नर्स, छोरो बिग्रियो कमर्श । ममा पुनः द्विविधा उत्पन्न भयो, साँच्चिकै कमर्श पढ्ने विचार गलत पो गरिएछ कि के हो ? जसैतसै पढियो पास पनि गरियो ।
सन् १९८९ अगस्त (२०४६ साल भदौं असोज) तिरको कुरा हो मलाई एउटा सेमिनारमा नेपाल स्काउटको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै जापान जाने अवसर प्राप्त भएको थियो । जाने बेलामा मेरो रुट काठमाडौंँ–बैंकक–हङ्गकङ्ग–टोकियो थियो । बा पनि आउनु भएको थियो मेरो प्रस्थानको समयमा बा र दाजुहरू दैवज्ञ, केदार विमानस्थलसम्म जानुभएको थियो । विमानस्थल पुगेर प्रस्थान गेटमा पुग्ने बेलामा दाजुले बैंककमा जोगिएर हिँड्नू त्यहाँ धेरै खतरा छ । होटल बस्दा पनि विभिन्न खालका अफरहरू आउँछन्, पलपलमा जोगिनू आदि इत्यादि कुराहरू संझाएर पठाउनु भएको थियो । भाउजू रीताले रेभ्लनको लिपस्टिक र नेल पोलिस ल्याइदिनुस् है बाबु, भन्नु भएको थियो । ठुली आमा, भाउजूहरू रीता र सरिता, छोरी अर्चना मिलेर मेरो बिदाइमा दुबोको माला बुनेर लगाइदिनु भएको थियो । करिव २२ दिनको जापानको यात्रा सकेर म नेपाल फर्कँदा भाउजू रीताले भनेको सामान ल्याइदिएको थिएँ । उक्त सामानहरू भाउजूलाई दिन जाँदा त्यहाँको अवस्था अर्कै रहेछ । दाजुले जेठ २ गते गुहेश्वरीमा सुधा भाउजूसँग विवाह गर्नुभएको रहेछ । रीता भाउजूले उक्त कुरा रुँदैरुँदै मलाई सुनाउनुभयो । एक क्षण त पत्याउन पनि सकिन मैले । त्यस्तो खालको साह्रै नक्कले स्वभावको कहीँ कतै हुनुहुन्नथ्यो दाजु, अत्यन्तै भद्र, शालीन र स्वाभिमानी स्वभाव थियो उहाँको । एउटा राष्ट्रिय प्रतिभा समेत बोकेको मान्छे त्यो कहाँ सम्भव थियो र ? सोझै दाजुसँग सोध्ने आँट थिएन ममा । के गरूँ ? के हो ? साँच्चिकै हो कि भाउजूको शङ्का मात्र हो ? मनमा कुरा खेलिरहेको थियो । ठुली आमासँग त सोध्नै पर्यो भन्ने सोचेर सोधँे, कुरा साँच्चै रहेछ । निकै रिस उठेको थियो मलाई पनि । भाउजू रिसाउनु, छोराछोरीहरू रिसाउनु स्वाभाविक थियो तर यो त उहाँको दूरदर्शिताको कसी पो रहेछ । २०३८ सालमा नै रीता भाउजूलाई प्राणघातक रोग क्यान्सरले समातिसकेको र भेलोरमा लगी उपचार गराएर ल्याउनु भएको रहेछ । त्यो कुरा उहाँ बाहेक सायद कसैलाई थाहा थिएन । उहाँले अबका दिनहरू एक्लै कसरी बिताउने, व्यवहार गर्नैपर्छ भन्ने सोच राख्नु भएको रहेछ । त्यसै कारण हुनसक्छ भाउजू सुधासँगको प्रेम विवाहमा परिणत भएको । सबैले देख्दा दैवज्ञले नराम्रै गरेको हो तर पछि रीता भाउजू क्यान्सर रोगकै कारणले परलोक भएपछि आफन्तहरूका आँखा खुलेका थिए । भावीले छैठौंँको दिनमा लेखेको कुरा मेटिँदैन, आ–आफ्नो भाग्य र कर्मको फल भोग्नु नै पर्छ भन्ने उखान जो कोहीलाई पनि थाहा छ । दाजु दैवज्ञ हरेक पक्षले सबल र सक्षम हुँदाहुँदै र परिवार पनि सक्षम हुँदाहुँदै पाउनु पर्ने पारिवारिक सुख त्यति पाउन सक्नु भएन । हुर्के बढेका छोराछोरीहरू विदेश, कान्छो छोरो सौरभ इन्जिनियरिङ्को विद्यार्थी, भाउजू सुधा नेपाल सरकारको उपसचिव सवै जना आ–आफ्नो काममा व्यस्त । फुर्सद त उहाँ स्वयंलाई पनि कहाँ ? पुफर्सदमा कहिल्यै नबस्ने उहाँको बानी । ओछ्यानमै बसेर भए पनि रात दिन साहित्य सिर्जनामा तल्लीन रहने । साहित्य सिर्जनाको कुरा गर्दा उहाँका कयौं कृतिहरू प्रकाशित छन् विषेश गरी बाल साहित्यमा कलम चलाउने स्रष्टा हुनुहुन्थ्यो उहाँ । बाल पत्रिका मुनामा नियमित स्तम्भहरू आउँथे । उहाँले लेखेको किसान नामको कविता हामी कक्षा आठमा पढ्थ्याँै । कविता थियो :
आकाश गड्गडाएर जब वर्षन्छ झर्भफर
म किसान हलो बोकी निस्कन्छु अनि बाहिर
कविताको साथमा कविको परिचय पनि पढाइन्थ्यो कविको परिचयसँग आफ्नो नाम जोडिँदा (मेरो दाजु भन्न पाउँदा) गर्वले छाती भरिन्थ्यो मेरो । जोर मुरली, सिर्जनाका लहर, घामले ढोका खोल्यो जस्ता कृतिहरू छन् ।
साहित्य सृजनामा उहाँले कयौँ पुरस्कारहरू जित्नुभएको थियो । एउटा पुरस्कार ग्रहण गरेको घटना भतिज कोषराज न्यौपानेले भनेको अहिले पनि मेरो मानसपटलमा ताजै छ । युवावर्ष मोती पुरस्कार विजेता कवि दैवज्ञराजलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम राष्ट्रिय सभागृह (सिटी हल) मा थियो रे झ् पुरस्कार प्रदान गर्नको लागि तत्कालीन अधिराजकुमार धीरेन्द्र सिटीहलमा आउने कार्यक्रम रहेछ । राजाको छोरो अधिराजकुमार त्यस बखत औपचारिक राष्ट्रिय कार्यक्रममा कति झकिझकाउका साथ आएको थियो होला, कल्पना गर्न सकिन्छ तर मुख्य कार्यक्रम जब सुरु भयो कवि दैवज्ञ पुरस्कार ग्रहण गर्न जानुभयो । अधिराजकुमार पुरस्कार दिन तयार भए । दैवज्ञका अगाडि झकिझकाउ अधिराजकुमार फिक्का देखिएका थिए रे । यसबाट दाजु दैवज्ञको व्यक्तित्व कस्तो थियो भन्ने अनुमान लगाउन जो कोहीलाई पनि गाह्रो पर्दैन । २०४७ सालतिरको कुरा हो त्यसबेला भारतीय टेलिभिजनमा टेलिशृंखला रामायण आउँथ्यो । रामायणका मुख्य पात्र “राम” को भूमिका निर्वाह गर्ने अरुण गोबिलसँग दैवज्ञ दाजुलाई दाँज्नुहुन्थ्यो माइली भाउजू सरिता । हामीलाई पनि त्यस्तै लाग्थ्यो दाजुको व्यक्तित्व ।
अब दाजुको बारेमा यति लेखिसकेपछि भाउजू सुधाको बारेमा मौन बस्नु उपयुक्त नहोला । तत्कालीन श्री ५ को सरकारको अधिकृत दर्जाकी सुधा भाउजू दाजु दैवज्ञका बारेमा सबै कुरा थाहा पाउँदापाउँदै पनि दाजुसँग विवाह गर्न राजी हुनुमा उहाँको महानताको कदर गर्नुपर्छ हामीले । त्यस बखतका उहाँका कठिन क्षणहरूलाई स्मरण गर्नु गराउनु हाल व्यर्थ हुनेछ । त्यसैले म त्यसतर्फ जान चाहन्न, राजधानीको मुटुमा घर हुँदाहुँदै डेरामा बस्नु पर्ने, डेरामै छोरो जन्माउनु, जागिर सँगसँगै छोरो हुर्काउनु आदि अनेकन कष्ट सहँदै आउनु भयो । पछिल्लो समयमा जब दाजु प्रायः ओछ्यान पर्ने हुनु भयो जागिर सँगसँगै दाजुको स्याहारसुसारमा पनि केही कसर बाँकी नराखी सम्पूर्ण समय लगाएर तल्लीन रहनु भयो । विडम्बना भन्ने कि विधिको विधान नै, मैले थाहा पाएपछि कहिल्यै नढाँट्ने दाजुले पुस २ गते बिहान ढाँटनु भो । जागिरे जीवनबाट अवकाश भएपछि भरदिन दाजुको टहलमा बिताउने इच्छा गर्दा भाउजूलाई पनि ढाँट्नु भो दाजुले । भाउजूले जागिरबाट अवकाश लिएको भोलिपल्टै दाजुले जीवनबाट अवकाश लिनुभयो । “विधाताको विधि, विधिको विधान कसले टार्न सक्छ र” भाउजू सुधाप्रति हामी आभारी छौं, हाम्रो परिवारलाई त्यो अवस्थामा सहर्ष स्वीकार गरी जीवनभर दाजुको टहल स्याहार गर्नु भएकोमा ।
संयोग भन्ने कि विधाताको विधान नै हाम्रो मावल र घरका सदस्यको परलोकगमन पनि कान्छा मामा नवराज पोखरेल परलोक भएको २०६७ साल जेष्ठ ३१ को २० दिनपछि जेठा मामा मनोहर पोखरेल परलोक जानु भएको थियो । त्यसको २३ दिनपछि कान्छी ठुली माइजू (कान्छा मामाकी जेठी श्रीमती) शेषकुमारी पोखरेल सोही बाटो जानु भएको थियो । अहिले आएर दाजु दैवज्ञराज न्यौपानेले २०६८ पौष २ गते देहत्याग गर्नु भयो भने त्यसको ठीक २० सै दिनपछि (२०६८ पौष २१ गते विहिवार, द्वादशीका दिन) हाम्री ममतामयी माता (दैवज्ञराज न्यौपानेकी कान्छी सानीआमा) को पनि देहावसान भएको छ । दैवज्ञ दाजुले मामामाइजूको स्मृतिग्रन्थ (नवशेष गाथा) मा लेख्नु भएको एउटा पद्य हालको परिवेशमा अत्यन्त सान्दर्भिक लाग्छ मलाई । त्यसलाई यहाँ पुनः दोहोर्याउने अनुमति चाहन्छु :
एकै मानिस हौं समस्त युगका माथ्लो र तल्लो किन ?
हाम्रो संस्कृतिमा छ आज झगडा यस्तो भएको किन ?
राम्रा काम सुधार्दथ्यौ दिनदिनै त्यागी नराम्रा कुरा
मान्ने मानिस पाइँदैन अहिले पार्नेछ कल्ले पुरा ?
सायद हाम्रो देशको राजनीतिक खिचातानी, जातीय राज्य सहितको संघीयता यसतर्फ लक्ष्यित हुन सक्छ यो । साँच्चै त्यस्तै छ आज हाम्रो देशमा । यिनै राम्रा नराम्रा संझनाका साथ परलोक भएका समस्त पितृहरू सँगसँगै पिता पं.वासुदेव, आमा वृन्दादेवी, दाजु दैवज्ञराज न्यौपानेमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै चिरशान्तिको कामना गर्दछु ।
(संयोग नै मान्नुपर्छ मैले यो स्मृति टङ्कन गरिरहँदा दाजु दैवज्ञको रचना रेडियो नेपालमा बजिरहेको छ)
सुन राम्रो चाँदी राम्रो मोती झनै राम्रो,
सबै भन्दा राम्रो धर्ती माटो अझै राम्रो
दधिकोट ७, भक्तपुर
२०६९ असार ६