कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सम्झनाहरूमा ठुलो बुबा

सागर रिजाल

दैवज्ञ ठुलो बुआलाई सम्झँदा उहाँलाई आफ़्नो खाटमा बसेर जाँचका कपी काटिरहेको देख्दछु। बानेश्वरको घरको त्यो कोठामा, जाडोमा सिरक ओडेर अनि गर्मीमा गन्जीमै पनि, खाटमाथिको त्यो सानो टेबुलमा छरपस्ट कागजहरूमाथि घोरइरहेको उहाँको चित्र मेरा आँखाअगाडि आउँछ। त्यतिखेर म ७-८ वर्षको मात्रै थिएँ होला, तर सम्झन्छु उहाँलाई भेट्न धेरै मान्छेहरू आउँथे। धेरैजसो आगन्तुकहरू त्यही कोठाको भुइँमा चकटीमा बस्दथे- उहाँ खाटबाट नै, कपी काटीकाटी कुराकानी गर्नु हुन्थ्यो। हामी केटाकेटी, भित्रबाहिर, भर्‍याङ तलमाथि, दौडिरहन्थ्यौँ, खेलिरहन्थ्यौँ।

कुनै एक दिन, अरू खास कोही थिएनन् - म उहाँलाई टेबुल नजिकै बसेर हेरिरहेको थिएँ। ठुलो बुआ त एउटा खेस्रा कागजमा कविता पो लेख्दै हुनुहुँदो रहेछ ! अचम्म लाग्यो - बस्दा बस्दै, हेर्दाहेर्दै कविता लेखिने रहेछ भेनर ! "मिलाउन बाँकी छ," उहाँले भन्नुभयो।

खै किन हो मलाई पनि सानैदेखि कथा, कविता अनि गीत, सुन्न र पढ्न भनेपछि औधी मन पर्थ्यो। स्कुलमा पनि नेपाली र अंग्रेजी विषय बढी मन पर्थ्यो। साथीहरूसँग रेडियो नेपालमा गएर बाल कविता वाचन गर्थेँ, घरमा पनि सानोतिनो यसो केही लेखिरहन्थेँ, पढिरहन्थेँ। यसैले होला मेरो ठुलो बुआसँगको विशेष आकर्षण भएको। पछिसम्म पनि बानेश्वरको घरमा केही न केही कामले गइरहेको हुन्थेँ।

एक दिन माथि कोठामा बसेर, त्यहाँ संग्रह गरिएका कविताका किताबहरूमध्ये एउटा पुस्तक खोलेर ठुलो स्वरले तल ठुलो बुआले सुन्ने गरी वाचन गर्दै थिएँ। "नेपाली राम्रो पढ्दो रैछस् !" उहाँले म बोर्डिंग स्कुलेलाई प्रफुल्ल पार्ने गरी भनिदिनुभयो। पछि आइ.एस्.सी. पढ्दाखेरि क्याम्पसको पत्रिकामा एउटा सानो कथा छापेको थिएँ – ठुलो बुआलाई देखाएँ। त्यही खाटमा बसीबसी, मन दिएर पढ्नुभयो, अनि २-३ ठाउँमा, "यसो भन्दा अझ स्पष्ट हुन्छ," भनी, छापिएको पत्रिकामै सँच्याइदिनुभयो। अहिले सम्झनामा त्यो क्षण आनन्द अनि गौरव बनेर आउँछ - नेपाली साहित्यका त्यत्रा हस्तीले मेरो सानो प्रयासमा देखाएको त्यो चासो र स्नेह !

विदेश पसेपछि, गत १२ वर्षमा जम्मा दुई चोटि नेपाल जाँदा, ठुलो बुआसँग मेरो भेट भयो। केही बेरको कुराकानीमा उहाँको स्वास्थ्य, अनि अरू हालखबर सोधपुछ हुन्थ्यो। तर धेरै बेर उहाँका नयाँ कविताहरूका बारे नै कुराकानी हुन्थ्यो। हरेक चोटि, नबिराइकन, उहाँले मलाई सोध्नु हुन्थ्यो : अहिले के लेख्दैछस् ?

हिजोआज मेरो लेखनको बानीमा बिराम लागेको भए पनि, उहाँका सम्झना र साहित्यिक प्रेरणा कहिल्यै समाप्त हुने छैनन्।मेरा प्यारा ठुला बुआ तथा नेपाली साहित्यका महान् कवि दैवज्ञराज न्यौपानेसँगको मेरो, झिनै भए पनि, साहित्यिक सम्बन्ध थियो भनेर म सदैव गौरव गर्ने गर्छु।

हाल : भर्जीनिया, अमेरिका