साहित्यकार बुबाप्रति मेरो श्रद्धाञ्जली
साहित्यको भाषालाई धेरै परख गर्न नजाने पनि म छोटा मिठा लेख, खास गरी कविता पढ्न मन पराउँथेँ। संयोगबस विवाहपश्चात् साहित्य र साहित्यिक परिवारसँग मेरो सम्बन्ध गाँसिन गएको थियो। मैले २०५४ साल मंसिरमा नेपालका प्रतिभाशाली कवि दैवज्ञराज न्यौपानेकी एक मात्र सुपुत्री अर्चनासँग विवाह गरेको थिएँ। उहासँग मेरो धेरै भेट त भएन तर पनि जे जति भेट र कुरा भए ती नै मसँग सदाका लागि मिठो सम्झना भएर आफ्नो मन मस्तिकमा रहेका छन् र रहिरहने छन्। आज श्रद्धाञ्जलीस्वरूप यही सम्झनाको तरेलीलाई शब्दमा उतार्ने कोसिस गरिरहेको छु।

बुबाको नाम पहिलेदेखि नै सुनेको भए पनि उहाँसँग भेटघाट भएको थिएन। उहाँसँग मेरो पहिलो भेट हाम्रो विवाहकै कुराको सिलसिलामा कुरा पक्का हुनुभन्दा केही दिनअगाडि मेरो आफ्नै घरमा भएको थियो। उहाँ आउँदै हुनुहुन्छ भनी सुनेर म बाहिर जान लाग्दा पनि कुरेर बसेको थिएँ। कवि दैवज्ञराज न्यौपाने आउँदै हुनुहुन्छ भन्दा मेरो मनले क्लास ८ मा पढेको किसान कविता लेख्ने कविलाई सम्झँदै एउटा चित्र कोरेको थियो, उहाँका बारेमा एक किसिमको परिकल्पना गरेको थियो। तर जब उहाँ हाम्रो घरमा छिर्नुभयो र जब मैले उहाँलाई देखेँ, म उहाँको व्यक्तित्व देखेर झस्केको थिएँ। मेरो मनले उहाँलाई अर्कै सोचेको रहेछ। आफ्नो सोचाइभन्दा निकै नै ठुलो कद, राम्रो व्यक्तित्वका धनी उहाँलाई पाएको थिएँ। मलाई देखेपछि के उहाँले साच्चै छोरी दिनुहुन्छ त भनी केही बेरलाई अकमक्क पनि परेको थिएँ। बुबा मिजासिलो हुनुहुन्थ्यो। विवाह अगाडिको एक रोचक प्रसङ्ग मलाई सधैं याद आउँछ। एकपल्ट विवाहको लागि किनमेल गर्न बुबा, म र भाइ उज्ज्वल गएको बेला बुबाले लुगा, कपडा छान्दा भाइ उज्ज्वललाई भिनाजुलाई यो हुन्छ कि हुँदैन भनेर सोद्धा पहिला मलाई यो किनिदिस्योस् अनि मात्र भन्छु भनेर बुबालाई अप्ठ्यारो पार्दा बुबाले आज मलाई यसले भिनाजुको सहारा लिएर ठग्यो भनेर मुसुमुसु हाँस्दै भन्नुभएको थियो र ठट्टा गर्दै उसलाई नै पो रोजाउन हजुरले सहायता गर्नुपर्यो भन्दा हामी तिनै जाना मज्जाले हाँसेका थियौ।
विवाहपश्चात् म अमेरिका आएको थिएँ । भौगोलिक दूरीको कारणले गर्दा हामी दुबै ज्वाइँ र ससुराको भेट पातलो नै भयो। विवाहपछि केही दिन म नेपालमा बस्दा विभिन्न कार्यक्रमको सिलसिलामा उहासँग बारम्बार भेट हुन्थ्यो। जहिले पनि उहाँ नम्रसँग सानो स्वरमा बोल्नुहुन्थ्यो। हाम्रो परिवारमा सबैको स्वर ठुलो भएको हुँदा म सानो स्वरमा नम्रसँग बोलेको हँसिलो, खुसिलो प्रेरणापुरुष देखेर सधैं प्रभावित हुन्थेँ। मलाई देखेपिच्छे शिर झुकाएर ढोग्न खोज्नुहुन्थ्यो। आफूभन्दा ठुलो र साह्रै प्रतिष्ठित बुबाले आफ्नो अगाडि शिर झुकाउँदा मलाई ज्यादै नै अप्ठ्यारो लग्थ्यो तर उहाँ ज्वाँइछोरी भनेको लक्ष्मीविष्णु जस्तै हो भन्नुहुन्थ्यो। एक हप्ताको बसाइमा सधैं उहाँ सानासाना कुरामा खुब विचार पुर्याउनुहुन्थ्यो र छोरीको पनि विशेष ख्याल गर्नुहुँदै खानलाई यो अलिक अफ्ठ्यारी छ, झट्ट रिसाउँछे भन्नुहुन्थ्यो। म उहाँले मलाई छोरी सुम्पेर, विचार पुर्याउनुपर्ने कुरा कस्तो राम्रो तरिकाले सम्झाएको होला ? भनी मख्ख पर्थेँ।यता आएपछि फोनमा कहिले कहीँ कुरा हुन्थ्यो तर धेरै सञ्चारको माध्यमचाँहि हाम्रो चिठ्ठी नै हुन्थ्यो, अहिले जस्तो कम्प्युटर, भाइबर, स्काइपको विकास भएको थिएन। बिस्तारै डायल प्याड सुरु भएपछि अलिक फोनको वार्तालाप बढेको थियो।कोही नेपालबाट आउँदा छोरीसँगै मलाई पनि सम्झेर केही न केही सधैं पठाउनुहुन्थ्यो।बुवा यहाँ केही चहिँदैन सबै पाइन्छ भन्दा पनि उहाँ मान्नुहुन्नथ्यो।
उहाँ जापान गएपछि प्राय: दिनहुँ कुरा हुन थाल्यो र उहासँग मलाई धक लाग्न पनि अलिक कम हुन थाल्यो।बुबालाई म कविता लेखेर सुनाउछु भन्थेँ तर सबैसँग त्यो खुबी कहाँ हुदो रहेछ र ? म लेख्ने काममा कहिले पनि अगाडि बढ्न सकिन। नातिनातिनी जान्मिएका बेला मैले उहाँलाई खबर सुनाउँदा, उहाँ खुशीले गदगद भएको र दुबैको पालोमा निकै चासो राखेर प्रश्न गर्दै उनीहरूलाई आशीर्वाद दिँदै हर्षपूर्वक बोल्नुभएको स्वर अझै मेरो कानमा गुन्जिन्छ। हामीलाई पनि सानोसानो कुरामा आत्तिनु हुँदैन, धैर्य राख्नुपर्छ, सबै ठीक हुन्छ भनेर बेलाबेलामा सम्झाउनुहुन्थ्यो।
पछिल्लो समय मेरो भेट उहासँग उहाँ बिरामी भएपछि भयो। उहाँलाई उच्च रक्तचापले गाह्रो पारेर हस्पिटलमा हुनुहुन्छ भनेको सुनेर हामी सपरिवार नेपाल गयौँ। म ३ हप्ता बसेर त्यहाँबाट फर्केर आएँ। फर्किने बेलामा मैले प्रश्न गरेका केही कुराहरू आफूले बुझाउन अशक्त भएकाले भाइलाई केही किताब किन्न पठाएर उपहार स्वरूप दिनुभएको थियो।पछि फोनमा कुरा हुँदा स्वरको अस्पष्टताको कारण कुरा बुझ्न चाहेर पनि धेरै बुझिँदैन थियो।

(कवि दैवज्ञसँग लेखक)
उहासँग रहर हुँदाहुँदै पनि धेरै भिज्न त सकिन। धेरै चिन्ने मौका नपाए पनि बिरामी अवस्थामै निकाल्नुभएको घामले ढोका खोल्यो भन्ने कविता साह्रै नै राम्रो लागेको थियो। उहाँको मन, मिजास, माया सबै उहाँका कविता पढेर म अड्कल काट्दथेँ।बाल कविताहरू साह्रै सरल भाषामा लेखेको देख्दा उहाँको मन बच्चाको जस्तै पवित्र निश्छल रहेछ र साह्रै सरल भाषामा बाल मनोविज्ञान बुझेर लेख्नु हुने, राम्रो उपदेश दिने कविको नेपाली साहित्य जगतले सधैं कमी महसुस गर्नेछ। उहाँ साह्रै देशभक्त हुनुहुन्थ्यो र नेपालप्रति उहाँको अथाह माया थियो भन्ने पनि उहाँकै कविताका हरफहरूले स्पष्ट झल्काएका छन्। सम्झँदा लाग्छ हाम्रो बुवाको जस्तै मन २, ४ जना नेताहरूको भइदिएको भए नेपाल आज कस्तो हुन्थ्यो होला?
मैले एक आदर्श पुरुषको दर्जा दिएको थिएँ, मेरा ससुरा बुबालाई। मेरा लागि उहाँ आँखामा राख्दा पनि नबिझाउने भनेजत्तिकै जाती हुनुहुन्थ्यो। मेरा ससुरा बुबाले आज यो संसार छोडेको पनि एक वर्ष हुन लागि सक्यो। असल मान्छे भगवानको प्यारो हुन्छ रे ! सायद त्यो कुरा सत्य नै हो कि उहाँ पनि चाँडै नै भगवान्को प्यारो हुनुभयो।समयको शक्तिसँग कसैको पनि केही लाग्दैन, यो धेरै बलवान् छ भन्ने कुरा पनि यसबाट पुष्टि हुन्छ। जस्तो असल मानिसले पनि यो संसार छोड्नै पर्ने रहेछ, बुबाले पनि सबै छोडेर जानुभयो, हामी अभिभावकविहीन भयौँ। देशले असल स्रष्टा गुमायो। अब उहाँ आफ्नो कीर्तिमा बाँच्नुहुन्छ, बुबा हाम्रो स्मृतिमा बाँचिरहनुभएको छ र सधैं बाच्नुहुनेछ।
हल : टेक्सस, अमेरिका