कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मेरा सम्झनाका पानाहरूमा : दैवज्ञराज न्यौपाने

शिला पन्त

नेपाली साहित्याकाशका उज्ज्वल तारा वरिष्ठ साहित्यकार प्रा. दैवज्ञराज न्यौपाने आज सजीव रूपमा हाम्रा सामु नरहे तापनि उहाँका सजीव कृतिहरू– बाल साहित्यसम्बन्धी थुप्रै कविताहरू, सिर्जनाको लहर, जोर मुरलीजस्ता भावनात्मक कविताहरू शोभा, राजा त्रिभुवन, शान्तिकामना, सम्झनाको धरातलबाटजस्ता काव्यहरू एवं “म इन्द्रिणी भै आइदिन्छु” जस्ता गीतहरूका कुशल स्रष्टा जीवनीकार, कथाकार, निवन्धकार एवं समालोचकका रूपमा उहाँ हाम्रा सामु सदैव ढुकढुकी भएर रहनु भएको मैले महसुस गरेकी छु ।

यसै सन्दर्भमा उहाँले सृजना गरेका केही भावनात्मक कविताका पङ्क्तिहरू यहाँ प्रस्तुत गर्नु सान्दर्भिक ठान्दछु ः–

अज्ञान शिक्षाव्रतले हटाई
सधैँ सधैँ संस्कृति गीत गाई
उद्योगमा जीवन ज्योति दिन्छु
म राष्ट्र निम्ति नवगीत दिन्छु ।
(२०२८ सालको राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविता)

कहिले लेकका फाँट कहिले बेँसिका कुरा
खोजेर हेर्दथ्यौँ हामी लेक बेँसी रमाउँदै
टेम्के हेर्न गएका छौँ माघका दिनमा पनि
हिलेमा पनि छौँ हामी तमोर तटमा पनि ।
(सम्झनाका धरातलबाट)

यी पङ्क्तिहरू कति मर्मस्पर्शी छन् । कवि दैवज्ञ दाइका एउटा पङ्क्तिमा शिक्षाको ज्योतिले अज्ञानता हटाई आफ्नै संस्कृति र स्वआर्जनले राष्ट्रका निम्ति नवसृजनाहरू दिने प्रण गरिएको छ भने अर्को पङ्क्तिले आफ्नै जन्मभूमिको प्रकृतिसँग लुटपुटिएर नयाँनयाँ सृजनामा व्यस्त रहेका क्षणहरूको स्मरण गरिएको छ । दैवज्ञ दाइको बहुआयामिक व्यक्तित्वको व्याख्यात्मक मूल्याङ्कन गर्दा एउटा ठुलो ग्रन्थ बन्दछ । म जस्तो एउटा सिकारु विद्यार्थीले उहाँको समग्र मूल्याङ्कन गर्न सम्भव छैन । तसर्थ आफ्नो मनमा लागेका केही भावना मात्र यहाँ व्यक्त गरेकी छु ।

उहाँको जीवनकाल सङ्घर्षपूर्ण रहे तापनि त्यसलाई व्यवस्थित गर्दै आफ्नो साहित्य यात्रालाई निरन्तर अगाडि बढाउँदै आपूफलाई एक कुशल प्राध्यापक एवं समाजसेवीका रूपमा स्थापित गर्न दैवज्ञ दाइ सफल हुनु भएको देखिन्छ । उहाँ अत्यन्त सरल र सहज व्यक्तित्व हुनुहुन्थ्यो, आफ्ना सहयात्रीहरूलाई खुलेर सहयोग गर्ने भावना उहाँमा थियो । २०५३ सालमा मेरो प्रथम प्रकाशित कृति “भावनाको सयपत्री” गीत–कविता सङ्ग्रह, २०५७ सालमा प्रकाशित “भजनशिला भाग– ८” र “भक्ति एल्बम” को पूर्ण समीक्षा गरी लोकार्पण गरिदिनु भएर दैवज्ञ दाइले मलाई ठुलो हौसला र प्रोत्साहन प्रदान गर्नु भएको क्षण सम्झँदा म अहिले पनि भावविह्वल हुन्छु । उहाँले व्यक्त गरेका केही पङ्क्तिहरू यहाँ प्रस्तुत गर्न मन लाग्यो– मन जस्तै मधुर पूफल जस्तै कोमल गीत कविताकी स्रष्टा श्रीमती शिला पन्तका गीत–कविता निकै मार्मिक र सुन्दर छन् । सामाजिक जीवनका विविध पक्षमाथि केन्द्रित रहेर लेखिएका उनका गीत–कविताहरू यथार्थ रहेका छन् र यथार्थभन्दा माथि प्रकृतिसम्मत रहेका छन् । उनको काव्यिक व्यक्तित्वको मलाई प्रशंसा गर्न मन लाग्छ । यसरी उहाँले मेरा सृजनाका यात्राहरूमा हौसला प्रदान गर्नु भएको शब्दपुष्पको स्मरण गर्दै उहाँप्रति यही क्षणमा अञ्जुली भरी श्रद्धा सुमन अर्पण गर्न चाहन्छु ।

जीवनको अन्तिम कालमा वि.सं.२०६२ सालदेखि उहाँ मधुमेह, रक्तचापजस्ता प्राणघातक रोगबाट पीडित हुनुभयो, अन्तमा पक्षाघात भई हिँडडुल गर्न र राम्ररी बोल्न नसक्ने अवस्थामा पनि उहाँमा सृजनात्मक प्रतिभा प्रस्पुफटन हुन खोजिरहको र आफ्ना सृजनाहरू प्रकाशित होऊन् भन्ने चाहना व्यक्त भइरहेको महसुस हुन्थ्यो । जीवनको अन्तिम समयमा दैवज्ञ दाइकी जीवन सङ्गिनी श्रीमती सुधा कोइराला (न्यौपाने) ले उहाँको स्याहारसम्भार कष्ट नमानिकन गर्नुभयो । एक शिक्षित र प्रशासकको जिम्मेवारीसमेत वहन गरिरहनु भएकी सुधाजीबाट पतिको यसरी सेवा गर्नु अत्यन्त प्रसंशनीय कार्य मान्नु पर्दछ । म आपूफ पनि एक नारी भएको नाताले म उहाँको मुक्तकण्ठले प्रशंसा गर्दछु ।

२०६६ सालमा साहित्यकार प्राध्यापक दैवज्ञराज न्यौपानेको राष्ट्रिय अभिनन्दन सम्पन्न भयो । उहाँको जीवनी कृतित्व तथा अभिनन्दन पुस्तिका समेत प्रकाशित भयो । दैवज्ञ दाइकै जीवनकालमा यत्रो अभिभन्दन समारोह हुनु अत्यन्त सामयिक कदम हो । देश र समाजका लागि सदैव समर्पित रहेर साहित्य सृजना गर्ने स्रष्टाहरूको यो सुखद क्षण मान्नु पर्दछ । राष्ट्रले पनि यसरी सम्मान गर्ने परिपाटी बसाल्नु पर्दछ भन्ने मलाई लाग्दछ । अन्तमा यी सबै कार्यका लागि साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति र त्यस समितिमा आबद्ध रहेका सम्पूर्ण विशिष्ट साहित्यकार एवं लब्धप्रतिष्ठित व्यक्ति सहितको नागरिक समाज धन्यवादका पात्र हुनुहुन्छ । अब हामी सबै मिलेर दैवज्ञराज न्यौपानेका अप्रकाशित सृजनाहरूलाई प्रकाशनमा ल्याउने प्रयत्न गरौँ र उहाँका साहित्यिक र सामाजिक व्यक्तित्वलाई अझ उजागर पारौँ । यिनै शब्दपुष्प अर्पण गर्दै बिदा लिन्छु ।

सञ्चालक परिषद् सदस्य, पशुपति क्षेत्र विकास कोष

थानेश्वर थियो नाउँ जन्म नक्षत्र पाउले
दैबु नाम दिए प्यारो पूज्य आमा र बाबुले

प्रतिभा हो कि आभा हो प्रभा हो तिनमै बस्यो

साक्षात्कार हुँदै साँच्चै दैवज्ञ रूपमै पस्यो

आर डी प्रभास चटौत