हार्दिक शब्द-श्रद्धाञ्जली
विद्यालयमा पढ्दा 'जीवनको उद्देश्य' वा 'भविष्यमा के बन्ने' भनेर सोध्ने वा निबन्ध लेखाउने गर्नुहुन्थ्यो शिक्षकहरूले। त्यो बेला 'शिक्षक' बन्ने भन्नेहरूकै लहरमा म आफूलाई पनि उभ्याउँथेँ। संभवत: ती दिनहरूमा 'केही बन्न' भन्दा पनि पढ्नका लागि पढिन्थ्यो र 'शिक्षक' बन्छु भनेर चाँहि 'शिक्षकलाई खुसी पार्नका निम्ति' भनिन्थ्यो। त्रि–चन्द्र कलेजमा पढ्न सुरु गरेपछि भने कसैले नसोद्धै आफूभित्र प्राध्यापक बन्नु पर्छ भन्ने भावना टुसाएर हल्किन खोज्दै थियो। त्यो भावना उमार्न तीन व्यक्तित्व प्रेरक बनेका थिए; पहिलो आफ्नै परिवारभित्रका हजुरबा प्रा.हरिशचन्द्र न्यौपाने, दोस्रो नातामा फुपाजु पर्नुहुने प्रा. राममणि रिसाल र तेस्रो त्यो बेलासम्म आफूले नदेखे नचिने पनि सुनिएका, न्यौपाने हुनुले नजिक ठानिएका र साहित्यकारका रूपमा समेत परिचय बनाएका प्रा.दैवज्ञराज न्यौपाने।
प्रा. दैवज्ञराज न्यौपानेसँग मेरो पहिलो भेट २०३१ सालको साउन महिनाको कुनै दिन भक्तपुर क्याम्पसमा भएको हो। त्यतिखेर उहाँ त्यहाँ पढाउनु हुन्थ्यो र तिनै दिनहरूमा उहाँको सरुवा पाटन क्याम्पसमा भएकाले मैले मनग्य सान्निध्य पाउन सकिन। प्राध्यापक र विद्यार्थीको थोरै समयको नाता, अनि चिनजानको मान्छे भन्न सकिने अवस्थाका कारण कहिलेकाहीँको भेटघाटमा सीमित थियो सम्बन्ध। विद्यार्थी जीवनका पछिल्ला दिनहरूमा प्राध्यापक बन्ने आफ्नै भावनामाथि मैले न्याय गर्न सकिन। समयको भेलले हुत्याउन लाग्दा बाँकटे हानेर, भावनाको किनारतिर लाग्न नसकेर, भेलसँग हुत्तिदै गइयो र नेपाल निजामती सेवाको जागिरे बन्न पुगियो। अनि त प्राध्यापक दैवज्ञराज र निजामती सेवाको जागिरे मेरो भेटघाट निकै पातलियो। पछि त्यही जागिर पनि जिल्लातिर नगई खान नपाइने भएपछि भेटघाट शून्यमै झर्यो भन्दा पनि हुने स्थितिमा पुगेको हो।
२०६३ सालको हिउँदमा मेरो समेत सक्रियतामा न्यौपाने बन्धु समाजलाई सामाजिक संस्थाको रूपमा गठन गर्ने उद्देश्यले भेला र छलफल गर्न थालिएपछि उहाँ बिरामी हुँदाहुँदै पनि हरेक भेलामा सहभागी हुने गर्नुहुन्थ्यो। उहाँ पक्षाघातको बिरामी हुनुहुन्थ्यो, हिँड्न लठ्ठी र साथीको टेवा चाहिने, अनि बुझ्न गाह्रो हुने र गाह्रो पर्दै बोलिएको जस्तो बोली थियो। तथापि उहाँको सशरीर उपस्थिति बन्धुत्वप्रतिको अनन्य निष्ठा र ममताको प्रतीक लाग्थ्यो, जुन हाम्रा लागि प्रेरणाको कुरो थियो। बन्धुहरू संगठित हुनुपर्ने अनि वंशावली लेखन र बन्धु कल्याणका कार्यहरू गरिनुपर्ने मान्यता राखेर उहाँ समेतको सक्रियतामा २०४२/४३ तिर थालिएका छलफल र जमघटहरू कुनै आकार ग्रहण नगर्दै सेलाए पनि मैले यतिखेर प्रा.दैवज्ञराज न्यौपाने न्यौपाने बन्धु समाजको प्रारम्भिक परिकल्पनाकारमध्येका एक हुन् भन्न आनाकानी गर्नु पर्दैन।
नेपाली साहित्यको कविता विधा र बालसाहित्यमा दैवज्ञराज न्यौपाने वरिष्ठताको पहिचान स्थापना गरिसकेको नाम मात्र नभई नसम्झँदा अपुरो हुने यथार्थ पनि स्थापित भैसकेको छ। नेपाली साहित्यका यस्ता निधिको रुग्णावस्था सबै साहित्यप्रेमीको चासोको विषय रह्यो, तापनि त्यो चासो नै ओखती बनेर उहाँको रोग काटिन सक्तैनथ्यो, सकेन। उहाँ जानु भयो, त्यो दैहिक अवसान नेपाली साहित्यको निम्ति अपूरणीय क्षति थियो भने हाम्रा लागि त झन् खतीमाथि खती। न्यौपाने बन्धु समाजले आफ्नो अनन्य शुभचिन्तक, बन्धुकल्याणको निम्ति प्रेरक व्यक्तित्व मात्र गुमाएन, आफ्नो वंशका गौरव, उज्ज्वल नक्षत्र अस्ताउँदाको पीडा र खालीपन समेत बेहोर्यो, बेहोर्दैछ।
न्यौपाने बन्धु समाज गठन हुनुभन्दा दुई दशक अघि वंशावली लेखनका निम्ति अग्रसर हुनेहरूमा प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो दैवज्ञराज। त्यसैगरी उहाँ न्यौपाने वंशमा नाम चलेका साहित्यकार हुनुहुन्थ्यो। नेपाली साहित्यमा उहाँको योगदान यहाँ मैले परिलाइरहनु पर्ने विषय होइन। त्यस्तो व्यक्तित्वलाई अभिनन्दन गर्ने उद्देश्य र चाहना अनुरूप बन्धुसमाजले २०६८ साउन २१ का दिन उहाँको सार्वजनिक अभिनन्दन गर्यो। त्यो दिन आफूले उहाँको रुग्ण भौतिक शरीरलाई दिएको टेवा, अन्सारले बुझ्नुपर्ने उहाँका शब्दहरू सुन्दै गरिएको कुराकानी र अभिनन्दित हुँदाको खुसी लिपिएको उहाँको न्यानो सान्निध्य नै मेरा निम्ति अन्तिम हुन पुगे। हामीले अभिनन्दन गरेपछि उहाँको प्रतिक्रिया थियो मेरो लागि आज अत्यन्त खुसीको दिन हो। म बन्धुसमाजप्रति आभारी छु। सबैलाई मेरो धन्यवाद छ।
मैले विद्यार्थीका रूपमा लामो समय उहाँसँग बिताउन पाइन, उहासँग साहित्य चर्चा र चर्या पनि हुन सकेन, अझै दुःखको कुरो त बिरामी भए पनि सिकिस्त नहुँदै फुत्तै गैदिनु भो। त्यो दिन (२०६८ पुस २ गते शनिवार) देवघाटमा चितवनका बन्धुहरूले न्यौपानेहरूको बृहत् कार्यक्रम आयोजना गर्नुभएको थियो। म लगायत बन्धुसमाजका केही साथीहरू बिहानै त्यतातिर लाग्यौँ। देवघाट पुग्नै लाग्दा एकैसाथ दुईवटा सूचना प्राप्त भए – पहिलो तरुण दलको चितवनको एउटा नेताको कारागारभित्र कैदीहरूको कुटाइबाट घाइते भै उपचार गराइरहँदा त्यसैदिन मृत्यु भएको आक्रोशमा चितवन बन्दको आह्वानका कारण न्यौपानेहरूको भेला स्थगित भएको र अर्को काठमाडौंमा प्रा.दैवज्ञराजको दुःखद अवसान भएको। पलभर पनि अलमल नगरी फर्केर आउन लाग्दा बन्दकर्ताहरूले मुग्लिन नपुग्दै हामीलाई रोके, र हामी दिनभर मुग्लिनमा बस्न बाध्य भयौं । मैले त अन्तिम यात्रामा उपस्थित भएर बिदा गर्न, श्रद्धाञ्जली चढाउन पनि सकिन।
मैले यो आलेखलाई प्रा.दैवज्ञराज न्यौपानेको साहित्यिक व्यक्तित्व र कृतित्वसँग सम्बन्धित बनाएको छैन। व्यक्तिगत रूपमा मेरा निम्ति उहाँको व्यक्तित्व चुम्बकीय थियो, बन्धुत्वको नाता थियो । थोरै दिनको भए पनि उहाँको विद्यार्थी पनि थिएँ। अचेल न्यौपाने बन्धु समाजको नेतृत्व समूहको नाइके बनाइएको छु म अर्थात् न्यौपाने बन्धु समाजको अध्यक्ष। त्यसैले बन्धु समाजका तर्फबाट उहाँलाई त्यसै आलोकमा हेर्न र श्रद्धाञ्जलि व्यक्त गर्न खोजेको हुँ।
प्रा.दैवज्ञराज न्यौपानेको त्यो दीप्त अनुहार, त्यो सौम्य मूर्ति सँधै हाम्रा निम्ति प्रेरणास्रोत बनिरहनेछ । यो भावना हो मेरो, यो भावना हो बन्धुसमाजको। यस आलेखका माध्यमबाट अमर साहित्यकार प्रा. दैवज्ञराज न्यौपानेप्रति समस्त न्यौपानेहरूका तर्फबाट र न्यौपाने बन्धुसमाजका तर्फबाट समेत हार्दिक शब्द–श्रद्धाञ्जली व्यक्त गर्दछु।
२०६९ साउन १०
झौखेल–४, भक्तपुर