दाजु दैवज्ञराज न्यौपानेलाई सम्झँदा
भोजपुर जिल्ला गोगने गा.वि.स. वार्ड नं.१ धाइपाका दैवज्ञराज न्यौपाने पिता गणेशप्रसाद र माता उमादेवीको तेस्रो सन्तानका रूपमा यस धरतीमा अवतरण गर्नु भएको हो । उहाँ मभन्दा ५/६ वर्ष अग्रज हुनुहुन्थ्यो । धेरै केटाकेटी अवस्थाको बानी व्यहोरा त मलाई जानकारी हुने कुरा भएन, किनभने म ५ वर्ष हुँदा उहाँ ११ वर्ष भइसक्नु भएको थियो । त्यो ठाउँ हाम्रो जन्मभूमि जुन समयमा उहाँले जन्म लिनु भयो त्यसभन्दा अगाडिदेखि नै राम्रो चेतनाको विकास भइसकेको न्यौपानेहरूको बाक्लो बसोबास भएको क्षेत्र थियो । त्यसैको परिणामस्वरूप शिक्षाको उज्यालो घामबाट कसैले पनि ओझेलमा पर्नु हुँदैन भन्ने मान्यताका साथ ओखलढुङ्गा निवासी पं.लक्ष्मीप्रसाद पोखरेलको अगुवाइमा वि.सं.१९९८ सालमा पाठशाला स्थापना गरी समय अनुसार संस्कृत शिक्षाको पढाइ सञ्चालन भएको र त्यसै विद्यालयमा उहाँले प्रारम्भिक शिक्षा लिनुभएको हो । नत्र त्यसभन्दा अगाडि अध्ययन गर्न अन्यत्रै जानुपर्ने बाध्यता थियो । त्यस विद्यालयले ३ कक्षासम्म पढाउने भाषा पाठशालाको स्वीकृति प्राप्त गरे तापनि गुरु पं.जयदेव अधिकारीले मध्यमासम्मको पढाइ पूरा गराउने र परीक्षाको लागि दिङ्ला, धरान वा वनारस जानुपर्ने अवस्थाको कारण उहाँ पनि केही साथीसहित दिङ्ला गई आफ्नो अध्ययनलाई निरन्तरता दिन लाग्नु भएकै समयमा विद्यार्थी संघको निर्वाचनमा उहाँ सभापतिमा निर्वाचित हुनुभयो । दिङ्ला पाठशालामा प्रशस्त गुठी जग्गा भएको र त्यसमा गोगनेका न्यौपानेहरूले पनि गुठी राख्न साल्माबेसीको जग्गा दिएका थिए । त्यही जग्गाको आम्दानीबाट विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत दिने प्रचलन थियो । त्यसको आम्दानी खर्चलाई पारदर्शी बनाउन उहाँले समितिसँग संघर्ष पनि गर्नु भएको थियो ।
पछि अध्ययनकै सिलसिलामा पश्चिम दाङ गएर अध्ययन गर्नुभयो । दाङमा अध्ययनरत रहँदा विद्यालय बिदाको समयमा गाउँ घुम्न जान भनी आफ्ना सहपाठी साथीहरूसँग घुम्दै जाँदा एकदिनको बसाइको क्रममा उहाँले पाउनु भएको घर परिवारको वास्तविकतालाई आधार मानी सम्झनाको धरातलबाट प्रकाशित भएको थियो । त्यसभित्र “ती रोइन् त्यसरी किन” ज्यादै सुन्दर तथा हृदयस्पर्शी काव्य समाविष्ट छ ।
दाङको पढाइ समाप्त गरी उच्च शिक्षा अध्ययनका लागि उहाँ काठमाडौं जानुभयो र आफ्नो पढाइलाई निरन्तरता दिँदै विद्यार्थी राजनीतिमा पनि सक्रियतापूर्वक लाग्नुभयो । झापाको महेशपुर तथा नवलपरासीको सुस्ता क्षेत्रको नेपाली भूमि भारतीय पक्षबाट अतिक्रमण भएको विरोधमा विद्यार्थी संघ सङ्गठनले संघर्षका कार्यक्रम घोषणा गरी अतिक्रमित नेपाली भूमि फिर्ता हुनुपर्छ, भारतीय मिचाहा प्रवृत्तिको अन्त्य हुनुपर्छ भनी २०२१ सालमा आन्दोलन गर्दै गरेको अवस्थामा त्यसबेलाको निर्दलीय पञ्चायती सरकारको निर्देशनमा विद्यार्थी आन्दोलन दबाउने क्रममा तत्कालीन डि.आइ.जी.नारायण सिंहको त्रूफरताले पराकाष्ठा नाघेको हुँदा आन्दोलनलाई देशव्यापी बनाउने सन्दर्भमा केही विद्यार्थी नेताहरू काठमाडौं बाहिर जिल्लामा खटिएर जाँदा उहाँ आफ्नो जिल्ला भोजपुर खटिई जानुभएको थियो । त्यस समयमा हामी केही युवाहरू विद्योदय हाइस्कूल भोजपुरमा अध्ययनरत थियौँ । ३/४ दिन स्कूल बिदा भएकाले सबैजना घर गएका थियौँ । उहाँले हामीमध्ये केहीलाई विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रकाश पार्दै आन्दोलनसम्बन्धी धेरै कुरा जानकारी गराउनु भएको थियो । एकदिन उहाँले अध्ययन सुरु गर्नु भएको विद्येश्वर संस्कृत पाठशाला गोगनेमा गई उहाँहरूको सक्रियतामा स्थापना भएको वाचनालय तथा पुस्तकालयमा साथी स्थानेश्वर खतिवडा (जो त्यही विद्यालयमा शिक्षक हुनुहुन्थ्यो) सँग बसेर गफ गर्ने सिलसिलामा पञ्चायती व्यवस्था र राजा महेन्द्रको विरोध एवं चलिरहेको विद्यार्थी आन्दोलनका विषयसँग सम्बन्धित कुराहरू २/३ घण्टासम्म चलिरहे । त्यस अवस्थामा हामी २/४ जना साथी पनि त्यहीँ थियौँ ।
हाम्रो हाइस्कुलको छुट्टी समाप्त भएपछि हामी भोजपुर फर्कियौँ । भोलिपल्ट खाना खाएर स्कुल गयौँ । कक्षामा पढाइ चलिरहेको थियो । अचानक दिउँसो १ बजेतिर प्रहरी गएर म र बलराम न्यौपानेलाई तत्कालीन सहायक अञ्चलाधीशको कार्यालय लिएर गयो । त्यहाँ पुगेपछि भित्र सहायक अञ्चलाधीशको कार्यकक्षमा हामीलाई पनि राखे, जहाँ दाजु दैवज्ञराज, स्थानेश्वर खतिवडा, कविराज न्यौपाने, परमेश न्यौपानेलाई पनि देख्यौँ । त्यतिबेला हामीलाई किन ल्याएको भन्ने कुरा केही थाहा थिएन । पछि बुझदै जाँदा थाहा भयो कि हामीमध्येकै साथीको पोलबाट विद्यार्थी आन्दोलन गर्न दाजु दैवज्ञले हामीलाई भड्काएको र स्थानेश्वर खतिवडाले बिँडी खाँदा राजा महेन्द्रको फोटोमा पोलेको कुरा बुझन रहेछ । कविराज र परमेश चाहिँ गोगने पाठशालाका विद्यार्थी थिए । त्यस दिनभरि सहायक अञ्चलाधीश युगनाथ शर्मा आउनु भएन । ५ बजेसम्म हामीलाई त्यहीँ राखियो, कार्यालय बन्द भएपछि सैनिक क्याम्पभित्र रहेको अञ्चलाधीश आवास गृह लगियो, केही क्षणको पर्खाइपछि सहायक अञ्चलाधीश आउनुभयो । एकछिन दाजु दैवज्ञराजसँग कुराकानी गरी हामीलाई— अँ भाइहरू पाठशालामा के के भएको रे ? जस्ता केही प्रश्न गर्नुभयो, हामीले आफ्नो कुरा दोहार्याइरह्यौँ –हामीलाई केही थाहा छैन । बेलुका ८ बजेतिर म र बलरामलाई केही सम्झाउँदै चेतावनी सहित छाडियो । हामी डेरा गयाँै । कविराज न्यौपाने जो त्यसबेलाको जिल्ला पञ्चायत सदस्य, खगेश्वर न्यौपानेका छोरा हुन्, उनलाई राती १० बजे छाडियो । परमेश न्यौपानेलाई भोलिपल्टमात्र छाड्ने काम भयो । दाजु दैवज्ञराज र स्थानेश्वर खतिवडालाई कारागार चलान गरी ७५ दिन भोजपुर कारागारमा राजबन्दी बनाएर राखियो ।
स्कुल छुट्टी भएको दिन हामी भेट्न जाने गथ्यौँ । तर हत्तपत्त भेटै गर्न नदिने, दिए पनि थोरै समय मात्र कुरा गर्न दिने गर्थ्यो, जेल प्रशासनले । संयोगवश हाम्रा एकजना भाइ योग्यराज न्यौपाने त्यहीँ जागिरे भएको हुनाले उनी त्यहाँ भएको अवस्थामा भने हामी सजिलै भेट गर्ने, गफ गर्ने गर्थ्यौँ । दाजु दैवज्ञराजको साहित्यप्रतिको झुकाव सानैदेखि रहेको थियो । राम्रा–राम्रा गीत, कविता लेखेर हामीलाई सुनाउनुहुन्थ्यो । भोजपुर कारागार बस्दा कालकोठरी भन्ने पद्य कविता रचना गर्नु भएको थियो । जुन कविताबाट त्यस समयको कारागारको अवस्था प्रस्ट रूपमा झल्कन्थ्यो । दाजु र विष्णु कुसम एकपटक भोजपुरका पुराना कवि र कविताको खोजीमा जानुभई गोगनेको रमिते डाँडामा पुगी साहित्य गोष्ठी गर्नुभएको थियो । त्यस गोष्ठीमा मैले पनि एउटा आफ्नो कविता र एउटा मेरी आमा स्वर्गीय विष्णुकुमारीले त्यस समयको गाउँ समाजमा महिलाहरूले भोग्नु परेका पीर–व्यथाको श्लोक वाचन गरेको थिएँ । जसको केही अंश यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानी उल्लेख गरेको छु ः—
खान्टाङ्गको उकालो बाटैमा खरुकी
जेठानीका पीरले फाल हानी मरूँ कि ?
बाबाका घरैमा सुखले बसेकी
यहाँ आई काममा पटुकी कसेकी ।
बाँदर रुङ्न पर्ने काफलनागी गई
घाँस काट्नु पर्ने भदौरेमा आई
भोक लाग्यो भने हरिया मकै भाँच्यो
लुकी खानु पर्ने त्यही पनि काँचो ।
बुहारीहरूलाई यस्तै शासन हो कि ?
कहिलेसम्म बाँच्नु यस्तो व्यथा बोकी ??
यसरी साहित्यप्रति समर्पित दाजु दैवज्ञराज न्यौपानेको अल्पायुमै भएको निधनले हामी परिवारजनहरू त मर्माहत भएकै छौँ, साथै देशले नेपाली साहित्याकाशको एउटा ऊर्जावान्, प्रतिभा र बौद्धिक व्यक्तित्व गुमाएको छ ।
अन्त्यमा, दाजुको सम्झनामा श्रद्धाञ्जलिका यी हरफहरू लेख्नुपर्छ भन्ने मलाई पटक्कै लागेको थिएन तर निष्ठुरी दैवको लीला यस्तै रहेछ । दाजु दैवज्ञराज हाम्रो हृदयमा सदा सम्झनलायक भएर रहनुका साथै नेपाली साहित्यको विशेष गरेर पद्यक्षेत्रमा सदा सर्वदा अमर रहनु हुनेछ भन्ने कामनाका साथ यो लेख मार्पफत श्रद्धाञ्जलि अर्पण गर्दछु ।
भोजपुर, गोगने
हालः चन्द्रगढी–६, झापा