हार्दिक श्रद्धासुमन
पहाडमा छँदा धेरैजसो मेरो घरको माथि रापचे चुचुरोबाट राति कोशी व्यारेज वीरपुरको बिजुली बत्तीको चमचमी हेर्न हामी शिखर आरोहण गरेर बेला बखत त्यहाँ जाने गर्थ्यौँ । माथि उचाइमा पुगेर तल समतल भूभाग हेर्दा कति राम्रो देखिन्छ । हवाई मार्गबाट यात्रा गर्दा तल भूतलतिर हेर्दा हरियाली खोला नदीनाला कति सुन्दर देखिन्छन् । तर उचाइ प्राप्त गर्न सक्नुपर्छ । पृथिवीको गुरुत्वाकर्षणले तलतिर तानिरहन्छ । तर उचाइ प्राप्त गर्न सकिरहेको हुँदैन । प्रथम अन्तरिक्ष यात्री यूरी गागरिनले अन्तरिक्षमा पुगेर तलतिर हेर्दा सपाट गोलवद्ध भएको भूगोल अलास्का र साइबेरिया मिलेर गोल भएर बसेको देखेछन् । भूगोल यति मिलेर बसेको छ । हामी मानवीय सभ्यताको यसरी उचाइ प्राप्त गरेर यहाँ आइसक्दा पनि किन रुसी—अमेरिकी भाइभाइ भएर बस्न नसक्ने, विश्वबन्धुत्वको विशाल हृदय लिएर । बसुधैव कुटुम्बकम्को भावनाबाट किन अगाडि नबढ्ने भनी सन्देश दिएछन् ।
वास्तवमा मानिसले जति उचाइ प्राप्त गर्दै जान्छ, त्यति नै उसले दूर–सुदूर क्षितिज अवलोकन गर्दै जान्छ र ऊ एउटा उच्च व्यक्तित्व (Towering Personality) को रूपमा स्थापित हुन पुग्छ । दैवज्ञराज न्यौपानेले त्यस्तै उचाइ प्राप्त गर्दै जाँदा नै सुदूरवर्ती क्षितिजको अवलोकन गरेका छन् । जतिवेला म दैवज्ञराज न्यौपानेको सान्निध्यमा पुगँे, त्यति वेला छिरिङ्ग तेज्जिङ्ग शेर्पाले सगरमाथा आरोहण गरिसकेका थिए । सगरमाथाको शिखरबाट हेर्दा उनले कैलाशकूट मानसरोवरबाट निःसृत भएर प्रवाहित भएको बाढी नेपालतिर अरुण नदी भएर बगेको र भारत अरुणाञ्चलतिर ब्रह्मपुत्र नदीको नामले प्रख्यात भएर बंग्लादेश हुँदै हिन्द महासागरमा समाहित हुन पुगेको देखेछन् । विश्व भूगोलको यति ठुलो भूभाग ओगटेर बसेका नेपाल, चीन, भारत, बंग्लादेश एकै हिन्द महासागरीय क्षेत्रका भाइभाइ किन नहुन,े सुखदुःखका साथीभाइ भएर बस्नुपर्छ भन्ने सन्देश दिएछन् । यी सगरमाथा आरोहण गर्ने प्रथम पुरुष हुन् । विश्वको सर्वोच्च शिखर सर्वप्रथम आरोहण गर्दा आफँै त उच्च व्यक्तित्व (Towering Personality) हुने नै भए । सगरमाथा चुचुरामा नेपालको राष्ट्रिय झन्डा फहराइँदा नेपाललाई पनि उनले उच्च हैसियत दिलाए ।
दैवज्ञराज न्यौपानेको सान्निध्यमा पुगेपछि हामी पनि भोजपुर गोगनेको शिखर टयाम्के आरोहण गर्न पुग्छौँ । यो टयाम्के डाँडो दश हजार फिटको उचाइमा छ । त्यहाँका भेडा गोठालाहरूले भने — यहाँको चुचुरोबाट काठमाडौँको धरहरा देखिन्छ । प्रयास गरियो । मेरो हाइटै पुगेनछ, देख्न सकिन । बादलका प्वालबाट चियाएर देख्न सकिन्छ, दैवज्ञ दाइले भन्नुभएको थियो । दैवज्ञ दाइको आँखामा दिव्य दृष्टि भएरै होला वहाँले धरहरा चियाउन सक्नुभयो । हुन त दैवज्ञ दाइको, शारीरिक उचाइ पनि राम्रै थियो । तर त्यति मात्र पर्याप्त थिएन धरहरा ठम्याउन, उहाँको दिव्य—दृष्टि—व्यक्तित्व पनि थियो । ज्योति या प्रकाशपुज्ज नै चाहिन्छ, टाढाको वस्तु ठम्याउन । सुदूरवर्ती क्षितिजसम्म उहाँ पुग्न सक्नुभयो । उहाँको ज्ञानचक्षुले वैद्धिकता प्राप्त गर्न सक्यो । जो कोही सबैले प्राप्त गर्न कहाँ सकिन्छ र झ् बुद्धले राजपाट त्यागेर एकान्तमा गई बुद्धत्व प्राप्त गरे । गोगने भोजपुर जिल्लाको एउटा सुसंस्कृत र सुन्दर गाउँ हो । जताततै खोला, नदीनाला, हरियाली, सप्तजलधारा, शिवालय, संस्कृत पाठशाला, जहाँ तीजमा ठुलो मेला लाग्दछ । महिलाहरूको तीजमा त्यति ठुलो मेला पछि अर्घाखाँचीमा बाहेक मैले अन्त कतै देखिनँ । गोगने ब्राह्मण समाजको न्यौपानेहरूको ठुलो एवं सुन्दर गाँउ हो । भोजपुरको दावाँ गाउँमा विक्रम सम्वत् १९९९ मा दैवज्ञराज न्यौपानेको जन्म भएको हो । झन्डै ७० वर्षको उमेरमा गत २०६८ साल पौष २ मा उहाँको निधन भयो । एकवर्ष पहिले मैले दैवज्ञ दाइलाई काठमाडौँ गैरीगाउँको घरमा गएर भेटेको थिएँ । उहाँले मलाई देखेर अश्रुधारा बगाउनु भयो । उहाँको बोल्ने प्रयास सफल भएन । उहाँको नमस्कार आदानप्रदान गर्नै नसक्ने स्थिति थियो । अश्रुविन्दु बगाएर विदाइ दिनु भयो । हाम्रो २०१४ सालमा गोगने पाठशालामा भेट हुँदा समवयका जस्तै थियौँ । उहाँ गोगने पाठशालाबाट पहिले दिङ्ला र पछि दाङतिर लाग्नुभयो । २०१५ सालको संसदीय चुनावपछि म बनारस गएँ । दसौँ वर्ष बनारस बसी विश्वविद्यालयको स्नातक स्तरीय शिक्षा सकेर काठमाडौँ गई लोकसेवा पास गरी अधिकृत भएपछि दैवज्ञ दाइसँगै बस्ने मौका मिल्यो । एउटै घरमा बस्ने, एउटै भान्सामा खाने गरेर बसियो । हाम्रो खाने, बस्ने, रहनसहन दैवज्ञ दाइकै रेखदेखमा संचालन हुने गर्थ्यो । उहाँले प्राध्यापन गर्न थालिसक्नु भएको थियो । उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो । नेता कार्यकर्ताहरूको आवतजावत भैरहने हुँदा हामीलाई पनि सहभागी गराउनुहुन्थ्यो । एक प्रकारले त्यहाँ दैवज्ञ दाइ हाम्रो अभिभावक जस्तै हुनुहुन्थ्यो । उहाँको संगतले मैले फेरि कविराज न्यौपाने सरसँगै नोट आदि पढेर एम.ए. पास गरँे । ती हाम्रा ३/४ वर्ष सँगै बसेका क्षण अविस्मरणीय छन् ।
जो वीर प्राचीन कालदेखि वर्तमान हुँदै चिर भविष्यसम्म विचार, दर्शन र चिन्तनमा रहिरहन्छ त्यो नै चिरन्तन हो । तर चिर भएर पनि नूतन भइरहन्छ । यो शाश्वत हो । विश्वजनीन हो । सार्वजनीन सत्य हो । अव्राहम लिंकन, वी.पी. र बुद्धका चिन्तन चिरन्तन छन् । शान्ति, स्वतन्त्रता र प्रजातान्त्रिक दर्शनसित दैवज्ञ दाइ अनुप्लावित हुनुहुन्थ्यो । सहृदयी उदारमना त्यो व्यक्तित्वको छाप मेरो अन्तस्करणमा परेको छ । उहाँ ट्याम्केबाट चियाएको काठमाडौँको धरहराको उचाइमा स्थापित हुनुभयो । साहित्यिक समाजमा, प्राध्यापक समाजमा, विद्वत् वरेण्य समाजमा दैवज्ञराज न्यौपाने एक स्तम्भ हो । यद्यपि पाञ्चभौतिक शरीर उहाँले त्याग्नुभयो । तर उहाँ नेपालको विशिष्ट धरहरा स्तम्भका रूपमा चिरन्तन रहिरहनुहुनेछ । म कोशी ब्यारेज वीरपुरसँगैको विराटनगर सहरको बिजुलीको चमचमीमा बसेर दैवज्ञ दाइप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । अस्तु ।
२०६९ असार,
विराटनगर,
स्वच्छन्दतावादी सौन्दर्यवादी चेतनाका बिर्सिनै नसकिने प्रतिभाको नाउँ हो दैवज्ञ । मानवतावादी उदात्त चेतनाको नाउँ हो दैवज्ञ । रसवादी परम्पराका अमर कविको नाउँ हो दैवज्ञ ।