कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : मेरा संस्मरणका पानामा

डा. रामदयाल राकेश

वरिष्ठ कवि दैवज्ञराज न्यौपानेज्यूसँग मेरो भेट सर्वप्रथम कहिले र कहाँ भयो त्यो भन्न गाह्रो, त्यो सम्झन झन् गाह्रो र अहिले उहाँको संस्मरणमा केही पङ्क्तिहरू लेख्न झन् मुस्किल भइराखेको छ । जीवनकालमा भेट्दा र कुराकानी गर्दा कहिले खुसी लाग्छ, कहिले दुःख हुन्छ र कहिले अन्यमनष्क एवं अन्योल अवस्थाको सृजना हुन्छ । तर दैवज्ञराजसँग भेट्दा जहिले पनि उहाँको भव्य र दिव्य अनुहार दीप्तिमय देखा पर्दथ्यो । देदीप्यमान, गोरो, अग्लो व्यक्तित्वका धनी दैवज्ञराज सधैं प्रसन्न मुद्रामा भेटिनुहुन्थ्यो ।

म प्रातःकालीन भ्रमणमा निस्कँदा उहाँ नयाँ बानेश्वरस्थित आफ्नो निवासस्थानबाट बानेश्वर क्याम्पस जाने क्रममा बाटामा भेटिनुहुन्थ्यो । एकछिनका लागि भए पनि भलाकुसारी हुन्थ्यो र दिनभरिका लागि त्यो प्रसन्नता, त्यो खुसी कायम रहन्थ्यो । कहिलेकहीँ नयाँ बानेश्वरमा अवस्थित ठुलो खरीको बोटमा भेट्दा उहाँको विशाल–विराट् व्यक्तित्व वटवृक्षजस्तो लाग्दथ्यो । त्यो खरीको भीमकाय बोटलाई ढपक्कै ढाकेर भीमसेनगोलाको बीच बाटामा उभिएका दैवज्ञज्यूसित एकछिनको लागि भेट्दा अति प्रसन्नताको अनुभव हुन्थ्यो । त्यसपछि उहाँ बानेश्वर क्याम्पसतिर लाग्नुहुन्थ्यो भने म पंखज्यूको पेपर स्टलतिर पेपर पढ्न र किन्न । एकाबिहानै ताजा खबरको लागि म प्रातः भ्रमणपछि पेपर स्ट्यान्डमा जाने गर्दथँे ।

एकदिन रेडियो नेपालको साहित्यिक कार्यक्रममा मेरो एउटा रेडियो वार्ता प्रसारित भएको थियो । विषय थियो– मिथिलाञ्चलमा प्रतिवर्ष नयाँ वर्षको अवसरमा मनाउने जुडशीतल र सतुआइन पर्व । मैले भनेको थिएँ– चनाको सत्तू पिउँदा सो अवसरमा अति आनन्दप्रद हुन्छ र मन–प्राणसहित सम्पूर्ण शरीर शीतल हुन्छ । उहाँले सो वार्ता सुन्नु भएको रहेछ । माइतीघरमा उहाँसँग जम्काभेट भयो । त्यस वार्ताका बारेमा कुरा गर्दा उहाँलाई पनि मन परेको रहेछ । मलाई उहाँको प्रतिक्रिया सुन्दा अवर्णनीय आनन्दको अनुभूति भयो । त्यसवखत रेडियो नेपालको त्यो साहित्यिक कार्यव्रफम अति नै लोकप्रिय मानिन्थ्यो । सञ्चालक हुनुहुन्थ्यो– दाहाल यज्ञनिधि ।

मेरो छोरो प्रशान्त एस.एल.सी.को जाँचमा सम्मिलित भएको थियो । मैले उहाँसित सरसल्लाह गर्नका लागि समय मागेको थिएँ । उहाँले घरमा आउनुस् है भन्नु भो । मैले भने– घर थाहा छैन । उहाँले भन्नु भो– म प्रा.डा. वासुदेव त्रिपाठीको छिमेकी हुँ । म एकदिन उहाँको घरमा गएँ । बडो आत्मीयता र सौहार्दपूर्ण वातावरणमा चिया खाँदै कुराकानी गर्‍यौ । उहाँले काम लाग्ने सल्लाह दिनु भयो । म उहाँसित कृतज्ञ भएँ । उहाँ सायद त्यसबखत पाटन क्याम्पसमा पढाउनुहुन्थ्यो । त्यसपछि उहाँ कीर्तिपुर केन्द्रीय क्याम्पसमा सरुवा भएर जानुभो । अब चाहिँ हाम्रो निरन्तर भेटघाट कीर्तिपुरमा नै हुन थाल्यो । तदनन्तर म कीर्तिपुर क्याम्पस छाडेर निर्वाचन आयोगमा सहसचिवको कार्यभार सम्हाल्नका लागि स्थानान्तरित भएर आएँ । अब चाँहि हाम्रो भेटघाट पेफरि शान्तिनगर नयाँ बानेश्वरमा मात्र सीमित हुन पुग्यो ।

एकदिन प्रातःभ्रमणकालमा नै कवि शैलेन्द्र साकारसँग ठिक उहाँको घरको अगाडि अवस्थित त्यसै भीमकाय खरीको बोटको विशाल शीतल छायामुनि भेट भयो । उहाँले मलाई भन्नु भयो– एउटा कुरा थाहा छ ? मलाई थाहा थिएन । उहाँले भन्नु भयो– दैवज्ञराज न्यौपाने अस्ति एक्कासि लड्नु भो र उहाँलाई अस्पताल लगियो । ब्लडप्रेसर हाइ भएर लड्नु भएको रहेछ भनेर थाहा पाएँ ।

म राष्ट्रिय मानव अधिकार आयोगमा आयुक्त नियुक्त भएको थिएँ । म पनि कति चोटि लडिसकेको थिएँ तर ठुलो खरीको बोट नजिक होइन सानो खरीको बोट नजिक । म लड्दा सोभैफ सडकमा पुगेको थिएँ तर कसैले उठाएको थिएन । आपैंफ उठ्दा रक्ताम्मे भएको थिएँ । मेरो प्रेसर एकदम कम भएको थियो । सातवटा टाँका टिचिङ अस्पतालमा भर्ना हुँदा लगाइएको थियो । त्यसपछि म डा.जगदीश अग्रवालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित क्लिनिकमा इलाज गराउनका लागि गएको थिएँँ । म एक्लै थिएँ । दैवज्ञजी श्रीमतीसित जानु भएको थियो । उहाँले मलाई बधाई दिनु भो र मेरो नियुक्तिले उहाँ धेरै प्रसन्न र सन्तुष्ट हुनुहुन्थ्यो । मैले सोधेँ– कसरी लड्नु भो ? उहाँले भन्नुभो हाइ ब्लड प्रेसरले गर्दा । मैले सोधें औषधि खाइराख्नु भएको थिएन । उहाँले भन्नु भो– औषधि त खाइराखेको थिएँ कुन्नि त्यसदिन बिर्सें कि ? उहाँले पूरै विश्वस्त भएर भन्न सक्नु भएन । कहिले काहीँ त जो पनि औषधि खान बिर्सन्छ तर उहाँलाई त प्यारालाइसिसको आक्रमण भएको रहेछ । उहाँ गैरीगाउँस्थित नयाँ घरमा बस्न थाल्नु भएको रहेछ । मलाई उहाँको नयाँ घर थाहा थिएन । एकदिन वाग्मती नदीको किनारमा उहाँ आफ्नी श्रीमतीको सहारा लिएर घुम्दै हुनुहुन्थ्यो । नमस्कारपाती भयो र सञ्चो बिसञ्चोको कुरो पनि भयो । उहाँ आफ्नै घरतिर जान लाग्नुभएको थियो र स्वास्थ्यस्थिति सन्तोषजनक लागेको थियो ।

उहाँलाई सम्मानित गर्नका लागि राष्ट्रिय नाचघरमा एउटा भव्य समारोहको आयोजना गरिएको थियो । म पनि सो समारोहमा उहाँलाई बधाई दिन पुगेको थिएँ । उहाँ मुस्कुराइराख्नुभएको थियो । स्पष्ट बोल्न सक्ने स्थितिमा हुनुहुन्नथ्यो । म पिछडिएको समुदाय उत्थान विकास समितिमा उपाध्यक्ष पदमा नियुक्त भएको थिएँ । यो नयाँ अफिस भएकाले यसको कार्यालय स्थानीय विकास मन्त्रालयमा नभए पनि म सधैंँ जाने गर्दथें । एकदिन मन्त्री पूर्णकुमार शेर्माको कार्यालयमा श्रीमती सुधा न्यौपानेसँग भेट भयो । उहाँ आफ्ना श्रीमान्को स्वास्थ्यस्थिति मन्त्रीलाई अवगत गराउँदै हुनुहुन्थ्यो । मैले पनि थपेँ– वास्तवमा उहाँका श्रीमान् वरिष्ठ कवि हुनुहुन्छ तर अहिले उहाँको स्वास्थ्यस्थिति एकदम नाजुक छ । मेरो र सुधा न्यौपानेज्यूको दिनहुँ भेटघाट हुन थाल्यो । उहाँ दैवज्ञज्यूलाई एकपल्ट इलाज गराउने सिलसिलामा दिल्ली लिएर जानुभएको थियो । सुधाज्यूसँग सोध्दा अहिले स्थिति सन्तोषजनक छ भन्नुभयो ।

केही समयपछि त सुधाज्यूलाई नै पिछडिएको समुदाय उत्थान विकास समितिको कार्यकारी निर्देशकको पदमा मन्त्रालयले तोकिदियो । अब हाम्रो दिनहुँ भेटघाट हुन थाल्यो । हामी सँगै चिया खान्थ्यौंँ र भलाकुसारी हुन्थ्यो जसमा दैवज्ञज्यूको स्वास्थ्यस्थितिका बारेमा सोधनी गर्ने गर्दथें । समयको र भाग्यको चक्र न हो । एकदिन म उपाध्यक्षको पदबाट मुक्त भएँ । सुधाज्यूसँग सधैं सोध्दथेँ फोनमा– मेरो खोसुवा पत्र मेरो घरको ठेगानामा पठाइदिनुस् । मेरो घरको ठेगाना सर्लाही थियो । उहाँले सो पत्र मेरो सर्लाहीस्थित सिसौटिया गाउँको ठेगानामा पठाइदिनु भयो । म चाँहि काठमाडौंको घरको ठेगानामा पत्रको प्रतीक्षा गरिरहें तर पत्र पुगेको थियो मेरो गृह गाउँको ठेगानामा ।

मैले सुधाज्यूलाई अन्तमा के अनुरोध गरेँ भने– त्यो पत्रको एक प्रति मलाई चाहियो । तपाईँ त्यो प्रति आफ्नो घरमा लिएर आउनुस् । म भोलिपर्सि तपाईँको घरमा आएर लिउँला । उहाँले त्यसै गर्नु भो । म उहाँको गैरीगाउँस्थित घरको ठेगाना सोध्दै एकदिन प्रातःभ्रमणमा पुगेँ । दैवज्ञज्यूको कोठामा नै बसेँ । दैवज्ञज्यूसँग कुराकानी गरेँ । सुधाज्यू चिया लिएर आउनु भो । हामीले सँगै चिया खायौं । अझ पनि दैवज्ञज्यू लेख्ने स्थितिमा र मुद्रामा हुनुहुन्थ्यो । उहाँको कोठाको झयालबाट बानेश्वर क्याम्पसको बडेमानको बोर्ड देखियो । मैले उहाँलाई भनेँ– तपाइँको क्याम्पसको बोर्ड त यहीँबाट देखिन्छ नि । उहाँले बडो निरीह भएर भन्नु भो– बोर्ड त देखिन्छ तर त्यहाँसम्म म जान सक्दिन । मलाई पनि लाग्यो– मानिस कति निर्बल, निरीह र निस्सहाय हुँदो रहेछ आफ्नो जीवनकालमै, त्यति नजिक भएर पनि उहाँ क्याम्पस जान सक्ने स्थितिमा हुनुहुन्न । मानिसको जीवन कस्तोबाट कस्तो हुँदो रहेछ झ् भाग्यको विडम्बना झ्झ् क्याम्पसको त्यस बोर्डले उहाँलाई चिड्याइराखेको थियो जस्तो लाग्यो मलाई । म स्तब्ध थिएँ, निःशब्द थिएँ । सुधाज्यूबाट पत्र लिएर म घर आएँ । दैवज्ञज्यूको असामयिक निधनपछि उहाँको घरमा गएँ । सुधाज्यू पछुताउँदै हुनुहुन्थ्यो । अवकाश भएपछि श्रीमान्को सेवा सुश्रूषा गर्ने कत्रो अठोट गरेकी थिएँ । अवकाश प्राप्त गर्नासाथ उहाँको निधन भयो । मानिसको धोको कहिल्यै पूरा हुँदैन । सुधाज्यूप्रति संवेदनशील हुँदै घर फर्कें ।