स्मृतिमा : दैवज्ञराज न्यौपाने
साउन आयो रिमझिम गरी, परदेशी आएन
चरीले गायो एकान्त पाखा, मनले गाएन ।
साउन महिना आयो कि कवि तथा गीतकार दैवज्ञराज न्यौपानेको सम्झना स्वतः मेरो स्मृतिमा भुफल्किन्छ । उनले रचेको र मैले रेडियो नेपालमा रेकर्डिङ्ग गरेको यो गीत एकताका रेडियोमा खुब बज्थ्यो र लोकप्रिय भएको थियो । यस गीतलाई नेपाल टेलिभिजनले छायाङ्कन गरेपछि यसको लोकप्रियता झनै बढ्यो । यस गीतले म वरिष्ठ कवि तथा प्राध्यापक दैवज्ञराज न्यौपानेसित जोडिन पुगेँ । यस गीतमा सङ्गीतकार तथा गायक राम थापाले सङ्गीत भर्नुभएको थियो । दैवज्ञराज न्यौपानेजी मेरा अग्रज साहित्यकार हुनुहुन्छ । म उहाँलाई सधैँ आदर गर्छु । उहाँको मिलनसारिता, सद्व्यवहार र मित्रवत् आचरणले मलाई सधैँ उहाँप्रति आदरभाव जाग्छ ।
उहाँसित मेरो २०३४/०३५ सालतिर परिचय भएको हो – एउटा साहित्यिक कार्यक्रममा । राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा मलाई गोरखा जाने सौभाग्य प्राप्त भयो । गोरखामा “कविता यात्रा” आयोजना गरेको थियो, प्रतिष्ठानले । त्यसताका मैले कथाका साथसाथै कवितामा पनि सक्रियताका साथ कलम चलाइरहेकी थिएँ । मेरा कथा तथा कविताहरू पत्रपत्रिकामा प्रकाशित भइरहेका थिए । कवि गोष्ठीहरूमा पनि म उत्साहका साथ भाग लिन्थेँ । म साहित्यिक जगत्मा स्थापित हुने क्रममा थिएँ । त्यसबेलाको गोरखाको कवितायात्रामा राष्ट्रकवि माधव घिमिरे, विजयबहादुर मल्ल तथा अन्य वरिष्ठ कविहरूसित सहभागी हुन पाउनु मेरा लागि साह्रै गर्वको कुरा थियो । त्यहीँ उहाँसित मेरो राम्रो चिनापर्ची भयो । मेरा स्मृतिमा अभैफ ताजा छ– गोरखाको पुरानो दरबारमा अन्य वरिष्ठ कविहरूका साथमा मैले पनि कविता पाठ गरेकी थिएँ । उपकुलपति माधव घिमिरे तथा सदस्यसचिव विजयबहादुर मल्लसित म त्यति बेलादेखि नजिकिन पुगेकी थिएँ । उहाँहरूले मलाई प्रोत्साहित गर्नुभएको थियो, साहित्यमा निरन्तर अगाडि बढ्नका लागि ।
गोरखा हामी साँझपख पुग्यौँ । कवितामा सहभागी कवि तथा साहित्यकारहरू गोरखा बिसौनी होटलमा बसेका थियौँ । त्यसदिन खाई पिई सुत्यौँ । भोलिपल्ट चारै बजे मेरा आँखा खुले । बिहानको नित्यकर्म सकी म बाहिर निस्केँ, होटलमा मर्निङ्ग वाकका लागि । बाहिर निक्कै हुस्सु लागेको थियो र सूर्योदय भइसकेको थिएन । गोरखा बिसौनीबाट म बसस्टपतिर उकालो लाग्दै थिएँ– मैले अघिअघि दैवज्ञ सरलाई हिँडिरहेको देखेँ । मैले अभिभादन गर्दै “शुभप्रभात” भनेँ । उहाँले पनि मुस्कुराउँदै “शुभप्रभात” भन्नुभयो । तपाईँ पनि बिहानै उठ्नु हुन्छ ? –उहाँले सोध्नुभयो । “बिहानै उठ्ने बानी छ मेरो” – मैले प्रत्युत्तर दिएँ । त्यसपछि हामी साथसाथै हिँड्न थाल्यौँ । केहीबेर हिँडेपछि नगिचै देखिने पहाडको पछिल्तिरबाट बालसूर्य बामे सर्दै आकाशतिर सररर सरेको दृश्य देखेर म टक्क अडिएँ र मुग्ध भएर त्यस चित्ताकर्षक दृश्यलाई आँखाबाट उतार्दै हृदयमा कैद गरेँ । मेरा पाइला सूर्य आकाशमा पूर्ण लालिमा छरेर नभुफल्किएसम्म सर्दै सरेनन् । वरपरका डाँडाहरू झलमल्ल भए । मैले दैवज्ञजीतिर हेर्दै भनेँ–“हेर्नुस् त, कति मनमोहक दृश्य...” उहाँ पनि म नजिकै उभिएर त्यही दृश्यमा हराउनु भएको रहेछ । हेर्दा हेर्दै सूर्य आफ्नो पूर्ण प्रकाश सहित आकाशमा एकछत्र राज गर्दै उदाए । त्यसो त काठमाडौंबाट पनि धेरै पटक सूर्य उदाएको दृश्य नदेखेकी कहाँ हो र ? तर आँखै अगाडि धेरै नजिक पहाडको ओतबाट सूर्य बिस्तारै निस्केर आकाशतिर सर्दै उदाएको मैले जीवनमै पहिलोचोटि देखेकीले साह्रै रोमाञ्चित भएकी थिएँ ।
“क्या अलौकिक झ् चित्ताकर्षक दृश्य हगि ?” – मैले हर्षित हुँदै उहाँलाई हेर्दै भनेँ । पद्माजी, तपाईँ हामी भावुक भएकाले यस्ता प्राकृतिक सौन्दर्य र दृश्यहरूले हामीलाई प्रभाव पार्छन् । तपाईँसित पनि कवि हृदय भएकाले तपाईँ यति विघ्न पुलकित हुनुभएको हो । साधारण मान्छेलाई यस्ता दृश्यले हृदय ताने पनि खासै त्यस्तो प्रभाव पार्दैन – उहाँले हाँस्तै पाइला अघि सार्नुभयो, म पनि पछि लागेँ । करिब एक घण्टा घुमघाम गरी हामी बिहानको चिया पिउन बिसौनी फक्यौँ । त्यही साँझ गोरखाको पुरानो दरवारमा कविगोष्ठीको आयोजना भयो । सबै प्रतिष्ठित कविहरूका साथमा मैले पनि कविता वाचन गरेँ । उहाँले वाचन गरेको कविता मलाई साह्रै मन पर्यो । मैले सायद त्यतिबेला नै उहाँसित एउटा गीत गाउनका लागि गीत मागेँ । त्यसबेला रेडियोमा गाउन एउटा राम्रो गीतको खोजीमा थिएँ म । उहाँले काठमाडौं फर्केपछि साहित्यिक कार्यक्रममा सुन्दर हस्ताक्षरले लेखेको गीत “साउन आयो रिमझिम गरी” मेरो हातमा थमाइदिनु भयो । त्यो गीत रेडियोमा पनि सुन्नु भएछ । “राम्रो गाउनु भयो पद्माजी” भनेर उहाँले खुशी व्यक्त गर्नुभयो । त्यसबेलाको उहाँको अनुहारभरि छाएको प्रसन्नताको सम्झना अहिले पनि मेरो मस्तिष्कमा ताजै छ ।
त्यसपछि हाम्रो धेरै साहित्यिक कार्यक्रमहरूमा भेटघाट भइ नै रह्यो । म गुञ्जनको अध्यक्ष हुँदा कविगोष्ठीहरूमा फोनबाट उहाँलाई निमन्त्रणा दिन्थेँ । मैले अनुरोध गर्दै “आउनुहोस् है” भन्दा उहाँले हाँस्दै “तपाईँले बोलाएपछि आइहाल्छु नि !” भन्नुहुन्थ्यो र कार्यक्रममा सहभागिता जनाउनु हुन्थ्यो । दैवज्ञराजजी साह्रै मिलनसार, मृदुभाषी र सबैसित घुलमिल हुने स्वभावका हुनुहुन्थ्यो । जहिलेसुकै जहाँसुकै भेट्दा पनि उहाँ बोल्नुहुन्थ्यो । उहाँमा वरिष्ठताको घमण्ड थिएन । उहाँजस्तो सशक्त कवि र प्राध्यापकजस्तो व्यक्तित्वलाई त्यति नम्र तथा मिलनसार पाउँदा मेरो उहाँप्रतिको आदरभाव अझ बढ्न थाल्थ्यो । उहाँका रचनाहरू विशेष गरी गीतहरू मलाई साह्रै मन पर्छन् । मैले चिनेका र भेटेका थुप्रै साहित्यिक व्यक्तित्वहरूमध्ये उहाँ मैले साह्रै आदर गरेको व्यक्तित्व हुनुहुन्छ ।
छ/सात वर्ष अगाडिको कुरा हो । म कीर्तिपुर त्रिभुवन विश्वविद्यालयमा सुधा त्रिपाठीलाई भेट्न नेपाली विभागतर्पफ जाँदै थिएँ । उहाँ क्लास सकेर घर फर्किंदै हुनुहुन्थ्यो । हाम्रो भेट भयो । मैले अभिभादन गर्दै सुधाजीबारे सोधपुछ गरेँ । उहाँले सुधा घर फर्किसकेको कुरा बताउनुभयो । म उदास तथा खिन्न भएँ । गल्ती मेरै थियो । मैले उहाँसित फोनमा सम्पर्क नगरी गएकी थिएँ । त्यसपछि उहाँले भन्नुभयो– “जाऔँ अब सँगै ।” हामी सँगै बात मार्दै बसस्टपसम्म गयौँ । त्यही भेटमा मैले उहाँलाई समानान्तर आकाश उपन्यास लेखेको र त्यसको भूमिका सुधा त्रिपाठीलाई लेख्न आग्रह गर्न उहाँलाई भेट्न आएको कुराको जानकारी दिएँ ।
उपन्यास पनि लेख्नु भएछ, अति राम्रो झ् – उहाँले प्रसन्नता जाहेर गर्नुभयो । त्यसपछि भलाकुसारी गर्दै हामी बसस्टपतिर सँगसँगै हिँड्यौँ । बस खचाखच भरिइसकेको थियो । उहाँ बस चढेर घर फर्किनुभयो । म चाहिँ अर्को बसको प्रतीक्षामा प्रतीक्षारत रहेँ । त्यसपछि लामो समयसम्म हाम्रो भेटघाट भएन । हामी आ–आफ्ना जीवनका उकाली ओरालीमा हिँडिरह्यौँ । जीवनका व्यस्तताले गर्दा एक अर्कालाई सम्झिने र भेटघाट गर्ने फुर्सद निकाल्न सकेनौँ । एकदिन कुनै साहित्यकारको मुखबाट उहाँ पक्षाघातले थला परेको कुरा सुनेँ । उहाँको निवासस्थानको अत्तोपत्तो नभएकाले म उहाँलाई भेट्न सकिरहेकी थिइन । उहाँका भाइ केदार न्यौपानेसित मेरो एकदिन भेट भयो । उहाँबाट उहाँको फोन नम्बर र ठेगाना लिई निवासस्थानमा खोज्दै पुगेँ । उहाँको कोठामा पुगेपछि मैले देखेँ– उहाँ भुईँ ओच्छ्यानमा उदास अनुहार लाएर पल्टिरहनुभएको । मैले अभिवादन गरेर उहाँलाई “दैवज्ञजी” भनेर बोलाएपछि उहाँको अनुहारमा प्रसन्नता दौडियो । म उहाँ नगिचैको सोफामा बसेँ ।
उहाँलाई त्यस अवस्थामा देख्दा मेरो मुटुमा गाँठो पर्यो । त्यस्तो तेजस्वी, हँसमुख, सुन्दर व्यक्तित्वका धनी एक वरिष्ठ साहित्यकारलाई अशक्त र असहाय अवस्थामा देख्दा कसको मन नदुख्ला ! म एकछिन मुक अवस्थामा टोलाइरहेँ । त्यसपछि उहाँले नै कुरा गर्नुभयो । तर उहाँको बोली स्पष्ट थिएन । मलाई उहाँसित बोल्ने कुनै कुरा नै सुभेफन । मैले केवल औपचारिकताका केही शब्दहरू बोलेँ । उहाँ चुपचाप मेरा कुरा सुनिरहनुभयो । उहाँको नगिच गएर मैले केवल यति भन्न सकेँ “दैवज्ञजी, तपाईँ ठिक हुनुहुने छ, हतास तथा निराश नहुनुहोस् ।” उहाँले केही बोल्नु भएन, केवल निराश दृष्टि मतिर फ्याँकिरहनुभयो । उहाँका आँखा थकित देखिन्थे । उहाँको निराशामा चुर्लुम्म डुबेका दृष्टि देखेर मेरा परेली भिजे ।
मैले आफ्नो डायरीमा उहाँका हस्ताक्षर सहित केही अभिव्यक्ति लेखाउन मनसाय बोकी गएकी थिएँ । तर उहाँको अवस्था देखेर मैले आफ्नो मनसाय प्रकट गर्न सकिन । मैले सोधेँ– “दैवज्ञजी, तपाईँ लेख्न सक्नु हुन्छ ?” उहाँले भन्नुभयो– केही दिन भयो, मलाई लेख्न गाह्रो भएको छ । उहाँसित करिब १ घण्टाको कुराकानी र भेटघाट सकी म उदास बनेर घर फर्केँ । बाटाभरि बसमा मैले उहाँबारे नै सोचिरहेँ । उहाँको बेमार ठिक हुन्छ वा हुन्न भन्नेबारे सोचेर चिन्तित भइरहेँ । त्यसपछि फेरि जाउँला भन्दा भन्दै समय बित्दै गयो । तर म फर्केर जान सकिन । एक त व्यस्तता, दोस्रो उहाँको त्यो अवस्था र अशक्तता हेर्न जान मलाई जाँगर चलेन ।
उहाँसित मेरो अन्तिम भेट साझा प्रकाशनको चुनावमा सभागृहमा भयो । उहाँलाई वियोगी बुढाथोकी र अर्का एकजनाले सहारा दिँदै सभागृहमा ल्याइपुर्याएका थिए, भोट खसाल्न । म पनि त्यस चुनावमा उम्मेदवार थिएँ र वियोगी बुढाथोकी पनि चुनाव लडिरहनुभएको थियो । मैले आश्चर्यचकित हुँदै उहाँ सामु गएर अभिवादन गरेँ र आपूफ पनि उम्मेदवार भएको जानकारी दिएँ । उहाँले “थाहा छ” भनेभैँफ गरी टाउको हल्लाउनुभयो । मलाई पूर्ण विश्वास छ, मैले नमागे पनि एक भोट मलाई अवश्य नै दिनुभयो भन्ने कुरा । म कुनै राजनीतिक खेमाले उठाएको उम्मेदवार थिइन तर पनि उहाँजस्ता सहृदयी, मेरो योग्यता र साहित्यिक क्षेत्रमा मैले पुर्याएको योगदानको कदर गर्ने साहित्यकारहरूले मलाई भोट दिए । मेरो त्यस चुनावमा विजय नभए तापनि भोट राम्रै पाएकी थिएँ– जित हार भन्ने त्यस्तै हो, राजनीतिक दाउपेचमा परेपछि ।
२०६८ पुस २ मा अकस्मात् उहाँको निधनको समाचारले म स्तब्ध भएँ । साह्रै दुःखी भएँ । साहित्यिक जगत्ले एक सशक्त कवि, शिक्षा क्षेत्रमा लामो सेवा पुर्याएका एक सुयोग्य प्राध्यापकलाई सदाको लागि गुमायो । उहाँको अभाव साहित्यिक तथा शैक्षिक क्षेत्रले सधैँ अनुभव गरिरहने छ । उहाँको असामयिक निधनले अपूरणीय क्षति पुर्याएको छ । उहाँले साहित्यिक तथा शैक्षिक क्षेत्रमा पुर्याउनुभएको योगदान र उहाँका कृतिहरूले उहाँ अमर बन्नुभएको छ । यो नश्वर शरीर त सबैले छोडेर जानै पर्छ तर केही सुकर्म गरेर नश्वर शरीर छोडेर जाँदा उहाँ जस्तै चिरस्मरणीय बन्न सकिन्छ । उहाँ आज हाम्रा माझ हुनुहुन्न । केवल उहाँका सम्झनाहरू हाम्रा मनमस्तिष्कमा अभैफ ताजा छन् । ती सम्झनाहरूलाई यस स्मृतिग्रन्थमा भावपूर्ण श्रद्धाञ्जलिका साथ पस्केकी छु । अरू त के पो गर्न सक्छु र ! यिनै सम्झनाका पुष्पगुच्छा अर्पण गर्दै म उहाँको अमर आत्माको चिरशान्तिको कामना गर्दछु । साथै जहिले जहिले “साउन आयो” भन्ने गीत मेरो अन्तःकरणमा गुञ्जिन्छ– मेरो ओठबाट गीतका पङ्क्तिहरू गुञ्जिन्छन्– म यसका गीतकार दैवज्ञराज न्यौपानेलाई सम्झिरहने छु । यस स्मृतिलेखलाई टुङ्ग्याउनुभन्दा पहिले उहाँका गीतका केही पङ्क्तिहरू गुनगुनाएर विश्राम लिन्छु ।
साउन आयो रिमझिम गरी परदेशी आएन
बटुली राखेँ मनका आशा नओइलुन् भनेर
बादलमाथि बादल छायो किरण छाएन
म सुम्पिदिन्थेँ बैँसका दिन बैँसालु आएन ।
२०६९ श्रावण २८
छाउनी, काठमाडौँ