कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि दैवज्ञ : अविस्मरणीय व्यक्तित्व

डा. नूरनाथ आचार्य

दैवज्ञराज न्यौपाने (१९९९–२०६८) जबदेखि का.म.पा. ३४ नयाँ बानेश्वरको जनसहयोग मार्गमा बसोबास गर्न थाल्नुभयो, बिस्तारै उहाँसँग मेरो पनि सम्पर्क हुन थाल्यो । त्यति बेला यहाँ अहिलेको जस्तो बाक्लो बस्ती वा जनसङ्ख्या थिएन । मेरो वासस्थान पञ्चकुमारी मन्दिरको आडैमा भएको र उहाँ करिब दुई सय मिटर दक्षिणतर्पफ बस्ने भएकाले हाम्रो भेट बेलाबेलामा भइ नै रहन्थ्यो । यसै सिलसिलामा हाम्रो सम्पर्क वा भेटघाट र विभिन्न विषयका वार्तालापहरू पनि सघन रूपमा बढ्दै गए ।

स्थानीय पञ्चकुमारी भगवतीको मन्दिर परिसरमै हामीहरूको बसोवास भएकोमा पञ्चकुमारीको मन्दिरै नभएको शून्य अवस्थामा खरीको रूखको पेफदमा पूजाआजा गर्ने प्रचलन भएकाले त्यसको सुव्यवस्थाका लागि र दिन प्रतिदिन यस क्षेत्रमा मानिसहरूको बसोबास बढ्दै गएकाले बाटोघाटो, सार्वजनिक स्थल, खानेपानी, बिजुली, ढल आदिको अव्यवस्थित अवस्थालाई विचार गरी स्थानीय स्तरमा भौतिक पूर्वाधारहरूको समेत आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिएको हुँदा त्यसका निम्ति जनस्तरबाट यथाशक्य सहयोग पुर्‍याउनका लागि समेत टोलवासी हामी सबैको सल्लाह एवं प्रयासबाट वि.सं. २०४४ सालमा पञ्चकुमारी सामाजिक गुठी नामक सामाजिक संस्थाको गठन भएको हो । यो गुठी अद्यापि चलिरहेकै छ । म यस गुठीको संस्थापक उपाध्यक्ष थिएँ । दैवज्ञराज न्यौपानेले पनि यस गुठीको उपाध्यक्षको हैसियतले धेरै वर्षसम्म सामाजिक सेवा गर्नुभएको हो । यस गुठीका माध्यमबाट पनि दैवज्ञराज र मेरा बीचको मित्रतामा अरू गाढापन आएको हो ।

उहाँ नै हो त्यो व्यक्ति जसको सम्झनाको पोको खोल्दा म झल्याँस्स हुन्छु र त्यस व्यक्तिको तथ्यसत्य झझल्को आइरहन्छ मलाई अनि म त्यस्तो पोको खोतल्न थाल्दछु जहाँ दैवज्ञ न्यौपानेको व्यावहारिक जीवनमा देखिने सादापन र उच्च विचार, भड्किलो होइन साधारण व्यवहार, छिमेकभर छरिएका स्नेहपूर्ण सुगन्ध, कुशल कार्यशैलीको प्रगाढता, सुदृढ राष्ट्रप्रेमका साथै सेवामूलक भावनाले ओतप्रोत व्यक्तित्वका सुगन्धित पुष्पपुञ्जहरू छरपस्ट भएर पोखिएको म पाउँछु ।

सामाजिक सेवा र प्राध्यापन सेवाका साथै साहित्यिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने भद्रताका प्रतीक कवि दैवज्ञ न्यौपाने वि.सं. २०६२ मा पक्षाघातबाट पीडित हुनुभयो र उहाँको पछिल्लो जीवन अत्यन्त कष्टपूर्ण रह्यो । दैवसंयोग शारीरिक रूपमा अक्षम भए तापनि समाजप्रतिको उहाँको संवेदनशीलता देखेर म आश्चर्य मान्दथेँ । यही नै उहाँको प्रमुख आकर्षणको कारण थियो र बारम्बार उहाँको घरमा पुग्ने अनि स्वास्थ्यसम्बन्धी अवस्था हेर्ने प्रेरणा म पाउँदथेँ । कवि दैवज्ञराज न्यौपानेको स्मृतिसागरमा डुब्दाडुब्दै यस बखत अन्य केही कविहरूको सम्झनाले म भावविह्वल भएको छु । अहिले मेरो स्मृतिलहरमा आउने कविहरूमध्ये कविशिरोमणि लेखनाथ पौडेल, पं.तारानाथ नेपाल र कवि केदारमान व्यथित हुन् जसले वीरगन्जस्थित मेरो डेरामा बसेर कविता रचना गरेका थिए ।

म अहिले ८६ वर्षको उमेरमा पाइला चाल्दैछु । वृद्धावस्थामा स्मरणशक्तिले पनि साथ दिँदो रहेनछ । म आप्फनो यस जीवनलाई शून्यसरि अनुभव गर्दैछु । मलाई उल्टो भएजस्तो लाग्छ । दैवज्ञ न्यौपानेभन्दा म पहिले जानुपर्ने थियो । तर के गर्ने ! विधिको विडम्बना । अघि नै मैले भनिसकेँ – मेरो स्मरणशक्ति क्षीण भएको कुरो । भाइ केदारले एक दिन स्मरण गराउनु भएकाले नै म यी केही अक्षर कोर्दैछु र यसै अवसरमा कवि दैवज्ञराज न्यौपानेको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

खास गरी दैवज्ञराज न्यौपानेको कर्मण्यताको प्रतिफल श्री पञ्चकुमारी मन्दिर र पञ्चकुमारी सामाजिक गुठी हो जो आजपर्यन्त कुनै रूपले सञ्चालित छ । यसले उहाँलाई जीवन्त राखेको पाउँछु म । न्यौपानेका कृतिहरू राष्ट्रका अमूल्य निधिका रूपमा छन् । हामी उहाँका ऋणी पनि छौँ किनकि नीतिमा भनिएको छ – संस्कृतिको सम्बन्ध आत्मासँग हुन्छ । वि.सं. २०६८ पौष २ गते दिवङ्गत हुनुभएका दैवज्ञ न्यौपानेको सम्झनामा कहिलेकाहीँ म आपैफँलाई बिर्सन्छु । मलाई लाग्छ उहाँ महान् हुनुहुन्थ्यो, सज्जन, परोपकारी र सहृदयी समाजसेवी हुनुहुन्थ्यो । उहाँ विद्वान् तथा राष्ट्रभक्त कवि र सबैका अत्यन्त प्रियपात्र हुनुहुन्थ्यो । यसैले उहाँ राष्ट्रिय स्तरमा राष्ट्रपतिबाट अभिनन्दित हुनुभएको पनि थियो । यसै प्रसङ्गमा मलाई गीताको श्लोकको स्मरण भएको छ, त्यो हो –

यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जनः

स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते

यसको भाव हो – महाजनो येन गतः स पन्था” अथवा “बडाले जे गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत”, अर्थात् कुनै महापुरुषको प्रशंसा र उपासना व्यक्तिको सेवा होइन अपि तु जातीय र राष्ट्रिय सेवा हो । त्यसैले कवि/साहित्यकार दैवज्ञराज न्यौपाने एउटा राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो र हुनुहुन्छ पनि । उहाँको महत्ता अनुकरणीय छ । त्यसैले मेरा आत्मीय मित्र एवं राष्ट्रिय व्यक्तित्वप्रति पुनः हार्दिक श्रध्दासुमन अर्पण गर्दछु । अस्तु ।

मलाई स्वर्ग चाहिन्न बने नेपाल पुग्दछ

बिग्रिए घरका मान्छे मलाई दु:ख लाग्दछ

त्यसैले भिन्नता हैन सबैमा मेल होस् सदा

अर्को जन्म भए फेरि पाऊँ नेपाल सर्वदा।

दैवज्ञराज न्यौपाने