कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

स्मृतिमा दैवज्ञ दाइ

नगेन्द्रराज रेग्मी

संसारमा कयौँ मानिसहरूले जन्म लिइरहेका छन् र सँगसँगै मृत्युवरण पनि गरिरहेछन् । जन्म लिएजति सम्पूर्ण व्यक्तिहरू मननीय, स्मृतियोग्य बनिरहन सक्दैनन् । शारीरिक यात्राको अवसानपछि पनि जो आलोकित भइरहन्छन् त्यस्ता मान्छे नै आफ्नो समयका, आफ्नो क्षेत्रका, आफ्नो युगका असल, सफल र महत्त्वपूर्ण व्यक्ति कहलिन्छन् । यस्ता व्यक्तिहरू कहिल्यै मर्दैनन्, आफ्ना वैशिष्ट्ययुक्त योगदानहरूका कारण उनीहरू सदैव जीवित रहन्छन् । त्यसैले उनीहरूका विशेषाङ्क, स्मृतिग्रन्थ, जीवनी र स्मारिकाहरू सुरुचिपूर्ण हुन्छन् । त्यस्तै व्यक्तिलाई समाज तथा पाठकले सहज ग्रहण गर्छन् । यस्ता सामग्रीहरू भावी पुस्ताका लागि जानकारीमूलक मात्र नभई प्रेरणामूलक र अनुकरणीय दस्तावेजसमेत बन्न पुग्छन् । यही क्रममा पर्ने एक व्यक्तित्व हुन्– दैवज्ञराज न्यौपाने ।

बाल्यकालदेखि नै रेडियो, पत्र–पत्रिका, पुस्तक र पाठ्यक्रममा पढ्दै–सुन्दै, देख्दै आएको यो नामसँग एकाएक साक्षात्कार समेत हुन पाइन्छ भन्ने कतै कल्पनै थिएन, तर पाइयो २०३६ सालमा, काठमाडौं खाल्डोमा प्रवेश गरेपछि । यस खाल्डोलाई त्यसैले प्रेम गरेका छन् जो कोहीले । सायद यस्तै–यस्तै नाम, अनुहारहरूसँग परिचयको अवसर जुटाईदिने भएकाले होला । त्यसताका हामी डिल्लीबजार चारखाल अड्डाअगाडि डेरा गरी बस्दथ्यौं । साथमा अग्रज दाइहरू हुनुहुन्थ्यो– भीमप्रसाद रेग्मी, खिलनाथ रेग्मी, प्रह्लाद पोख्रेल, तोयराज नेपाल, गोविन्द नेपाल, घमचन्द्र नेपाल, पुष्करनाथ पोख्रेल, गंगाधर कट्टेल आदि–आदि । खोटाङ जस्तो दुर्गम गाउँबाट आएको ठिटो काठमाडौंको रमझमभित्र पसेको धेरै समयसम्म कुहिराको काग बनिरहेको अवस्था थियो । क्याम्पस पढ्नु पर्ने कुरा त थियो–थियो, त्यो बाहेक पनि मनमा अनेकौं थरीका सपनाहरूले डेरा जमाउन थालिसकेका थिए । साहित्यको नशा पनि नजानिँदो हुर्कँदो थियो । पत्रिका चलाउने भूत पनि त्यसैताका सवार नभएको होइन । राजनीतिमा पनि नजानिँदो रूपले चाख बस्न थाल्यो–२०३६ सालको जनमत सङ्ग्रहले, घरायसी वातावरणले अनि डेरामा बस्ने अग्रज दाइहरूका सङ्गतले ।

यिनै दोबाटोमा रहेर दिनचर्याहरू बितिरहेका थिए । त्यस्तैमा एकदिन खिलनाथ दाइले परिचय गराउनु भयो– उहाँ दैवज्ञराज न्यौपाने । ओहो ! कस्तो आकर्षक व्यक्तित्व, गोरो अनुहार, अग्लो जिउडाल, मीठो मुस्कान, त्यसमाथि प्रथम भेटमै अत्यन्त प्रभावित पार्न सक्ने खुबी । नमस्कार आदानप्रदानपछि मुस्कुराउँदै भन्नु भएको अहिले पनि मेरो मानसमा ताजा छ– भाइ, पढाइसँगै काठमाडौं आएको अवसरलाई राम्ररी सदुपयोग गर्नु होला । त्यतिखेर यो वाक्य त्यति सुझेको थिएन, अहिले सम्झन्छु कति राम्रो सुझाव दिनु भएको रहेछ मलाई । समय बितेपछि यस्ता अर्ती, उपदेश सम्भेफर पछुताउनु सिवाय अरू के नै विकल्प हुँदो रहेछ र ! यसपछि त दैवज्ञ दाइको बानेश्वरको घरमा प्रवेशको लागि मेरो बाटो खुलिसकेको थियो । प्रायः बेलाबेलामा उहाँकोमा खिलनाथ दाइसँग हामी पुग्ने गर्थ्यौ । देशको शैक्षिक, साहित्यिक र यदाकदा राजनीतिक विषयवस्तुमै त्यहाँ बढी चर्चा–प्रसङ्गहरू चल्ने गर्दथे । मृदुभाषी भएकाले उहाँ शिष्ट बोली र व्यवहारमा बडो सुसंस्कृत ढङ्गले आफ्ना भावनामय विचारहरू राख्नुहुन्थ्यो ।

समय निरन्तर दौडिरहेको थियो । हामी त्यसलाई पछ्याउँदै टुकु–टुकु हिँडिरहेका थियौं । अकस्मात् एउटा समाचारले हामीलाई स्तब्ध तुल्याउँछ– दैवज्ञ दाइलाई पक्षाघात (प्यारालाइसिस) भयो रे झ् आफ्नै घरमा हाम्री आमालाई पनि यही रोगले आक्रमण गरेर देब्रेपाटो नचल्ने गरी सुताइरहेकाले यस रोगको घातकताबारे म पूरै परिचित थिएँ । लाग्यो– अब दैवज्ञ दाइलाई पनि जिन्दगीभर यसले दुःख दिने भयो, नछाड्ने भयो । हेर्न पुग्यौं तीनकुने गैरीगाउँस्थित घरमा । उहाँको स्थिति देखेर भावविह्वल बन्यौं । त्यस्तो झर्भफराउँदो दाइलाई त्यो अवस्थामा देख्दा सितिमिति पत्याउन गाह्रो हुन्थ्यो उहाँ नै दैवज्ञराज न्यौपाने हो भनेर, तर यथार्थ यही थियो । सिर्जनामा सदा सर्वदा तल्लीन ती हातहरू कमजोर भइसकेका थिए । यस अवस्थामा पनि उहाँ अरूलाई भनेर लेखाउँदै पनि आफ्नो प्यारो साहित्यको गोडमेलमा अन्तिम अवस्थासम्मै लागिरहनु भयो । यसबाट पनि थाहा हुन्छ उहाँ साहित्य भनेपछि कतिसम्म मरिमेटेर पनि लाग्नु हुन्थ्यो भन्ने कुरा ।

कहिरन नामक साहित्यिक पत्रिकाको वर्ष १ अङ्क १, २०४० सालको विजयादशमीमा प्रकाशित पत्रिकामा उहाँको एउटा मै पठाउँला सपनी नामक कविता छापेको सुखद स्मरण मैले सँगालिरहेकै थिएँ । त्यसको तेइस वर्षपछि अर्थात् २०६३ सालमा आएर बादलभित्रका ताराहरू नामक खोटाङ जिल्लाका पाँचजना स्रष्टाहरूका रचनाहरूलाई समेटेर ज्ञानेन्द्र विवश र मैले तयार पारेको पुस्तकको भूमिका लेखाउने निर्णय गर्दै साहित्य र शिक्षासेवी अग्रज व्यक्तित्व बलराम पोख्रेलका साथमा उहाँको घरमा पुगेर पनि झिझयाउन छाडेनौं । त्यो अवस्थामा पनि उहाँले “हुन्न”, “सक्तिन” नभनेर हाम्रो आग्रहलाई सहर्स स्वीकार गर्दै एकहप्ता नपुग्दै लामै भूमिका लेखेर दिनुभएको प्रसङ्ग मेरा लागि सदा स्मरणीय बनिरहेको छ । त्यसको विमोचन कार्यक्रममा हामीले उहाँलाई मञ्चमा आसीन मात्र गराउन पाए पनि धन्य हुने सोचेका थियौँ । तर ल्याउन अत्यन्त कठिन परेकाले यो कार्य सम्भव हुन सकेन । २०६२ माघ २७ गतेका दिन पुस्तकको भूमिकामा उहाँले दिएको आशीर्वचन हाम्रा लागि सदा स्मरणीय रहिरहने छ ।

एउटा नेपाली उखान छ– पूफलको बास्ना वरिपरि, मानिसको बास्ना डाँडापरि भनेभैंफ दैवज्ञराज न्यौपानेले राष्ट्रका लागि, नेपाली साहित्यको श्रीवृद्धिका लागि, शैक्षिक जागरणका निम्ति पुर्‍याएको योगदान राष्ट्रव्यापी भएर अत्यन्तै बास्नादार रूपमा रहेको छ । यसरी राष्ट्रलाई युगौं–युगसम्म ऋणी तुल्याउने व्यक्तिको पनि कहिल्यै मृत्यु हुन्छ ? दैवज्ञराज न्यौपानेलाई अब हामी सशरीर देख्न नपाए पनि उहाँको अमूल्य योगदानका कारण राष्ट्रले सदा सर्वदा उहाँको यशोगान गाइरहने छ । त्यसैले दैवज्ञराज न्यौपानेको निधन भएको छैन, उहाँ सदा अजर–अमर र अविस्मरणीय भइरहनु भएको छ । यसर्थ उहाँले लिएका असल कार्यलाई हामीले पनि आफ्नो जीवनमा प्रयोग गर्दै अगाडि बढौं, उहाँप्रति यही सच्चा श्रद्धाञ्जलि हुनेछ । अस्तु ।।

२०६९ श्रावण
खोटाङ, हालः कोटेश्वर, काठमाडौं

हामी योग्य विचार पोख्न सुखले सक्छौं यहाँ जो पनि
नेपाली हक भोग गर्न सकिने हामी सबै छौं धनी
आपैंफ बग्नुछ देशभित्र पसिना छर्दै सफा चालमा
आपैंफ गर्नुछ भाग्य सिर्जन नयाँ यो देश नेपालमा

दैवज्ञराज न्यौपाने