कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

प्यारा भाइलाई श्रद्धाञ्जली !

दुर्गाप्रसाद न्यौपाने

भोजपुर जिल्लाको गोगनेमा हाम्रा जिजुबाजे त्रिलोचन उपाध्याय न्यौपानेले वि.सं.१८७७ सालमा बिर्तास्वरूप पाएको जग्गामा वि.सं.१८८१ सालदेखि बसोबास गरी आएका उहाँका पनातिहरूमध्ये हाम्रा बाजे छविलाल उपाध्याय न्यौपानेका ५ भाइ छोराहरूमा जेठा छोरा गणेशप्रसादका छोराका रूपमा वि.सं.१९९९ मंसिर ३० गते दैवज्ञराजको जन्म भएको हो भने छविलालकै साइँला छोरा खडानन्दका कान्छो छोराका रूपमा १९९८ मंसिर १२ गतेका दिन मेरो जन्म भएको हो ।

गोगनेको भाषा पाठशालामा २००६ सालमा एउटै कक्षाबाट हाम्रो औपचारिक शिक्षा सुरु भएको थियो । साँवा अक्षर घरमै हजुरबुबाले सिकाउनु भएको थियो । पाठशालामा गुरुकुल शिक्षा अन्तर्गत रुद्री, चण्डी र संस्कृतका श्लोकहरू पढ्ने गरिन्थ्यो । गुरु पं.जयदेव अधिकारी हुनुहुन्थ्यो । भाइ दैवज्ञ पढाइमा ज्यादै लगनशील, मिहिनेती र तेजिला थिए । उनी सानैदेखि ज्यादै जिज्ञासु पनि थिए । वि.सं.२०११ साल भाद्र महिनामा मेरा ठुलदाइको र पौषमा अर्का दाइको मृत्यु भयो । वि.सं.२०१२ साल कात्तिकमा हाम्री हजुरआमाको, वि.सं.२०१३ साल वैशाखमा हाम्रा हजुरवुवा छविलालको र श्रावण महिनामा मेरा बुबा खडानन्दको स्वर्गारोहण भयो । सानै उमेरमा मैले पितृवात्सल्यबाट वञ्चित हुनुपर्‍यो । यसरी एकपछि अर्को गर्दै लगातार हाम्रो परिवारमा काल पल्केर परिवारका मूल सदस्यहरूको मृत्युपश्चात् मेरो औपचारिक शिक्षाले पूर्णविराम पायो ।

भाइ दैवज्ञ मेरा बालसखा पनि थिए । उमेरले हामी एक वर्ष मात्र फरक भएकाले समकालीन थियौं । हामी एकै घरका भए पनि साथी–साथी जस्तै थियौं । उनीसँगका अतीत सम्झने हो भने त्यस्ता क्षणहरू थुप्रै छन् । हामी गाईवस्तु चराउन जङ्गल सँग–सँगै जाने गर्थ्यौं । लुकामारी, गट्टी आदि खेल्ने गर्थ्यौं । एकपटक १० वर्षको उमेरमा विद्यालय छुट्टी भएका दिन हाम्रो घरबाट पूर्वपट्टि दोभानमा गाईवस्तु चराउन गएका थियौं । सिमसिम पानी परिरहेको थियो । हामी दुवै मिलेर चिलाउनेको रुखबाट ४ वटा लाँहाचेका बच्चा झिकी पोली खाने निश्चय गरी आगोमा हाल्दा त्यसबखत बचराहरूको पीडा र माउको शोक देखी उप्रान्त त्यस्तो कार्य कहिल्यै नगर्ने वाचा खाएका थियौं । यसै गरी २०१८ सालमा म बिरामी भएका कारण भाइ दैवज्ञले मलाई बोकी घर लगेको र धामी, झाँक्री, बैद्य बोलाउन दौडधूप गरेको अहिले जस्तो लाग्छ । यसरी भाइ दैवज्ञसँग बिताएका क्षणहरू सम्भँफदा अहिले पनि रमाइलो अनुभूति भइरहन्छ ।

वि.सं २०१५ सालमा पढ्न भनेर भाइ दैवज्ञ भोजपुरको दिङ्ला पाठशालामा गई प्रथमा, २०१९ सालमा दाङ्गमा गई पूर्वमध्यमा र काठमाडौँको वाल्मीकिमा आचार्यसम्मको अध्ययन गरी त्रिभुवन विश्वविद्यालयबाट एम.ए. गरेर वि.सं.२०२७ सालदेखि त्रि.वि.मा प्राध्यापन कार्य थाली बिस्तारै उनी काठमाडाँैंमा स्थायी रूपमा बस्न थाले । हामीहरूबीच बेला–बेला आउ–जाउ, सुख–दुःख र घरायसी वार्तालाप पनि भइरहन्थे ।

वि.सं.२०६२ सालमा भाइ दैवज्ञ अन्तिम पटक बुहारी सुधाका साथ चन्द्रगढी आएका थिए । चन्द्रगढी आउँदा प्रायजसो हाम्रो घरमा बस्ने प्रबन्ध हुन्थ्यो । सादा जीवन र उच्च विचार भएकाले कुनै आडम्बर, तडक–भडक थिएन । साना–ठुला सबैसँग उत्तिकै घुलमिल हुने र आफन्त, नातागोता, इष्टभित्र भनेपछि मरिहत्ते गर्ने, सबैसँग खोजी–खोजी भेटघाट गर्ने बानी थियो उनको ।

२०६२ साल भाद्र १५ गते अकस्मात् उनलाई बिमारले च्याप्यो । उच्च रक्तचापले ग्रस्त भई लामो समयसम्म उनले मृत्युसँग संघर्ष गरे । २०६५ सालमा मलाई पनि उस्तै व्यथाले च्यापेपछि उपचारका लागि काठमाडौं जाँदा भाइ दैवज्ञको घरमा हाम्रो भेटघाट भयो । उनी ओछ्यानमा परेका थिए । मभन्दा १ वर्ष कान्छो भाइको त्यस्तो अवस्था देख्दा म ज्यादै दुःखी भएँ । हामी विह्वल भयौं । हाम्रा गलाहरू अवरुद्ध भए । आँसु झरे । आफू थला परेको र मेरो पनि त्यस्तो अवस्था देखी भाइ दैवज्ञले दुःखेसो व्यक्त गरे । यसरी उनको शरीरमा प्रवेश गरेको कालरूपी रोगले अत्यन्तै कष्ट दिंदै उनीसँग ६ वर्ष बितायो र २०६८ साल पौष २ गतेका दिन उनलाई हामीबाट सदाका लागि खोसेर लग्यो ।

भौतिक रूपमा उनी टाढा भए पनि उनका विचार, भावना सदा जीवित रहने छन् । नेपाली साहित्य सृजनाका क्रममा उनले पुर्‍याएको योगदान सदा अमर रहनेछ । आज पनि म उनले उपहार स्वरूप दिएका उनका कृतिहरू ओल्टाई–पल्टाई उनैलाई नै खोजी रहेको हुन्छु । अन्त्यमा, मेरा प्यारा भाइ दैवज्ञको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

चन्द्रगढी–१, झापा, २०६९ असार मसान्त