कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपानेका सम्बन्धमा

डा. दुर्गाप्रसाद अर्याल

दैवज्ञराज न्यौपानेलाई पहिलो पटक मैले २०२९ सालमा संस्कृत छात्रावासमा देखेको हो । फागुनको महिनामा भएको छात्र कार्य समितिको साहित्यिक गोष्ठीमा साहित्यिक कार्यक्रमका परीक्षक र समीक्षक भएर त्यहाँ न्यौपानेको आगमन भएको थियो । उनको सुन्दर आकर्षक व्यक्तित्वबाट म बिछट्टै प्रभावित भएँ । हिमाञ्चल टोलको १ नं. कोठामा “दैवज्ञराज न्यौपाने” राम्रा अक्षरमा भित्तामा लेखिएको थियो । अझै पनि त्यो नामाङ्कन यथावत् होला । २०२९/३० सालतिरका छात्रावासी साथीहरूले दैवज्ञको कविता लय हालेर गाउने गर्थे । धेरैजसो साथीहरूलाई श्लोक मुखाग्र थियो र प्रायः गाउने गर्थे । श्लोक यस्तो थियो :

बाटो हेर्लिन् विरह दिनका नित्य औंला गनेर

सुस्केरामै मिरमिर हुनन् रात कोल्टे फिरेर

तिमै्र जस्तो म पनि दिनहँू देख्छु संसारलाई

भन्ने मेरो खबर लगिद्यौ कल्पदी बैंसलाई

यो कवितांश सुन्दा यति राम्रो कविता लेख्ने कवि दैवज्ञराज न्यौपाने कस्ता होलान् भन्ने ममा उत्सुकता थियो । छात्रावासमा कवि न्यौपानेलाई पहिलो पटक देखेर कविताको माधुर्य र कविको व्यक्तित्वको सौन्दर्यमा खुवसँग तालमेल मिलेको मैले अनुभव गरें । पछिपछि छात्रावासकै अरू कार्यक्रममा पनि भेटघाट भयो । सबैमा स्नेहभाव देखाउने र शिष्टाचार राम्रो भएका नाताले दैवज्ञलाई संस्कृत छात्रावासका छात्रहरूले औधी श्रद्धा र आदर गर्दै सम्झने गर्छन् । २०३५ सालमा त्रिचन्द्र क्याम्पसको प्राध्यापन छोडेर म बरालिइरहेको थिएँ । मेरा मित्र भोजपुरवासी शिवराज सापकोटाले दैवज्ञराजकहाँ भेट्न जाउँफ, लौ हिँड् दुर्गा, उनले पाटन क्याम्पसमा तँलाई राख्न सक्छन् भनेर मलाई उहाँका डेरामा लगे । कुराकानी भयो । दैवज्ञले अरू पनि आएका छन् पाटन क्याम्पसमा पढाउन पाउँफ भनेर, हेरौं भन्ने कुरा गर्दागर्दै शिवराजले मेरो सिफारिस जोडतोडले गर्दै के भने भने दुर्गाले तलैबाट नेपाली विषय लिएर धेरै पढेको छ, यसैलाई राख्नु पर्छ, अनि मलाई दैवज्ञले माघ १९ गते २०३५ सालमा पाटनमा बोलाए, म त्यहाँ पुगेँ । त्यहाँ जगन्नाथ जोशी नेपाली विभागका अध्यक्ष थिए । दैवज्ञराज न्यौपाने सहायक क्याम्पस प्रमुख थिए । त्यहाँ सहायक क्याम्पस प्रमुख र विभागीय प्रमुखले सल्लाह गरेर मलाई भोलिबाट कक्षा लिनुस् भने । पछि दैवज्ञको र मेरो घनिष्ठता बढ्दै गयो । राममणि रिसालले हेर दैवज्ञ, दुर्गा योग्य रहेछ मैले त बि.ए. का कापी जाँच्न दिइरहेको छु, तिमीले पनि दिए हुन्छ, यस्तो योग्यलाई योग्य काम दिनु पर्छ । उत्तरपुस्तिका जाँचेपछि योग्यता पनि बढ्छ दुर्गाको भनेर हौस्याएपछि म दङ्ग परेर ती दुबैका भागका बि.ए. का उत्तरपुस्तिका जाँच्न थालेँ । सेमेष्टर प्रणाली थियो । छ छ महिनामा जाँच हुन्थ्यो । उता आफ्नो भागका आन्तरिक मूल्याङ्कन र सेमेष्टरका कपी अनि राममणि र दैवज्ञराजका भागका कपी जाँच्दा म केही समय हद हैरान भए पनि दुवैबाट स्नेह खनिँदा भने दङ्ग भइरहें । दैवज्ञलाई मैले जति श्रद्धा गर्थेँ, मलाई पनि उनले उच्च सद्भाव राख्थे र विश्वास गरी स्नातकोत्तर शोधपत्रको मूल्याङ्कनको रिपोर्ट पनि दुई तीन पटक मलाई लेख्न लगाएका थिए । यसमा पनि म दङ्गै हुन्थें ।

२०३५ चैत्रमा म शिक्षा मन्त्रालयमा अस्थायी शाखा अधिकृत भएँ । पाटनमा म सायङ्कालीन समूहमा कक्षा लिन्थें । संयोगवश शिक्षा मन्त्रालयबाट म पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र कलेज, वाल्मीकि र पद्मकन्या कलेजका सरकारी प्राध्यापकको विवरण लिन खटिएँ । ती कलेजहरूमा सरकारी सेवामा कार्यरत केही प्राध्यापकहरूले पढाउने गर्थे । पाटनमा पुग्दा मलाई अप्ठ्यारो भयो । शिक्षा मन्त्रालयबाट लगेको कागज मैले कर्मचारीलाई दिएँ । कर्मचारीले सो कागज दैवज्ञलाई दिएर सोधपुछ गरे । दैवज्ञले कसलाई दिने हो यो कागजमा मागेको रिपोर्ट भनेर कर्मचारीलाई सोधे । कर्मचारीले यो मन्त्रालयको पत्र लिएर एक जना अफिसर आएका छन् उता छन् भनेपछि म दैवज्ञका अगाडि शिक्षा मन्त्रालयको शाखा अधिकृतका रूपमा पनि प्रस्तुत भएँ । दुईतिर जागिर खाएको कुरा दैवज्ञलाई पनि थाहा भयो, अब मलाई फसाद पर्‍यो । मैले कर्मचारीबाट सबै रिपोर्ट लिन्छु कर्मचारीले मलाई त्यत्ति चिन्दैनन् । दैवज्ञसँग यो कुरा केही पनि पुग्दैन भन्ने लागेको थियो, तर सबै कुरा खुल्यो । तर दैवज्ञले कत्ति पनि पर्वाह गरेनन् । आफ्नो कक्षा राम्ररी लिनुस् अरू हामीलाई के चासो भने । त्यतिवेला क्याम्पस प्रमुख सुन्दरकृष्ण जोशी थिए । उनी दैवज्ञको साह्रै ठुलो कदर गर्दथे । पछि क्याम्पस प्रमुख भएर मङ्गलराज जोशी आए । पाटन क्याम्पसभरि नै त्यतिवेला के भनिन्थ्यो भने क्याम्पस प्रमुखका अगाडि पुग्दा कहिल्यै नरिसाउने विद्यार्थी पनि झगडा गर्न तम्सन्छ, सहायक क्याम्पस प्रमुखका अगाडि पुग्दा रिसले चुर भएको विद्यार्थी पनि प्रसन्न हुन्छ । मङ्गलराज जोशी र दैवज्ञको व्यक्तित्व र व्यवहारको यस्तो भिन्नता थियो । क्याम्पस प्रशासनमा अनेक निहुँले विद्यार्थीले क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई बारम्बार घेर्ने गर्दथे । २०३६ सालपछि प्रक्रिया झन् झन् सघन बन्दै गयो । दैवज्ञलाई पनि विद्यार्थीहरूले घेरघार गर्थे तर उनको मधुर व्यवहारले सजिलैसँग घेरा तोडिन्थ्यो । पाटन क्याम्पसको नेपाली विभागमा भोजपुरका प्राध्यापकहरूको बाहुल्य थियो २०३७।०३८ ताका । भोजपुरका विद्यार्थी पनि थिए । म र हेमलाल न्यौपाने गुल्मीका प्राध्यापक थियौंँ । कतिपय विद्यार्थी र शिक्षकहरूले मलाई पनि भोजपुरेमा गणना गर्थे । म पनि अचम्ममा पर्थेंँ र अँ अँ भन्थें । यस्तै भोजपुरका मित्रहरूका समुदायमा मेरा धेरै दिनहरू बितेका थिए ।

व्यवसायका हिसावले दैवज्ञराज न्यौपाने हाकिमभन्दा पनि अग्रज, श्रद्धेय र आत्मीय थिए । गुल्मी तम्घासको किरण पुस्तकालयबाट प्रकाशित हुने अर्धवार्षिक साहित्यिक पत्रिका हाम्रो पुरुषार्थमा मैले दैवज्ञसितको अन्तर्वार्ता छपाएँ । मलाई त्यसको तिथिमिति र अङ्क भने याद भएन, सम्भवतः २०४४ सालतिर हो कि जस्तो लाग्छ, यसमा दैवज्ञले अत्यन्तै खुसी प्रकट गरेका थिए । तपाईंले नै सबैभन्दा पहिले मलाई अन्तर्वार्ताको विषय बनाउनु भयो भनेर उनले सम्झना गरिराख्थे । यसबाट पनि हाम्रो सहयोग सद्भाव बढिरहेको थियो । एक पटक दैवज्ञले आपूफ दाङ बिजौरीमा बसेर जनता महाविद्यालयमा अध्ययन गर्दा मर्भुङका गुरु चेतोनाथ अर्ज्यालको दाङमा शैक्षिक योगदान रहेको र दङ्गालीले साह्रै श्रद्धापूर्वक सम्झना गरेको कुरा चलाएका थिए । मैले चेतोनाथ अर्ज्याल मेरा साहिला बा हुन् भनेपछि दैवज्ञबाट अझ श्रद्धा र स्नेह पाएँ ।

एक पटक दैवज्ञले तपाईं अर्ज्याल भएर पनि उदयानन्द अर्ज्याल गुठीमा पटक्कै चासो राख्नु हुन्न, अर्ज्यालको मानमनितो पनि हामीले थामिदिनु पर्ने भन्दै हँस्सी गरे मसित । मैले कुरा बुभेँफ– उनी उदयानन्द अर्ज्याल गुठीका सदस्यसचिव रहेछन् अनि उदयानन्दका खलकसित उनको के कस्तो हो नलनातो पनि रहेछ त्यसैले पनि अर्ज्याल भनेपछि कताकता उनको अनुराग जाग्दो रहेछ । हुन पनि हो पारिवारिक नातागोता र सम्बन्धले नै एक अर्काका कुल कुटुम्बमा पारस्परिक सद्भाव पलाउने र लहलहाउने गर्दछ । त्यसैले त भनिन्छ रगतको नाता बलियो र बाक्लो हुन्छ ।

दैवज्ञको दिव्य अनुहार देख्दा र उनका मिठामिठा कविता पढ्दा मलाई "यत्राकृतिस्तत्र गुणाः वसन्ति" भन्ने कथनको याद आउने गर्थ्यो । उनमा आकृति अनुसारका धेरै गुण थिए । हुन त आकृति वा बाह्य सौन्दर्यका सन्दर्भमा अर्को कथन “नारिकेल समाकारा दृश्यन्ते हि सुह्ज्जना, अन्ये बदरिकाकाराः बहिरेव मनोहराः” पनि छ । यी दुबै प्रकारका कथनबाट कुनै पनि व्यक्तिको अन्तर्बाह्य गुणको सन्तुलन वा अन्तर्विरोधको किटान हुनु कठिन छ भन्ने अभिप्राय अवगत हुन्छ । यी व्यक्तित्वबोधक कथनबाट आकृति र प्रकृतिमा भिन्नता लाग्छ ।

दैवज्ञका सम्बन्धमा मलाई अर्को पनि कथनको सम्झना भयो । कथन के हो भने “न काव्यसेवी व्यथते कदाचित्” अर्थात् काव्य वा साहित्यको सृजना र सेवा आराधना गर्ने व्यक्तिलाई रोग शोकको व्यथा बाधा हुँदैन । तर यो कथन उनमा सार्थक हुन सकेन । ६३ वर्षको उमेरमा असाध्य व्याधिग्रस्त भएर ६९ वर्षको उमेरमा उनी परलोक भए । कुनै पनि व्यक्ति के कस्तो रोगले कतिसम्म ग्रस्त भएर कहिले कालको ग्रास भयो भन्ने चर्चाले दीर्घकालीन महत्त्व राख्दैन । दीर्घकालीन महत्त्व त कुनै पनि व्यक्तिको जीवनयापनका क्रममा सहयोग, सद्भाव र शिष्टाचारका साथ के कस्ता कार्यव्यापारबाट वास्तविक जीवनदर्शन प्रस्तुत भयो भन्ने यथार्थतामा निर्भर गर्दछ । यस दृष्टिकोणबाट दैवज्ञका सम्बन्धमा उनको काव्यात्मक प्रदेयता र योग्यताले नै सुदूर भविष्यसम्म संझना दिलाउने छ भन्ने मेरो विश्वास छ । वास्तवमा कुनै पनि कविको कविता भनेको सम्झनलायक अभिव्यक्ति हो भन्ने कुरा Poetry is memorial speech भन्ने कुनै आङ्लकविको कथनबाट पनि पुष्टि हुन्छ । दैवज्ञका कविता काव्यहरू कतिसम्म संस्मरणीय अभिव्यक्ति भएका छन्, त्यो भविष्यले मूल्याङ्कन गर्नेछ । साहित्य र साहित्यकारलाई पनि डार्विनको सारपूर्ण कथन भएको विकासवादी सिद्धान्त अनुसार योग्यतम तत्त्वको मात्र बचाइ वा अस्तित्व रहन्छ "Survival of the fittest" बाट पुष्टि हुन्छ । कविता काव्यका देनको अमरता र जीवन्तता भन्ने कुरा एतत्कालीन अडकल र अनुमानले निर्धारण हुने कुरा होइन, यो सद्य नित्य परिवर्तनशील संसारमा । यहीँनेर के पनि सम्झना आउँछ भने यो भूधरातल विशाल छ, मनुष्य पनि विविधतामय छ त्यसैले के कुराको सम्भावना छैन र “विस्तीर्णा पृथिवी नरोऽपि विविधः किं किं न संभाव्यते” । विश्वास गरौं दैवज्ञको व्यक्तित्व र कवित्वको भविष्य चिरस्मरणीय रहने छ । यातयाम हुने छैन ।

मान्छेको जिन्दगानी सफल र बलियो मात्र कैले हुँदैन

मान्छे जस्तोसुकै होस् अटल र भरिलो पात्र जैल्यै हुँदैन

मान्छेको जो बिहानी सुखद र सजिलो मात्र पक्कै हुँदैन

मान्छेको यो निसानी समविषम दुवै हु्न्छ एक्कै हुँदैन

१

मान्छेको जिन्दगानी अनुपम सबको हुन्न दृष्टान्त शून्य

जस्तो पाखण्ड मान्छेसित पनि महिमा हुन्छ ऊर्जा र पुण्य

को हो आदर्श मान्छे कुन लघु गुरु हो सत्य के हो बुझिन्न

को हो ज्ञानी र ध्यानी शठ पठित तथा साधु धुर्तै चिनिन्न

२

जे जस्तो योग्य जादूगर खर वर या जे भए जो मनुष्य

राम्रा उद्योग सेवा यमनियम सदा जे गरेथे अवश्य

धर्मात्मा तत्त्वदर्शी कवि गुरु नर या देव नारी भविष्य

केही पत्तो न लाग्ने सफल विफलता के कसो हो रहस्य

३

देखे जानेर मान्छे निज बल र बुता बुद्धिले चिन्न खोज्छ

आआफ्नै दृष्टि राखी मनुज गुण कुनै दोष सन्तोष खोज्छ

शङ्का विश्वास माया हृदयबिच भए जो कुनै स्वच्छ देख्छ

आत्मैमा छैन श्रद्धा घृणित जन कहाँ ? सत्य सौन्दर्य देख्छ

४

देख्दै दैवज्ञ प्यारा ललित वदनका रम्य आनन्द लाग्ने

लेख्दा साहित्य राम्रा सरल सरसिला काव्य लालित्य लाग्ने

श्रद्धा लाग्दा उज्याला मधुर वचनका धर्ममा दृष्टि राख्ने

मौरीको चालजस्तै मधुमय छ कला सिर्जना स्वाद लाग्ने

५

अग्ला गोरा प्रतापी वदन दिल सफा भव्य व्यक्तित्वशाली

जल्दाबल्दा बनेका प्रणय वरणका भावधारा उराली

थोरै सान्निध्य पाए पनि तन मनमा सद्य उत्साह जाग्ने

यस्ता दैवज्ञजीको निधन विषयको छैन पत्यार लाग्ने

६

जे जे सम्झेर माने पनि अब उनको देख्न पाइन्न देह

जे जे जानेर ठाने पनि अब उनका शेष छन् काव्यदेह

मौकामा अर्जिएको अमर छ कविता सम्पदा हुन्न हेय

दैवी साहित्य साझा युगयुगतक यो हुन्छ स्वादिष्ट पेय

७

छर्दै लावण्य आभा वदन वचनका एकातामा सजाई

छर्ने छन् दिव्य शोभा सघन रस वहाँ छन्द धारा समाई

बज्ने छन् जोर एकै स्वरसित मुरली काव्यधारा रसाई

बाँच्छन् दैवज्ञ पक्कै प्रिय हृदय छुने मर्मका गीत गाई

८