कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञ दाइ : एक सम्झना

जयेन्द्र पाण्डे

दैवज्ञ दाइ र मेरो पहाडमा एउटै जिल्ला हो । वहाँको गाउँ र मेरो गाउँको बिचमा एउटा डाँडो छ, त्यस डाँडामा भुल्के, दलगाउँ, नामन्त आदि गाउँहरू छन् । सिक्तेल खोलो र बेहेरे खोलो तरेर दक्षिणतर्फको बाटो हिँड्दा मेरो गाउँ पर्छ । तर मैले दैवज्ञ दाइलाई भोजपुरमा चिनेको होइन । वहाँको नाम चाहिँ सुनेको थिए, त्यो कसरी भने वहाँका भाइ महेश्वर र म एउटै क्लासमा सदरमुकामको विद्योदय हाईस्कूलमा पढ्दथ्यौँ ।

पछि क्याम्पस पढ्न म धनकुटा गएँ । डा.दुर्गा पोख्रेल, हामी बाहिर जिल्लाबाट त्यहाँ पढ्न बसेका विद्यार्थी केटकेटीहरूका लागि अभिभावक जस्तो हुनुहुन्थ्यो । कलेज पढ्दा उहाँ मेरा दाजु राम पाण्डेका क्लासमेट र त्यस बखत धनकुटा कलेजमा लेक्चरर पनि हुनुहुन्थ्यो । एक दिन धनकुटा बजारबाट कचिडेतिर दैवज्ञ दाइ आउँदै हुनुहुन्थ्यो । त्यही बाटामा दुर्गा दिदी र म केही अन्य केटाकेटीका साथ थियौँ । त्यहीँ नै दिदीले दैवज्ञ दाइसँग मेरो चिनजान गराइदिनुभयो । त्यो याद मलाई अहिले पनि ताजा र स्पष्ट छ । दैवज्ञ दाइ मेरो दाइहरूलाई राम्रै गरी जान्नुहुँदोरहेछ । वहाँका बुबा र मेरा बुबाको पनि सामान्य पहिचान रहेछ त्यो मलाई पछि थाहा भयो ।

केही समयपछि म बि.ए.को पढाइका लागि काठमाडौँको त्रिचन्द्र कलेजमा एडमिसन भएँ । त्यसै बखत देशव्यापी रूपमा ठुलो विद्यार्थी आन्दोलन भयो, मूल एजेण्डाहरु के के थिए, मलाई यसबेला स्पष्ट छैन तर नेतृत्व ने.वि.संघको थियो र हरि नेउपानेले त्यसको अगुवाइ गरेका थिए । पंचायती व्यवस्थाको अत्यन्त कडा समय थियो । त्यसताका २२/२४ जना जति लेक्चररहरूलाई त्रि.वि.ले बरखास्त पनि गरेको थियो । त्यसको केही समयपछि हाम्रा एक जना अनन्य मित्र ने.वि.संघका स्थापित व्यक्तित्व विमलेन्द्र निधिजी जनकपुरबाट काठमाण्डू आउनु भयो । मसँग वहाँको भेट भई कुराकानी हुँदा आन्दोलनको सिलसिलाबाट परीक्षा दिन नपाई वहाँको पढाइ रोकिएर अधुरो अवस्थामा नै रहेछ । एडमिसनको समय सिद्धिइसकेको थियो । त्यसैले अत्यन्त विश्वसनीय र गोप्य माध्यमबाट व्याक डोरको प्रयोग गर्दा काम बन्न सक्तछ कि भन्ने कुरा भयो । हामी दैवज्ञ दाइकहाँ गयौँ, वहाँ त्यसबखत पाटन क्याम्पसको चिफ हुनुहुन्थ्यो । मलाई देख्नेबित्तिकै वहाँले भन्नुभयो – तिमी योगेन्द्रजीको भाइ हैन ? धनकुटामा पढ्ने तिमी नै हैन ? मैले भने हो सर । त्यसपछि हामीले विस्तारपूर्वक हाम्रो समस्या बतायौँ । वहाँले भन्नुभयो – सबै व्यवस्था म मिलाई दिन्छु तर एउटा कुरा निधिजीले के ख्याल राख्नुपर्छ भने क्याम्पस हाताभित्र तिमीहरूले गर्ने क्रियाकलापले मेरो प्रतिष्ठामा आँच नपुगोस् किनभने म बचे मात्र तिमीहरूको संरक्षण हुन्छ । यति भनेर एडमिसनको व्यवस्था मिलाइदिनु भयो । त्यस बेलाको परिस्थितिमा एउटा गम्भीर रिस्क लिनु भएको थियो । पछि महेश गिरीजीको एड्मिसन गराउन फेरि हामी वहाँलाई नै भन्न गयौँ, त्यसबखत चाहिँ वहाँले अब यहाँ हुन सक्तैन भन्नुभयो र तिमीहरू मानभवनमा जानू, त्यहाँ पनि जयेन्द्रले भनेको कुरा सुन्ने एकजना महत्त्वपूर्ण व्यक्ति छन् भनेर सुझाउँदै मेरो कानै नजिक बिस्तारै त्यही एकजना व्यक्तिको नाउँ भनिदिनुभयो । ती एकजना डा.चूडाराज उप्रेती हुनुहुँदोरहेछ । दैवज्ञ दाइको सिफारिस अनुसार डा.चूडाले सबै हाम्रो काम सल्टाईदिनु भयो । वहाँ पनि असाध्य नै सहृदयी व्यक्ति हुनुहँुदोरहेछ ।

केही समय म भोजपुरको घरमा नै बसँे । मैले विवाह गरेँ । मेरो एउटा छोरो पनि भइसकेको थियो । छोरो पढाउन गाउँमा कुनै वातावरण र ठाउँ छैन, आफ्नो लागि पनि कुनै काम छैन । त्यसैले सानो छोरो लिएर श्रीमती र म गाउँ छाडेर काठमाडौँ आएर बस्न थाल्यौँ । पुरानो बानेश्वरमा बस्दाबस्दै त्यहीँे छोरी जन्मिइन् । हामीलाई, त्यहाँ बस्ने अनकूल वातावरण भएन । यो ने.का.को सत्याग्रह कार्यक्रमपछिको कुरा हो । मेरा साथीहरू नयाँ बानेश्वरमा बस्ने हँुदा प्रायः म बिहान एक पटक यतातिर आउथँे । एक दिन म मासु बेच्ने छाप्रोनिर उभिएको थिएँ । एकजना उज्यालो अनुहार भएको हँसिलो र दौरा–सुरुवाल, कोट र टोपीमा सजिएको व्यक्ति आइरहेको देखें, मेले वहाँलाई स्पष्टै चिनँे, मैले नमस्कार भने, वहाँ दैवज्ञ सर हुनुहुन्थ्यो । यतिका दिन कता के गर्दै बसेका थियौ ? भनी सोध्नुभयो मैले बताएँ । यतै पर्छ मेरो घर भन्दै वहाँले एउटा हिले गल्ली देखाउनु भयो । केही दिनपछि मलाई घर नसरी नहुने स्थिति भयो । म नयाँ बानेश्वरमा आउँदा प्रायः रामेश्वर थापाको औषधी पसलमा २ मिनेट पस्ने गर्थँे– रामेश्वर दाइसँग मेरो राम्रो परिचय थियो । मेले घर सर्ने कुराको चर्चा त्यहाँ गर्दा रामेश्वर दाइले नै दैवज्ञ सरकै घरको तल्लो तला खाली छ मलाई “मान्छे पाए पठाइदिनू” भनी भाउज्यूले भन्नु भा छ” भन्नु भयो र यही टोलका एकजना कान्छादाइ भन्ने पेसाले गाडी चालक रामबाबु पंडित साथ लाइदिनु भयो र म घरमा आई रीता भाउजूलाई भेटेर कुरा गर्दा वहाँले बस्ने अनुमति दिनुभयो । त्यस बखत दैवज्ञ सर घरमा हुनुहुन्नथ्यो । वहाँ आउनु भएपछि म त हजुरकै घरमा पो बस्न आएँ भनँे । वहाँले ठिकै छ बस, म घरमा भएको भए दिने थिइँन भाउजूले दिइहालिछन्, भैगयो, अब कुरा दोहोरिन्न भन्दै हाँस्नुभयो र मेरा केटाकेटीहरूलाई हेर्नुभयो, बोलाउनु भयो र निस्कनु भयो । त्यस समयदेखि आजसम्म म वहाँकै नयाँ बानेश्वरका घरको तल्लो तलामा बसेको छु । २०६९ साल भाद्रमा २४ वर्ष पुग्यो ।

एउटै घरमा भएपछि म दैवज्ञ सरको नजिकको सँगाती त भइ नै गएँ, त्यसैले वहाँको व्यक्तित्व, विचार र व्यवहारलाई अत्यन्त सूक्ष्म तरिकाले पनि अध्ययन गर्ने मौका मैले पाएँ । जताबाट नियाल्दा पनि वहाँ “दैवज्ञ” नै हो, जस्तो नाम त्यस्तै व्यक्तित्व । अत्यन्त सादा जीवन, गहन अध्ययन र सोचको व्यक्ति वहाँ हुनुहुन्थ्यो । वहाँलाई उस बेलैदेखि सुगरको बिमार रहेछ, चिनी नभएको चिया, मकैको चामलको भात, दही दूध र साग सब्जी मात्र वहाँको दैनिक भोजन थियो । सुर्तीजन्य पदार्थ र मादक पदार्थ कहिले पनि वहाँले छुनुभएको मैले देखिन ।

मेरी श्रीमतीको माइती पनि भोजपुर नै हो र दैवज्ञ दाइले उनीहरूलाई घरायसी तवरबाटै जान्नु हुँदोरहेछ । मेरा जेठान रामबहादुर कार्कीसँग वहाँको धेरै राम्रो सम्बन्ध रहेछ, त्यसैले मेरी श्रीमतीलाई वहाँ बहिनी भन्नुहुन्थ्यो । हाम्रा नानीहरूलाई वहाँ आफ्ना छोरा भूषण, अर्चना, उज्ज्वल र सौरभ सरह नै स्नेह गर्नुहुन्थ्यो । मेरा छोराछोरी वहाँलाई ठुलो वुबा भन्दै झयामिन्थे । हाम्रो कहिले पनि घरबेटी र डेरावालको जस्तो सम्बन्ध भएन । मेरा छोराछोरी यही घरमा हुर्किए, हामी बुढाबुढी भैसक्यौँ । दैवज्ञ सरको सुसंस्कृत आचरण र व्यवहारको प्रभाव वहाँका भाइहरू केदार दाइ र महेश्वर दाइमा मात्र नभई छोराछोरीहरूमा पनि प्रचुर मात्रामा प्रतिविम्बित भएको पाइन्छ ।

एउटै घरमा हँुदा पनि म वहाँको कोठामा भने एकदम कम पस्तथें प्रायः घरको बाहिरपट्टि नै बढी कुराकानी हुन्थ्यो । वहाँ सरल र सामान्य वाक्यमा संवाद गर्नुहुन्थ्यो । तर अर्थ अत्यन्त व्यावहारिक र दार्शनिक हुन्थ्यो । वहाँ ठट्टा गर्दा पनि अर्थपूर्ण कुराहरू गर्नुहुन्थ्यो । एक दिन हाम्रो चर्पीको नाली मुसाले खोलेर फोहर बाहिर आउने बनाइदिएछ, म त्यो बनाउँदै थिएँ । त्यति नै वेला युनिभर्सिटीबाट दाइ आइपुग्नुभयो र हाँस्दै भन्नुभयो । “स्याबास्, तिमी मान्छे सुग्घरी हौ, सुग्घरी मान्छेले आफ्नो अगाडिको फोहोर सफा गर्छ, फोहरीले हेरेर बसिरहन्छ ।” अर्को यस्तै प्रसंगमा हामीले हाम्रो आँगनमा छिमेकीले फोहोर फालिरहने कुराको दाइसँग उजुरी गर्‍यौं, दाइले हामीलाई भन्नुभयो “उसँग त्यही छ त्यही फ्याँक्छ, तिमीहरू बढारेर सफा गर आफ्नो आँगन ।” भगवान् बुद्धलाई चेलाहरूले अन्य मानिसले बोलेको अपशब्द बारे उजुरी गर्दा भगवान्ले दिनुभएको उत्तरको प्रसंग वहाँले हामीलाई सुनाइदिनु भयो । त्यस दिनबाट हामी आफैँ चुप भयौँ ।

एक दिनको अर्को प्रसंगमा भर्खरै मात्र ने.का. विभाजन भई शेरबाहादुरको नेतृत्वमा प्रजातान्त्रिक कांग्रेस बनेको थियो, दैवज्ञ दाइले भन्नुभयो – तिमी कता लाग्यौ ? मैले भने– अहिलेसम्म त म कतै लागेको छैन । वहाँले फेरि भन्नुभयो – किसुनजीले अग्रसर भएर यसको नेतृत्व गर्नुहुन्न । यो गिरिजाको लौरो गिरिजापट्टि नै फर्काइदिएको मात्र हो । प्रतिक्रियामा बनेको पार्टीमा लक्ष्य, दृष्टिकोण र सिद्धान्त हँुदैन । त्यसैले यो दीर्घकालीन हुँदैन, छिट्टै बिलय हुन्छ । अन्य तिम्रो विचार । पछि आएर त्यही कुरा नै सावित भयो । वहाँको मौलिक र विशिष्ट किसिमको विश्लेषण र सोच थियो । आफ्नै सामान्य र आफ्नै सम्पत्तिको भरपुर उपयोग गर्नुपर्छ भन्ने वहाँको भनाइ र गराइ पनि थियो । आफूलाई आजीवन के के कुरा पुग्न सक्छ त्यही अनुरूप आफ्नो जीवन यापनको सीमा हुनुपर्छ, सुकुलमा मात्र सुत्न पुग्छ भने त्यसैमा आफूलाई अभ्यस्त गराउनु पर्छ भनेर वहाँले मलाई पटक पटक सम्झाउनु भएको छ ।

साहित्यकारका रूपमा दैवज्ञ दाइ कुन कोटिको हुनुहुन्छ, त्यो म जान्दिन । म त्यसतर्फ ज्ञान राख्ने र ध्यान दिने क्षमता राख्न सक्तिन । मात्र मलाई वहाँका धेरै कृति छन् भन्ने थाहा छ । विश्वविद्यालयको प्रोफेसर वहाँ आफ्नै योग्यता र परिश्रमबाट बन्नु भएको हो । यत्ति मलाई थाहा छ । दैवज्ञ दाइजस्तो मानिसको व्यक्तित्वको चर्चा वा परिभाषा गर्न एउटा दुइटा कोणबाट एउटा–दुइटा वाक्यांशमा सीमित गर्न सकिन्न । वहाँ एउटा दक्ष गुरु हुनुहुन्थ्यो, सफल अविभावकक हुनुहुन्थ्यो र एउटा असल नागरिक हुनुहुन्थ्यो । वहाँलाई धेरै प्रशंसापत्र, अभिन्दनपत्र र तक्मा प्राप्त भएका छन् । यस्ता कुराले वहाँको जीवनमा त्यति धेरै अर्थ राख्दैनन् तर वहाँले यो राष्ट्र, समाज र समग्रमा सम्पूर्ण मानव समुदायलाई जुन संस्कार र सभ्यताको शिक्षा दिनु भएको छ, त्यो अलिकति पनि हामीले ग्रहण गर्न सक्यौं भने वहाँका लागि महत्त्वपूर्ण श्रद्धाञ्जली अर्पण गरेको ठहर्छ ।

हालसम्म म सपरिवार वहाँकै घरमा बसिरहेको छु । मेरो हातले हुनेसम्म घरको सुघर सफाइ गरेको छु । कोठेबारीमा स्थानीय फूल र रुख बिरुवाहरू रोपेर हरियाली कायम राखिरहने कोसिस गरेको छु, रुखको छाहरीमा चराहरू आएर बस्तछन्, बिहानीमा चिरबिर बोल्दछन् । मेरी श्रीमतीले नियमित रूपमा चारो दिन्छिन् । हामीलाई पित्रृदेवहरूको आशिष सदा साथमा भएको भान हुन्छ । म र मेरो परिवार रीता भाउजू र वहाँप्रति सदा आभारी छौँ । यो लामो कालखण्डमा हाम्रो परिवारलाई माया गरेर संरक्षण दिने दुबैजना हुनुहुन्न । उहाँहरूप्रति श्रद्धाका यिनै आफ्ना दुई–चार शब्दहरू व्यक्त गर्दै कलम बन्द गर्दछु ।

जन्मदैमा कोही हुन्न खराब वा राम्रो

सङ्गतले भाग्य बन्छ सधैँभरि हाम्रो।

दैवज्ञराज न्यौपाने

'घामले ढोका खोल्यो'

उराठ छन् गाउँ-बेँसी उराठ छन् वन

जिउ त मेरो यहीँ नै छ कसले चोर्‍यो मन ?

दैवज्ञराज न्यौपाने