मेरो संस्मरणमा दैवज्ञ दाइ
मेरा परम आदरणीय मावली दाजु दैवज्ञराज न्यौपानेसँगका अनगिन्ती संस्मरणमध्ये कुन चाहिँ लेखौं भन्ने बारेमा आज म अत्यन्त अन्योलग्रस्त छु । प्रखर कवि एवं समालोचक, समाजसेवी, कुशल प्रशासक, विशिष्ठ प्राध्यापक, विनयी, धीर, सौम्य, शान्त र सुन्दर व्यक्तित्वका धनी यी सबै विशेषणमा दैवज्ञराज भन्ने एउटै विशेष्य राखेमा अनेकौँ संस्मरण तयार हुन्छन् । यो विराट काम म एक्लैबाट सम्भव छैन । तसर्थ केही समयको चिन्तनपछि यो अन्योललाई चिर्दै मैले बाल्यकालदेखि र जान्नेसुन्ने भएपछि म र मेरो परिवारसँग सम्बन्धित दैवज्ञ दाजुसँगका केही संस्मरणका बारेमा लेख्ने विचार गरेँ ।
दैवज्ञराज न्यौपाने नेपालका राष्ट्रिय व्यक्तित्व त हुनुहुन्थ्यो नै र पनि उहाँ पूर्वी नेपालको रानो हुनुहुन्थ्यो किनकि उहाँले काठमाडौंमा बस्ने पूर्वी नेपालका र पूर्वतिरै बस्ने सबै नेपालीको मन र विश्वास जित्नुभएको थियो । आशा र विश्वास लिएर उहाँसँग पुग्ने कुनै पनि व्यक्तिलाई उहाँले निराश गराउनु भएको छैन । उहाँका नातेदार, इष्टमित्र, छर—छिमेकी सबै जात, पेसा, धर्म, संस्कृति र वर्गका व्यक्तिहरूलाई जागिरको बन्दोबस्त गरिदिने, भनसुन गर्ने ठाउँमा गरिदिने, बसोबास र खानपिनको प्रबन्ध गरिदिने, पठनपाठनको व्यवस्था मिलाइदिने जस्ता यावत् कार्यमा दैवज्ञ दाजु सधँै सरिक हुनुहुन्थ्यो र त्यस्ताखाले झिनामसिना काममा उहाँले झर्को—फर्को गरेको मैले कहिल्यै देखिंन । कुनै पनि ठुला साना समस्या र काम लिएर उहाँसँग पुग्ने मानिसहरूसँग उहाँ जहिले पनि हँसिलो मुद्रा र मृदु भाषामा कुरा गर्नुहुन्थ्यो ।
दाजु दैवज्ञकी एक मात्र फुपूका छोरा भएकाले हामी सबै भाइप्रति उहाँको अत्यन्त गहिरो स्नेह थियो । हामी उहाँकी फुपूका ५ भाइ छोरा र एउटी छोरी सबै उहाँका भाइ बैनी हांै । त्यसैले होला हामीप्रति उहाँले अत्यन्त स्नेह गर्नु भएको । हाम्रा पितामाता स्वर्गवासी टीकादत्त उपाध्याय र मदनकुमारीप्रति उहाँले अत्यन्त आदरभाव राख्नुहुन्थ्यो । मसँग बाल्यकालका स्मरणहरू अझैसम्म ताजै छन् । जबजब उहाँ दशैंताका वा अन्य कुनै समयमा भोजपुर गोगने जानुहुन्थ्यो तब हाम्रो घर भोजपुर सिक्तेल खाल्लेमा पनि पुग्नुहुन्थ्यो । बाल्यकालमा उहाँको सुन्दर, शान्त, सौम्य र दिव्य व्यक्तित्व देख्दा म मनमनै पुकलित हुन्थें मेरा मावली दाइ यस्तो हुनुहुन्छ भनेर । उहाँका छन्दोवद्व कविता र गीतहरू छापिएको देख्दा, विद्यालयका विभिन्न तहका पाठ्य—पुस्तकहरूमा उहाँका कविता समाविष्ट देख्दा, उहाँले राष्ट्रिय कविता प्रतियोगितामा विभिन्न पुरस्कार प्राप्त गरेर पदक पाउनु भएको समाचार सुन्न पाउँदा म सानामा गर्वित महसुस गर्दथेँ।
हाम्रो परिवार दैवज्ञ दाजुप्रति अत्यन्त ऋणी छ किनभने हाम्रा मातापिताले छोराछोरीलाई पढाउनु पर्छ भन्ने शिक्षा उहाँबाटै प्राप्त गर्नु भएको थियो र मेरा माल्दाजु गोविन्द नेपाललाई सानैदेखि गोगनेको पाठशालामा पढ्न पठाउनु भएको थियो । उहाँको प्रेरणाले माल्दाजुको शिक्षादीक्षा गोगनेबाट धरान हुँदै काठमाण्डौंमा भएको हो । मैले पनि काठमाडौँमा उच्च शिक्षा हासिल गर्ने अवसर माल्दाजुबाटै प्राप्त गरेको हँु । काठमाडौँ गएपछि दैवज्ञ दाइसँग मेरो अझ बढी निकटता बढ्यो र उहाँलाई नजिकबाट हेर्ने र चिन्ने मौका प्राप्त भयो । उहाँका कविता र पुस्तकहरूका अझ निकट पहुँचमा पुगें । उहाँको प्राध्यापकीय, सामाजिक, प्रशासकीय, समालोचकीय आदि व्यक्तित्व बुझने झन् मौका पाएँ ।
हाम्रो परिवारको सबैभन्दा दुःखद घटना २०३९ साल वैशाख ९ गते भोजपुर अस्पतालमा मेरो भाइ वेदनिधि (हरि) को असामयिक निधनबाट परेको थियो । उक्त घटना वैशाख ११ गते काठमाडौँमा दैवज्ञ दाइले थाहा पाउनु भएछ । उहाँ हामीलाई खबर गर्न साँझपख हाम्रो डिल्लीबजारको डेरामा आउनु भएको थियो । माल्दाजु कोठामा नभएकाले मलाई केही कुरा नभनी दैवज्ञ दाइले मोटरसाइकलमा राखी नयाँ बानेश्वरमा उहाँको घरमा पुर्याउनु भयो । बाटामा हरिको पढाइका बारेमा केही कुरा मसँग सोध्नु भएको थियो किनकि ऊ त्यसबेला भोजपुर क्याम्पसको विद्यार्थी थियो । बानेश्वर पुगेपछि उहाँले भोजपुरबाट पाटन संयुक्त क्याम्पसमा गोविन्द दाजुको नाममा हरिको ९ गते स्वर्गारोहण भएको दुःखद आ.वा. सन्देश आएको र सो उहाँले ल्याउनु भएको कुरा भन्नुभयो । त्यस्तो अकल्पनीय र अप्रिय समाचार सुन्दा म थरर काँपे र डाँको छोडेर रुन थालेँ। मलाई दैवज्ञ दाइ, माइजू र रीता भाउजूले सम्झाउनु भएको थियो । त्यसबेला दैवज्ञ दाइले मलाई सम्झाउँदै भन्नुभएका कुराहरू मेरा मानसपटलमा अविस्मरणीय रूपमा रहेका छन् । उहाँले भन्नुभएको थियो, बाबु झ् मृत्यु भनेको शाश्वत सत्य हो । ढिलो चाँडो मृत्यु सबैका लागि निश्चित छ । तिमीले आफ्ना भाइको अल्पायुमा नै भएको मृत्युमा यति बढी शोक गरेर विचलित भयौ भने उनको निर्दोष आत्माले शान्ति पाउँदैन । वृद्य भइसक्नु भएका दिदी—भिनाजु (मेरा मातापिता मदनकुमारी र टीकादत्त उपाध्याय) ले आफ्नो कान्छो छोराको अवसानको पीडालाई कसरी सहन सक्नु हुन्छ । त्यसैले, बाबु, तिमी र गोविन्दले यस दुःखद घडीमा पहिले आफंैलाई सम्हाल्नु पर्छ र तिमीहरूका बाबाआमालाई सम्झाउनु पर्छ, जसले विगतमा थुप्रै छोराछोरीहरूको अल्पायुमै भएको मृत्यु सहनु भएको छ ।
त्यसपछि दैवज्ञ दाइले मलाई उठाएर इनारमा लगी नुहाउन लगाउनु भयो । आपूफले पनि नुहाउनु भयो । अनि हामी दुवैले हातमा तिल—कुश लिएर हरिको आत्माको शान्तिको कामना गर्दै ३६,३६ अञ्जुली जल अर्पण गर्यौं । मैले दैवज्ञ दाइको संस्मरणमा यो व्यक्तिगत प्रसङ्ग किन उठाउन खोजेको भने त्यसबेला दाइले देखाउनु भएको धीरताले म विचलित हुनुबाट जोगिएँ । म वी.ए.को अन्तिम सेमिस्टरको विद्यार्थी थिएँ त्यसबेला । हरिको मृत्युमा बाबु—आमा र अरू परिवारजनलाई सामूहिक शोकमा साथ दिन म बहकिएर भोजपुर हान्निन पनि सक्थें । यता मेरो पढाइ र परीक्षा बिग्रेर अगाडिको शिक्षा अवरुद्य पनि हुन सक्ने सम्भावना थियो । उहाँबाट मैले व्यावहारिक हुने र अति भावुक नहुने प्रेरणा पाएको छु । २०४०—४१ सालतिर दैवज्ञ दाइ बालमन्दिरबाट प्रकाशित हुने बालक पत्रिकाको प्रधान सम्पादक हुनुहुन्थ्यो । म त्यसबेला त्रि.वि.मा एम्.ए. अंग्रजी विषयको विद्यार्थी थिएँ ।
एक दिन दाइसँग भेट भएका बखत उहाँले मलाई बलराम झ् (घर र मामाघरमा बोलाउने मेरो नाउँ) ग्रिसेली तथा अन्य पाश्चात्य पौराणिक कथामा आधारित केही बालोपयोगी कथाहरू अनुवाद गर न, बालक पत्रिकामा छाप्नुपर्यो भन्नुभएको हुनाले मैले क्युपिड र साइकीको कथा, एटलान्टाको दौड, सौन्दर्यकी रानी हेलेन जस्ता केही ग्रीसेली पौराणिक कथाहरूको अनुवाद गरेको थिएँ र तिनलाई उहाँले बालक पत्रिकामा छपाइदिनु भएको थियो । यसरी दैवज्ञ दाइ लेखपढ गर्ने कुरामा मलाई घच्घच्याउनु हुन्थ्यो । पढाइ सकेपछि म काठमाडौँ बाहिर भएकाले अरू थप अनुवाद गर्ने र छपाउने क्रम टुट्यो । प्राध्यापन पेसाको सिलसिलामा म २०४५ सालदेखि विराटनगरमा बस्न थालेकाले बर्षमा मुस्किलले एकदुई चोटि मात्र मेरो उहाँसँग भेट हुन्थ्यो, म काठमाडौँ जादाँ या उहाँ विराटनगर आउँदा । २०५१ सालपछि हाम्रा बुबाआमा भोजपुरबाट विराटनगर आई मसँग बस्न थाल्नुभएकाले विराटनगर आउँदा दैवज्ञ दाइ एक चोटि मेरो घरमा अनिवार्य आउनुहुन्थ्यो । २०५५ या २०५६ सालको दसैँमा सुधा भाउजू समेत दैवज्ञ दाइ हाम्रा बुबाआमाको हातबाट टीका थाप्न आउनुभएको थियो । एक दुई चोटि विराटनगरमा मैले आफ्नो मोटरसाइकलमा उहाँलाई उहाँका विभिन्न इष्टमित्र र नातागोताका घरमा पुर्याउने मौका पनि पाएको थिएँ । त्यसो गर्दा मलाई अत्यन्त आनन्द आउँथ्यो । २०५७ र ०५८ सालमा क्रमशः मेरा आमा र बुबाको स्वर्गारोहणपछि पनि दैवज्ञ दाइ विराटनगर पटक पटक आउँदा मेरा घरमा आउने र बस्ने गर्नुहुन्थ्यो ।
२०६५ साल जेष्ठ अन्तिमतिर म काठमाडौँ गएको थिएँ । एक दिन दिउँसो म दाइलाई भेट्न उहाँको गैरीगाउँको घरमा गएको थिएँ । त्यसबेला उहाँ बिरामी परिसक्नु भएको थियो । सुधा भाउजू अफिस जानु भएको थियो र सौरभ पनि परीक्षाको तयारीमा व्यस्त भएकाले आफ्नै कोठामा पढिरहेको थियो । बैठक कोठाको लो बेडमा दाइ सुतिराख्नु भएको थियो । विगतको त्यस्तो सौम्य व्यक्तित्व र धीरताका प्रतिमूर्ति दाइको जीर्ण अवस्था देखेर म एकछिन भावविह्वल भएँ र उहाँ पनि मलाई देखेर त्यस्तै हुनुभयो । मैले सानो तौलियाले दाइका आँसु पुछिदिएँ र दुवै जना सम्हालिइसकेपछि दाइलाई आड दिएर मैले विछ्यौनामा बसाएँ । हामीले सञ्चो बिसञ्चोका कुराहरू आदानप्रदान गर्यौं । खुल्ला कापीका पानाहरूमा दाइले लेख्नु भएका केही फुटकर कविताहरू यत्रतत्र छरिएका थिए । दाइले मलाई ती पन्नाहरू समेटेर कविता पढेर सुनाउन भन्नुभयो । मैले त्यसै गरेँ । अशक्त भएर बिछ्यौनामा परेको बेला र हातले पनि राम्रोसँग कलम समाउन असजिलो हुने अवस्थामा पनि दैवज्ञ दाइको सिर्जना नथाकेको देखेर म मनमनै अति पुकलित भएको थिएँ र राष्ट्रकवि माधव घिमिरेका निम्न पङ्तिफ सम्झन पुगेको थिएँ ः—
ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति संसारमा कैल्यै हुँंदैन विफल
कापीका खुल्ला पन्नाहरूमा किरिङ्मिरिङ अक्षरमा कोरिएका मैले उहाँका अगाडि त्यसबेला पढेका ती फुटकर कविताहरू प्रकाशित भइसके वा हुन बाँकी छन् मलाई थाहा छैन । तिनीहरूमध्ये एउटा कविताको शीर्षक कौडे भाले थियो । अरू कविताको शीर्षक चाहि मलाई अहिले ठ्याक्कै याद भएन ।
दैवज्ञ दाइसँग मेरो अर्को भेट २०६६ साल असार १२ गते पशुपति, वनकालीमा मेरी कान्छी छोरी सञ्चिताको विवाहका अवसरमा भएको थियो । त्यस्तो अशक्त अवस्थामा पनि उहाँ मेरो निमन्त्रणालाई स्वीकार गरी सो विवाहमा उपस्थित भएर करिब ३ घण्टासम्म प्लास्टिकको कुर्सीमा बस्नुभएको थियो । म वेहुलीको बाबु हुनाले जग्गेमा व्यस्त हुनु परेको कारण त्यसबेला सामान्य अभिवादन र सञ्चो बिसञ्चोका कुरा बाहेक थप कुरा हुन सकेनन् । विवाहको काम सकेर चाँडै विराटनगर फर्कनु पर्ने भएकाले मैले दाइलाई घरमा गएर पनि भेट्ने अवसर मिलेन । २०६७ साल असारमा म काठमाडौँ गएको बेला दैवज्ञ दाइ सपरिवार उपचारका सिलसिलामा दिल्ली जानुभएकाले भेट हुन सकेन । २०६८ साल असारमा मेरो काठमाडौँ जाने अवसर परेन । मेरी पत्नी शान्ता गएकी थिइन् । उनी गैरीगाउँ दैवज्ञ दाइको घरमा पुगेका दिन मसँग विराटनगरमा फोन सम्पर्क भएको थियो । त्यसै फोनमा मेरो दाइसँग अन्तिम पटक बोलचाल भएको थियो । मसँग बोल्दा दाइको स्वरमा भावविह्वलता थियो र ममा पनि त्यस्तै । दाजु, हजुरलाई कस्तो छ, सञ्चै हुनुहुन्छ ? भन्ने मेरो प्रश्नमा दाइले सञ्चै छु बाबु, तिमी किन यसपल्ट काठमाण्डौं नआएको ? भन्नुभयो । मैले “यसपालिको हिउँदमा आउँछु ” भनेको थिएँ । तर मेरो दुर्भाग्य ! दाइले मलाई भौतिक रूपमा २०६८ सालको हिउँदसम्म पर्खनु नै भएन । यो कुराको खुट्को मलाई जीवनपर्यन्त रहने भयो ।
सात दशकको उमेर नै पूरा हुन नपाई दैवज्ञ दाइको भौतिक अवसान भयो भन्ने कुरा मलाई अहिलेसम्म पनि विश्वास लागेको छैन । त्यसपछि म न काठमाडौँ न त मेरो अति प्रिय मामाघर गैरीगाउँ नै पुगेको छु । सौम्य, शान्त र धीर व्यक्तित्वका धनी दैवज्ञ दाइसँग भौतिक रूपमा मेरो अन्तिम भेट २०६६ असारमा भएको थियो । अब उहाँको त्यो व्यक्तित्व केवल मेरो मानसपटलका स्मृतिमा सीमित रह्यो । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै मेरा जीवनका ती महान् पथप्रदर्शकप्रति हार्दिक श्रद्यान्जली अर्पण गर्दछु ।
विराटनगर, मोरङ
यस्तै हो सृष्टिको चक्र जानु उनुका कुरा
युगौँदेखि चलेका छन् चल्नेछन् अझ ती कुरा
यो धर्ती यसमा आई जो ज्यूँछन् जसरी नर
उस्तै उठ्छ यहाँ नौलो नयाँ सिर्जनको स्वर।
दैवज्ञराज न्यौपाने
'ती रोइन् त्यसरी किन ?'