कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

अन्तिम भेट

घनानाथ ओझा

घनानाथ ओझा
पूर्व सचिव, नेपाल सरकार

दैवज्ञराज न्यौपाने बिमारी भएर हिँडडुल गर्न सक्नुहुन्न भन्ने सुनेपछि उहाँलाई मेट्न म र मेरा भाइहरू केदारनाथ ओझा र ढुण्डिराज ओझा काठमाडौं तीनकुनेको उत्तरपट्टि गैरीगाउँस्थित उहाँको निवासमा गयौं । उहाँ एक्लै बसिरहनु भएको रहेछ । हिँडडुल गर्न नसक्ने अवस्थामा उहाँलाई मैले देखेँ । त्यसपछि उहाँको स्वस्थ शरीर र जल्दोबल्दो समयको तस्वीर मेरो मनमा नाचिरह्यो र त्यो अशक्त अवस्थालाई बराबर मेरो मनले तुलना गरेर हेरिरह्यो । एउटा ठिटो उहाँको हेर विचारमा तैनाथ गरिएको रहेछ । तर त्यो समयमा त्यो ठिटो त्यहाँ थिएन । उहाँले त्यसलाई बोलाउनु भयो तर त्यो ठिटो त्यहाँ वरिपरि देखिएन । त्यसपछि हामीले – त्यो ठिटो किन चाहियो हामीले मामालाई भेटिहाल्यौं, यति भए पुगिहाल्यो नि – भनेर भन्यौँ ।

पं. खगेश्वर न्यौपाने मेरा मामा हुनुहुन्छ र दैवज्ञजी उहाँका नजिकैका भाइ हुनुहुन्छ । त्यसैले उहाँलाई भेट्दा मामा भनेर मैले सम्बोधन गथेँ र उहाँले पनि मलाई भान्जा भनेर सम्बोधन गर्नु हुन्थ्यो । त्यसपछि उहाँसँगै आपसी क्षेमकुशलका कुरा भए । उहाँले – भान्जा म त हिँडडुल गर्न नसक्ने भएँ – के गर्ने ? भन्ने कुरा गर्नुभयो । मैले – मामा तपाईंले नेपाली भाषा र साहित्यका क्षेत्रमा प्रशस्त योगदान गर्नु भएको छ । यस्तो योगदान नै सबभन्दा ठुलो काम हो । यसले मामालाई सदैव नेपाली समाजमा सम्झना गराई राख्न सक्छ । जीवनमा तपाईंले अब केही गरिरहनु पर्दैन – भनेँ ।

अहिले उहाँ हामीमाझ हुनुहुन्न तर उहाँका विभिन्न विधाका रचनाहरूले उहाँको सम्झनालाई सदैव ताजै बनाई राख्न सक्छन् । उहाँ आफ्नो पढाइकै सिलसिलामा वि.सं. २०१४–१५ सालदेखि नै र पढाइ सकेपछि पनि नेपाली भाषा र साहित्यको सेवामा लागिरहनु भयो । उहाँको प्रसिद्ध कविता “प्रियालाई सन्देश” (२०२२), प्रकाशित भयो । तत्पश्चात् उहाँका दर्जनौ कृतिहरू प्रकाशित भए । यसमध्ये नेपाल एकेडेमी र साझा प्रकाशन जस्ता संस्थाहरूले पनि उहाँका कृतिहरू प्रकाशन गरे । उहाँका कृतिहरूमा खण्डकाव्य, कविता संग्रह र समालोचना आदि छन् । नेपाली भाषा र साहित्यको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको कदर गर्न उहाँलाई युवावर्ष मोती पुरस्कार, भारती खरेल पुरस्कार, गुणराज व्याख्यान पुरस्कार जस्ता विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो । उहाँ भोजपुर जिल्लाको दाँवा भन्ने भोजपुर बजार नजिकको गाउँमा वि.सं. १९९९ सालमा जन्मनु भई भोजपुर जिल्ला अन्तर्गतकै गोगनेको धाइपामा हुर्कनु भएको थियो ।

घरमै सामान्य शिक्षा आर्जन गरेपछि उहाँ संस्कृत शिक्षा आर्जन गर्न भोजपुर जिल्लाको दिङ्लामा र त्यसपछि दाङको संस्कृत विद्यालयमा पढ्न जानु भयो । त्यसपछि वाल्मीकि विद्यापीठमा आचार्यसम्मको अध्ययन र नेपाली विषयमा त्रिभुवन विश्वविद्यालयबाट एम.ए. पास गर्नु भयो । यो अध्ययनपछि उहाँले भक्तपुर क्याम्पस, पाटन क्याम्पसमा अध्यापन गराउनुका साथै पाटनको क्याम्पस प्रमुखसमेत बन्नु भयो । प्राध्यापन सेवाको धेरै समय उहाँ केन्द्रीय क्याम्पस कीर्तिपुरमा कार्यरत रहनुभयो । अन्तिम समयमा नेपाली विभागमा प्राध्यापकको रूपमा काम गरी सेवानिवृत्त हुनुभयो । यसरी आफ्नो अध्ययन, अध्यापन र नेपाली भाषाको सेवामा आपूफलाई समर्पण गरेका श्री दैवज्ञराज न्यौपाने आज हामीमाझ हुनुहुन्न । तर समाजमा उहाँका योगदानहरूले उहाँलाई सदाकाल सम्झना गराई राख्नेछन् । नेपालको प्राज्ञिक जगत्मा पूर्वाञ्चल क्षेत्रकै प्रतिष्ठित व्यक्तित्व बनाउनुभएका कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दछु ।

कमलपोखरी, काठमाडौं
२०६९ साउन ८