कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि एवं बालसाहित्यकार दैवज्ञराज न्यौपाने

गोपाल पराजुली

हामी योग्य विचार पोख्न सुखले सक्छौं यहाँ जो पनि
नेपाली हक भोग गर्न सकिने हामी सबै छौं धनी
आपैंफ बग्नुछ देशभित्र पसिना छर्दै सफा चालमा
आपैंफ गर्नुछ भाग्य सिर्जन नयाँ यो देश नेपालमा

यति राम्रो कविता लेख्ने कवि दैवज्ञराज न्यौपाने हुन् । उनको जन्म वि.सं. १९९९ साल मङ्सिर ३० गते भोजपुर जिल्लाको दावाँ भन्ने ठाउँमा भएको हो र बाल्यकाल गोगनेमा बितेको हो । उनका बाबुको नाम पण्डित गणेशप्रसाद उपाध्याय न्यौपाने र उनकी आमाको नाम उमादेवी न्यौपाने हो । उनको न्वारनको नाम थानेश्वर हो । उनी गणेशप्रसादका साहिँला र उमादेवीका प्रथम सन्तान हुन् । साहित्यिक क्षेत्रमा उनी दैवज्ञराज न्यौपाने नामले प्रसिद्ध छन् ।

दैवज्ञराजको शिक्षाको सुरुवात आफ्नै बाबुबाट पाँच वर्षको उमेरमा भएको थियो । उनी सानैदेखि निकै प्रतिभाशाली थिए । उनले वि.सं. २०१३ सालमा गोगने पाठशालाको कक्षा ४ मा भर्ना भई अध्ययन सुरु गरे । उनले त्यस विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरे । त्यसपछि उनले दिङ्लाको षडानन्द संस्कृत विद्यालयबाट ९ कक्षा उत्तीर्ण गरे । त्यसपछि उनले दाङको जनता प्रधान पाठशालाबाट पूर्वमध्यमा परीक्षा उत्तीर्ण गरे । उनी २०२० सालमा काठमाडौं आई हालको वाल्मीकि विद्यापीठबाट २०२१ सालमा उत्तरमध्यमा, २०२३ सालमा शास्त्री र २०२६ सालमा नेपाली साहित्यमा एम.ए. उत्तीर्ण गरे । उनले संस्कृततर्पफ मीमांसादर्शनमा आचार्यसम्मको अध्ययन गरे । उनले नेपाल राष्ट्रिय विद्यापीठबाट साहित्यरत्न पनि हासिल गरेका थिए ।

दैवज्ञराजले वि.सं.२०२७ सालदेखि प्राध्यापन गर्न थाले । उनले २०६२ सालसम्म त्रिभुवन विश्वविद्यालका विभिन्न क्याम्पसहरूमा नेपाली विषय पढाए । उनले पाटन संयुक्त क्याम्पसमा क्याम्पस प्रमुख समेत भएर काम गरेका थिए ।

दैवज्ञराजको पहिलो विवाह त्यस बेलाको चलन अनुसार सानै उमेरमा भएको थियो । तर उनीहरूको वैवाहिक जीवन सफल हुन सकेन । पछि उनको विवाह २०२९ सालमा रीता पोखरेलसँग भएको थियो । रीतालाई अर्बुद रोग लागेर निको नभएपछि उनको तेस्रो विवाह २०४६ सालमा सुधा कोइरालासँग भयो । रीताका तर्पफबाट २ छोरा १ छोरी र सुधाका तर्पफबाट १ छोरा गरी उनका चारजना सन्तान छन् ।

दैवज्ञराज वि.सं.२०१८ सालमा दिङ्ला संस्कृत पाठशालाको स्वतन्त्र विद्यार्थी युनियनका सदस्य र २०२३ सालमा संस्कृत छात्रावासमा युनियनका अध्यक्ष भएका थिए भने नेपाल विद्यार्थी सङ्घको स्थापना कालमा सक्रिय रहेका थिए । उनी २०२१ सालको छात्र आन्दोलनमा करिब ३ महिना (७५दिन – सम्पादक) जेल पनि परेका थिए । उनले भीमनिधि तिवारीको “शिलान्यास” र विजय मल्लको “भोलि के हुन्छ ?” नाटकमा अभिनय गरेका थिए । सफल अभिनय गरेबापत उनले त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक समेत प्राप्त गरेका थिए । उनले विभिन्न धार्मिक नाटहरूको निर्देशन पनि गरेका थिए । उनी दाङमा भएको खेलकुदमा हाइजम्प र लङजम्पमा नेपाल प्रथम भएका थिए ।

दैवज्ञराज बालकले बुझने खालको भाषामा कविता लेख्थे । त्यसैले उनी बालकविका रूपमा निकै चर्चित र लोकप्रिय पनि थिए । उनका बालकविता यस्ता हुन्थे ः–

शिर हाम्रो सगरमाथा, तराईको भर
मेची–कालीभित्र हाम्रो सबै आफ्नो घर
मधिसे र पर्वतेको छैन भेदभाउ
हामी सबै नेपाली हौं जहाँसुकै जाउँफ

सबैलाई सँगालेर अघि बढ्नुपर्छ
मिलीजुली काम गर्ने बानी गर्नुपर्छ
आपैँफ मात्र राम्रो ह्वैन, अरू पनि राम्रो–
भन्ने सोच राख्न सके सबै हुन्छ राम्रो

दैवज्ञराजले धेरै व्यक्तिको जीवनी, विभिन्न विषयका धेरै गीतहरू र अरूका धेरैवटा पुस्तकमा भूमिका लेखेका छन् । उनका प्रकाशित कृतिहरू यी हुन् ः–

बालसाहित्यः १. तोतेबोली २. गाउँखाने कविता ३. बालसंसार

४. सबै हाम्रा साथी ५.घामले ढोका खोल्यो ६. पोल्टाका गीतहरू

७. हुने बिरुवाका चिल्ला पात

कवितासङ्ग्रहः ८. सिर्जनाको लहर ९. जोर मुरली

खण्डकाव्यसङ्ग्रहः : १०. सम्झनाको धरातलबाट

समालोचनाः ११. गुणराज उपाध्ययनका खण्डकाव्यहरूको मूल्याङ्कन
१२. नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू

यी बाहेक उनका थुप्रै बालकविता, कविता, लेख र संस्मरणहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित छन् । उनका बालकविताहरू प्राथमिक र निम्नमाध्यमिक तहको पाठ्यक्रममा पनि राखिएका छन् । तिनीहरूलाई सङ्ग्रह गरी छाप्न बाँकी नै छ । किशोर, मायाप्रीतिका छाल, लहरबेली, सीमाहीन आकाश, पौराणिक बालकथा, बालपहेली, एकादशी, तीन भँगाला, घामछायाका तरेलीहरू नामक पुस्तकहरू पनि छाप्न बाँकी छन् । उनले अरू साथीसँग मिलेर सम्पादन गरेका “नेपाली कविता (भाग १, २, ३ र ४) पाठ्यव्रफममा राखिएका छन् । उनी समेतको सम्पादनमा “नारदमुनि थुलुङ स्मृतिग्रन्थ” छापिएको छ । उनले गोरखापत्र संस्थानबाट प्रकाशित मुना बालपत्रिकाको केही समय अथिति सम्पादक भै काम गरेका थिए ।

दैवज्ञराजले महाविद्यालयस्तरीय साहित्य प्रतियोगिता पुरस्कार, राष्ट्रव्यापी साहित्य सम्मेलन पुरस्कार, युवावर्ष मोती पुरस्कार, बालहितकारी पुरस्कार, बालसाहित्य पुरस्कार, गुणराज व्याख्यान पुरस्कार, भारती खरेल व्याख्यान पुरस्कार, छिन्नलता सम्मान पुरस्कार, दीपस्मृति सम्मान पुरस्कार, छिन्नलता विशेष सम्मान, उदयानन्द पुरस्कार पाएका छन् । यीबाहेक नरेन्द्र वाङ्मयनिधि सम्मान, योगी नरहरिनाथ ट्रष्ट अभिनन्दन आदिसहित थुप्रै संस्थाहरूबाट सम्मान पाएका छन् । वि.सं.२०६६ सालमा उनका बारेमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहका विद्यार्थीले शोधकार्य गरेका छन् । उनका साहित्यिक कृतिहरूका पनि थुप्रै समालोचना छापिएका छन् । उनलाई आरोग्यकामना गरी उनका विषयमा लेखिएका कविताहरूको सङ्ग्रह “दैवज्ञ पद्यध्वनि” प्रकाशित भएको छ ।

दैवज्ञराजले भानु सेवा समिति, सनातन धर्म सेवा समिति, भोजपुरे सेवा समाज, पञ्चकुमारी सामाजिक गुठी, उदयानन्द स्मारक गुठी, सगुन सेवा समाज आदि विभिन्न सामाजिक सङ्घसंस्थामा पनि आबद्ध भई काम गरेका थिए ।

दैवज्ञराज वि.सं. २०६२ सालदेखि पक्षाघात भई अशक्त बनेका थिए । पछि उनलाई निमोनिया भयो । त्यही रोगबाट २०६८ साल पुस २ गते ६९ वर्षको उमेरमा निजामती अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भयो । उनीजस्ता बहुप्रतिभाशाली साहित्यकारको अभाव नेपाली साहित्यलाई सधैँ खड्किरहनेछ । उनले गरेको नेपाली भाषा–साहित्यसेवाको कदर सबै नेपालीले सधैँ गरिरहनुपर्छ ।