कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सुस्मृतिको झिल्कोभित्र दैवज्ञ दाइको सुन्दर चित्र

गोकुल व्याकुल

म नौ–दश कक्षाको विद्यार्थी छँदै दैवज्ञराज न्यौपाने नेपाली साहित्यमा एक उदीयमान छन्दवादी कवि हुन् भन्ने थाहा पाएको थिएँ । बैंस र वसन्तका कवि भनेर चिनिने चिरञ्जीवी कविवर माधव घिमिरेको शिल्प–शैलीलाई पछ्याई देशप्रेमको भावनाले लवालव भएका सुन्दर कविता तथा गीत रच्ने कवि न्यौपानेका कतिपय गीत–कविताहरूमा शृङ्गारिक चेतना बिउँझिएको पाइन्छ । मलाई लाग्छ – दैवज्ञराज न्यौपानेलाई प्रसिद्धिको शिखरमा चढ्न बल पुर्‍याउने केही कवितारूमध्ये कल्पदी बैंसलाई पनि एक हो । शार्दूलविक्रीडित छन्दमा आबद्ध यो कविता संस्कृत छात्र पुस्तकालय, पिण्डेश्वर धरानको प्रकाशन पीपल पत्रिकामा छापिएको थियो । संस्कृतका महाकवि कालीदासको मेघदूत (खण्डकाव्य)को कथावस्तुसँग स्पर्श गर्ने उक्त कविताको एउटा श्लोक उद्धृत गरौं ः–

मैलो बन्ला सहज दुनियाँ किन्तु मैलो नठाने

बढ्दै जाने युग छ यसमा हार कैल्यै नमाने

साँची राखे रहर मनका सम्झनामा मलाई

भन्ने मेरो खबर लगिद्यौ कल्पदी बैंसलाई

यो कविता हामी प्रायः सबै विद्यार्थीहरूलाई मुखाग्र थियो । पीपलकै चौथो अङ्क (२०२७) मा प्रकाशित उहाँको एक गीतको बोल यस्तो छ :

ब्यूँझी उठ्ने लहरले सिङ्गै देश ढाक्छ,

आज मेरो निर्माणले मेरै गीत माग्छ

साहित्य साधनाको प्रथम–प्रथम प्रयासमै चुस्त दुरुस्त एवं प्राञ्जल शैलीमा भावपूर्ण गीत–कविता लेख्ने रसिक कवि दैवज्ञराज न्यौपानेसँग पहिलो र दोस्रो पटक साक्षात्कार हुँदाको रमाइलो क्षण मेरो मस्तिष्कका कणकणमा मिसिएर अविस्मरणीय बनेको छ ।

वि.सं.२०३४/३५ सालको भदौ–असोज महिनातिर काठमाडौँमा एक दिन मेरा दाजु गोपालप्रसाद भण्डारीको साथ लागेर म पनि दैवज्ञ दाइलाई भेट्न उहाँको घरमा गएको थिएँ । उहाँसँग भेट हुनासाथ दाजु र दैवज्ञ दाइका बीच भलाकुसारी हुन थाल्यो तर म भने भर्खर पहाडबाट झरेको लुरे नौलो केटौलोको सक्कल अनुहारमा अरकच्च परी उभिइरहेको थिएँ । केही क्षणपछि सायद मेरा दाजुले यो मेरो भाइ गोकुल भनेर चिनाउनु भयो, मैले भने दैवज्ञराजको जाज्वल्यमान भर्भराउँदो मुहुडा (व्यक्तित्व)को अगाडि आँखा तिर्मिराएर शिर झुकाउँदै, धकाउँदै जुम्ल्या हात गरेँ । दाजुले यो पनि कविता लेख्छ भन्दा दैवज्ञ दाइले भन्नु भो – ए...अँ पीपलको कुन अङ्कमा हो गोकुल भाइको छन्दोबद्ध कविता पढेको थिएँ, राम्रो थियो । मैले साहस गरेर भनेँ– हो, देश नेपाल हाम्रो शीर्षकको थियो । शीर्षकमै छन्द मिलेको छ नि देश नेपाल हाम्रो कस्तो राम्रो, अँ कुन छन्दमा हो त भाइ ? उहाँले मेरो छन्दज्ञानको जाँच गर्नुभो । स्रग्धरा छन्दमा...। मैले छोटो उत्तर दिएँ । ए ठिक छ अब पनि यस्तै लेख्ने अभ्यास गर्नू है भाइ ! पत्र–पत्रिकामा छपाउनु पर्छ...कसो ? दैवज्ञ दाइबाट गुलियो आश्वासन पाएँ । हजुर हुन्छ मैले स्वीकृति जनाएँ ।

( सम्पादकलाई कण्ठ भएका देश नेपाल हाम्रो कविताका चार हरफ यसप्रकार छन् ः–

मानौँ यो देश तेर्सो पशुपति प्रभुका भालको शुभ्र टीको

हो क्या यद्वा उनैको कटिबिच कसिने बाघछाला मजाको

° ° °

धिन्ताङ् धिन्ताङ् र ट्याङ् ट्याङ् तुरुधुतुरुरुरू बज्दछन् पञ्चबाजा

नाच्छन् कान्छा र कान्छी रसमय मधुरो लाउँदै प्रेम साझा)

केही दिनपछि फेरि मलाई दैवज्ञ दाइलाई भेटेर भर्खरै रचेको वसन्त शीर्षकको कविता सुनाउन उत्कट रहर जागेर आयो । उहाँको घर देखेकै थिएँ, लागेँ फटाफट पुरानो बानेश्वरतर्फ । जाँदाजाँदै बानेश्वर चोकमा उहाँलाई भेट्टाइहालेँ । नमस्कारको जवाफसँगै सोध्नु भयो – कता हो गोकुल भाइ ?

म त तपाईंलाई नै भेट्न हिँडेको, एक दुइटा कविता सुनाउँफ भनेर ।

दैवज्ञ दाइले मुस्कानको छटा पिँफजाउँदै भन्नुभयो –ए हुन्छ हुन्छ भाइ लु हिँड घरैमा जाउँफ ।

दैवज्ञ दाइको हठिलो गठिलो जिउ–ज्यानको लमक लमक पदचापलाई भेट्न गाह्रो पर्दै लुम्रुक लुम्रुक गर्दै पछि लागेँ । घरको छेउ–छाउतिर पुग्न लाग्दा उहाँले एउटा घरलाई औंल्याउँदै भन्नुभयो– यो मेरा भाइ दयाकृष्ण न्यौपानेको घर हो । उनी शाही सेनामा जागिरे छन् । हिजोआज घरमै आएका छन् रे, भेटेर जाउँफ है भाइ ?

मैले स्वीकृति सूचक मुन्टो हल्लाएँ ।

घरमा पस्नासाथ जङ्गी जिउ–ज्यानवाला एक जुँगामुठे व्यक्ति देखा परे । सुरुमा ढोग–दर्शन भेट मुलाकात भए । त्यसै बेला दैवज्ञ दाइले मेरो चिनारी पनि गराउनु भयो । त्यसपछि दाजुभाइबीच गफाष्टक चल्यो । खै ! उहाँहरूका बीच के के कुरा भए आफू त वाल्ल पर्‍यो, दुबैका मुखमा आलो पालो हेर्‍यो, बुझे झैं गर्‍यो बस्.....।

हामीलाई त्यो घरमा खाजा पनि ख्वाइयो । दही चिउराको साथ मासुको परिकारको खाजा खाँदै गर्दा मैले त्यहाँ भोग्नु परेको कष्टदायी क्षणलाई सम्भिँफदा आज पनि आङ जिरिङ्ग हुन्छ र त्यसै त्यसै हाँसो उम्लिएर आउँछ । हामी दुबैले खाजा खान सुरु गर्‍यौं । दही चिउरा सुलुक सुलुक निलिहालियो । अब मासुको स्वाद लिनु पर्‍यो भनी एक टुक्रा मुखमा हालेर चपाउन थालेँ – छिप्पिएका छालाको चोक्टो परेछ– चपाउँदा चपाउँदा हैरान । धेरै बेरसम्म चपाइरहन पनि लाजमर्दो । निल्ने आँट गर्न सकिन, उकेल्नु कहाँ ? निल्नु न ओकल्नु भएँ । अब के गर्ने ? दैवज्ञ दाइतिर यसो चोर नजरले हेरेँ– उहाँ पनि जोडतोडले दाँती चलाइरहनु भएको, घरपटी दाइ भने त्यहीँनेर कतै हेरी बसेका । मेरो हालत पम्चर हुन लागेको दुबैलाई पत्तै थिएन । चपाउँदा चपाउँदै ट्वाइलेट कता होला ? सोध्ने आँट मलाई कसरी आयो कुन्नि ? घरपटी दाइले औंल्याएको ठाउँतिर म हतारिँदै गएँ । त्यो थिल्थिलिएको चोक्टो च्यापुमा च्यापेकै थिएँ । ट्वाइलेटमा छिर्ने बित्तिकै ख्वाक्कख्वाक गरी मुख छेउमा ल्याएँ अनि फ्वा... गर्दा फुत्तै निक्लेर त्यो चीज खोपिल्टामै खस्यो । पानी ओइर्‍याइ दिएँ– भित्र पस्यो । स्वाँ...गरेँ । बल्ल बाँचियो भन्ने लागेर होला मख्ख परेँ । शौचालय पुगेपछि लघुशङ्का नहुने त कुरै भएन, झन्डै अघि नै भित्रै छिरेको....। फेरि उता दीर्घ शङ्का गर्लान् भन्ने डर ...। धाराप्रवाह विसर्जन गरेर हतार हतार पूर्वस्थानमा पुगिहालेँ । त्यहाँ त दाजुभाइबीचको अट्टाहासले घरै थर्किन थाल्यो । हास्य पात्र मै हुँला भन्ने आशङ्काले मनमा प्रवेश गरिहाल्यो, निल्ल परेँ ।

दैवज्ञ दाइले हाँस्तै सोध्नु भयो– के भो भाइ, अड्कियो कि क्या हो ?

होइन...पिसाब फेर्न गा”को । मेरो स्वरमा कम्पन थियो । फेरि दुबैको बुलन्द हाँसो कोठामा गर्जियो । मलाई लाग्छ– त्यसबेला मेरो अनुहार हेर्न लायकको थियो । हाँसो थामिएपछि दैवज्ञ दाइले भन्नुभो– खै ! कविता सुनाउँछु भनेको होइन भाइ ? हो भन्दै मैले हातमा बोकेको डायरी पल्टाएर त्यहाँ नै मन्दाक्रान्ता छन्दको वसन्त कविता सुनाएँ । उहाँहरू दुवैले तारिफ गर्नुभयो । त्यहाँबाट बिदा हुँदै मैले आफ्नो गन्तव्य पक्रिएँ ।

दैवज्ञ दाइले जीवनमा कति हन्डर खानु भो त्यो त थाहा छैन तर धेरै दिनसम्म उहाँले मृत्युसँग पौंठेजोरी खेल्नु परेको र दर्दनाक कष्ट झेल्नु परेको दुर्नियतिको कुरा सुन्दा ज्यादै पीडाबोध भएको छ । उहाँ यो धर्तीबाट सदाका लागि बिदा हुनुभएको एक वर्ष बित्न लाग्दैछ । नेपाल धर्तीमा रहँदा सधैं हँसिलो, प्रशान्त र प्रज्ज्वल मुहुडा (व्यक्तित्व)का धनी दैवज्ञराज आज नेपाली साहित्याकाशमा तिमिर बढार्ने ध्रुवतारा झैं चम्किएका छन् । उनका गीत कविताहरूमा सर्वकालीन हृदयस्पर्शिता रहेको छ । उनका दर्जनौं कृतिहरूमध्ये घामले ढोका खोल्यो, पोल्टाका गीत, गाउँखाने कविता, जोर मुरली, बाल संसार आदि चर्चित छन् । विभिन्न पत्र–पत्रिकामा उनका सयकडौं फुटकर कविताहरू प्रकाशित छन् । मैले संकलन गरेका केही पत्रिकाहरूमध्ये मधुपर्क वर्ष–२०, अङ्क–१० (२०४४ फागुन) मा प्रकाशित मेरो देश कविता ज्यादै मर्मस्पर्शी लाग्छ मलाई । यसमा सिङ्गै नेपाल, कवि दैवज्ञको ढुकढुकी बनेर धड्किरहेझैं देखिन्छ । यसका दुई हरफ हेरौं ः–

माटो सिञ्चन गर्न शुद्ध पसिना विश्वास बोलाउँछ

मेरो देश नवैलने रहरको संसार भै आउँछ

रसिक कवि दैवज्ञराज न्यौपानेको शृङ्गार रसमा डुबेको कविता देख्तै लोभ सताउँछ को एउटा श्लोक उद्धृत गर्न मन लाग्यो ः–

छातीभित्र सजाएका उच्च शृङ्ग उठाउँदा

परेली धनुले तिम्रा दृष्टि वाण चलाउँदा

म घायल भएको छु चेतना ढल्पलाउँछ

हे तन्वङ्गी ! तिमीलाई देख्तै लोभ सताउँछ

एघार श्लोकसम्म विस्तार गरी रचिएको उक्त कवितामा वैंसालु षोडशीको रूप–सौन्दर्यप्रति आकर्षित कविको हृदयमा प्रस्फुटित भावोच्छलन शृङ्गार रसमा प्रवाहित भएको छ । एउटी मस्त युवतीको रूप आकृतिका निम्ति भएभरका सारा उपमा उदाहरणहरू जुटाएर तथा कोमल भावनाको अजस्र मूल फुटाएर लेखिएको उक्त कविता हेर्दा– दैवज्ञराजलाई माधव घिमिरेभन्दा पनि अझ सशक्त बैंस र वसन्तका कवि भन्न सकिने देखिन्छ ।

रसिक कवि दैवज्ञराजको कृतित्व र व्यक्तित्वबारेमा दिग्गज साहित्यकार तथा आफन्त मित्रहरूबाट साङ्गोपाङ्ग वर्णन र समीक्षा भएकै हुनुपर्दछ । मैले त उहाँको सम्झनामा एउटा झिल्को देखाएको मात्र हुँ । हवस् त यत्ति नै ।

२०६९।४।३१

विराटनगर

हामी गौरव गर्दछौँ सब नयाँ आलोक बर्सेपछि

साँच्चै हुन्न कुनै यथार्थ घटना उत्साह जागेपछि

केही भन्नु छ बोल्न औसरबिना पाइन्न केही पनि

एकै बार फुलेर सौरभ किने हो मर्त्यको जीवनी।

दैवज्ञराज न्यौपाने