कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कविको छवि

अपार न्यौपाने

म सानो छँदा कवि दैवज्ञराज न्यौपाने मेरा ठुला बुबा पर्नुहुन्छ भन्ने सुनेको थिएँ वहाँ हाम्रो घर खोटाङ पनि जानुभएको थियो रे, जुन मलाई याद छैन । तीन कक्षामा हामीले कवि दैवज्ञराज न्यौपानेले लेखेको कविता पढ्नुपर्थ्यो, सो कविताले मेरो बाल मानसपटलमा वहाँप्रति कविको छवि बनेको थियो । हुन त खोटाङको बडका गाउँमा अरू न्यौपानेको घर नभएको र मेरो कक्षामा म मात्र न्यौपाने भएकाले सबैले “ दैवज्ञराज न्यौपाने तेरो को पर्छ ?” भनेर सोध्ने गर्थे । म पनि “ठुला बुवा रे” भन्ने उत्तर दिन्थँे ।

म पाँच कक्षामा पढ्दा हामी खोटाङ छोडेर मोरङ सर्‍यौँ । मलाई यकिन नभए पनि म सात कक्षातिर पढ्दा होला वहाँ फेरि हाम्रो घर आउनुभयो। दुई–तीनदिन बस्नु पनि भयो । त्यति बेला मलाई थाहा भयो, वहाँ कविभन्दा नजिकका मेरा ठुलाबुबा हुनुहुँदोरहेछ । केटाकेटीहरूसँग ख्याल ठट्टा गर्ने वहाँको बानीले बाल साहित्यमा बढी कलम चलाउनुभयो वा बाल साहित्यमा कलम चलाएको भएर केटाकेटीहरूसँग बढी ख्याल ठट्टा गर्नुभएको मलाई यकिन भएन । तर, हामीलाई निकै जिस्क्याउने, ठट्टा गर्ने गर्नुहुन्थ्यो । अब मलाई राम्ररी थाहा भइसकेको थियो वहाँ मेरा ठुलाबुबा हुनुहुन्छ भनेर तर बाल्यकालमा बसेको कविको छविले प्रधानता पाइरह्यो ।

फेरि आठ कक्षामा वहाँको किसान कविता पढ्नुपर्‍यो । फेरि पनि एक्लो न्यौपाने म अनि त्यस्तै प्रश्न तर यसपटक मेरो उत्तर अलि फरक थियो – “वहाँ मेरा ठुलाबुवा, पोहोर हाम्रामा पनि आउनुभएको थियो ।” यसो भने पनि मलाई वहाँ ठुलाबुबा कम, कवि बढी लागिरहन्थ्यो । समयसँगै एस.एल.सी. उत्तीर्ण गरी म उच्चशिक्षाका लागि काठमाडौं आएँ । काठमाडांैमा वहाँको घर र हाम्रो डेरा नजिकै थियो । म वहाँकोमा बाक्लै जान्थँे । वहाँ पनि हाम्रामा आउनुहुन्थ्यो, “के कसो गर्दैछौ केटा हो ?” भनी एक–दुई ठट्टा गरी हिँड्नुहुन्थ्यो । एक किसिमले वहाँ मेरो स्थानीय अभिभावकजस्तै हुनुहुन्थ्यो । अझै पनि मलाई वहाँ कवि नै बढी लाग्थ्यो, वहाँभन्दा मलाई अर्चना दिदी र सौरभ भाइ नजिक लाग्थे । वहाँको कविको छवि नै वजनदार भइरह्यो यद्यपि यो छविलाई हाम्रो पारिवारिक सम्बन्धले कमजोर बनाउन थालिसकेको थियो ।

मैले स्नातकोत्तर सक्न लाग्दा वहाँ करिव एक महिनाका लागि जापान जानुभएको थियो । फर्कँदा मलाई एउटा टाई ल्याइदिनुभएको रहेछ । मेरो टाई लगाउने बानी थिएन, न त आवश्यकता नै । वहाँले मलाई टाई दिँदै भन्नुभयो “तँ रामो पढ्ने मान्छे। काम पनि गर्दैछस्। बिस्तारै टाई लाउने जागिर खान्छस् भन्ने लागेर टाई ल्याइदिएको ।” हुन पनि झन्डै त्यस्तै भयो । त्यसको केही महिनापछि मैले नयाँ जागिर सुरु गरँे जसमा मैले सधँैजसो सुट–टाईमा ठाँटिएर हिँड्नुपर्थ्यो । तर त्यसको केही समयपछि बिरामी परेर वहाँको दैनिकीमा परिवर्तन आयो, सायद वहाँले मलाई अफिस जाँदा–आउँदा टाई लगाएको कहिले पनि देख्नुभएन होला ।

समय बित्तै जाँदा म पनि काठमाडौंको स्थायी बासिन्दा भएँ । बुबाआमा पनि काठमाडौंमै बस्न थाल्नुभयो जसले गर्दा हाम्रा पारिवारिक कार्यक्रमहरू बढ्न थाले । यद्यपि म अलिक व्यस्त हुन थालेकाले सबै कार्यक्रममा उपस्थित हुन सक्दिनथँे । दसैँ पनि काठमाडौंमै मनाउन थालियो । दसैँमा हामीले टीका लगाउने मूल घर कवि दैवज्ञराज न्यौपानेको घर नै भयो र सबैभन्दा वरिष्ठ मान्यजन पनि वहाँ नै । त्यसपछि भने ममा भएको वहाँको कविको छवि सुस्तायो र मेरा ठुलावुबाको रूपमा उहाँको उदय भयो ।

पारिवारिक कार्यक्रमहरूमा वहाँसँग मेरो भेट हुने क्रम बढ्दै गयो । सायद म आफू कवि /लेखक नभएकाले अनि मैले वहाँको कविता/लेख पढ्नु नपरेकाले होला कविको छवि धुमिल भइसकेको थियो । वहाँ बिरामी भएपछि म ठुलावुबाको नाताले नै भेट्न गइरहन्थँे । वहाँ मेरा ठुलाबुबाका रूपमा स्थापित भइसक्नुभएको थियो ।

अचानक २०६८ साल पौष २ गते एकाबिहानै फोन आयो, दुखद समाचारका साथ – मेरा ठुलाबुबा अब रहनु भएन भनेर । दौडँदै अस्पताल पुगियो, अप्रत्याशित खबर साँचो रहेछ । सो दिन फेरि म सोच्न बाध्य भएँ, वहाँलाई अन्तिम श्रद्धान्जलि दिने शुभेच्छुकहरूको भिड देखेर, वहाँ मेरो ठुलाबुबा हो कि कवि दैवज्ञराज न्यौपाने भनेर । वहाँको कविको छविले फेरि मलाई पछ्याउन थाल्यो ।

२०६९ साउन

काठमाडौँ