कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कीर्तिरेखामा दैवज्ञ

अच्युतरमण अधिकारी

नामै राम्रो दैवज्ञ ! दैवज्ञको अर्थ हो ईश्वरलाई जान्ने ! हाम्रो पूर्वीय सभ्यता अनुसार रहेको नाउँ हो यो । परिवार, समाज, सामाजिक सभ्यता, धर्म, दर्शन र परम्पराले हामी सबैलाई समाइरहेको हुन्छ । त्यसैले नाता सम्बन्धको पनि जानकारी दिन्छ । कुनै मान्छे नाताले निकट हुन्छ भने कुनै सम्बन्धसँग सम्बन्धित हुन्छ । समाजलाई समाजबाटै हेरिन्छ । सम्बन्ध त्यसैबाट पहिचान हुन्छ । समाजभित्र धेरै किसमका मानिस हुन्छन् । कसैले व्यवहारबाट समाजलाई छुन्छन्, कसैले विशेष कर्मबाट, कसैले धर्मबाट त कसैले विशेष सिर्जनाबाट मानवीय संसार समाउँछ । मानवीय समाजमा आएपछि, आवश्यक शैक्षिक ज्ञान लिएपछि मानिस निजी जीवन सञ्चालनमा मात्र नलागी सही कर्मजीवनमा लागेको छ भने उसको सार्वजनिक अस्तित्व बनेको हुन्छ । त्यसै अस्तित्वलाई आधार बनाई व्यक्तिको विशेष व्यक्तित्व पहिचानमा आउँछ । दैवज्ञ न्यौपानेको अस्तित्व पनि त्यसैगरी बनेको हो ।

म यसबेला अष्टे्रलियामा आएर बसेको छु । केही समयपछि काठमाडौँ फर्कनै पर्छ– फर्कन्छु । तर यहीँ बसेर घुमफिर गरिरहेका बखत दैवज्ञजी जस्तो हितैषी र सज्जन व्यक्तिको देहावसान भयो भन्ने खबर पाएँ । मलाई त पर्नुसम्म पीर पर्‍यो । बेला बेलामा त्यहाँको यथार्थ समाचार जानकारीमा लिन छोरीलाई अह्राएको थिएँ । करीब पाँच महिना यहाँ बसिसकेपछि त्यो ज्यादै दुःखद समाचार सुन्नै पर्‍यो । जीवनमा यस्ता दुःखद समाचार कति सुन्नुपर्छ होला यो पनि निकै विचारणीय कुरा छ । दैवज्ञ न्यौपानेका भाइ केदार न्यौपाने र महेश्वर न्यौपानेहरू पनि राजधानी काठमाडौँतिरै घरबार गरी बसेका छन् । दुवैको व्यवसाय प्राध्यापन नै हो । आज पनि आफ्नो व्यवसायमा कार्यरत दैवज्ञका भाइहरू आफ्ना ठाउँमा इमान्दारीपूर्वक व्यस्त रहेर जीवन र घर सञ्चालन गरिरहेका छन् । कर्म व्यवसाय राम्रो, कर्मशील, गतिशील भएर कार्यरत जीवन सञ्चालन गरिरहेको छन् । गोगने यिनीहरूका लागि खाली भएकै थियो । दैवज्ञबाट त काठमाडौँ समेत खाली भयो – यही हो जीवन भनेको ।

पहिलोपटक म काठमाडौँ आउँदा विद्यार्थी प्रतिनिधिका रूपमा आएथेँ । त्यसबेला म पिण्डेश्वर संस्कृत महाविद्यालय (धरान) को विद्यार्थी नाइके थिएँ । काठमाडौँको नेपाल बैँक लिमिटेडको केन्द्रीय कार्यालयको भवनमा सम्मेलन सम्पन्न भएको थियो । मलाई त्यसबेला आउँदा जाँदा जगदीश नेपालीले आफ्नै साथमा आउने जाने व्यवस्था गरिदिएका थिए । त्यसबेला यातायात व्यवसायीहरूका नाइके जगदीश “नेपाली” थिए । अर्कोपल्ट काठमाडौँ आउँदा म “दीक्षान्त समारोह” मा भाग लिन आएँ । दैवज्ञ न्यौपाने हितैषी र आफन्त समेत भएकाले उनैलाई म खोज्दै गएँ । उनी बसेको ठेगाना पत्ता लगाउन “रानीपोखरी संस्कृत छात्रावास” मा पुगेँ । त्यहाँ उनको नाम लिँदा एक जना छात्र साथी अघि लागे र कमलपोखरी “कृष्ण पाउरोटी भण्डार” भनेको घरमा पुर्‍याए । दैवज्ञजीसँग भेट भयो । उनी पनि खुशी भए । म पनि त्यहीँ बस्ने गरी आएपछि उनले “नाइ” भन्न सकेनन् पनि । तर समस्या कोठाको भयो । कोठा खोज्दै “पद्मोदय हाइस्कुल” का अगाडि (उत्तरपट्टि) एउटा घरमा कोठा लिएछन् अनि सर्‍याँै त्यहीँ ।

म विराटनगरबाट चिरञ्जीवी रिजालको चिट्ठी लिएर सूर्यप्रसाद उपाध्यायका माध्यमबाट काम खोज्दै आएँ । केही काम गरेँ तर पत्रकारितामा फिट नहुने मानिस खास कतै पनि उपयुक्त हुन सकिन । एम.ए.को पढाइ जारी थियो । दोस्रो वर्ष उत्तीर्ण हुनासाथ प्राध्यापन पेसामा नै नियुक्ति पाउने भएपछि दैवज्ञजीको सल्लाह लिएँ । उनको सल्लाह अनुसार म नियुक्ति लिन कीर्तिपुर गएँ । मलाई नियुक्ति मिल्यो । काम गर्न थालेँ । मलाई केही अप्ठ्यारो परेमा गएर दैवज्ञ न्यौपानेसँग सोध्ने पनि गर्थँे । यस प्रकारको आवतजावत भएका मानिस हितचित्तकारी उनी अब नेपाली जीवनबाट सांसारिक यथार्थबाट आकासिएको समाचार सुन्दा ज्यादै दुःख लाग्यो । हाम्रा गुरुहरूमध्ये डा.वासुदेव त्रिपाठीलाई यस घटनाले निकै दुःखी बनायो होला । डा.त्रिपाठी दैवज्ञ न्यौपानेलाई साह्रै राम्रो र प्यारो छात्र मान्ने व्यक्ति भएको यथार्थ कर्म र व्यवहारले पनि देखाएको छ । आज दैवज्ञ बिदा भएपछि डा.त्रिपाठीलाई पनि निकै दुःखको अनुभव भएको हुनुपर्छ । हामी प्राध्यापन पेसामा संलग्न व्यक्ति असल र योग्य छात्रछात्रालाई मन पराउछौँ ।

वास्तवमा दैवज्ञले यो संसार भौतिक रूपमा छोडेर गए पनि साहित्यिक कीर्तिरेखामा धेरै छाडेर गए । मानिस जन्मन्छ अनि एकदिन ऊ यस संसारलाई छाडेरै जान्छ । यो संसार छाड्यो कतै गयो, कीर्तिरेखा छाड्यो, केही दिएर गयो । दैवज्ञको अस्तित्वका पछाडि पनि त्यही यथार्थ छ । छाडेको संसार यहीँ छ, छाडेको कीर्ति यहीँ छ । यो जीवनको यथार्थ नै हो । अब कसैले दैवज्ञ हेर्छ भने फोटामा हेर्छ, अनि कृतिमा हेर्छ । कृतिमा सबैको दृष्टि समान भएर जान्छ फोटामा परिवारको दृष्टि बढी जान्छ। किनकि परिवारको माया विशेष हुन्छ । हामी जति पनि सामान्य जनता छौँ। राष्ट्रिय अस्तित्वशाली कर्मबाट प्रेरित हुन्छौँ । हामी केही नाता, अझ बढी सम्बन्ध भएका मानिसका लागि त निकै पीडा अनुभूति भइरहेछ भने परिवारलाई कति पीडा होला !

सामाजिक यथार्थ यस्तै छ । कोही जन्मिन्छ, हुर्किन्छ, कर्मव्यवस्थाबाट र कर्तव्य कर्मबाट जीवन सञ्चालन गर्छ अनि देहावसान भएपछि निस्केर कतै जान्छ तर शरीर यहीँ भौतिक रूपमै समाप्त हुन्छ ।

यो दुःख भोग्ने परमेश्वरै हो, यो देह उस्को रहने घरै हो,

यो भत्कँदा दुःख अवश्य मान्छ, सुटुक्क सामान लिएर जान्छ

लेखनाथ पौडेलको यो भनाइ अनि आत्मा ईश्वर एकै हो नरै हो परमेश्वर भन्ने बालकृष्ण समको भनाइ समेतलाई विचार गर्दा मानव शरीर केही समयको मात्र हो भन्ने कुरामा स्पष्ट होइन्छ, तर पनि मानिसको व्यावहारिक जीवन, भौतिक संसारको रङ्गकर्मी यथार्थता, मानवजीवनको अमूल्य अवस्था इत्यादि कुरालाई विचार गर्दा यस संसारलाई छाडेर जाने मानिसलाई सम्झी पीडा त हुन्छ नै । सबैभन्दा ठुलो पीडा परिवारलाई हुन्छ, अझ जीवन साथीलाई हुन्छ । त्यस्ता अनेकौँ वेदना कथा र व्यथाहरू हुन्छन् ती सबैलाई सहने शक्ति ईश्वरले दिऊन् ।

समष्टिमा भन्दा मलाई त यस्ता साधारण, सरल, सक्रिय र कर्तव्यशील व्यक्तिप्रति बढी आस्था लाग्छ । हृदय रङ्गका वास्तविक तरङ्गहरूले यदाकदा कतै घुमाउँदै लगे पनि जीवनको मूल अस्तित्वले केही दियो । त्यही अस्तित्व र व्यक्तित्व आज सम्झनाको माध्यम बन्यो । सबैले जाने कवि, गीतकार दैवज्ञ न्यौपाने। छात्रछात्राहरूले जाने प्राध्यापक दैवज्ञ न्यौपाने । यदि अल्छी बनेर केवल आफ्नो निजी काम मात्र गरी बिदा भएका भए परिवार र नजिकका आफन्तहरूले मात्र माया गर्थे। अरूलाई केही मतलब हुन्न थियो । तर राष्ट्रिय अस्तित्वमा आउने सिर्जनात्मक रचनात्मक काम गरेकाले उनलाई अब दैहिक रूपमा नदेखे पनि रचनात्मक कीर्तिगत रूपमा मानिसले देखिरहेका छन् । दैवज्ञ न्यौपानेको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ भाउजू सुधा न्यौपाने र परिवार जनप्रति सहानुभूतिका साथ समवेदना प्रकट गर्दछु । अस्तु ।

यौटा मन्दिर जो बन्यो रहरिलो नेपाल नामाङ्कित

सङ्लो पौरखबाट निर्मित महान् कल्पान्त सन्दीपित

हाम्रा जीवनका अनन्त रचना अर्पौँ यसै अन्तर

एकै देश रचेर विश्‍व रचिने सङ्गीत हो सुन्दर।

दैवज्ञराज न्यौपाने

'संकल्प : आफ्नै उत्साहको'