कवि दैवज्ञको तोते बोली : एक अध्ययन
दिङ्ला पढ्थेँ म, षडानन्द पाठशालामा । आरुबोटेको धारामा पानी खान जाँदा नारानचौरनिरको जगेडाको वनमा नौलो मान्छे देखेँ । अग्लो, गोरो, कमिज सुरुवाल, टोपी र चप्पल लगाएको, ङिसिक्क हाँस्ने, खाइलाग्दो को होला यो ? अर्को दिन साँझतिर उही मान्छे चार पाँच जना साथीसँग नागीको मेरो घरमा टुप्लुक्क भुफल्कियो । मेरा पिताश्री हरिप्रसाद चापागाईंले उनीहरूको खुब खातिरदारी गर्नुभयो । हरिया मकै, काँक्रो, नास्पाती भक्कुमार बजाए । हिँड्ने बेला गाईको आलो मोही घुट्याउँदै मेरा काँधमा हात राखेर भने– धेरै पढ्नू है विष्णु ! यी रहेछन् भोजपुर गोगनेका दैवज्ञराज न्यौपाने ।
यो सत्र अठार सालतिरको कुरो हो । म त्यस्तै सात आठमा पढ्थेँ । दैवज्ञराज पनि पूर्वमध्यमातिर पढ्थे । दाजु कीर्तिरमणका सहपाठीजस्तो लाग्छ । उतिबेलाको अशोकको रुख अभैफ दिङ्ला पाठशाला अगाडि उङ्दै बसिरहेको देखेँ यसै वर्षको फागुनमा । छैनन् दैवज्ञ । कता गए हुन् ? दिङ्लाका गुरुमाहाराजसँग माथि लघुकौमुदी घोक्दै त छैनन् ? मरणोपरान्त पनि पूर्व परिचय काम लाग्छ ।
सन्सरबार । हाट डाँडामा चामल किन्दै थिए दैवज्ञ । म सुन्तला खाँदै थिएँ । परबाट आएर आर्मीको रासन ठेकेदारले ठ्याम्म दैवज्ञको गालामा चड्कायो । भन्यो–“म ठेकेदार । तँ चामल किन्ने ? कसरी सेनालाई रासन भर्न सक्छु म ?” “अन्यायमा परे दैवज्ञ ” भनेँ मैले मनमन । भोलिपल्टै दैवज्ञले दिङ्ला छोडेछन् । कता गए थाहा भएन । त्यसपछि म बनारसतिर हान्निएँ । उनी कता उडे थाहा भएन । पछि पैतीसतिर काठमाडौंमा भेटघाट भयो ।
उनको र मेरो पेसा एकै परेछ । सौम्य र शालीन व्यक्तित्व न्यौपाने बालगीत र कविता लेख्ने स्रष्टा पो बनिसके छन् । २०६९ साल भदौमा केदार न्यौपाने सरले मसँग भन्नुभयो–“दाइको बारे स्मृतिग्रन्थ निस्किँदै छ, केही लेख्ने हैन ? ।” “हुन्छ, तर मसँग उहाँका सङ्ग्रह छैनन् । ल्याइदिन्छु ।” भदौ चौबिसमा तोते बोली समेत बालसाहित्यका कृति पाएँ । पढेँ । कलम कापी समाएँ । तोते बोलीमै केन्द्रित हुन मन लाग्यो ।
तोते बोलीभित्र एकाकार हुँदा
साझा प्रकाशन प्रकाशकीयमा लेख्छ– “बाल कविता सङग्रह” । हो पनि बाल कविता । कुन स्तरका बालक हुन् ? उमेर समूह कुन हो ? कतै उल्लेख छैन । यो नेपाली सर्जकको एक प्रकारको थिल्थिले रोग हो । बालसाहित्य भने हुने । उमेर र स्तर छुट्याउनु नपर्ने । लेख्दै नलेख्नु भन्दा “बालसाहित्य” मात्रै लेखे पनि महान् कुरा हुन्छ । “तोते बोली” उमेर समूह स्तर नछुट्टिएको सुन्दर बाल कविता सङ्ग्रह हो ।
यस सङ्ग्रहमा जम्मा छत्तीस शीर्षक छन् । गीत । लयात्मक । यी शीर्षकलाई मैले सामान्यतया दुई वर्गमा छुट्याएँ । एक ग्रामीण परिवेशका । दुई अन्य । गाउँलाई मुटुभित्र खुसुक्क लुकाएर हारहार ओकलेका छन् कवितामा “हाम्रो गाउँ” कविले । हो त, म गाउँले । उनी गोगनेका । उस्तै उस्तै । म गाउँ घर सम्झियो कि भक्कानिन्छु नियात्रामा । उनी भक्कानिदा रहेछन् गीतमा । गीतमा भक्कानिँदा रसिकपना अथवा मनमौजीपना उजागर हुँदो रहेछ । नियात्रामा पनि रसिकता दिन सकिन्छ । तर कम ।
ग्रामीण परिवेशका शीर्षकहरू
माछो माछो भ्यागुतो, कानाकाना कुर्र, कुक्कुखेल, दशैं, पुतली, घामपानी, नौलाख तारा, इन्द्रेणी, जुनकिरी, सानो मने, गाइने दाजु, हाम्रा नानी, हिमचुली, यी शीर्षकमा गाउँको निरक्षर नानी भकाभक बोल्न सक्छ । ढोका उघार्दा आँगनमा यी शीर्षकका विषयवस्तु पेफला पार्न सकिन्छ । देख्छन्, हेर्छन् नानीहरू । अरू शीर्षक अर्को वर्गमा पर्छन् ।
शीर्षकभित्र पस्दा
राम्रो बानी– यसमा अप्रत्यक्ष उपदेश छ, अरू नानीलाई,
सुत न नानी सुत– यो सामान्य कविता हो, आमाको स्वर सामान्यवत् छ, अति सरलता हुँदा कमनीय बनेको छ,
काना काना कुर्र– मान्छे र प्रकृतिका कुरा गर्दै मनको शान्ति पोखिएको छ यस कवितामा,
माछो माछो भ्यागुतो– यसले बुद्धु होइन, चङ्ख हुनुपर्छ भन्ने ज्ञान दिन्छ,
दशैं– दसैंको यथार्थ चित्रण छ, पिङ र नाना अनि हर्ष, के आज सहरमा दसँैं आउँछ र ?
सबै हाम्रा साथी– प्रकृति र मान्छेमा आत्मीयता देखाएको छ, उत्कृष्ट बालगीत भन्छु म यसलाई,
कुक्कु खेल– यसमा लयात्मक यथार्थ र केटाकेटीहरूको बालापन उजागर भएको छ,
पुतली– शीर्षकमा पुतलीको स्वभाव, प्रकृति र मनोरञ्जनका कुरा छन् । हलुका र निम्छरालाई छुनुहुन्न भन्छन् कवि,
काठमाडौं शहर– यसमा राजधानीको संक्षिप्त र यथार्थ चित्र छ,
घामपानी– स्वभावोक्ति छ यसमा, ७, ८, ९, १० पङ्तिफ कठिन छन्, प्राकृतिक सौन्दर्यको उच्च वर्णन छ, जीवनलाई घामपानी जस्तै सरल र स्वाभाविक बनाउनु पर्छ भन्छन् कवि,
नौ लाख तारा– सामान्य भनाइले उच्च कुरा दिएका छन्, नानीहरूलाई यसमा,
इन्द्रेणी– इन्द्रेणीलाई मानवीकरण गरिएको घतलाग्दो कविता हो यो,
वर्षा आयो– वर्षालाई मानु खाई मुरी उमार्ने समय भन्छन् नेपालीहरू, यो यस्तै छ, बालकहरूले बुझने कविता वा गीत,
जुनकिरी– जुनकिरीले मानव समुदायलाई दिएको उज्यालो जस्तै तिमीहरू पनि अरूको उपकारमा जुट भन्छन् कवि,
कामधेनु– यो शीर्षक नानीहरूलाई सुहाएन, “गाई” भने भइहाल्छ नि, सामान्य कुरा, सामान्य वर्णन, राम्रा,
सानो मनेँ– भोजपुर गोगनेका न्यौपानेको प्रिय उच्चारण सबै भन्छन् मनँे, स्वाभाविक वर्णन, बाख्राका पाठाको प्रशंसा,
हिमचुली– भोजपुरे शीर्षक, यथार्थ चित्र र प्रस्तुति, प्रेम पाठ,
हाम्रो नेपाल– नानीहरूको सुन्दर गीत हो यो, अप्रत्यक्ष रूपमा राष्ट्रप्रेम पढाउने कविता,
हामी नेपाली– कविताले भन्न खोजेको राष्ट्र र राष्ट्रियता अलिक खुलेन, जति खुल्यो ठिकै मान्नु पर्छ,
भाषा हो हाम्रो नेपाली– राष्ट्रभाषाको गौरव प्रस्तुत गरिएको कविता, राष्ट्रवाद, भाषावाद,
हाम्रा नानी– सामान्य तर उत्कृष्ट गीत, राष्ट्रप्रेम, मित्रता सिक नानी हो भन्छन् सर्जक,
हिँड्नु छ तिमीले बत्ती बाली– प्रतिभा, जगतीतल जस्ता कठिन शब्दले गीतलाई क्लिष्ट पारेको छ, उपदेशको पोको पनि भन्न मिल्छ यो गीत,
हाम्रो झण्डा– पुर्खा र प्रकृतिको माझमा उभिएर लेखेको यो गीत सुन्दर छ,
नालापानी माथि– इतिहास, वीरताको अनि अतीत नै वर्तमान हो भन्ने यथार्थ विम्ब हो यो सुन्दर गीत,
आफ्नै बोली– सरल भाषामा निजीपन अपराजेय हुन्छ, यसलाई चुडाल्न हम्मेसी अरूले सक्तैनन् भन्छन् कवि,
राष्ट्र रच्ने बालो– नेपालको संक्षिप्त इतिहास, यसलाई गीत भन्न मन लाग्छ मलाई,
दिदी हाम्री सती– सम्पूर्ण संक्षिप्त रामायण फलाके पनि यसमा सीतालाई नेपालकी विभूति नारी भनेर उच्च सम्मान गरिएको छ,
जन्मभूमि आमा– बादलका केश कोर्छिन्, आपूफ हिउँ गोरी–साहित्य, यिनै छन् र हामी बन्यौँ नत्र कहाँ हुन्थ्यौँ, राष्ट्रप्रेम,
गाइने दाजु– यसमा सरल शब्द चयन छ अनि उत्कृष्ट प्रेरणा,
आज हाम्रो छुट्टी छ– छुट्टीका दिन खेलेर होइन सिकेर बिताउनु पर्छ भन्ने अर्ती,
महाकवि– अम्मली नसावाज देवकोटामा अत्युन्नत सर्जक दिमाग थियो भन्ने खुलासा,
राम शाहको नियाँ– यस गीति कवितामा भावना, दार्शनिकता, उत्प्रेरणा र उच्च विचारको सङ्गम छ, गिट्टी, कुक्कु, सुसेल्ने जस्ता अति ग्रामीण शब्द प्रयोग गरेर धेरै महान् कुरा भनिएको छ नानीहरूलाई, सरलताभित्र उच्चता खोज्नुपर्छ, भेटिन्छ,
माइती राजा– दाजु बैनीको संवाद हो यो, गीतकारले भन्न खोजेको कुरा स्पष्ट पार्न नसकेको आभास हुन्छ यसमा,
बालक– हराइ अन्धकारको नवीन ज्योति छर्दछु । बनेर वीर पौरखी सुधार नित्य गर्दछु – यस गीतमा बालक आपैँफ बोल्दैछ म छुन्छु भनेर, के अबोध बालकका मुखबाट यस्ता कुरा उगेल्न लगाउन प्रासङ्गिक हुन्छ ? जब कि यो सङ्ग्रह सारै कलिला बालकको लागि हो भन्ने कुरा सबै शीर्षकले टड्कारै बोल्छन्,
शहीदको कथा– यस पुस्तकको अन्तिम शीर्षक हो, यसमा “लै बरी लै” को पारामा शहीदको महानता उजिल्याएका छन् ।
अन्त्यमा,
तोते बोली साझा प्रकाशनबाट २०३८, ४३, ५३, ६० सालमा समेत चार पटक प्रकाशित भइसकेको बाल साहित्यको पुस्तक हो । अवश्य पनि नानीहरूले मन पराएकै हुनुपर्छ । साझा प्रकाशन प्रकाशकीय स्तम्भमा लेख्छ– बाल कविताहरूको सङ्ग्रह हो यो । म बाल गीतिकविता भन्न मन पराउँछु । यसमा पाठकको किटान गरिएको छैन । सबै बालक । यसो नभनेर उमेर समूह वा कक्षासम्म तोकिदिएको भए राम्रो हुने थियो । पुस्तकको शीर्षक अनुसार नर्सरी वा सो निकटका विद्यार्थी यसका पाठक हुन् भन्न मन लाग्छ मलाई । प्रस्तुत कृतिभित्र ग्रामीण परिवेशका र अन्य गरी दुई खाले शीर्षक पेफला पर्छन् । स्रष्टा गाउँले परिवेशमा हुर्किएकाले उनका सिर्जना पनि गाउँमै बढी संपोषित भएका भेटिन्छन् । यसो हुनु नौलो होइन । जो जुन जीवनमा बाँचेको हुन्थ्यो सानामा ठूलो भएपछि पनि त्यसैमा खुल्छ, रमाउँछ । घाम लागे जस्तो । भन्नै पर्ने – बाल साहित्य दर्शन हुनुहुन्न । उपदेश त पटक्कै चाहिन्न । आदर्शबाट परै राख्नुपर्छ । यदि यसो हो भने किन लेख्ने बाल साहित्य ? अप्ठ्यारो पो छ त बाल साहित्य लेख्न । शब्द सारै सजिला चाहियो । कुरा खेल्ने, हाँस्ने र रमाउने । मन नपरे पढ्दै पढ्दैनन् भुराहरू । नानीहरूले हाँसीहाँसी पढेर दर्शन, संस्कृति, इतिहास आदि महत्त्वपूर्ण कुरा आपैँफ सिकून् भन्ने स्रष्टाको चिन्ता हुनुपर्छ ।
अनामनगर
२०६९ भाद्र २९