कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

साहित्यकार मित्र प्रा. दैवज्ञराज न्यौपाने

प्रा. गोपीकृष्ण शर्मा

कवि तथा प्राध्यापक दैवज्ञराज न्यौपाने मेरा सहकर्मी आत्मीय मित्र हुन् । पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत (२०३१–२०४३) रहँदादेखि नै हामीबीच साहित्यिक सम्पर्क भएको थियो । २०४३ साल फागुनमा नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा मित्र दैवज्ञराज न्यौपानेको सरुवा भएपछि हामी दुवै जनाले लगभग १६ वर्ष एकै ठाउँमा प्राध्यापन सेवा गर्दै रह्यौं । २०६० सालमा उमेरका कारणले मेरो सेवानिवृत्ति भएपछि पनि कीर्तिपुर क्याम्पसमा नै कार्यरत मित्र न्यौपानेसँग भेट भइरहन्थ्यो ।

म सुरुदेखि नै उनको सौम्य, शिष्ट व्यक्तित्व, मिलेको पहिरन, हँसमुख चेहरा, चौडा ललाट, मायालु दृष्टि र मिलनसारिताबाट निकै प्रभावित भएको हँु । बाल–युवा–वृद्ध सबैसँग मीठो व्यवहार गर्ने, गरिब–निमुखालाई सक्दो सहयोग गर्ने, समाजसेवामा अगाडि सर्ने, आफ्ना छिमलका व्यक्तिहरूसँग मित्रभाव राख्ने र अग्रजहरूको सम्मान गर्ने प्रवृत्ति उनमा रहेको थियो । आकर्षक व्यक्तित्वका धनी दैवज्ञराज न्यौपाने कवि, गीतकार, बाल साहित्यकार र समालोचक हुनाका साथै सफल प्राध्यापक पनि हुन् । उनले मूल शिक्षण थलो कीर्तिपुर क्याम्पस, बानेश्वर क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पसमा आंशिक समयगत प्राध्यापन कार्य गरेका थिए । कविता शिक्षण उनको प्रमुख क्षेत्र रह्यो र उनले सुमधुर स्वरमा कविता बोल्दा निकै आकर्षण हुन्थ्यो । शब्दगत आरोह–अवरोहका साथ सुललित लयनिनादले गर्दा प्रा.न्यौपानेको कविता वाचनकलाले एकातिर मन्त्रमुग्ध पार्थ्यो भने अर्कातिर कविताको मर्म पहिल्याउने सैद्धन्तिक तथा पाठकीय विश्लेषणले कवितालाई हृदयङ्गम गर्न पनि सहज हुन्थ्यो ।

पिता पं.गणेशप्रसाद उपाध्याय न्यौपाने र माता उमादेवीको कोखबाट १९९९ सालमा दैवज्ञराज न्यौपानेको जन्म भएको हो । कोशी अञ्चल, भोजपुर जिल्लाको गोगने गा.वि.स. अन्तर्गत धाइपा मूलथलो रहेका दैवज्ञराजको न्वारनको नाम थानेश्वर हो । घरमा बाबु–आमाले मायाले “दैवु” भनेर बोलाउने गरेपछि यिनको चल्तीको नाम दैवज्ञराज रह्यो र यही नामबाट यिनी प्रसिद्ध पनि भए । गाउँकै गोगने पाठशालामा औपचारिक शिक्षाको थालनी गरेका दैवज्ञराजले दिङ्लाको षडानन्द संस्कृत विद्यालयमा कक्षा ५ मा भर्ना भएर ४ वर्ष संस्कृतको अध्ययन गरे । त्यसपछि यिनले दाङको बिजौरीमा अवस्थित जनता प्रधान पाठशालामा एक वर्ष अध्ययन गरेर पूर्वमध्यमा परीक्षा पूरा गरे । यसपछि २०२० सालमा काठमाडौं आएका दैवज्ञराज न्यौपानेले संस्कृतमा मीमांसा विषयमा आचार्यसम्मको अध्ययन गरे भने २०२६ सालमा नेपाली विषयमा एम.ए. पूरा गरे । २०२७ सालमा भक्तपुर कजलेजबाट प्राध्यापन सेवा सुरु गरेका दैवज्ञराजले केही समय तत्कालीन श्री ५ को सरकार, राष्ट्रिय व्यावसायिक केन्द्र, सानोठिमीमा नेपाली विषयको राजपत्राङ्कित अधिकृत तृतीय श्रेणीमा नियुक्त भएर राष्ट्रसेवामा लागे पनि उनलाई सरकारी सेवा मन परेन र २०३० साल श्रावण १ गतेदेखि भक्तपुर क्याम्पसमा नियुक्ति लिई त्रि.वि. सेवामा नै यिनी कार्यरत रहे । पाटन संयुक्त क्याम्पस हुँदै २०४३ सालमा नेपाली केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुरमा स्थानान्तरित भएर दैवज्ञराज न्यौपानेले आजीवन प्राध्यापन कार्य गरेका थिए । वरिष्ठ प्राध्यापक दैवज्ञराज न्यौपानेको शिक्षणकला मनमोहक र बौद्धिक थियो नै, साथसाथै विषयगत गहनता र सूचनात्मक ज्ञान पनि उनमा प्रबल थियो । जीवनभर प्राध्यापन–कार्यमा संलग्न रहेर लोकप्रियता हासिल गरेका दैवज्ञराज न्यौपाने बहु–आयामिक व्यक्तित्व हुन् । उनी साहित्यकार, प्राध्यापक, समाजसेवक र देशभक्त व्यक्तित्व हुन् ।

प्राध्यापक दैवज्ञराज न्यौपाने साहित्य स्रष्टाका रूपमा विशेष चर्चित छन् । यिनी कवि, गीतकार र बाल साहित्यकार हुन् । कवितातर्पफ यिनका तीन कृतिहरू प्रकाशित छन् ः–

१. सिर्जनाको लहर (गीतिकविता सङ्ग्रह, २०३५) :

साझा प्रकाशनबाट २०३५ सालमा प्रकाशित यस सङ्ग्रहमा विभिन्न पत्र–पत्रिकामा प्रकाशित र नवप्रवेशीसमेत गरेर जम्मा ७५ गीतिकविताहरू समाविष्ट छन् । यिनमा समसामयिक युगबोध, देशप्रेम, राष्ट्रियता, प्रकृतिप्रेम, प्रेम–प्रणय र जीवनका तीता–मीठा पक्षहरू अन्तर्वस्तुका रूपमा रहेका छन् ।

२. जोर मुरली (कवितासङ्ग्रह, २०४६)

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा २०४६ सालमा प्रकाशित यस सङ्ग्रहमा मुरली–१ (छन्दोबद्ध कविता) र मुरली–२ (गीतिलयका कविता) गरी दुई खण्ड छन् । पहिलो खण्डमा जीवन र जगत्सँग सम्बन्धित विषयका कविताहरू अनुष्टुप्, उपजाति, पञ्चचामर, मन्दाव्रफान्ता, शार्दूलविव्रफीडित आदि शास्त्रीय छन्दमा रचिएका पच्चीस सङ्ख्यामा समाविष्ट छन् । दोस्रो खण्डमा गीतिलयका बीस कविताहरू समावेश गरिएका छन् ।

३. सम्झनाको धरातलबाट (खण्डकाव्य सङग्रह, २०६३)

भूषणराज र अर्चनाद्वारा २०६३ सालमा प्रकाशित यस सङ्ग्रहमा कवि दैवज्ञराज न्यौपानेद्वारा रचित ६ वटा लघु काव्यहरू सङ्कलित छन् । ती हुन्– शोभा, राजा त्रिभुवन, शान्तिकामना, सम्झनाको धरातलबाट, चासो र चिन्तन तथा ती रोइन् त्यसरी किन ? यी काव्यहरूमध्ये “शोभा” बाल्यकालीन संस्मरणमा आधारित प्रकृतिकाव्य हो भने “राजा त्रिभुवन” चाहिँ पात्रकेन्द्रित ऐतिहासिक काव्य हो । “शान्तिकामना” मा विश्वमा मानवतावादको विकासबाट शान्तिको कामना गरिएको छ । “सम्झनाको धरातलबाट” लघुकाव्यमा कवि दैवज्ञराज न्यौपानेका समवयी दुई दर्जनजति पात्रहरूको सम्झना कविले गरेका छन् । “चासो र चिन्तन” काव्यमा बिदेशीएका सन्ततिहरूले आफ्नो देश र घरका अग्रजहरूलाई माया गर्छन् वा गर्दैनन् भन्ने चासो व्यक्त भएको छ । “ती रोइन् त्यसरी किन ?” भन्ने काव्यमा दाङमा भेटिएकी एउटी वृद्धा आमाको शोक र क्रियाशीलतालाई व्यक्त गरिएको छ । छवटी वुहारी र छ वहिनी छोरीहरू सबै विधवा भएको मानसिक पीडा सहेर बसेकी ती वृद्ध नारीको कथा–व्यथालाई यस काव्यले मार्मिक रूपमा चित्रण गरेको छ ।

कवि दैवज्ञराज न्यौपानेका सातवटा बालसाहित्य सम्बन्धी पुस्तकाकार कृतिहरू प्रकाशित छन् । ती हुन् ः–

तोते बोली (बालकविता सङ्ग्रह, २०३८)

गाउँखाने कविता (बालकविता सङ्ग्रह, २०४३)

हुने बिरुवाका चिल्ला पात (बालजीवनी सङ्ग्रह, २०४५)

बालसंसार (बालकविता सङ्ग्रह, २०५३)

सबै हाम्रा साथी (बालकविता सङ्ग्रह, २०५६)

घामले ढोका खोल्यो (बालकविता सङ्ग्रह, २०६५)

पोल्टाका गीतहरू (शिशुगीत सङ्ग्रह, २०६६)

यस प्रकार कवि दैवज्ञराज न्यौपानेका बालकवितासङ्ग्रह पाँच, बालजीवनीसङ्ग्रह एक र शिशुगीतसङग्रह एक गरी जम्मा सात बालसाहित्यिक कृतिहरू प्रकाशित छन् । बालककै सेरोपेफरो, पशुपन्छी, वनस्पति, पूफल–पात, ऋतुपरिवर्तन, चाडवाड, बिरालो, परेवा, नौरङ्गी डाँपेफ, मुरली, साथी आदि विविध विषयलाई बालभावना अनुकूल बालबोलीमा र तोतेबोलीमा रचिएका बालकविताहरू गीतिमय छन् र यिनले बाल–बालिकालाई रमाउँदै गाउन मद्दत पुर्‍याउँछन् । प्रश्नोत्तर शैलीका गाउँखाने कविताहरू पनि गीतिमय बान्कीमा दिइएका छन् । बालजीवनी अन्तर्गत जनक, देवव्रत (भीष्म), सिद्धार्थ गौतम, सुकरात, अरनिको, नाइटिङ्गेल, बालागुरु षडानन्द, स्वर्गद्वारी महाप्रभु, आइन्स्टाइन आदिका सङ्क्षिप्त जीवनीहरू सरल बालभाषामा दिइएका छन् र यसबाट बाल–मस्तिष्कमा उत्साहको सञ्चार हुने विश्वास राखिएको छ ।

दैवज्ञराज न्यौपानेले समालोचना कृतिहरूमार्पफत आफ्नो समालोचना–धर्मितालाई प्रस्तुत गरेका छन् । यिनले अन्य साहित्यकारका केही कृतिहरूमा समीक्षात्मक भूमिका समेत लेखेका छन् । समालोचनातर्पफ दैवज्ञराज न्यौपानेका निम्नलिखित दुई पुस्तकाकार कृतिहरू प्रकाशित छन् ः–

१. पं. गुणराज उपाध्याय खनालका खण्डकाव्यहरूको मूल्याङ्कन (२०४९) र
२. नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू (२०५४)

समाचोलनाको पहिलो कृतिमा पं.गुणराज उपाध्याय खनालको साहित्यिक परिचयका साथै खनालका आठ खण्डकाव्यहरूको सङ्क्षिप्त समीक्षा गरिएको छ । भारती खरेलका नाटकसम्बन्धी दोस्रो कृतिमा दैवज्ञराज न्यौपानेले नाटकको सैद्धान्तिक परिचयका साथै नाटककार भारती खरेलका दुई नाटक भाइटीका (२०४९) र घमण्ड (२०४९) को विवेचना गरेका छन् ।

सानै उमेरदेखि नै गीत र कविता रचना गर्न थालेका दैवज्ञराज न्यौपानेको पहिलो पुस्तकाकार कृति २०३५ सालमा “सिर्जनाको लहर” शीर्षकमा गीतिकवितासङ्ग्रहका रूपमा प्रकाशित भएको हो । त्यसपछि कवि न्यौपानेका कविता, बालकविता, गीत, शिशुगीत, समालोचना आदिका कृतिहरूका साथै पुफटकर निबन्धहरू पनि प्रकाशित भएका छन् । यिनका रचनामा सहज सम्प्रेष्य गुण पाइन्छ नै, शास्त्रीय तथा गीतिलयले गर्दा श्रुतिमाधुर्य र मिठास पनि पाइन्छ । मानवतावाद, प्रकृतिप्रेम, राष्ट्रियता, नेपाली संस्कृतिप्रतिको मोहजस्ता विषयहरू यिनका कृतिमा पाइने तत्त्वहरू हुन् । बालसाहित्यको सिर्जना यिनको विशेष रुचिक्षेत्र हो । यस विधामा उनका धेरै कृतिहरू प्रकाशित छन् । बालभावनामा डुबेर बालबोलीमा लघु आयामका बालकविता तथा बालगीत लेख्ने प्रवृत्ति यिनमा पाइन्छ । बालसाहित्यका विविध विधामा छरिए पनि दैवज्ञराज न्यौपानेले बालकविता र बालगीतमा नै विशेष योगदान दिएका छन् । कवि न्यौपाने नेपाली साहित्यमा प्रसिद्ध बालसाहित्यकार हुन् र सङ्ख्यात्मक दृष्टिले पनि यिनका बालसाहित्य सम्बन्धी कृतिहरू बढी मात्रामा प्रकाशित छन् । यसरी पुगनपुग पाँच दशक लामो साहित्य–यात्रामा कवि दैवज्ञराज न्यौपानेले आफ्नो सृजन–धर्मितालाई उर्वर तुल्याउँदै विशिष्ट साहित्यकारका रूपमा स्वयंलाई स्थापित तथा सम्मानित बनाएका छन् ।

कवि दैवज्ञराज न्यौपानेको समाजसेवा क्षेत्र पनि उल्लेखनीय छ । यिनले विभिन्न सङ्घ संस्थामा आबद्ध भएर परोपकारका कार्यहरू गरेका छन् । भानु सेवा समिति, उदयानन्द स्मारक गुठी, जयतु संस्कृतम्, पञ्चकुमारी सामाजिक गुठी, देउराली क्लब आदि विभिन्न सङ्घ–संस्थाहरूमा रहेर दैवज्ञराज न्यौपानेले सामाजिक सेवाका कार्यहरूमा आफ्नै सक्रियता दर्साएका छन् । यसका अतिरिक्त अन्य साहित्यिक संस्थाहरूमा पनि यिनको संलग्नता पाइन्छ । भानु प्रतिष्ठान, छिन्नलता गीत पुरस्कार गुठी, भारती खरेल प्रतिष्ठान, दीपस्मृति पुरस्कार गुठी, बानेश्वर, सर्जक समाज जस्ता संस्थाहरूमा रहेर पनि कवि दैवज्ञराज न्यौपानेले आफ्नो सेवालाई विस्तारित तुल्याएका छन् । प्राध्यापन कार्य उनको प्रमुख क्षेत्र हुँदै हो, यस बाहेक पनि साहित्य सृजना र समाजसेवा गरेर यिनले आफ्नो जीवनलाई महिमान्वित बनाएका छन् ।

विभिन्न सङ्घ–संस्थाबाट र राज्यबाट समेत दैवज्ञराज न्यौपाने पुरस्कृत र सम्मानित भएका छन् । यिनले प्राप्त गरेका केही पुरस्कारहरूमा युवावर्ष मोती पुरस्कार (२०४२), बालसाहित्य पुरस्कार (२०४९), छिन्नलता गीत सम्मान पुरस्कार (२०५५), उदयानन्द पुरस्कार (२०६४), प्रतिभा पुरस्कार (२०६५), नरेन्द्र वाङ्मय निधि सम्मान पुरस्कार (२०६६) आदि दुई दर्जनजति पुरस्कार उल्लेखनीय छन् । दैवज्ञराजले पाएका सम्मानहरूमध्ये नेपाल बैंक लिमिटेड स्वर्णजयन्ती सम्मान (२०४४), त्रि.वि.दीर्घसेवा पदक (२०५६), तन्नेरी साहित्य सम्मान (२०६२), योगी नरहरिनाथ ट्रस्ट सेवा समितिबाट सम्मान (२०६३), लेखनाथ काव्य सम्मान (२०६४), आदि उल्लेखनीय छन् । यस प्रकार विविध क्षेत्रबाट पुरस्कृत तथा सम्मानित दैवज्ञराज न्यौपाने प्राध्यापन, साहित्य सिर्जना र समाजसेवा क्षेत्रका नाम चलेका सम्मानित तथा प्रतिष्ठित व्यक्तित्व हुन् । साहित्यिक तथा शैक्षिक क्षेत्रमा यिनको विशेष नाम छ ।

जीवन–यात्राको क्रममा विभिन्न गौँडा–गल्छेँडाहरू पार गर्दै रहेका दैवज्ञराज न्यौपानेलाई ६० वर्ष नपुग्दै उच्च रक्तचाप र मधुमेहले सताइरहेको थियो । दैवको देन, २०६२ साल भदौ १५ गतेका दिन उनलाई अचानक पक्षाघातले आव्रफमण गर्‍यो । मस्तिष्कमा पनि असर पर्‍यो । बोली लर्बरिन थाल्यो र आँखा पनि धमिला भए । उच्च रक्तचाप र मधुमेहकै असर भन्नुपर्‍यो । तदारुकताका साथ ओखतीमूलो पनि भएकै हो । तैपनि साहित्यकार दैवज्ञराज न्यौपाने आपैफँ हलचल गर्ने स्थितिमा रहेनन् । पञ्चकुमारी सामाजिक गुठीको अगुवाइमा स्वास्थ्योपचारका लागि केही आर्थिक सहयोग पनि जुट्यो । यसै क्रममा बानेश्वरका उदारमना व्यक्तित्वहरूको सक्रियतामा कवि तथा प्रा.दैवज्ञराजको अभिनन्दन तथा स्वास्थ्योपचार सहयोगका लागि प्रा.डा.वासुदेव त्रिपाठीको अध्यक्षतामा २०६५ सालमा साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समितिको गठन भयो । यस समितिबाट गुरूपूर्णिमा र १९६ औं भानुजयन्तीको अवसर पारेर २०६६ साल असार २६ गते शुव्रफबारका दिन सम्माननीय राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर, जमलको प्रदर्शन कक्षमा भव्य समारोहका बीच भावपूर्ण सार्वजनिक अभिनन्दन गरियो । अभिनन्दनसँगै त्यसवखत साहित्यकार प्रा.दैवज्ञराज न्यौपानेलाई आर्थिक सहयोग पनि प्रदान गरिएको थियो । अभिनन्दनको अंश यसप्रकार थियो ः–

“तपाईंको (कवि दैवज्ञराज न्यौपानेको) सुमधुर वाणी र सिर्जनशील हात तथा मातृभूमि नेपालका सेवामा सदा गतिमय रहेका चरणहरू पुनः व्रिफयाशील भई तपाईंको सिर्जनात्मक जीवनको पूर्ण प्रत्यावर्तनका निम्ति हामी श्री परमेश्वरसँग प्रार्थना गर्दछौं ।”

विद्यार्थी अवस्थादेखि नै नेपाली साहित्यको सिर्जनामा सक्रिय रहँदै आएका यशस्वी स्रष्टा दैवज्ञराज न्यौपानेका विविध प्रकृतिका एक दर्जन जति कृतिहरू प्रकाशित भइसकेका छन् । साहित्यका विशिष्ट साधकको स्वास्थ्यलाभका लागि उपचारको विशेष प्रयास पनि भएकै हो । दैवको लीला, दैवज्ञ धेरै समयसम्म रहेनन् । दुःखका साथ भन्नुपर्छः २०६८ साल पौष २ गते शनिवारका दिन उनको दुःखद देहावसान भयो । एउटा चम्किलो तारा नेपाली धर्तीबाट सधैँका लागि अस्तायो ।

भौतिक रूपमा नरहे पनि आफ्ना कृतिहरूमा दैवज्ञराज न्यौपाने स्रष्टाका रूपले बाँचिरहेका छन् । कीतिर्यस्य स जीवति । दैवज्ञराज पनि कीर्तिशरीरले युगौं युगसम्म जीवित रहेका छन् । यस घडीमा साहित्यकार मित्र प्रा.दैवज्ञराज न्यौपानेप्रति श्रद्धावनत हुन्छु र गुणग्राहिताको सम्मान गर्दछु ।

प्रमुख सन्दर्भ ग्रन्थ

गीता सापकोटा, “दैवज्ञराज न्यौपानेका खण्डकाव्य कृतिहरूको विश्लेषण,” (अप्रकाशित स्नातकोत्तर शोधपत्र) नेपाली केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर, २०५६ ।

जयदेव भट्टराई, साहित्यकार परिचय र अभिव्यक्ति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं, २०५४ ।

प्रा.डा.वासुदेव त्रिपाठी समेत, दैवज्ञराज न्यौपाने : जीवनी, कृतित्व तथा अभिनन्दन, साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति, काठमाडौं, २०६६ ।