कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

कवि दैवज्ञप्रतिको आदरभावको खजाना

उर्मिला लामिछाने

दैवज्ञ : पद्यध्वनि

उर्मिला लामिछाने

नेपाली साहित्य जगतले बिर्सनै नसक्ने एउटा नाम हो– दैवज्ञराज न्यौपाने । साहित्यको गद्य विधामा उल्लेख्य उपस्थिति हुँदाहुँदै पनि पद्य विधा (कविता–काव्य) का साधक–उपासकका रूपमा दैवज्ञराज न्यौपानेको व्यक्तित्वले विशेष गरी अमरत्व पाएको देखिन्छ । नेपाली समाजमा लामो परम्परादेखि मौखिक रूपमा जीवित नेपाली लोक छन्द, शास्त्रीय–छन्दोबद्ध–वर्णमात्रिक, मात्रिक र मुक्त छन्द अन्तर्गतका विविध लय र तालमा कविताका विविध बान्कीहरू पस्किने कवि दैवज्ञका कलमले नेपाली पद्य साहित्यको फाँटमा हरियाली थप्न विशिष्ट योगदान दिएको कुरा अतिशयोक्ति होइन ।

पद्य विधामार्पफत पुफर्पुफरे शिशुदेखि बैंसालु युवक–युवती, अधबैंसे नर–नारी र गम्भीर प्रौढहरूको हृदयलाई कवि दैवज्ञले दिएका कविता–काव्यहरूमा अधिकांश कविता–काव्य निकै मार्मिक र घतलाग्दा भएको कुरा सर्वविदितै छ । हृदयमा सञ्चार हुन सकेको यही मार्मिकताकै कारण कवि दैवज्ञ प्रायः सबै स्तरका पाठकहरूका प्रिय कविका रूपमा श्रद्धा र स्नेहपूर्वक अटाउन सकेका हुन् । पाठकहृदयमा यसरी अटाउन सक्नु कविताकृतिको सङ्ख्यात्मक बहुलताले मात्र पक्कै होइन, कवि दैवज्ञको अन्तरहृदयबाट उच्चरित पद्यध्वनिप्रतिको आराधना, साधना र अर्चनाको निरन्तरताले अवश्य हो ।

मानिसलाई सामान्य जीवन–जगत्बाट सिर्जनशील संसारतर्पफ डोर्‍याउँदै रचनात्मक मिठासको खोजी गराउने कवि दैवज्ञका तोतेबोली (२०३८), गाउँखाने कविता (२०४३), हुने बिरुवाका चिल्ला पात (२०४५), बालसंसार (२०५३), सबै हाम्रा साथी (२०५६), घामले ढोका खोल्यो (२०६५) र पोल्टाका गीतहरू (२०६६) जस्ता बालकविता, बालगीत, बालजीवनीसङ्ग्रह, कवितासङ्ग्रह र खण्डकाव्यसङ्ग्रह लगायतका कृतिभित्र उनले आफ्नो पद्य विधाप्रतिको भुफकाउ, लगाब र निरन्तरतालाई कायम राख्दै आजीवन पद्यध्वनिको सेवामा आपूफलाई समर्पित गरेको पाइन्छ । समाज र परिवारको दायित्वबोध, पेसाप्रतिको इमान्दारी र सामान्य मानवजीवनको औपचारिकतासँग प्रवाहित हुँदाहुँदै पनि सर्वसाधारणले बाँच्ने सामान्य दिनचर्याभन्दा माथि उठी साहित्यका कुशल सर्जक, सहृदयी पाठक, असल शिक्षक–प्राध्यापक, प्रेरक कवि, समालोचकजस्ता विविध व्यक्तित्वका पाटाहरूबाट आफ्नो अस्तित्व अग्ल्याउँदै बढ्न सफल द्रष्टाभन्दा सर्जक बढी र सर्जकभित्र पनि गद्यभन्दा पद्यध्वनि सर्जककै रूपमा बढी ख्यातिप्राप्त रहेको पाइन्छ । प्रस्तुत लेखमा कवि दैवज्ञका निम्ति समर्पण गरिएको कृति “दैवज्ञ : पद्यध्वनि” को अवलोकन गर्ने प्रयास गरिएकाले अब त्यतातिर लाग्नु आफ्नो कर्तव्य ठान्दछु ।

दैवज्ञ : पद्यध्वनि कवि दैवज्ञको पद्यध्वनिप्रतिको सद्भाव, सेवा र समर्पणलाई श्रद्धा गर्दै यही समर्पणमय जीवनको निरन्तरताका लागि पद्यध्वनिकै सहाराले प्रस्तुत आदरभाव, स्नेहभाव र आत्मीयताको अपूर्व खजाना हो । नेपाली पद्यलाई आफ्ना कुशल लेखन र श्रुतिमधुर वाचनशैलीमार्पफत ऐश्वर्यपूर्ण र सम्पन्न पार्न कटिबद्ध कवि दैवज्ञको सक्रिय जीवन अचानक अस्वस्थ हुँदै पक्षाघातले शिथिल हुन थालेपछि नेपाली साहित्य जगत्ले आफ्ना प्यारा कविका निम्ति स्वस्थ र आरोग्यपूर्ण सिर्जनशील जीवनको कामना गर्दै अर्पण गरिएको शुभकामना कृति हो– दैवज्ञ : पद्यध्वनि । यसभित्र कविता–काव्यका सहृदयी चिन्तक र कवि दैवज्ञको काव्यकौशलका असङ्ख्य पाठकहरूको प्रतिनिधित्व गर्दै पद्य फाँटमा वर्तमानका जल्दाबल्दा थुप्रै सर्जकहरूका थुप्रै शुभकामनारूपी पद्यपुष्पहरूबाट कवि दैवज्ञको स्वास्थ्यलाभको कामना गरिएको छ । त्यसो त यस कृतिले पद्यवाहेक कवि दैवज्ञको जीवनी, प्रस्तुत ग्रन्थ प्रकाशन गर्नुपर्ने आफ्नो उद्देश्य र अन्य केही कुरा गद्य भाषामा गर्दै नगरेको भने होइन । प्रकाशक कोकगोष्ठीका संरक्षक कमल दीक्षितको प्रकाशकीय, सम्पादक कवि प्रह्लाद पोख्रेलको सम्पादकीय, कवि–टिप्पणीकार कोषराज न्यौपानेको टिप्पणी क्रमशः गद्य र गद्य–पद्यमा मिश्रित भए पनि यी केवल आवश्यकता अनुसारका प्रासङ्गिक सन्दर्भ मात्र हुन् र पद्यध्वनिकेन्द्रित प्रस्तुत कृतिका परिपूरकका रूपमा मात्र आएका हुन् । कृतिको प्राण भने पद्यध्वनिकै केन्द्रीयतामा अडिएको छ ।

कोकगोष्ठी (कोठे कविता गोष्ठी) को आयोजनामा कवि दैवज्ञको काव्यिक योगदान र काव्यकलाकारिताप्रति आभारी सम्पूर्ण कवितापारखीहरूमा परेको पीडा र शून्यताको परिणामस्वरूप शुभकामनाको विकल्पद्वारा प्रवाहित प्रस्तुत कृतिभित्र विभिन्न कविहरूका जम्मा ५७ ओटा छन्दोबद्ध कविताहरू समेटिएका छन् । जसमा क्रमशः कवि शरदकुमार भट्टराई, राष्ट्रकवि माधव घिमिरे, “किञ्जल्क”, पं. खगेश्वर उपाध्याय न्यौपाने, अच्युतरमण अधिकारी, अर्जुनकुमार न्यौपाने “गोगने”, ओमी शर्मा, कलानिधि दाहाल, कविराज न्यौपाने, कालीप्रसाद रिजाल, कुलप्रसाद पराजुली, कृष्णप्रसाद दाहाल, कृष्णप्रसाद पराजुली, केदार न्यौपाने, कोषराज न्यौपाने, गीता खरेल (सिवाकोटी), घनश्याम कँडेल, घनश्याम भट्टराई, टीकाराम अधिकारी, तीर्थराज अधिकारी, दुर्गाप्रसाद अर्याल, नरेन्द्रराज पौडेल, नवराज लम्साल, नारदमणि पौड्याल, पुरुषोत्तम न्यौपाने, प्रभा भट्टराई, प्रह्लाद पोख्रेल, फत्यबहादुर बटुवा, बमबहादुर थापा “जिताली”, बुनू लामिछाने, ब्रह्मप्रिय प्रेमस्वरूप, भावकेशर बराल, भुवनहरि सिग्देल, भूपहरि पौडेल, मञ्जुल, मधुसूदन लामिछाने, महेश प्रसाईं, महेश्वर न्यौपाने, मेदिनी सुवेदी, रमेश खकुरेल, रमेश शुभेच्छु, राधेश्याम भट्टराई, रामप्रसाद पन्त, रामबाबु सुवेदी, बासुदेव त्रिपाठी, वियोगी बुढाथोकी, विष्णुराज “कुसम”, शर्मिला पोखरेल, शैलेन्दुप्रकाश नेपाल, श्रीहरि पुँफयाल, सनतकुमार वस्ती, सुधा न्यौपाने (कोइराला), सुमन्तराज न्यौपाने, सीताराम अधिकारी, हेमचन्द्र नेपाल र हेमराज पाण्डे ‘अभागी’ यस कृतिभित्र आफ्ना काव्यिक मर्म खोलेर आरोग्यकामना गर्ने कविहरू हुन् ।

पूरै काव्यकृति कवि दैवज्ञप्रति हृदय खन्याएर बोलेको छ । काव्यभित्रका प्रत्येक कविता र कविताभित्रका प्रत्येक श्लोक, पङ्क्ति र शब्द–शब्दले ठुलो शुभेच्छाभाव प्रकट गरेका छन् । यी कविताले सदास्यता र आत्मीयतापूर्वक दैवज्ञिक कवि कर्मप्रति कृतज्ञता प्रकट गरेका छन् । कृतिभित्र कवि दैवज्ञका प्रत्यक्ष–अप्रत्यक्ष पाठक, शिष्य, सहकर्मी, मित्रजन, आफन्त र अग्रजहरू लगायतका थुप्रै सहृदयीका आत्मीयताले ओतप्रोत शुभभावले ५७ ओटा कविताको साझा उद्देश्यलाई समष्टिमा यसरी प्रस्तुत गरिएको छ —ः

ओजस्वी शब्दशिल्पी सुललित रचनाकार दैवज्ञराज
बन्दा ज्यादै बिरामी व्यथित हुन गयो काव्यकर्मी समाज
सुर्तायो कोकगोष्ठी कविहृदय जली स्तब्ध भै छट्पटाई
अर्पौं आरोग्य–आशीर्वचन–धन–सुधा–काव्य दैवज्ञलाई

– प्रह्लाद पोख्रेल (सम्पादकीयबाट)

दैवज्ञ : पद्यध्वनिभित्र केवल दैवज्ञलाई अर्पण गरिएका पद्यध्वनिहरू मात्र छैनन्, स्वयं कवि दैवज्ञले आफ्ना सुन्दर, सक्रिय र स्वस्थ बैंसालु उमेरदेखि विभिन्न अवस्था पार गर्दै जीवनको उत्तरार्द्धसम्म नेपाली जीवनजगत्लाई अन्तर हृदयबाट उपहार दिएका पद्यध्वनिहरू पनि रहेका छन् । यस अर्थमा दैवज्ञ : पद्यध्वनिको शीर्षकीय मर्म निकै ओजस्वी र अर्थपूर्ण देखिएको छ । दैवज्ञः पद्यध्वनिकै समेत कवितात्मक टिप्पणी गरिएको प्रस्तुत कृति कवि दैवज्ञ जीवित हुँदै सार्वजनिक कार्यक्रमका रूपमा प्रस्तुत हुन पाउनु र भविष्यमा दैवज्ञप्रति खोज गर्न सक्नेहरूका लागि लोकश्रद्धाको विशेष सामग्रीका रूपमा सहयोगी सिद्ध हुनु पनि प्रस्तुत कृतिका सबल पक्ष हुन् ।

कृतिभित्र कवि दैवज्ञको स्वास्थ्यलाभको कामनाका लागि अर्पित कविताहरूका साथमा कवि दैवज्ञराजका ६ ओटा प्रतिनिधिमूलक कविता मात्र समाविष्ट भएकाले कवि दैवज्ञका काव्यिक शक्तिका तुलनामा उनको कविता साधनाका सीमाहरूको चर्चा नगण्य रहेको पाइएको छ । अतः यहाँ समाविष्ट सबै कविताहरूलाई सार रूपमा हेर्दा प्रस्तुत कृति कवि दैवज्ञप्रतिको आदरभावको खजानाका रूपमा रहेको छ, जहाँ उनका बाह्य र आन्तरिक व्यक्तित्व र व्यक्तिगत तथा सामाजिक, साहित्यिक योगदानको मुग्धकण्ठले प्रशंसा गरिएको छ ।

२०६९ साउन, दाङ
हालः रामहिटी, बौद्ध, काठमाडौं