कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

दैवज्ञ हुन् गौरव

हिरण्यकान्त उपाध्याय न्यौपाने

मधुरसरसभाषा वाग्मिनां मन्त्रगीतं

कठिनजटिलग्रन्थिस्तर्कसंप्रेषणायः

विविधविषयवाणी धीरगम्भीरभाषा

विकसतु शततं नो दिव्यपीयूषपूर्णः

आर्यज्योति भएर पूर्ण कुलका श्री विश्वनाथाग्रजः

विद्या बुद्धि धनै लिई अघि बढे हाम्रा यिनै पूर्वज

बिर्ता आर्जनले प्रतिष्ठित भए सत्कीर्तिले ढाकिए

हाम्रा पूर्वज यी समुज्ज्वल बनी सम्मानले मानिए

१

श्री नारायण नामका त उनका यौटा भए पुत्र नै

तिन्का सज्जन तीन पुत्र तिनमा त्रिलोचनै लोचनै

वाना बोख्खिम साथ खूब गतिलो बिर्ता रचे गोगने

सोराना अझ धेर ली सुपथमा मानी प्रतिष्ठी बने

२

छोरा वीर भए त्रिलोचनपछि ज्ञानी गरे उन्नति

जम्दार् हुन् बलभद्र मान पदले सम्मानितै शिष्ट ती

छोरा श्री बलभद्रका अनि ठुला श्रीकान्त पैदा भए

उन्का ती छविलाल पुत्र गतिला ज्ञानी कुलैका भए

३

जेठा पुत्र गणेश पण्डित भए नामी थिए ज्योतिषी

विद्या ज्ञान अगाध नै हुन गयो मानौँ समानै ऋषि

तेस्रो पुत्र गणेशका हुन गई दैवज्ञको जन्म भो

उच्चा उन्नत शीर्ष भै पुरुष यी अत्यन्त नै ख्याति भो

४

नामी मातुल वंशमा पनि ठुलै पोख्रेलको वंश हो

यी दोटै कुलको मिली चमक नै दैवज्ञको अंश भो

थ्यो ब्रह्मस्थल गोगने सरसिलो दैवज्ञ जन्मस्थल

विद्या बुद्धि बढी महान् हुन गयो वंशीय वक्षस्थल

५

उच्चा भव्य शरीर पुष्ट भरिलो त्यो भाल झन् उज्ज्वल

हेर्दा चट्ट सुहाउँदो जिउ अहो अत्यन्त नै कोमल

पैला पाठ पढेर गाउँतिर नै दिङ्ला र दाङै पुगे

फर्की फेरि त काठमाण्डुतिर नै विद्या मनग्गे पढे

६

तक्मा धेर भिरेर मानपदवी धेरै लिए ज्ञानले

न्यौपानेभरिमा समुन्नत बने विद्या र सम्मानले

शिक्षातर्फ ठुलठुला पद लिई प्राध्यापकै ती भए

राम्रो ज्ञान र मान इज्जत लिई सत्कीर्ति बास्ना छरे

७

हाम्रो संस्कृतिका थिए प्रबल ती खम्बा समानै कवि

लेख्थे काव्यकला भरेर कविता छर्दै उज्यालो छवि

न्यौपाने कुलका त भूषण थिए भै धर्मका पालक

अन्यायीपन मास्न निम्ति कहिल्यै मान्दैनथे ती धक

८

हाम्रो संस्कृति पूर्ण पालक थिए सद्धर्मका रक्षक

मर्यादा कुल वृद्धितर्फ कवि ती लाग्थे सुसंरक्षक

ज्यादै उन्नतिशीलको कुल थियो दैवज्ञ सम्मान्य थे

मनौँ ती रसमर्मबोधक बनी काव्यीयता पूर्ण थे

९

मर्यादा कुलमा थियो अति बडो विद्वान् थिए गौरव

बग्दो काव्यसुधा भरेर दिलमा ती छर्दथे सौरभ

नेपाली दिलमा प्रवाह छरिने भाषा बनाए मिठो

हामीमाझ परन्तु धेर नरही टाढा गए ती छिटो

१०

धर्तीको सब दिव्य चेत उडिगो कल्ले लग्यो लौ लग्यो

देहै खाग भई गयो उडिगयो सञ्चेत बाँकी रह्यो

नेपाली दिलभित्र कीर्ति उनको बढ्दै गयो उज्ज्वल

आत्मा किन्तु परात्ममा मिलिगयो गै स्वर्गमा प्रोज्ज्वल

११

विद्या बुद्धि विवेकमा कवि यिनी दैवज्ञझैँ पूर्ण छन्

उन्को कीर्ति बढोस् सधैँ भुवनमा सम्पूर्ण यै भन्दछन्

श्री दैवज्ञ भए यसै धरणिमा सत्कीर्तिले भूषित

काका हूँ म हिरण्यकान्त उनमा सुस्नेह राख्ने स्वतः

१२

मेरो सदा आशिष पुत्र राख

यै काव्यमा स्नेहसुधा त चाख

तिम्रो सदा कीर्तिकथा म गाऊँ

दैवज्ञ हुन् गौरव नित्य गाऊँ ।

१३

२०६९ असार, काठमाडौँ